50 Nepali Chhanda kabita ५० नेपाली छन्द कबिता

 
50 Nepali Chhanda kabita  ५० नेपाली छन्द कबिता

    छाडेर गाउँ सब पो गुमाएँ

     

    ~डा.मेघराज ढकाल~

    छन्द: उपजाति


    छन्दैहरूमा उपजाति यौटा

    ती इन्द्रवज्रा र उपेन्द्रवज्रा

    मिलाइ लेख्दा सहजै यो फुर्छ

    मिठास पढ्दा मनभित्र पर्छ ।


    साहित्य संसारभरै त चल्छ

    छ लेख्न गाह््रो जब सूत्र बुझ्छ

    अनेक आस्थासित यो बहन्छ

    खारेर नौनी अझ सार लेख्छ ।


    छोडेर मैले घरबास पैले

    जागीर खोज्दा परबास ऐले

    बसे जमाए जब गाउँ बिर्से

    त दुख्ख पर्दा तब गाउँ सम्झे


    पुगेर पैले घर हेर्छु ऐले

    छाना तरक्क चुहिंदो छ ऐले

    बारी वगँैचा सब बिल्लबाठ

    हँुंदा कुढिन्छ मन भो’ उराठ ।


    आगो– अंगेनो जुन ताप्थँे छैन

    ढोका म लाउ्थें चुकुलै रहेन

    सिँढीं म चढ्थे पदचिह्न छैन

    विकास भन्छौँ तर शान छैन ।


    खेल्ने म ऑगन् सब सिस्नु बढ्छ

    कुवा – पँधेरो जब यो पुरिन्छ

    ठूलै छ दर्जा तर डिभि रोज्छु

    ज्यूँदो छदाँ नै म त मर्न सक्छु ।


    भूकम्प बाढी नव कम्पनैले

    ज्वाला खडेरी, जब तेज चढ्छ

    आगो उठेर अनि गाउँ जल्छ ।

    अपाङ्ग रोगै सब थोक बढ्छ ।


    युवाहरू जो परदेश लाग्ने

    अशक्त वृद्वा, चिचिला र नारी

    रहे घरैमा, धरती छ बाँझो

    भोको सिवाय अरू क्वै रहेन ।


    चराहरूको केही स्वर छैन

    मेरो जो भन्थे केही नै रहेन

    बाटो हरायो पद चिन्ह छैन

    आफन्तमा नै धन– धैर्य छैन


    फेदी नजिकै बर त्यो ढलेछ

    भुवा सिमल्को सब जो उडेछ ।

    नाङ्गो छ बस्ती सब धर्ती बाँझो

    खेती नगर्दा हुन गो उधारो ।

    १०


    छाडेर आफ्नो घर अन्त गए

    तन्देह शक्ति पर नै बुझाएँ

    गुन्दु्रक सिन्की परबाट ल्याएँ

    पैसा उतै झन् तर गीत गाँए ।

    ११


    राम्रो छ भन्दै बनमा रमाए

    अनेक रोगै तनमा कमाए

    अशक्त बन्दा जब देश सम्झे

    छ पश्चतापै तब बल्ल झस्केँ ।

    १२


    बुढा–बुढी जो सब बाटो रुङ्ने

    हेरी बसेका इतिहास बोल्ने

    हुँदा हुँदा मै पर भै रमाएँ

    छाडेर गाउँ सब पो गुमएँ ।

    १३












    काल गति


    ~दिपेन्द्र सिंखडा~

    छन्द : शार्दुलविक्रीडित


    ओर्लंदा धर्तीमा रोयाँ बाल: च्याँ च्याँ, देखेर काल: याँहा

    हाँसी हाँसी धाई लिन्थीन हातमा, मुस्कुराँउथिन् आमा

    जन्मदै काल: त्यो ढुकेर बसेको, दैलोमै थ्यो घरको

    पठाँउन्न कृष्णै पनि नर याँहा, उपार्जन बिनाको ।।१।।


    भौतिकऐश्वर्य र दम्भ शक्तिको, छोड होडै पनि यो

    भन्दैन कालै: धनी र गरीब यो, राख्छ हिसाव सप्को

    हान्दैन आँफु खुसि काल: पनि त्यो, नली मत पर्भूको

    गर्नु सबैले पुण्यकृति जगमा, हुन्छ भलो मान्छेको ।।२।।


    जन्मदै देखिको संगी काल: जन्को, बुझ्द छ भावै पनि

    पर्भूको इच्छा बिपरित यसले, लिन्न केहि मान्छेको

    यो जन्म जगत लिला अवतार, हुन् अधिन पर्भूकै

    उपार्जन सकियो यो शरीरको, लान्छन आत्मा आँफै ।।३।।


    भौतिकजगतै पनि अधिनस्त, यो सत्ता हो पर्भूकै

    लुकाई लुकाई पठाँउछन् काल:, सक्दैन छेक्न कोहि

    भाव भङ्गी रुप रङ्ग अनेक यी, लिइ घुम्दछ काल:

    उपार्जन सकियो भनि जनको, जान्छ फिर्ता लिएर ।।४।।







    रोकिन्छ, टुक्रिन्न रे  


    ~डा.मेघराज ढकाल~

    छन्द: शार्दुलविक्रीडित


    पैलेका दिनमा अखण्ड मन भो ऐले विखण्डन् भयो

    बोल्नै खप्पिस छन् त काम अहिले सारै वितण्डा भयो

    शास्त्रै छैन यहाँ सुदृष्टि अहिले जाने कता हो कता ?

    मान्छे छन् रनभुल्ल रे ! अझ यहाँ माटो हरायो यता ।


    कस्तो ज्ञान भयो अहो ? जगतमा बस्तैन मान्छे भने

    कस्तो मेल समाजभित्र रहला लुछ्ने सबै छन् भने

    के पो जाँगर आउँला र मनमा सन्तोष छैन भने

    के पो अर्थ रहो विकास घरको ? बस्तैन बस्ती भने ।


    गर्छन् कर्म–विकर्म ताण्डबपना तड्पाउँदै देशमा

    दुख्खै–कष्ठ अझै दिइन्छ किन हो ? बस्दैछु यो लोकमा

    यस्तै प्रश्न उठे ? असंख्य मनमा सष्ट्रा र द्रष्टासँगै

    लागे सङ्गतमा कोरिन्छ कविता मर्दैन आत्मा कतै !


    बाटो खोज्न सकेन आज घरले सिद्धान्तको आसन

    नेता रोेज्छ सदा अयोग्य जननै नेतृत्व दर्जाऽसन

    बस्दैछन् गजधम्म र्भै त पदमा कामै गरेनन् किन ?

    पैसामा किनबेच भो त अहिले राम्रा हिँडे दिन्दिन ।


    झुट्टा भाषणले त चाङ भरियो मूल्य बढो दिन्दिनै

    यौटा खुच्चिङ भो अयोग्यजनले झम्टो अझै छिन्छिनै

    कागै उड्न गए भए मयुर झैँ मागेर प्वाँखैहरू

    टिक्दैननु अब लौ त ढाँट–ढँटुवा ढाँट्दै गए झन् अरू ।


    खानै लोभ गरे, मरे कति यहाँ, को गन्छ, को खै कता ?

    धनै लोभ गरे भने मगजमा उम्रिन्छ चिन्ता यता

    प्रेमै लोभ गरे भने मनुजता अन्धो छिटै बन्छ रे

    मान्छेको मन हो, इमान बल हो भन्दा हिरो हुन्छ रे ।


    हावामा हिँडियो त छक्क परियो, नेता भए जर्जर

    बिर्से मानिसका कबोल अहिले बोल्दै गए बर्बर

    यस्तै चाल रहे बढिन्छ कसरी ,कल्ले गरायो किन ?

    खोज्नै पर्छ, यहाँ बँचिन्छ दुनियाँ राम्रो बनाए मन ।


    जे जस्ता सब दुख्ख आपद परे बढ्दै गए कर्ममा

    होलान् रे ! विजयी सधैँ जगतमा सत्कर्मका धर्ममा

    जन्मेलान् युगका त मानवहरू आध्यात्मका चेतमा

    फेर्ला रूप यहाँ स्वदेश घरको स्वामित्व मातृत्वमा ।

    १०


    खोज्लान् साँध–किलो लडेर दुनियाँ त्यागेर प्राणै पनि

    पुर्खाको इतिहास दृश्य मनमा खोजेर आलोक नै

    बन्नेछन् तगरा त देश घरमा बारेर बारै पनि

    खोज्लान् दर्शन यो समस्त घरमा बन््लान् सुरक्षित् अनि ।

    ११


    खुट्टा तान्न सिके परस्पर यहाँ शीर्षस्थ नेताहरू

    लोभै मात्र गरे त देश जनता बिर्सेर स्वार्थीहरू

    यस्तै सोच भयो भने जगत यो टुक्रिन्छ टुक्रिन्छ रे

    खोज्नै पर्छ छिटो विकल्प जन हो रोकिन्छ, टुक्रिन्न रे ।

    १२


    आँधीखोला गाउँपालिका , स्याङ्जा ,नेपाल







    जस्तै रमाए पनि

    ~डा.मेघराज ढकाल~

    छन्द: शार्दुलविक्रीडित


    मेरो आँगन, बाग, कौसी घरको आयो कि माली यतै

    भन्दै हेर्छ सदा त भीर, छहरा, छागाँ सुसेली अझै

    केरा,बाँस झुले अति कहरिलो बाला–बुढयौली भयो

    हुकार्यो जब मल्कियो त उसको यात्रा कतै बाङ्गियो ।


    अम्बा फल्छ उता पहेँलपुर भै आओ न टिपौँ भनि

    मान्छे रम्छ यता त कान्तिपुरमै को जान्छ गामै भनि ?

    लेखौँ पत्रसँगै फिराद यसको बुभदैन कोही पनि

    यस्तै दर्शनमा म लेख््छु कविता पढ्दैन कोही पनि ।


    माटो माग्छ उता त काम पसिना, यो कान्तिपुर््मा सधैं

    छोड्ने व्याङ्य–कथा उखान कविता, भोका र नाङ्गा अझै

    माग्छन् राहत जो त भीख कनिका, नेता गफाडी बने

    चढ्दै रेल रोजे विदेश घरको , गुन्द्रुक मात्रै किने ।


    नेता बोल्छ अझै पराक्रमसँगै नौटङ्कका नाटक

    सत्ता प्राप्त गरे झुके चरणमा भुल्दै छ जो आचर

    फुर्ती दिन्छ सधैं उखान–कथनी रक्षा गरे भन्दछ

    चेली मर्नु मरे, त ढाक–छोपमा सत्तासिनै रम्दछ ।


    टुक्काकै भरमा त खेत हरियो हुन्थ्यो भने सर्वदा

    मान्छेले किन गर्दर्थे त मिहनत् भिज्थे पसिना धरा

    हल्लाकै भरमा त भोट दिइयो गाउँ सधैं बिर्सियो

    जित्ने आइ लुके त कान्तिपुरमा गाउँ पछौटे भयो ।


    स्वार्थी मानिस छन् त उच्च पदमा अस्तित्व शून्यै भयो

    नौला उन्नतका त शिल्प जति छन् विेर्सेर अल्छी भयो

    खेल्दै तास सधैंं त जाँड सँगमै उल्का तमाशा गरे

    आफ्नै रक्तिमका त सन्ततिहरू बेचेर मस्ती गरे ।


    यस्तै चाल, गती, मती अझ रहे रोकिन्न मान्छे यता

    लाग्नै पर्छ भनाँै विदेश घरमा को बस्छ, कहाँ कता ?

    खोज्ने चक्करमा प¥यौँ यदि भन,े अस्तित्व हाम्रै गयो

    मान्छे रोज्न पुगे त जीर्ण बरियो नौलो नयाँ के भयो ?


    भन्ने धार बढो यता मुलूकमा बौद्धिक धार उता

    सङ्गाल्दा अझ बर्ष–बर्षहरूमा मान्छे हराए कता ?

    भन्ने शोक लियौँ बेताल–सुरका, हाँस्छन् छिमेकी अझै

    छाडेकै परिमाणले हुन गयो यस्तै त बोल्छन् सधैं ।


    भिक्षा, भाषणले हँुदैंन दुनियाँ बाली सपार्नै परो

    यस्का लागि सधैं युवा जगतले बाँझो उधार्नै परो

    गुम्ने नाम सधंै विदेश नबसौ, राम्रै कमाए पनि

    अर्कैको जननी त भन्छ मनले जस्तै रमाए पनि ।


    आँधीखोला गाउँपालिका , स्याङ्जा ,नेपाल









    व्यार्थैको रै’छ लेखनी

    ~डा.मेघराज ढकाल~

    छन्द: अनुष्टुप्


    मर्दैन भोकले मान्छे नारा भए अघाउँछ

    चहिन्न सीपको खेती भाषणले फलाउँछ ।

    बारी र खेतका पाटा बिना मान्छे हराभरा

    बन्न सक्ने भए साँच्चै के खाँचो नर वा चरा ?


    समृद्ध देश बन्ने छ खेदिएमा युवाहरू

    नोटमा भोट बढ्ने छ पञ्चायती कथाहरू

    पुनरूत्थान नै होला विद्या ज्ञान परै सरे

    सम्सेर रूप नै चल्छ ईष्टमित्रहरू भरे ।


    एकै खाले छ अन्याय सजाय भिन्न बन्दछ

    आफ्नो भन्छ त निर्दोष अर्कोमा चोर देख्दछ

    छ प्रधान थिए भन्थे उहिल्यै देशमा पनि

    सम्झेमा हाल उस्तै छ राजनीति यहाँ अनि ।


    बालुवाटारको जग्गा रकमी मारमा गयो

    कुलाखोलो सबै आज सम्पत्ति दलको भयो

    हतियार, धनै, गुण्डा लोकतन्त्र भयो सब

    सत्य, न्याय हराएको देशमा दर्ज भो’ अब ।


    संविधान भयो आज लोकतन्त्र त भन्दछ

    डुबुल्की मारिई हेर्दा सतिको बास गन्ध छ

    भाषा बान्की त मिलेन दर्शन् कस्तो त देख्दछ ?

    व्यर्थैमा निर्मला मार्ने छायाँ सम्सेर जाग्दछ ।


    बडेमान म हूँ भन्दै केन्द्रले थिच्न खोज्दछ

    प्रदेश म ठूलो भन्दै सिँङ्गौरी खेल्न जान्दछ

    दोहोरो मारमा आज स्थानीय शासनै भयो

    लङ्गडो देश बन्दैछ , महङ्गी उर्लदै गयो ’ ?


    साँढासाँढी रमाएका शक्ति हाम्रो भयो भनी

    डाम्नाडाम्नी बढेका छन् गालीताली दिदैँ अनी

    उर्लिए खहरे जस्तै कुर्लिए कागझैँ बनि

    धनधान्य पदै ठूलो मात्र भो’ ऐस जीवनी ।


    बिग्य्रो भत्क्यो भने नीति परत्र सार खोज्दछ

    पलाएमा गुदी केही पाखुरा सुर्की बोल्दछ

    नेपाल सरकारै यो बोल्दा लाज भयो किन

    सरकार त यो मेरो मात्र भन्नु भयो किन ?


    दोधार मनमा बन्थ्यो बोलौँ कि नबोलौँ किन ?

    आफ्नो मात्र भलो हैन अरुको भलोमा हिँड

    भन्ने सोच भए मात्र देश उत्थान हुन्छ है

    अन्यथा पतनै हुन्छ अशान्त वा धरापमै ।


    जुत्ता जत्ति महङ्गो होस् पैरिन्छौ पैतला तल

    इतिहास त लेखिन्छ सेता–काला त बादल

    भने मान्छे बडो ! दम्भ गर्दै छ पदमा किन

    खाली हात त जाने हो विर्सिन्छ मनुवा किन ?

    १०


    लेखेँ बोले चिलाएर हात मुख कति कति ?

    मरे मान्छे त व्यर्थमा सीमा क्षति भयो अति

    पोल्यो पेट छुटे ज्वाला आगाले भष्म दन्दनी

    जलेको छु त काव्यमा व्यर्थैको रै’छ लेखनी ।

    ११










    पाखा पखेरा भरि नाँच्‍न पाऊँ

     

    ~इलामेली टीकाराम दुलाल 

    छन्द कविता : ईन्द्रबज्रा


    डाफेँ जुरेली चरि साथ घुम्दै

    अग्ला हिमाली चुचुरा नि चुम्दै

    नेपाल मेरो सब ठाउँ जाऊँ

    पाखा पखेरा भरि नाँच्‍न पाऊँ ।१।


    सौभाग्य मेरो र छु भाग्यमानी

    सोचेर पानी म त हुन्छु पानी

    जन्मेर आए यहि बाच्‍न पाऊँ

    पाखा पखेरा भरि नाँच्‍न पाऊँ।२।


    नेपाल मेरो भनि गर्व गर्छु

    यो देश खातिर् जिउने र मर्छु

    झण्डा उचाली कसरी अघाऊँ

    पाखा पखेरा भरि नाँच्‍न पाऊँ ।३।


    पर्दैन ठूलो भनि भन्‍नु आज

    सच्चा म गोर्खे भनि भन्छु माझ

    यो छात्ति चौडा गरि हास्‍न पाऊ

    पाखा पखेरा भरि नाँच्‍न पाऊँ ।४।


    माथी हिमाली चुचुरा मिलेको

    मैदान ठूला तल केचनाको

    हास्दै र खेल्दै म त घुम्‍न जाँऊ

    पाखा पखेरा भरि नाँच्‍न पाऊँ ।५।


    बोकेर नाचौ म त चन्द्र सूर्य

    लौ एकताको बिगुलै फुकेर

    यो पूर्व के पश्‍चिम सम्म जाऊँ

    पाखा पखेरा भरि नाँच्‍न पाऊँ।६।


    इलामेली टीकाराम दुलाल

    नक्साल




    फर्केर आऊ घर

    नवराज भट्ट


    छन्द: शार्दूलविक्रीडित

    गण:म स ज स त त गुरु

    विश्राम: छ र बार्‍ह अक्षरमा


    नवराज भट्ट

    नवराज भट्ट


    साह्रै कष्ट भएछ गाउँ घरमा राेएर बस्छन् सबै

    आमाबाबु सबै यहाँ दुखित छन् बाटाे कुरेका अझै

    बाँझाे खेत भई न अन्न छ यहाँ देखिन्न बाँच्ने भर

    यस्ताे हालत देखिएछ सबकाे फर्केर आऊ घर।


    देखिन्छन् सब वृक्षपत्र हरिया बस्छन् अनेकौं चरा

    चर्दैछन् मृग ती पसेर वनमा आनन्द मान्दै धरा

    यस्ताे सुन्दर देशमा मन बसे काे जान्छ छाेड्दै पर

    थाेरै नै धन पाउँला बरु यहाँ फर्केर आऊ घर।


    शिक्षामा धन बग्छ हेर सबकाे सन्तानका खातिर

    साह्रै कष्ट सहन्छ खास जनले झुक्दैन ठाडो शिर

    देख्छन् हेर भविष्य बन्न भरिया काे गर्छ धेरै कर

    यस्ताे दास बनेर हुन्न मनुवा फर्केर आऊ घर।


    साह्रै दु:ख म देख्छु आज धरमा देखिन्न राम्राे कतै

    काेही युद्ध गरेर भाँसिन गए मान्छे मरेका त्यसै

    यस्ताे शान्त मिजाजकाे मुलुक झैँ पाइन्न खोज्दा पर

    आफै बुझ्नु पर्‍यो कुरा सहजमा फर्केर आऊ घर।


    काेही छैन यहाँ कुबेर धनका गर्छन् गुजारा सबै

    आफ्नै काम गरेर जीवन बन्याे लाेभी भएका कमै

    यस्ताे चाल बुझेर मानिस सबै छाेड्दै गएका धर

    आफ्नै खेत खनेर मिल्छ ढुकुटी फर्केर आऊ घर।


    कञ्चनपुर


    आमा

    चन्द्र बोहरा


    छन्द शार्दूलविक्रीडित

    गण:म स ज स त त गुरु

    विश्राम: छ र बार्‍ह अक्षरमा



    चन्द्र बोहरा


    देवी हुन् सबमा छ प्रेम ममता आमा सधैँ हुन् घर

    आमा जीवनकी जया भुवनकी आमा सधैँ सुन्दर

    आमाको अति प्रेम सागर बनी हो छालमा छल्किने

    आमाको ममता सदा हृदयमा संसारमा झल्किने।


    आमा छन् जबसम्म साथ घरमा चाहिन्न कोही पनि

    आमा छैन सदैव यो घर सबै साह्रै सुनो आँगनी

    आमा शब्द समान शब्द रसिलो भेटिन्न संसारमा

    आमाको करुणा र आसिक सधैँ राखौँ शिरैमा सदा।


    बाल्दै जानुछ ज्योति झल्ल घरमा साह्रै उज्यालो बनी

    आमा चन्द्रमुखी र शान्त जननी हुन् जन्मदाता पनि

    आमाकासरि प्रेम यो भुवनमा गर्ला र को आखिर

    आमाको अति उच्च भाव मनले गर्छौं सदा आदर।


    आमाको ममता छ प्रेम दिलमा आमा मनैकी धनी

    मानौ चन्द्र समान दिव्य भवमा दिन्छिन् सधैँ रोसनी

    बाबा भास्कर तुल्य तेज सबमा हाम्रा उनै ईश्वर

    आमाको ममता विशाल भवमा झर्ने बनी निर्झर।


    लेख्छन् जो कविले कथेर कविता सुन्दैन कोही पनि

    आमा वृद्ध भईन् भनेर घरमा बस्दैन कोही पनि

    रुन्छन् वृद्ध पिता बसेर घरमा सोध्दैन कस्तो मन

    छोडी पुत्र गए विदेश सब नै डुब्दै छ है जीवन।

    कैलाली


     


    बनौं आशावादी

    कृष्णदत्त जोशी


    छन्द:मन्दाक्रान्ता

    गण:: म भ न त त गु गु

    विश्राम: चौथो र दसौँमा



    कृष्णदत्त जोशी


    बस्तीमा छन् घर खजुर झैँ अग्लिदै माथि माथि

    सामुन्ने छन् तन मन भने दूर छन् हेर साथी

    मर्दापर्दा सुख र दुखमा छैन जन्ती मलामी

    के भो यस्तो निरस दुनियाँ सभ्यता छन् बिरामी ।


    यो यात्राको सब सुख बुझौँ अन्त हो घाटसम्म

    के ल्याए थे कति छ जगमा लाग्नु बोकेर टम्म

    ढुङ्गा जस्तो निठुर दिलको चेत भै चेत हीन

    ए मान्छे हो निरस नबनौँ यन्त्र आत्मा विहीन ।।


    वासन्तीका नवरस मिली हाँस्छ यो जिन्दगानी

    माया पाए प्रकृतितलमा फुल्छ मीठो जवानी

    चोखो पाई मृदुल ममता काख मातापिताको

    बच्चा हाँस्छ्न् सरगम जसो बाल हाँसो मजाको ।


    मायामा नै मगमग भई सृष्टिका फूल फुल्छन्

    मायाले नै अखिल जगमा बन्धुका भाव खुल्छन्

    यस्तो माया मनुज सबले हेर साथी नत्यागौँ

    हत्या हिंसा छलकपटका भाव हामी नराखौँ ।


    खोज्दै जादा सुख जति सबै पीर पाएर सारा

    देखेनौँ के अतिचकिलो देख्न माया सहारा

    मान्छे हुन्छन् दिलभरि भए भाव चोखो दयाको

    ए मान्छे हो सुखसित सिकौँ ज्ञान बाँच्ने कलाको ।

    कञ्चनपुर


    पर -जा -तन्त्र !

    छबिलाल आचार्य


    छन्द:अनुष्टुप

    गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ

    पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ

    दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व



    छविलाल आचार्य


    वर्ग सङ्घर्षको बाटो घातमा अल्झियो हरे !

    राष्ट्र बचाउने नारा कुर्सीमा बल्झियो अरे

    हाना हान भयो कुर्सी सिङ्हको दरबारमा

    हाम्रो तन्त्र रमेको छ नेताको घरबारमा ।


    लोगो भित्र छ यो देश डोको भित्र नदी जल

    स्वाभिमानी भयौँ हामी ? नगरौँ अब खल्बल

    फसेको छ प्रजातन्त्र बिदेशी जाल झेलमा

    बसेको छ प्रजातन्त्र कुर्सीको खेल खेलमा ।


    युवाको जोसमा लुक्छ तान्छ लान्छ बिदेशमा

    प्रजातन्त्र रमेको छ नेताको झेलखेलमा

    शक्तिमा छ प्रजातन्त्र भक्त भै बाँच्नुपर्दछ

    बम्बैका घरमा हेर नग्न भै नाच्नुपर्दछ ।


    अत्याचार बलात्कार तन्त्रको मन्त्रनै भयो

    कमिसन् तन्त्रको पेवा प्रजातन्त्र रहिरह्यो

    तस्करी माफिया तन्त्र प्रजातन्त्र उदार भो

    गणतन्त्र प्रजातन्त्र दुष्टकै अनुहार भो ।


    बिदेशी मार्ग बन्दैछन सीमा स्तम्भ ढलाउँदै

    स्वाभिमानी बनेका छौं नेपाली कहलाउँदै

    लुत्ते कुक्कुरझैँ फूर्को हल्लाइ स्वामिभक्तझैँ

    कलोका भरमा देश अडेकोछ असक्त झैँ ।


    न्यायकर्ता भए अन्धा लङ्गडो अख्तियार भो

    जो जस्ले मन्त्रणा गर्छन् तिनैको शब्द प्यार भो

    पर -जा तन्त्र भन्दैछन् जो जस्लाई चुने भयो

    बिरालो दुधको साँची राखे जस्तै हुने भयो ।


    सुनमा नुनमा सारा शक्तिको अनुहार छ

    जो आफ्नै श्रममा रम्छ उसैको नित्य हार छ

    चाहे भ्रष्ट भनून् या त चाहे गुण्डा भनून् कतै

    पर – जा – तन्त्रमा ऐले पैसा बोल्छ जताततै ।


    एक तन्त्री तिनै देख्छु गणतन्त्रीहरू तिनै

    सर्पको काँचुली जस्तै कत्ला फेर्छन ती दिन्दिनै

    पर-जा- तन्त्रमा रम्दै लामो ताँती बनाउँदै

    हाम्रो दिवस यो हुर्क्यो भित्री आँत गनाउँदै ।


    प्रेम पूजा

    कपिल किशोर घिमिरे


    छन्द:भुजङ्गप्रयात

    गण: य य य य

    विश्राम: छैठौँ अक्षरमा



    कपिल किशोर घिमिरे


    म प्रेमी हुँ तिम्रो म तिम्रै हुनेछु

    हुनेछैन टाढा म साथै हुनेछु

    सकेसम्म माया असाध्यै दिनेछु

    परे दु:ख भारी म आफैं लिनेछु।


    बनाएर रानी सधैँ राख्छु प्यारी

    दिनेछैन पीडा र चिन्ता पियारी

    तिमी प्यार मेरो म प्यारो छु तिम्रो

    सधैँ प्रेम फुल्दैछ आहा ! सुनौलो ।


    दियौ साथ छोडेर बाबा र आमा

    दिनेछैन पीडा छु राख्ने खुसीमा

    छ मेरो प्रतिज्ञा म तोड्दैन प्यारी

    बसाल्दै दिलैमा सदाझैँ म प्यारी।


    लिएँ हात मैले नछोडेर राख्छु

    समाएर प्यारी रमाएर राख्छु

    नलेऊ कुनै ताप चिन्ता मनैमा

    र राख्दैछु मैले म आफ्नो दिलैमा।


    तिमी पीर मान्दा फकाएर राख्छु

    खुसी पार्छु मैले हँसाएर राख्छु

    म हार्नेछु सारा तिमी जित्न सक्नू

    कुबाटो म लागे सुधारेर राख्नू।


    सबैले भनून् प्रेम राम्रो यिनैको

    असाध्यै मिलेको छ जोडी यिनैको

    न गर्छन् लडाइँ सधैँ छन् मिलेका

    सबै काम मिल्दै दुबैले गरेका।


    सुनायो नराम्रा कसैले कुरा नै

    चनाखो बनेरै नबोल्ने बने है

    लगाएर आगो टुकार्नेहरू छन्

    बिगारेर सम्बन्ध पीडा दिने छन्।


    सकेमा सबैको भलो गर्नुपर्छ

    बिगार्नेहरूको कुरै सुन्नुहुन्न

    अरूको नराम्रो गरे सड्नुपर्छ

    सकेसम्म राम्रो सधैँ गर्नुपर्छ।


    प्रकृति र मनुष्य

    सगुन सापकोटा


    छन्द:झ्याउरे

    गण:३+२+३+२+३+३=१६ अक्षर

    विश्राम :पाचौँ र दसौँ अक्षरमा



    सगुन सापकोटा


    माटो र पानी हो जिन्दगानी पवन प्राण हो

    बिरुवा बोट अन्न र बाली ज्याँनको त्राण हो

    हिमाल चिसो शीतको केन्द्र सबैको साझा हो

    जिवात्मा सारा धर्तीमा बस्ने आफैमा राजा हो।


    जन्तुमा टाठो सबैमा बाठो मान्छे छ जगमा

    उठाइ लौरो रजाइँ गर्छ मान्छेले सबमा

    मासेर वन बनाइ धन मालिक बन्दछ

    संसार सारा हो राज्य मेरो म राजा भन्दछ।


    स्वार्थको भारी बोकेर हिड्छ इमान त्याग्दछ

    नैतिक शिक्षा सेवा र धर्म नालीमा फ्याँक्दछ

    आपसी द्वेष सिर्जना गर्छ लोभमा फसेर

    अर्काको हित कोलमा पेल्छ हत्कडी कसेर।


    बारुद गोला बनाइ आफू सर्वोच्च ठान्दछ

    निरीह माथी शक्तिको बज्र ताकेर हान्दछ

    मै खाउ भन्ने कु भाव बड्दा शान्तिको बेहाल

    आपसी मेल बढाए शान्ति हुनेछ बहाल।


    प्रकृति प्रेम दया र धर्म सम्मान सबैको

    समस्त प्राणी समान भन्ने सोच होस् सबैको

    त्यागेर खड्ग विद्याको ज्योति फैलाइ गाउँमा

    सद्भाव छरौं शान्तिको लागि धराको नाउँमा ।


    ओजस्वी

    अनुप राज उप्रेती


    छन्द:शार्दूलविक्रीडित

    गण:म स ज स त त गुरु

    विश्राम: छ र बार्‍ह अक्षरमा



    अनुपराज उप्रेती


    आभा लुक्छ लुकाउछन् सब मिली ओझेल ओझेलमा

    पूर्खाका सब सभ्यता बिगतका दुर्भासका भेलमा

    सूर्जे लुप्त भयो सदा सगरमा सन्त्रास यो फैलियो

    माटोको प्रतिमूर्ति बन्न नसकी आकाश नै मैलियो ।


    रोई बस्दछ अस्मिता मुलुकको बिर्सी यशस्वी सब

    पासो निर्मम बेर्दछन् दलिनमा स्वाधीनताले अब

    ए! आमा किन पग्लदैन कहिल्यै सन्तानका यी मन

    रोएको छ परन्तु ती दशगजा पाषाणका लोचन ।


    त्याग्याैँ गौरव पूर्व सौरभ सबै स्वर्णीमको प्रातमा

    मिथ्या सार रसाउने समयको दुर्भाग्यको रातमा ।

    हाम्रा चन्द्र र सूर्य छन् सगरमा स्वाधीनताका रथी

    ब्वासाको कर काट्न उर्ल रणमा ए देशका सारथि ।


    श्रद्धाको शवमा कठै हृदय यो आफैँ मलामी गयो

    नेपाली मन पश्चिमी सलहको आक्रान्त जस्तै भयो

    ए! आकाश सजाइदे रहरका सारा दिलाशाहरू

    भत्केका सपना हजार मनका आशा निराशाहरू।


    ए! हावा अब ल्याइदे सफरमा आभास सानन्दको

    नाका बन्द गराइदे हृदयका दुर्भाव औँ स्वार्थको ।

    सूर्जे अंशु फिजाइदे मुलुकमा कालो छ चारैतिर

    ए! चैतन्य बनाइदे अब यहाँ स्वर्णाभ सागर ।



















    बलात्कारी पुत्र नदे !

    उत्तम विचार भेटुवाल 


    छन्द: शिखरिणी


    गण:  य  म  न  स  भ  लघु  गुरु


    विश्राम: छैठौँ र बाह्रौँ अक्षरमा


     



    उत्तम विचार


    बलात्कारी छोरा कटु हृदयका जन्मिनु किन


    रुँदै आमा भन्छिन् सपुत नहुँदा जल्दछ तन


    जथाभावी  गर्दै  पशुसरि  बनी  यौन  पथमा


    हिँड्यो छाडा लागी बयल जसरी मत्त मदमा ।



    कसैका छोरीको बलजफतमा हुर्मत लियो


    नचिन्नाले आमा पतित नरको धर्म सकियो


    भनी ऐया ऐया अतिशय खपी सुन्दछ कहाँ


    बलात्कारी मोरो चरम मदमा मत्त छ  जहाँ ।



    तिनै साथी भन्दै अघिपछि  हिँडी  सङ्गत गर्‍यो


    बुबा आमा ठान्छन् सरम चुलिँदा इज्जत डर्‍यो


    भयो  छोप्नै  गाह्रो  गुपचुप  कुरा  फैलिन  पुगे


    बलात्कारी छोरा अब त भगवान्  भन्दछु  नदे ।



    उता छोरी रुन्छन् कहर  भयमा  बित्दछ  दिन


    यता आमाका छन् नजर रसिला  हेर्न  सकिनँ


    खपी पीडा बाँच्ने थकित तनले अश्रु ननिलोस्


    बलाकारीलाई भनसुन गरी  न्याय  निमिलोस् ।



    चमत्कारी ठान्छन् अझ पनि तिनै कर्तुत गरी


    तिनै  पुग्छन् माला वरपर  घुमी  गुथ्न पगरी


    भुली देवी  आमा कपुत  नगरोस्  चीरहरण


    बलात्कारीलाई अतिशय मिलोस् मृत्यु वरण ।



     लिखु-६, नुवाकोट


     


     


    जिन्दगानी 

    जानुका गुरागाईँ


    छन्द:भुजङ्गप्रयात


    गण: य   य  य  य


    विश्राम: छैठौँ अक्षरमा


     



    जानुका गुरागाईँ


    कतै छल्न सक्ने बुख्याचाहरू छन्


    कतै  मार्ग  द्रष्टा  र  साँचाहरू  छन्


    कतै  घाम  चर्का  कतै   पर्छ  पानी


    छ पट्यारलाग्दो   कहाँ  जिन्दगानी ।



    कतै आलसी  छन्  कसेका पलेटी


    कतै  ओठ  हुन्छन्  परेका  कलेटी


    सही कष्ट  नौनी  दिँदै छन्  मदानी


    छ पट्यारलाग्दो  कहाँ  जिन्दगानी ।



    दुखेसा यहीँ छन् सुखेेसा यहीँ छन्


    र आशा भरोसा  लुकेका यहीँ छन्


    गरी  हिँड्न सक्दा निराशा चलानी


    छ पट्यारलाग्दो  कहाँ  जिन्दगानी ।



    बनाएर    बाँझै  स्वयम्   खेतबारी


    कहाँ भर्न सक्छौँ खुसीका भकारी


    सिँगारे  धरा यो  बनी  स्वाभिमानी


    छ पट्यारलाग्दो  कहाँ  जिन्दगानी ।



    हिमाली छटा  भन्दछन्  नित्य हेर


    गरे   हुन्न   के   खै   सबैले  मिलेर


    लिई साथ उठ्दा  सुनौलो बिहानी


    छ पट्यारलाग्दो  कहाँ जिन्दगानी।



         झापा,   हाल-काठमाडौ 


     


     


     


    समता

    कविराज घिमिरे 


    छन्द: मालिनी


    गण:  न   न   म   य   य


    विश्राम:  आठौँ अक्षरमा


     



    कविराज घिमिरे


    कलबल छल गर्दा हुन्छ नोक्सान मात्र


    तर पनि किन हुन्छन् देशमा यी कुपात्र


    जप गर समताको चल्छ उस्तै फटाइँ


    खुरुखुरु ठगबाटै हुन्छ जाबो रजाइँ ।



    घरघर जनताका दु:ख पीडा गएनन्


    गरिबजन उनै छन् खान पुग्ने भएनन्


    अकुत धन कसैको बाहिरै थुप्रिँदै छ


    नजप न समता यो राष्ट्र नै कुप्रिँदै छ ।



    मृतसरि हुन पुग्छन् कानुनी अङ्ग सारा


    प्रतिदिन कति छुट्छन् घातकी ज्यानमारा


    पसल छ घृत बेच्ने चल्छ व्यापार खोटो


    अब बुझ समताको आयु बन्दै छ छोटो ।



    दल दलबिच फाटो एकता स्वार्थ लागि


    लुटुपुटु सब हुन्छन् द्रव्यमा लाग्छ भागी


    ठगठग अझ मिल्छन् ठग्नलाई समस्त


    कृपणजन हुनाले मित्रता हुन्छ ध्वस्त ।



    अति असक भएका वृद्धवृद्धाहरूका


    करुण मलिन आभा देखिए झन् बढेका


    युवक र युवती छन् दूरका पारि देश


    किनकिन समताको प्रेरणा नै चुकेछ  ।



                  चाँगुनारायण न.पा ४, भक्तपुर 


     


     


    कविता पगार्छिन्

    गङ्गा आचार्य सापकोटा 


    छन्द: उपेन्द्रव्रजा


    गण: ज  त  ज  गु  गु


    विश्राम: पाँचौ अक्षरमा


     



    गङ्गा आचार्य सापकोटा


    डुबेर आफ्नै मन भावनामा


    डटेर लाग्दा तप साधनामा


    सरस्वतीले पनि साथ दिन्छिन्


    सलल्ल गङ्गा कविता पगार्छिन्।



     


    तनावलाई सहजै भगाई


    सहस्र ऊर्जा मनमा जगाई


    हरेक बाधा अवरोध तोड्छिन्


    सलल्ल गङ्गा कविता पगार्छिन्।



    अपार माया दिलमा उमार्दै


    सबै जनामा समभाव राख्दै


    गरूँ सबैको सहयोग  भन्छिन्


    सलल्ल गङ्गा कविता पगार्छिन्।



    खटेर लाग्दै नित साधनामा


    म रच्छु भन्छिन् नव शिल्प नाना


    सदा सकारात्मक सोच राख्छिन्


    सलल्ल गङ्गा कविता पगार्छिन्।



    बुझेर अस्तित्व र सत्त्व के हो


    मनुष्यको जीवन तत्त्व के हो


    छ जान्नु सांसारिक तथ्य भन्छिन्


    सलल्ल गङ्गा कविता पगार्छिन्।



                               बागलुङ, हालः काठमाडौं


     


     


    समयचित्र 

    शम्भु प्रसाद गजुरेल (कुनाघरे काहिंलो)


    छन्द-अनुष्टुप


    गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ


    पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ


    दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व


     


     


    उस्तै छ दिन वा रात प्रवाह जलको उहि


    रविको तेज उस्तै छ उस्तै छ वायुको गति ।



    पशुमा स्वार्थ थोरै छ  ईमानको भँडार छ


    मान्छे हो लोभको थुप्रो जमानको ढँडार छ।



    समाचार बिकेका छन् मदिरालय चोकमा


    ल्याप्चेको नाममा टाङ्छन् सम्पादकीय ‘झोक’मा।



    खेल धेरै हुने गर्छन्  वरीयता विभिन्न छ


    खेलाडी मात्र फेरिन्छन् नतिजा लमतन्न छ।



    सल्यक्रिया अचानोमा मधौरु प्राण माग्दछ


    चक्कु बोकेर बस्नेले धोक्रामा नेट थाप्दछ।



    कालो कोट टाँगेको  बुख्याँचा मर्म शून्य छ


    रक्षा पीडकको गर्ने अन्धकासुर तुल्य छ ।



    त्रिपिटक उचालेर वधशाला रमाउँछ


    धर्मको गीत उराल्दै महिष नै कराउँछ।



    तक्माको दान गर्नेले  तक्मा थाप्दछ हातले


    छापिन्छ पाठ्य सामग्री आशको मन्द धापले।



    बेचिन्छ मानको पट्टा बेचिन्छ जनको मन


    अँगार बन्छ मोती नै गोजीमा चाहियो धन।



    शिसी चुनावमा मात्दै लठ्ठ भएर ढल्दछ


    विद्वता भोटले चुन्ने अनौठो खेल चल्दछ।


    १०


    गुम्बा आश्रम खोल्नेको कब्जामा जल जङ्गल


    अनुयायी   उफारेर   गद्दीको   गर्छ   मंगल।


    ११


    पाए व्यञ्जन फुर्किन्छ  नपाए बन्छ कर्कश


    बाँधेर नेत्रमा टालो  बन्छ पथ प्रदर्शक ।


    १२


    देखेर चन्द्रमा दाग  छैन भन्न म सक्दिन


    रातिमा सूर्य झुल्किन्छ  भन्ने भ्रम म पाल्दिन।


    १३


    बेलकोटगढी न.पा. वडा नं. ९, नुवाकोट 


     


     


     


    वसन्त फूल र भृङ्ग

    धरणीधर गुरागाईं


    छन्द:- पञ्चचामर


    गण- ज  र  ज   र  ज गु


    विश्राम: आठौँ अक्षरमा


     



    धरणीधर गुरागाईं


    बसेर चुम्छ फूल त्यो नहुन्छ भूल भृङ्गको


    बुझेर फूलले अहो!सहेर दिन्छ चुम्न पो


    वसन्तमा रमाउँदै  उडेर पुग्छ बागमा


    पुगेर पातमा बसी छ लट्ठ ऊ परागमा ।



    सुवास छर्छ फूलले हरर्र हर्हराउँदै


    वतास चल्छ सुस्तरी सुगन्धमा रमाउँदै


    उडेर पुग्छ वासना जताततै छ फैलदै


    सुँघेर भृङ्ग फूलमा त आउने रमाउँदै ।



    डराउँदैन भृङ्ग ऊ  चुमेर चुम्म चुम्दछ


    समीपमा पुगी पुगी घुमेर चुम्न बस्दछ


    हुँदै हुँदैन फूलले भनेन हुन्न चुम्न ता


    चुमेर बस्दछौ भने लु हुन्न जान है उता ।



    विभिन्न रङ्ग रङ्गका गुलाब फुल्दछन् यहाँ


    उडेर आउँछन् खुबै अनेक भृङ्ग झन् यहाँ


    तिमी वसन्त आउँदा सदा बुझेर आउनू


    निराश पार्न हुन्न है कुदेर झट्ट आउनू ।



       मेचीनगर नपा- ९ धुलाबारी, झापा


                                हाल: काठमाडौ 


     


     


     


    हृदय रमायो

    शान्ति सिग्देल


    छन्दः कुसुमविचित्रा


    गणः न  य  न  य


    विश्रामः ६ अक्षरमा


     



    शान्ति सिग्देल


    सुललित गाए तरुलहराले


    छमछम नाचे भिर पहराले


    मुसुमुसु हाँस्दै नव दिन आयो


    मधु कविताले हृदय रमायो ।



    ढकमक राम्रा कुसुम फुलेर


    चिरविर गर्दै विहग डुलेर


    मधुर कलाले उपवन छायो


    मधु कविताले हृदय रमायो ।



    हिमगिरि हेरी किरण  छ झर्दै


    मनुज खुसीले छ भ्रमण गर्दै


    मन पुतलीझैँ  भुरुरु उडायो


    मधु कविताले हृदय रमायो  ।



    पलपल नौली प्रकृति पियारी


    कवि मन हेर्छन् नयन उघारी


    जनमन सारा मिलन गरायो


    मधु कविताले हृदय रमायो  ।



    प्रतिदिन बन्दा जलधि समान


    तिमिर हराई झलल बिहान


    कुसुमविचित्रा सलल बगायो


    मधु कविताले हृदय रमायो  ।








    त्रिशूली

    कविराज पौडेल


    छन्द: मन्दाक्रान्ता

    गण:: म भ न त त गु गु

    विश्राम: चौथो र दसौँमा



    कविराज पौडेल


    निक्ल्याै क्यारे प्रिय भुलभुले मूल गाेसाइँकुण्ड

    यात्रा थालेसरि तल झरी शैलकाे काेख-काेख

    काली भेट्ने मनभरि लियाै कि त्रिशूली अठाेट?

    मर्स्याङ्दीकाे जलसित मिली आउँछाै देवघाट ।

    डाँडाकाँडा घुमफिर गरी ओर्लिँदै फाँट-फाँट

    सम्झी काली तलतिर झरिन् माइती मुक्तिनाथ

    सम्झी आफ्नै प्रिय दिन भनी चिन्ह टेकेर धाम

    ल्याई हाेलिन् टलटल शिला टल्किने शालिग्राम ।

    तिम्रा राेके पनि पगहरू चञ्चलाचारिणीले

    डाकी लान्छिन् तर जलपरी फेरि नारायणीले

    बाेकी लाखाैँ समयगतिकाे बिम्ब आफ्नै अनादि

    लिन्छाै बग्दै भन न कसरी सिन्धुमा गै समाधि ?

    खेले जस्तै चिरसमयकाे अन्नबाली बयेली

    हाले जस्तै वरपर यतै सभ्यताले सुसेली

    यै आस्थाकाे विविध-जनकाे धाम प्याराे बनेकाे

    छाेई तिम्रै जल-चरणले हाे त्रिवेणी बनेकाे ।

    सुन्छाै क्यारे थकित तनका दु:खका भाष्यलाई

    खेपी पीडा बगर बगरै मर्छ मान्छे नखाई

    पाेखी सारा गरिबजनकाे क्राेध चट्टानमाथि

    बज्रिन्छाैझैँ अति अजङकाे शैलकाे खाेचमाथि।

    मान्छेलाई नियम गतिकाे सुझ्नलाई लगाऊ

    नाैला हुन्छन् प्रहर दिनकै बुझ्नलाई लगाऊ

    “संगच्छध्वम्” ध्वनि दशदिशा गुन्गुनाएर जाऊ

    काेही भेटे जड बरु सके गड्गडाएर जाऊ।

    फर्की गाना कलकल बगी सृष्टिकाे गाउँछाै रे

    तिम्राे यात्रा छ बगिरहने बर्सिई आउँछाै रे

    तिम्राे फिर्ती यदि हुन सके साथमा गाउँला म

    बग्दै तिम्रा नजिक रुखका पातमा आउँला म ।

    ऐले जस्ताे छु तर नहुँला भाेलि अर्कै हुँला म

    याैटा छुट्टै अलिकति नयाँ रूपमा भेटुँला म

    फर्की आए कण कण हुँदै पूर्ण आकार पाई

    हाेला हाम्राे मिलन नभुली मेघ मल्लार गाई।

    नाघी अग्ला हिमशिखर ती घाम ओर्लेर जाला

    ताेडी घेरा बरु वदनकाे शक्ति निक्लेर जाला

    तिम्रा बाटाभरि तर कतै सूर्य अस्ताउँदैन

    यात्रा तिम्राे अमर छ सखे, सिन्धुमा राेकिँदैन।


    रुपन्देही


    पाखण्डीपनमा रमौँ

    डा. श्यामप्रसाद न्यौपाने


    छन्द अनुष्टुप

    गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ

    पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ

    दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व

    विश्राम:आठौँ अक्षरमा



    डा. श्यामप्रसाद न्यौपाने


    झिकेर दम्भको ज्वाला तर्साऔँ जनका मन

    निभाई न्यायको बत्ती गरौँ अन्याय दिन्दिन

    फुटाऊँ जनतालाई क्रोध ईर्ष्यादिले भरौँ

    रमौँ, रमौँ,रमौँ हामी पाखण्डीपनमा रमौँ ।

    छिद्र छिद्र नियालेर द्वेष आपस्तमा भरौँ

    उचाली एउटा अर्को पछारी रमिता गरौँ

    नलिई सत्यको साथ छुद्रता मनमा भरौँ

    रमौँ, रमौँ ,रमौँ हामी पाखण्डीपनमा रमौँ ।

    उधिनौँ सम्पदा सारा जो छन् प्रकृतिका वर

    शक्ति सम्पन्नले भोगौँ उजाडी भव सुन्दर

    अरूको मार्ग जे होला आफ्नो स्वार्थ पूरा गरौँ

    रमौँ, रमौँ, रमौँ हामी पाखण्डीपनमा रमौँ ।

    भत्काई नीतिका मार्ग स्वेच्छाचार गरी बढौँ

    हरेक जनमा तुच्छ भेदी भाव भरी बढौँ

    गरी आडम्बरी चाला आफ्नो नाम स्वयं जपौँ

    रमौँ, रमौँ, रमौँ हामी पाखण्डीपनमा रमौँ ।

    मिथ्याको जाल सिर्जेर ढोंग रच्दै रहौँ अनि

    मिथ्याकै जाल फैलाऊँ सदाचारीसरि बनी

    सत्य,न्याय,इमानैको सातो काढी खुसी बनौँ

    रमौँ, रमौँ, रमौँ हामी पाखण्डीपनमा रमौँ ।

    राम्राको पक्षमा हैन हाम्राको पक्ष ल्यूँ सधैँ

    हाम्राको साथले मात्र सुखी छन् दुनियाँ सबै

    विवेकी नबनौँ धूर्त शकुनिझैँ सदा बनौँ

    रमौँ, रमौँ, रमौँ हामी पाखण्डीपनमा रमौँ ।

    सुनवल -१२ भुमही नवलपरासी


     


    जवानी

    हरिप्रसाद पौडेल “स्वर्ण शिखा”


    छन्द: शिखरिणी

    गण: य त न स भ ल गु

    विश्राम : छैठौँ र बार्‍ह अक्षरमा



    स्वर्ण शिखा


    जवानीको गाथा कहन मनुवाको छ कठिन

    छ गाह्रो मान्छेको मन मगज बुझ्नै यति किन

    छ बोलीचालीले चलन मतिले भिन्न मनुज

    जवानीको लीला अलग छ यसैकारण बुझ ।

    यही पानी आगो गगन अनि माटो पवन हो

    यही नै मान्छेको असल अनि निर्लज्जपन हो

    यही हो चम्केको अति चहकिलो चाँद नभको

    यही हो गम्केको सुरभि अनि उन्माद भवको ।

    जवानी छन् फुल्दै ढकमक कतै पुस्पक बनी

    जवानी छन् बिझ्दै चसचस कतै कण्टक बनी

    कतै बल्दै छन् ती धपधप बनी निश्छल शिखा

    कतैँ मास्छन् हिंसा अतिशय गरी तेज कलिला ।

    उखेल्ने धर्तीको कलुषित जरो जाँगर यही

    गुलामीको बाटो अनि अधमरो काँतर यही

    जवानी नै मीठो अतुल सुखको मूल पनि हो

    जवानी नै बिझ्ने कटु वचनको शूल पनि हो ।

    जवानी हो साँचो गुण मति दिने पुस्तक स्वयम्

    यही शिक्षा दीक्षा सिपजति लिने पाठक स्वयम्

    जवानी हो नौलो पथतिर हिँडाल्ने रथ स्वयम्

    जवानी नै हो त्यो रथ सहज हिँड्ने पथ स्वयम् ।


    शहीद

    अर्जुन शर 


    छन्द:झ्याउरे

    गण:३+२+३+२+३+३=१६ अक्षर

    विश्राम :पाचौं र दसौं अक्षरमा



    अर्जुन शर


    हाँसेर लायौ गलामा फाँसी जनता भनेर

    बन्दुक गोली गलामा निल्यौ जनता भनेर

    दासत्व फाल्न सदैव लाग्यो ए वीर शहीद

    आहुति दिन परेनौ पछि ए वीर सहिद ।

    हिँडेको तिमी छोड्दैछन् बाटो अबका पुस्ताले

    गुहार माग्दै छन् आज कालापानी र सुस्ताले

    हिँडेको तिमी लिपुलेकमा गस्ती छ अर्कैको

    नजर गिद्धे पर्दैछ यहाँ मस्ती छ अर्कैको ।

    सहिद नाउँ भजेर खाने जमात बढ्दैछ

    नमिल्दा साँढेहरूको हिस्सा बाच्छो पो मर्दैछ

    पवित्र मेरो भूमिमा झुटो खेती छ भएको

    यो हाल देख्दा नेपाल मेरो झनै छ रोएको ।

    माटोले माग्दै माग्दैन हामी आफैँले दिने हो

    सहिद जस्तै हामीले आफ्नो औसर चिन्ने हो

    गोलीले तातो शरीर मर्ला विचार मर्दैन

    नेपाली सच्चा कदापि कच्चा काम नै गर्दैन ।


    दाङ


     


    शैशवको सम्झना

    पद्मा रिजाल


    छन्द: शिखरिणी

    गण: य त न स भ ल गु

    विश्राम : छैठौँ र बार्‍ह अक्षरमा



    पद्मा रिजाल


    म जन्मेको माटो मगमग गरी छर्छ खुसबु

    हिँडेको त्यो बाटो विलयन भयो या छ हुबहु

    अहो ! कस्ता होलान् सलल बहने नित्य सरिता

    बसे बस्ती होलान् कि अझ पनि छन् शैल हिउँका।

    क्रिडा गर्थे आई वरपर बनैया हरघडी

    चरी मौरी नाच्दै मधुक पिउँथे निर्भय भई

    दिने गर्थी थाहा कुहुकुहु गरी काफल चरी

    मिठा पाकेका छन् फल रसिक आहा ! खुब भनी।

    अझै उस्तै होलान् रनवन कि पाटा बदलिए

    सुसेली हाल्दै छन् अझ वन चरी या अलपिए

    बने होलान् चौडा सडक कि चिरी उच्च पहरा

    गुडे होलान् गाडी सररर गरी कुञ्जपथमा।

    सँगै खेल्ने साथी पर पर भयौँ आज कसरी

    दुरुस्तै छन् हाम्रा मन मुटुहरू होइन सखी

    छु सम्झेको आफ्नै बचपन थियो जो सुरभित

    कथा आफ्नै सम्झी मन मगज यो भो विचलित।

    उकाली ओराली रमण गरिएला र कहिले

    निकै सुस्ताएझैँ तन मन दुवै मान्छु अहिले

    छ जागेको इच्छा तर गमन गर्ने दृढ भई

    र ल्याऊँ फर्काई विगत रसिलो जीवन गई ।

    यिनै यस्तै आफ्नै अब विगतका लेख्न कविता

    छ मात्रै सक्ने यो कर कमलले रोक्न सरिता

    छ धोएको आत्मा कलम र मसीले म कविको

    घुमोस् आत्मा मेरो अविरल मिलोस् दृष्टि रविको ।


    प्रेम गाँस्नु छ

    वीणा रोका


    छन्द: इन्दिरा

    गण: न र र ल गु

    विश्राम: छैठौँमा



    वीणा रोका


    असल कर्मको साधना गरी

    बुझ न बुद्धको सत्य मञ्जरी

    विनयशीलता देखियोस् सधैँ

    भन न शान्तिकाे देश हो सधैँ ।

    नयनभित्र त्यो दिव्य ज्ञान होस्

    कुशल कार्य होस् दान धर्म होस्

    वचन शुद्धता शान्त होस् मन

    सफलता मिलोस् राष्ट्रमा जन ।

    कहरभित्र नै बाँच्छ जिन्दगी

    स्वजन मित्र हुन् भन्छ जिन्दगी

    रहर धेर छन् बस्नु हुन्न है

    जहर भित्र लौ फस्नु हुन्न है ।

    सबल हुन्छ जो राष्ट्रभक्तिमा

    सफल हुन्छ त्यो विश्वशक्तिमा

    हृदयभित्र नै देश देखियोस्

    कलमले सधैँ नाम लेखियोस् ।

    सहज विश्वमा मान बढ्दछ

    अनि हिमालको सान बढ्दछ

    बुझ न शान्तिको दीप बाल्नु छ

    अब त विश्वमा प्रेम गाँस्नु छ ।

    घोराही, दाङ


     


    मान्छे

    चन्द्रावती अधिकारी


    छन्द :वंशस्थ

    गण : ज त ज र

    विश्राम : पाँचौँमा



    चन्द्रावती अधिकारी


    बुझेर मान्छे कसरी सकिन्छ र

    छ देव हेर्दा बनिदिन्छ पामर

    विचार थाेत्राे दिलमा विकार छ

    लुकेर हान्ने मदकाे शिकार छ ।

    असाध्य स्वार्थी छ यहाँ जताततै

    गरेन सेवा भवमा कतै कवै

    म मात्र खाऊँ नभने हुँदैन र?

    मरेर जाँदा लगिने रहेछ र?

    लुगा भिरेकाे पनि छाड्नुपर्छ है

    भयाे गनायाे अब लानुपर्छ है

    यही गुनासाे सबकाे सुनिन्न र

    दशा सबैकाे नभने बुझिन्न र ?

    भरूँ भकारी म बनूँ धनी अझै

    बनूँ म खासा ननिका अरू सबै

    म मात्र दानी दुनियाँ रिझाउँदै

    फुलूँ बगैँचा भरिलाे बनाउँदै ।

    भनेर के भाे सपना टुटेपछि

    छ जानु टाढा भवमा छुटेपछि

    म सम्झिने लायककाे बनूँ खुबै

    लिएन शिक्षा नरले कहीँ अझै ।

    कोह्स्लपुत -१०, बाँके





    बाँच्नका निम्ति बाँच

    अव्यग्र अस्मित


    छन्द:मन्दाक्रान्ता

    गण:म भ न त त गु गु

    विश्राम: चार र दस अक्षरमा



    अव्यग्र अस्मित


    आफ्नै यो जीवन पनि यहाँ हुन्न तिम्रो थुनामा

    को बाल्देला चमक सुखको जिन्दगीको कुनामा

    कोही मूर्दा पुनरपि मरी जान्छ आफ्नै मलामी

    के भो नाफा प्रतिपल गरी जिन्दगीको लिलामी ।


    बास्ना छर्दा सुमन चुँडियो वासको अर्थ के त?

    आफ्नो बास्ना सुन प्रसव हो छर्नु आफ्ना निमित्त

    जल्छन् ज्यूँदा सकल सपना हर्ष बन्छन् खरानी

    घाँटी काटी भन न कसरी हाल्नु आफ्नै सिरानी ?



    हत्केलाले भन न कसरी घामलाई निभायो

    के हावाले हुरुहुरु चली शैललाई गिरायो ?

    के सोच्लान् खै पलित दलले पल्लवीबाट झर्दा

    बस्ला मूर्दा दिनहुँ किरिया आत्मको चेत मर्दा ।



    कस्तो होला अरुण जसले चम्किनै बिर्सिएछ

    कस्तो होला समय जसले दौडिँनै बिर्सिएछ

    तारा ताक्ने रहर सपना मेघमा अल्झिएछन्

    खुट्टा कोप्ने प्रखर सुइ ती चित्तमा बल्झिएछन् ।



    झूटो हाँसो अब कति अझै ओठलाई दिनेछौ ?

    ढोका खोली भन न कहिले आत्मलाई छुनेछौ ?

    राख्दा राख्दा परिणत भयो जिन्दगीको दराज

    लाखौँ मर्ने बिच अब तिमी बाँच्नका निम्ति बाँच ।


    रामवाण

    रामचन्द्र शर्मा

    छन्द:अनुष्टुप

    गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ

    पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ

    दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व



    रामचन्द्र शर्मा


    झुट बोल्दैन ऐनाले ढाट्न जान्दैन बाँसुरी

    सदा झुट गरे खेती हुन्छ आनन्द आसुरी।

    साथ छाड्दै न रे छाया जिन्दगीका कुनै पल

    गौडो कुरेर आघात पार्ने गर्दछ रे खल।

    तिरैतिर नदी बग्छ आफ्नो बाटो समाउँदै

    सेवा नै परमो धर्म भन्छ ज्ञानी रमाउँदै।

    फल मैले दिदै दिन्न भन्न जान्दैन बोटले

    सधैं दुःख दिने गर्छ स्वार्थ आसक्ति चोटले।

    लर्बरिन्छ झुटो सान छेक्न सक्दैन इज्जत

    सर्व ज्ञानी गुणी व्यक्ति हुन्छ सर्वत्र सम्मत।

    सिसा के हो?नचिन्नेले हीरा व्यापार गर्दछ

    देखे प्रगति अर्काको आफैलाई जलाउँछ।

    छैन सोचेर बोलेको मन खाने गरी कुरा

    लोकाचार जहाँ हुन्छ बढ्न सक्दैन आँकुरा।

    विष खाऊ नजानेर खाऊ जानेर मार्दछ

    छरौं बिज रुखो धर्ती टुसा अंकुर गर्दछ।

    मान खोज्ने सबै मूर्ख गर्न जान्दैन आदर

    घर भडाउने मास्ने मान्न सकिन्छ बाँदर।

    रामवाण सदा सत्य सत्य हुन्छ निरन्तर

    आगो बाले लुकाएर धुवाँ देखिन्छ आखिर।

    १०

    बा. न. पा. २, बागलुङ


     


    शहीदको अपमान

    छबिलाल आचार्य


    छन्द:शार्दूलविक्रीडित

    गण:म स ज स त त गुरु

    विश्राम: छ र बार्‍ह अक्षरमा



    छबिलाल आचार्य


    राणातन्त्र ढल्यो, ढल्यो मुलुकमा पञ्चायती शासन

    मिच्दै कानुन यी चढे शिखरमा डग्दैन खै आसन

    गाडीबाट खसे बन्यो सहिद यी आँफै लडेता पनि

    बन्दैनन् किन देश खाँतिर कुनै लड्दै ढलेता पनि ।



    भुल्दैछन् किन हो ? उनै सहिदका विश्वासमा घात छ

    सत्ता मोह बढ्यो निरीह जनमा उन्मादको लात छ

    धेरैका सिउदो पुछेर टुहुरा वाला रुँदैछन् कतै

    धोकेवाज कपूतका महलले तारा छुँदैछन् कतै ।


    वाणी एक छ कर्म भिन्न पथको पारा हुँदैछन् कतै

    सत्ता खाँतिर स्वाभिमानपन यी छाडा हुँदैछन् कतै

    बैशाखी भरमा अझै थिरिथिरी खुट्टा कँपायौ किन ?

    जिब्रो लट्पट हुन्छ आज किन हो ? बाटो खुलेका दिन


    पर्थे सङ्कटमा तथापि मनमा उत्साह दब्दैनथ्यो

    देहै त्याग्न परोस् कदापि मुटुमा नेपाल हट्दैनथ्यो

    नाना स्वप्न लिए लडे समरमा छाती फुलाईकन

    सारा ती वलिदान त्याग कति छन् ? बुझ्दैन स्वार्थी जन ।


    मर्दै बाँच्दछ जो हटाइ सबमा बेहाल सञ्जाल यो

    त्यस्तै वीर शहीदका रगतले सिञ्चिन्छ नेपाल यो

    आत्माको चिर शान्त होस् सहिदको गर्छु म यो कामना

    नेता हो ! यदि देश भक्त त भए लेऊ नयाँ भावना ।५


    पोखरा १६ दिप , कास्की


    भाेक मीठाे, बैँस राम्राे

    गाेविन्दबहादुर कुँवर


    छन्द: गीति कविता



    गाेविन्दबहादुर कुँवर


    भाेक मीठाे, बैँस राम्राे भन्नुहुन्थ्याे बाले

    सूनले हैन गुनले हुन्छ मान्छे राम्राे खाले ।

    ठेस लागे बुद्धि बढ्छ मामा भन्नुहुन्थ्याे

    पानी हैन तीर्खा मिठाे आमा भन्नुहुन्थ्याे ।

    दिदी भन्थिन् पढ्नै पर्छ नत्र हुन्छ धाेका

    बन्द हुन्छन् उन्नतिका सबै झ्याल ढाेका ।

    भिनाजुकाे अर्ति थियाे सधैँ अघि बढ्नू

    माइजूकाे राय हुन्थ्याे जस्तै परे खट्नू ।

    हजुरआमा भन्नुहुन्थ्याे गाेरस खाने गरेस्

    हजुरबाले भन्नुहुन्थ्याे नखाएस् है हरेस ।

    भाेटेओडार, लमजुङ


     


    धराको माया

    बालकुमार क्षेत्री “साइनो”


    छन्द-भुजङ्गप्रयात

    गण: य य य य

    विश्राम: छैठौँ अक्षरमा



    बालकुमार क्षेत्री साइलो


    नजानी नजानी कहेँ मर्म मैले

    नराखौँ मनैमा म सोच्दै छु ऐले

    निकालूँ लुकेको छ पीडा मनैमा

    कहीँ भूल मेरो नहोस् है कसैमा ।

    गलायो जवानी सधैं शोक पारी

    ढलायो उमेरै नदी पार तारी

    लगाएर माला जगाएर आशा

    खुसी छैन आत्मा छ बढ्दै निराशा।

    दुखेको छ छाती बिचल्ली जवानी

    छ भित्रै लुकेको दुखीको कहानी

    भयो के मलाई पिरोलिन्छु राति

    म भन्दैछु ऐले सबै यो नढाँटी।

    छ माया बसेको पहाडी गरामा

    छु फिर्दै म आमा म मेरै धरामा

    भयो जिन्दगानी सधैंको अँधेरो

    अनेकौँ छ बाधा परेको छ फेरो।

    भयो प्रीत कस्तो छ पर्दै थलामा

    मिलोस् साथ न्यानो छु यो अर्चनामा

    छु ऐले म माग्दै दुबै हात जोडी

    गरूँ नित्य सेवा धराको नछोडी ।

    बितेको छ गाथा अझै सम्झनामा

    रमेको छ आस्था झनै कल्पनामा

    जलोस् प्रेमबत्ती,चुमी रम्य धर्ती

    कहानी छ मेरो दिने दिव्य अर्ती।

    पैँञ्यु गाउँपालिका-४ पर्वत


    खै पौरखी पाखुरा ?

    हरिप्रसाद घिमिरे


    छन्द: अनुष्टुप


    गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ

    पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ

    दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व



    हरिप्रसाद घिमिरे


    भोका छन् घुसका भोका खानलाई चलाख छन्

    आफ्नै मात्र भलो गर्ने नीच नीच दिमाग छन्

    को छन र देशका निम्ति योगदान सुझाउने

    पौरखी पाखुरा छैनन् देशलाई उठाउने ।

    पूर्खाको पौरखी काम अपमान हुँदै गयो

    सिमानामा हुने जो छन् दिन आयो रुँदै गयो

    अर्काको भीख माग्ने छन् सत्तामा बस्न आउने

    पौरखी पाखुरा छैनन् देशलाई उठाउने।

    पृथ्वीका पौरखी मूर्ति आज ढाली जलाउँछन्

    भाषा भेष सके सारा हत्या हिंसा फलाउँछन्

    नेपाली जनता आज भ्रष्टका गीत गाउने

    पौरखी पाखुरा छैनन् देशलाई उठाउने।

    बेचियो देशको निम्ति उद्योगी पारियो थला

    बाँझियो सबको जग्गा रेटियो मातृको गला

    युवाका दल खै आज अर्काको देश धाउने

    पौरखी पाखुरा छैनन् देशलाई उठाउने।

    नागार्जुन न.पा.-३,इचङ्गु गोरखा


    एक नाैलाै बिहानी

    झलक अधिकारी


    छन्द: शोभा

    गण:य म न न त त गु गु

    विश्राम :छ र तेह्र अक्षरमा



    झलक अधिकारी


    यिनै डाँडाकाँडा वन चहुरतिरै गीत गाई रमाऊँ

    हिमाली पाखामा तरह तरहका लाेक भाका म गाऊँ

    नदीनाला खाेला जल कल कलकाे शब्द सुन्दै म हासूँ

    चखेवाकाे जस्तै हरदम रहने प्रेम नाता म गासूँ । १


    शुभेच्छा हाे मेराे सबतिर हँसिलाे चेहरा देख्न पाऊँ

    सदिच्छा याे मेराे हरबखत नयाँ भावना पाेख्न पाऊँ

    परून् मूर्छा भागून् रिपु सब अहिले चाहना याे छ मेराे

    फुलून् छर्दै बास्ना वन कुसुमहरू कामना हुन्छ मेराे ।२


    स्वयम् जागे मात्रै मुलुकभर युवा देशले फेर्छ रूप

    कसैले भन्दैनन् र पनि समयमै काँचुली फेर्छ सर्प

    पुराना पुस्ताकाे अब त कति गराैँ आस मात्रै नराखाैँ

    उठाैँ आफैँ लागाैँ प्रविधि पनि नयाँ देश भित्रै बनाऔँ ।३


    बुढापाका जान्छन् वन विचरणमा काट्न बाँकी उमेर

    नयाँ पुस्तालाई सहजसित दिई खास सल्लाह धेर

    पुरानाले बाटाे अझ पनि नदिए देशलाई छ हानी

    भयाे बेला जागाे अब त तरुण हाे लेख्न नाैलाे कहानी ।४


    व्यवस्था जे आओस् नियत ठिक नभै हुन्न जे जे फलाकाैँ

    सुधाराैँ यी नेता कि त अब खुद नै राष्ट्रका निम्ति लागाैँ

    प्रतीक्षा गर्दैछौँ अब नव युगकाे लेख्न नाैलाे कहानी

    उषाकाे लालीमा क्षितिज पर कुनै एक नाैलाै बिहानी ।५

    तनहुँ



    मेरो दधिलेक (दैलेख)

    बद्रीप्रसाद शर्मा लम्साल

    छन्दः उपजाति



    बद्रीप्रसाद शर्मा लम्साल


    खेल्दो बयेली गिरि एक एक

    छ स्वर्गझैँ बन्दछ देवलोक

    भूस्वर्ग मेरो रमणीय धर्ती

    यो देवबस्ती अनि जन्म धर्ती ।

    चढ्दै उकाली सुरखेतबाट

    लादे हुँदै सुन्दर सिद्धपाद

    पुगिन्छ ढोकानिर रानिमत्ता

    देखिन्छ दैलेख उदात्त सत्ता ।

    सुनिन्न भेरी सरिता सुसाट

    कर्णालीको रम्य बहावबाट ।

    बेरेर त्यो पश्चिमको किनार

    महानदी बग्दछ वारपार ।

    दुल्लू हँुदै सुन्दर ब्याउलीमा

    डुबुल्किँदै पाथरनाउलीमा

    धुलाचुलीको रमणीय काख

    फक्रन्छ शोभा अझ लाखलाख ।

    श्रीविष्णुका सुन्दर पादुकामा

    चढाइ पुष्पाञ्जलि कोटिलामा

    हेर्दै शिरस्थान र नाभिथान

    यो जन्म धर्ती रसिलो महान ।

    महाबुका सुन्दर काँठबाट

    खेल्दै सुसेली तल छामघाट

    मिटाइ तृष्णा वनखेत फाँट

    भिजाउँदैै झर्दछ लेकबाट ।


    खोलो छ लोरे पर पूर्वतर्फ

    कट्टी घुमी तीर्थ बनेर झर्छ ।

    हाँस्दै छ त्यो तीनचुले हिमाल

    चुली बिजारे चुलिँदै विशाल ।

    ती भुर्तिका देवल पाँच टम्म

    छ दुल्लूमा सुन्दर कीर्ति खम्ब

    छ साथमा वर्तिर सातखम्ब

    छटा अहो ! चित्र विचित्र रम्य ।

    माथै पिपल्कोट धुरी सिमाना

    डुल्दै किनारातिर लालिकाँडा ।

    छ सात्तला मन्घर चित्तभित्र

    ज्युलाहरू उर्बर छन् पवित्र ।।

    बेसी डुलेका पशुजन्तु नाना

    क्वैली चिभे ढुक्कुरका बथान ।

    लालीगुराँसे वन भीरपाखा

    आला नयाँ कोट र थान चाखा ।

    मिली बसेका सब जातजाति

    अनेकतामा लिइ एक भाँती

    चढ्दै चुली लेक नदीकिनार

    बाँचीरहेछन् युगदेखि पार ।

    १०

    बर्सेनि बोकीकन पुष्पन्वाँगी

    पुजिन्छ द्यौता तल काल ठाँगी

    नाना गुठी कोटहरू चहारी

    यो देवभूमिकन शान्त पारी ।

    ११

    द्यौसी र भैलो स्वर न्याउलीको

    ड््यौडा र फड्को अझ मारुनीको

    हुड्के दमाहा करनाल झ्याली

    बजाउँदै मादल रम्छ पाली ।

    १२

    नाचेर झाम्रे धुनगीत गाई

    पाखा–पखेराहरुमा रमाई

    यी तीज त्युहार मनाइँ दामा

    घन्किन्छ देवाञ्चल काइदामा ।

    १३

    यो द्रोणको पर्वत हो विशाल

    यो देवको पुण्य थलो निहाल

    दधीचिको रम्य तपस्थली हो

    वा पौरखी लेक रह्यो दहीको ।

    १४

    म भावनाको दहमा चुहिन्छु

    आनन्दको सागरमा म डुब्छु

    झुकेर यो मस्तक पाउ माथि

    नुहुन्छु दैलेख धरा नथाकी ।

    १५

    अठोट यौटै मुटुभित्र साँची

    कोरेर बाटेर चिटिक्क पारी

    धरा तिमीलाई सिँगार्न पाऊँ

    जन्मान्त यो धन्य सधैँ बनाऊँ ।

    १६


     


    वसन्ताभास

    वासुदेव पाण्डेय


    छन्दः–मन्दाक्रान्ता



    वासुदेव पाण्डेय


    रङ्गीचङ्गी किशलय खुले बोट शाखाहरूमा

    देखाएझैँ महसुस हुने जादु आँखाहरूमा

    राखेजस्तै विपुल सुषमा रत्नमाला कलीमा

    हे¥यो मानूँ वरपर बसी चैतले बार्दलीमा ।

    हावापानी समय सबले थप्छ ऊर्जा उमङ्ग

    बोक्छे मानूँ प्रकृतितनया माधुरी अङ्गअङ्ग

    राखेजस्तै विविध गहना कन्दरामा कुनामा

    धर्ती पोत्ने रङ विविधता निस्किएका मुनामा ।

    कल्याणी छौ अविचल धरा अन्नपूर्णा पवित्र

    हर्ताकर्ता अनि अनुभवी राख्न ऐश्वर्य भित्र

    छाडेजस्तै रुन शिशु मिले स्पर्शमात्रै मुमाको

    धर्तीमातासित निकटता औषधी वेदनाको ।

    भोगी लामो कहर हिउँको भूमि मानूँ अशक्त

    रित्ता लाग्ने सकल बिरुवा देखिए झैँ विरक्त

    रोगी मानूँ वन शिशिरको मर्छ झैँ हुन्छ भान

    गर्ने आई ठिक समयमा चैतले रक्त–दान ।

    छानी छानी अविरल नयाँ सिर्जना गर्न दक्ष

    आलोपालो अनुपम छटा राख्छ हामी समक्ष

    सर्वज्ञाता गुण बहुमुखी चेतमा क्रान्त द्रष्टा

    सर्वेसर्वा प्रकृतिसरि–को लोकमा छैन स्रष्टा ।

    वीरेन्द्रनगर, सुर्खेत


    वसन्तको आगमन

    जागेश्वर नेपाल


    छन्दः पञ्चचामर



    जागेश्वर नेपाल


    झुलुक्क झुल्किई निशा लिपेर चट्ट पार्दछे

    वसन्त ढल्मलाउँदै पवित्र पाउ सार्दछे

    अगाडि शुष्कता थियो वसन्तले सबै निल्यो

    वसन्त नीलकण्ठको स्वभावमा गई मिल्यो ।

    भिरेर जीर्ण वस्त्रमा शिशिर् बनेछ याचक

    प्र्रबुद्ध ओजयुक्तझैँ बन्यो वसन्त वाचक

    मुना नवीन रङ्गिई अनेक रङ्गमा मिले

    सशक्त यौवना बनी दशै दिशाहरू खुले ।

    बिलाउने हराउने पुनः प्रभाव छाउने

    छ रीत सूक्ष्म सृष्टिको बिना दबाब आउने

    कतै छ उच्चता भने कतै छ नीचता अनि

    मिलाउने फटाउने हिसाब धीरता पनि ।

    हवा सुगन्ध फैलियो दिगन्त स्वच्छ वागमा

    फुले अनेक फूल ती तरङ्गिँदै तडागमा

    वसन्त सन्त झैँ बनी चियाउँदै छ सुस्तरी

    फुटेर पालुवा कतै पलाउँदै छ मञ्जरी ।

    हराउँदै छ शुष्कता बढेर उष्णतातिर

    सशक्त माधुरी छरी रमाउने उषातिर

    लिई प्र्रदीप्त चाँदनी निशा मुसुक्क हाँस्तछिन्

    चुमेर प्रेमले जगत्् प्रभा सगर्व नाच्दछिन् ।

    विशाल भव्यता भरी विपन्नता हटे सरी

    विदा लिँदै छ सिर्सिरे चिसो कुना पसे सरी

    बिहानको र रातको दिवा तथा दिनान्तको

    कतै न भेद देखिने छ शान्ति नै अनन्तको ।

    हटेर व्र्रmूर राक्षसी अभाव शून्य रातमा

    शशी बनिन् वधू सरी र भानु छन् प्रभातमा

    अवर्णनीय छन् कला सुशोभिता मनोहरा

    उमङ्ग छर्न प्रेमले तयार छन् ऋतम्भरा ।

    जताततै छ बैँसको सुरम्य दिव्य चातुरी

    धरा खुसी फुकाउँदै छ स्वर्गकी परी सरी

    चकोर झैँ छ कोइली लुकेर दृश्य हेर्दछे

    लजालु बेहुली बनी मुसुक्क हर्ष छर्दछे ।

    न शीतको प्रभावमा निसास्सिने छ कारण

    न घामको दबाबमा कतै छ कोपभाजन

    प्रमत्त मत्त भृङ्ग छन्, चरा समस्त शान्तिमा

    उदाउँदै छ जीवको सुखान्त स्वप्न वmान्तिमा ।

    वसन्त बस्छ राजसी विराजमान ताजमा

    महाचुनावमा लडी जिते सरी समाजमा

    मिल्यो मनग्य माधुरी प्रफुल्ल छन् सबै जन

    बढेर तुष्टता मिल्यो सुखी बने सबै मन ।

    १०

    सुर्खेत


     


    द्रोण गिरि

    पं. तिलक प्रसाद रिजाल


    छन्दः शार्दुलविक्रीडित



    पं. तिलक प्रसाद रिजाल


    श्री द्रोणाचल देवलोक अथवा दुर्लङ्घ्य दुल्लूतिर

    कर्णाली तट पूर्वतर्फ शिवको व्रmीडास्थली पर्दछ

    प्यारो माइत पार्वती प्रकृतिको जन्मे बढेको घर

    ज्वाला छन् जलमै जहाँ झलमली जाज्वल्य ती धप्धप ।

    पैलो प्राकृत चेतना जगतमा यी व्यक्त गर्ने धरा

    साक्षी वेद बताउँछन् वचनले जस्को जगज्जेष्ठता

    बोल्ने वेद बतासका वचनले खोल्दै गुदी ज्ञानको

    घोल्दै रम्य रहस्य जीवन तथा चैतन्यका शानको ।

    के हो जीवन जीवको जगतको आधार के सुन्दर ?

    के हो मार्ग सुमार्ग कुन् तरहले सम्पूर्णता मिल्दछ ?

    के हो मानवता मनुष्य हुनुको के हुन्छ वैशिष्ट्यता

    हामीबाट सिके सबै जगतमा त्यो सभ्यता–शिष्टता ।

    साँच्चै जीवनका कला कुशलता सद्धर्मको कर्मको

    सारा मानव जातिले जतनले जोबाट गर्थे सिको

    यस्तो यो हिमवत् सु संस्कृति जहाँ स्वाभाविकी बन्दछ

    हो द्रोणाचल यो शिवा र शिवको प्यारो उज्यालो घर ।

    उब्ज्यो जीवन जीवको जब यहाँ हो पञ्चकोषी भयो

    पायो पूर्ण हुने धरातल जहाँ त्यो पञ्चकोशी थियो

    सामञ्जस्य जुट्यो शरीर–धरती आध्यात्मिकी भौतिकी

    यौटै बीज छ जीवको–जगतको भन्दै छ सिद्धस्थली ।।

    (प्रकाशोन्मुख ‘द्रोण’ महाकाव्यबाट उद्धृत)


     


    छ शून्यता जताततै

    समीक्षा नेपाल


    छन्दः पञ्चचामर



    समीक्षा नेपाल


    म हेर्छु यत्रतत्रमा गुमेछ झैँ कुनै कुरा

    हजार लाख वस्तु छन्् परन्तु छैन क्यै पुरा

    छ शून्यता जताततै न फूलमा सुगन्ध छ

    न हाँस्न सक्छु मस्तले खुसी मभित्र बन्द छ ।

    बनेर फूल भृङ्गको सुवासमा रमाउने

    स्वयं पराग भै उडूँ समस्त लोक छाउने

    सयौँ थुँगा सजाउँदै बनून् स–मस्त सज्जन

    हरा भरा धरा बनून्, रमून समस्त सज्जन ।

    थिए अनेक कल्पना पुरा म गर्न खोज्दथेँ

    भयो असह्य आज के म पूर्ण स्वप्न रोज्दथेँ

    उडे हुरीसँगै सबै विलुप्त स्वप्न सिद्धिए

    अनन्तको निहारिका पसेर शून्यमा गए ।

    कहाँ थिएँ कहाँ पुगेँ थिएन चाहना कुनै

    म स्वार्थबाट दूर भै परार्थमा भएँ दिने

    अभावमै रुमल्लिएँ पुगेन भावना मिठो

    मिलोस् पवित्र प्यारको सुधा सरी उही पिठो ।

    मिलाप योग निम्तिमा सशक्त भै म उठ्दछुु

    बनेर वृक्ष शैलको चिरा बनेर फुट्दछु

    म शून्यता हटाउँछु सबै जना जुटाउँछु

    बनेर कर्म पौरखी धरा स्वयं उठाउँछु ।

    म दिव्य चेतना छरी निनाद झर्झराउँछु

    ध्वजा उँचो हिमालमा लिएर फर्फराउँछु ।

    म एक भै अनेकमा अपार प्यार भर्दछु

    म प्र्रेमधार वेगमा हिमालबाट झर्दछु ।

    (समीक्षा नेपाल सुर्खेतकी उदीयमान प्रतिभा हुन् । उनी द पोएट आइडलको सिजन–२ मा पहिलो चरणमा छानिएकी छन् ।)


    राष्ट्रिय गौरव

    जीवराज पाण्डेय


    छन्दः मन्दाक्रान्ता



    जीवराज पाण्डेय


    हाम्रो धर्ती हरित वनले शोभियो शोभियो रे

    बाक्लो छाया रजत गिरिको सिन्धुमा चोपियो रे

    अग्ला अग्ला हिमगिरि महाँ सूर्य बस्छन् सुनौला

    आओ साथी अभय मनले टाकुरामा चढौँला ।

    खोला नाला दिनदिन यहाँ गीत गाएर झर्छन्

    भाका छोपी मधुर सुरको बाँसुरीमा त भर्छन्

    डाँडा पाखा ढकमक फुली ढाक्न थाल्यो गुराँस

    यै हो क्यारे पथिक जनको बास बस्ने निवास ।

    फल्छन् बाली कृषक जनका काँध ती पाखुरीमा

    हाम्रो आफ्नो विजय कविता लेखियो टाकुरीमा

    मीठो भाका भजन रसमा खैँजडी ताल दिन्छ

    घन्क्यो रोधी घुगल सुरको राग नौलो सुनिन्छ ।

    पण्डित् बाजे नवरस कथा वाच्न थाले पुराण

    हाम्रो सामाजिक मिलन हो वेद होस् वा कुरान

    यौटा नौलो किरण बटुली रोप्नमा व्यस्त हुन्छौँ

    कामी सार्की दलित नगनी प्रातमा चन्द्र छुन्छौँ ।

    बल्छन् हाम्रा उपवन महाँ बुद्धका शान्तिदीप

    हाम्रा आफ्नै अनुज सब हुन् दूर हुन् वा नजीक

    ढुङ्गा जस्तो जड मन हुने पीरती लाउँदैन

    भाका खस्रो किन किन यहाँ कोइली गाउँदैन ।

    दैलेख, हाल बर्दिया ।


     


    सहिद

    गिरीप्रसाद बुढा


    छन्दः मन्दाक्रान्ता



    गिरीप्रसाद बुढा


    जागौँ भन्दै मधुर धुनमा क्रान्ति बोकेर आयो

    रातो झण्डा सहित उभिँदा हात राम्रो सुहायो

    बोकी राँको बिच सडकमा ज्योति छर्दै उदायो

    यस्तै यस्तै सुखद सपना ब्युँझदा बाँड्न आयो ।


    आजै सारा उठ उठ भनी गीत लेखेर गायो

    भोकै नाङ्गै अविरल यहाँ क्रान्ति पाङ्ग्रा गुडायो

    देख्यो नौलो जनसमरमा क्रान्ति आगो पिएर

    यस्तै यस्तै मधुर सपना हिँड्न थाल्यो लिएर


    राँको बाल्दै शहर अनि त्यो गाउँ रातो बनायो

    आगो सेक्दै गरिब जनको वक्ष तातो वनायो

    तारा जस्तै झलमल यहाँ तेज पाथ्र्याे दियो ऊ

    यस्तै यस्तै हरसमयको दीप ज्वाला थियो ऊ ।


    हाँसौँ भन्दै हिम शिखरको पूर्ण हाँसो उ हाँस्यो

    गासौँ भन्दै दुखित जनको फूलमाला उ गाँस्यो

    गाँस्दा गाँस्दै लहर जनको बीचवाटै हरायो

    ठूलो योद्धा सहिद जिउँदो दीर्घजीवी धराको ।


    बन्थ्यो बेग्लै असल नमुना दीपजस्तै बलेर

    बन्थ्यो प्यारो सपुत जनको मित्र आफै जलेर

    भोका नाङ्गा जनजगतको पूज्य आस्था थियो ऊ

    दानी त्यागी असल मनको वीर योद्धा थियो ऊ ।


    यो धर्तीमा जगत जननी जाग भन्दै जगायो

    आफ्नै ठानी तनमन दियो प्रीति पोख्यो बगायो

    बोकी राँको घर सहरमा चेतना भै उदायो

    हाँसी हाँसी तन मन दिई दीर्घतामा निदायो ।


    विडम्बना

    उदयराम शर्मा



    उदयराम शर्मा


    छन्दः अनुष्टुप

    धर्म संस्कृति छन् भाषा भेषमा नै अनेकता

    परधर्म समावेशी गर्दैछौँ किन सर्वदा

    भाइबन्धुहरू हाम्र्रा पैसाकै होडमा चले

    माया प्रेम र भ्रातृत्व शानकै आडमा गले ।

    भ्रम जालहरू फिँज्दै नेतृत्व सुरु गर्दछौँ

    व्यक्तिकै स्वार्थले गर्दा अवसान हुन पुग्दछौँ

    म ठूलो हुँ भनी बक्दै दोष आफ्ना लुकाउँछौँ

    अर्काकै दोषको थुप्र्रो सर्वथामा पुगाउँछौँ ।

    म नेता हुँ सबै मान भनेर जोड गर्दछौँ

    व्रmोधले अग्निको ज्वाला छोडेर आफू मर्दछौँ

    प्र्रपञ्च रच्दछौँ हामी आ–आफ्ना स्वार्थ खातिर

    रनभुल्ल गरी जीवन जिउनु रैछ आखिर ।

    अपशब्दहरु बोल्छौँ नव निर्वाचितै बनी

    नैतिकता हराएछ भन्दैेछन् जनता पनि

    चुनावै हो सबै थोक भन्दै अन्याय गर्दछौँ

    विजयी सब ती नेता शानले जल्छ मर्दछौँ ।

    अनुशासन मारेर शासनका आडमा बसी

    निरीह जनता काम गर्दैछन् पटुका कसी

    बित्दैछन् जिन्दगी हाम्रा पसिनाकै झरी बनी

    तिरेका करले हाम्रा नेताजी छन् सधै धनी ।

    सिंहको दरबार त्यो गाउँ टोल पहाडमा

    हराए सक्कली राजा नयाँ छन् सुखी मोजमा ।

    केही हुन्छ भनी हामी आशाका शब्द छोड्दछौँ

    खरानी लाउने नौला जोगी झैँ मन मोड्दछौँ ।

    दैलेख









    आमा

    उद्धव घिमिरे


    छन्द: शार्दूलविक्रीडित

    गण:म स ज स त त गुरु

    विश्राम: छ र बार्‍ह अक्षरमा



    उद्धव घिमिरे


    आमा स्वर्ग समान जन्म धरणी आमा उनै आरती

    आमा पण दिने अनन्त जननी आमा उनै भारती

    आमा फूल चढाउने भगवती गौरी उनै पार्वती

    आमा स्वच्छ हिमाल खोंच पहरा देख्दा झनै उर्वशी ।


    आमा मूल रसाउने वदनकी गङ्गा अझै सागर

    आमा कै रसमा पियूष भरिने बाँच्ने कला जाँगर

    आमा फूल गुराँसकी वनभरी राता पहाडी वन

    आमा स्वेत धरा सुगन्ध लहरा अल्झाउने यो मन ।


    आमा उच्च हिमालको लहरमा सीमा कुरेरै बसी

    सेताम्मे चुचुरा छ भेष उनको जम्मै खरानी घसी

    आमा दीप्त बिहान खुल्छ जगमा राजी हुँदा चाँदनी

    आमा सेतु बनेर शान्ति गरिमा माधुर्यकी आँगनी ।


    आमा प्रेम बिहार पुञ्ज मनकी आमा तिमी माधुरी

    मीठा धून सितार गीत लयकी खानी तिमी बाँसुरी

    बग्ने छङ्छङ हौ मुहार हँसिलो मेची र काली बनी

    आमा नै सवथोक देश धरती कादम्बरी माधवी ।


    शिल्प

    जीवन हरि शर्मा


    छन्द- स्रग्विणी

    गण :र र र र

    विश्राम: तीन र छ अक्षरमा



    जीवन हरि शर्मा


    चेतना ज्ञानको बुद्धिको ध्यानको

    सभ्यता आजको सोच सत्भावको

    अर्थ हो व्यर्थको स्वार्थ यो सर्तको

    शिल्प सौभाग्य हो जिन्दगी तर्कको ।


    मोह हो दुःखको मार्ग लामो छ यो

    मर्ममा कर्मको भेल बाढी चल्यो

    सत्यका दीपले ज्योति बाली दियो

    शिल्प संसारको भाग्यशाली भयो ।


    साँच सद्भावना व्यक्तिले पासमा

    त्याग दारिद्र्यता के बसौँ आसमा

    देशको माझमा छैन के साथमा

    शिल्प आफ्नू भए योग्यता माथमा ।


    विश्वमा के भयो सोच नै बेसरी

    व्योममा बेगले उड्छ झन् त्यो चरी

    कामको मूल्य हो मान सम्मान त्यो

    शिल्प सम्भावना स्वर्गको द्वार हो ।


    बस्छ आचारमा आयुरारोग्य होस्

    जिन्दगी फूलझैँ फुल्न योग्य होस्

    जीवमा सभ्य यो अग्रणी आजको

    शिल्प सौदामिनी दीप होस् साँझको ।


    भोलि भाका कुनै हुन्छ गल्ती ठुलो

    योग्यताले सधैँ बाल्छ नित्य चुलो

    दान दातव्यमा देवको अंश छ

    शिल्प साथी भए जीवनी सञ्च छ ।


    छन् यहाँ

    विन्दु दहाल मूकदर्शक


    छन्द: शार्दूलविक्रीडित

    गण:म स ज स त त गुरु

    विश्राम: छ र बार्‍ह अक्षरमा



    विन्दु दहाल मूकदर्शक


    आमाको पसिना तथा खुन पिई बाँच्नेहरू छन् यहाँ

    मर्दा यी जनता मुसुक्क मनले हाँस्नेहरू छन् यहाँ

    माटोसम्म भुली विदेशतिर पो जानेहरू छन् यहाँ

    बेची ताल धरा हिरा र सरिता खानेहरू छन् यहाँ ।


    भ्रष्टाचार गरी सधैँ रकममा सुत्नेहरू छन् यहाँ

    दैलो वा सिकुवा र आँगनतिरै चुठ्नेहरू छन् यहाँ

    काट्टो खान खुसुक्क राति जहिले उठ्नेहरू छन् यहाँ

    हत्यारा जति छन् निकाल्न बलले जुट्नेहरू छन् यहाँ ।


    झण्डाको महिमा महत्त्व गरिमा भुल्नेहरू छन् यहाँ

    पानीभित्र चिनी तुरुन्त जसरी घुल्नेहरू छन् यहाँ

    नेपाली युवती युवा मुलुकका बेच्नेहरू छन् यहाँ

    आफ्नै बन्धु भनी ठगी पर लगी रेट्नेहरू छन् यहाँ ।


    आफू मात्र ठुलो भनी गफ चुटी ठग्नेहरू छन् यहाँ

    खोलाको जल झैँ सधैँ जिरहमा बग्नेहरू छन् यहाँ

    नातावाद चलाउँदै भुवनमा नाच्नेहरू छन् यहाँ

    फोस्रा धाक रवाफका गिरिहरू साँच्नेहरू छन् यहाँ ।


    झुट्टा भाषणका पुराण जहिले बाच्नेहरू छन् यहाँ

    सोझाको जिउडाल गर्दन सधैँ भाँच्नेहरू छन् यहाँ

    आफ्नो बर्कतको हिसाब नगरी बोल्नेहरू छन् यहाँ

    सिस्नोझैँ मुटु च्वास्स च्वास्स जहिले पोल्नेहरू छन् यहाँ ।


    दमक- ८,झापा


    काव्यको फाँट भर्न

    हरिशरण खतिवडा


    छन्द:मन्दाक्रान्ता

    गण:: म भ न त त गु गु

    विश्राम: चौथो र दसौंमा



    हरिशरण खतिवडा


    आऊ प्यारा कविमन यहाँ काव्यको फाँट भर्न

    आफ्नै नौलो सृजन सरिता छालमा पार तर्न

    छट्पट्टिन्छौ उपर नभमा सिर्जना तिर्सनामा

    प्यारो साथी कलम छ तिखो काव्यको सिर्जनामा।


    सिर्जी पोखी मधुमय कला कल्पनाको बहार

    नेपालीको मन मुटु छुने शैलको नव्य धार

    झुल्छौ भित्रै प्रकृति सुषमा भव्य संसार तिम्रो

    को भन्देला विरहपलको दर्द खोलेर हाम्रो।


    रुन्छे तिम्रो विरहपलमा किन्नरी पौडिएर

    खोस्छे प्यारो कलम रसिलो मालती दौडिएर

    झेल्दै होला व्यथित मनको मङ्गले तिर्सनामा

    काली गङ्गा छलल वहने काव्यको सिर्जनामा।


    देशै डुब्ने भय अति भयो राजराजेश्वरीमा

    च्याई हेर्छिन् कविकुल गुरो लुप्त छौ यो धरामा

    चिन्ता गाढा सरल मनले मङ्गले पोख्न देला !

    ए!लेकाली भनन कहिले ज्ञान झुल्किन्छ होला!।


    काली गङ्गा बगरपथमा लोक भाका सुसेली

    गुर्सेनीले कुसुम कलिलो केशमा जेल्दि होली

    बुन्दै खिप्तै अनवरत यो देशको दिव्य हार

    आऊ हाम्रा कवि मन उँचो काव्यका शिल्पकार।


    वासन्तीको वास्ना

    ज्वालाप्रसाद भट्टराई


    छन्द: शार्दूलविक्रीडित

    गण:म स ज स त त गुरु

    विश्राम: छ र बार्‍ह अक्षरमा



    ज्वालाप्रसाद भट्टराई


    वासन्ती जगमा जगाउँछ भने वास्ना उसै गम्किने

    नाना फूल रमाउँदै सुरसिलो कावा हुँदै हम्किने

    नौला ती मुजुरा रँगी हरितमा रङ्गी वसन्तै बनी

    धाँजा मेट्न धरा पखाल्न कचडा वर्षात आशा गरी ।


    पाखाकी झरनी बनी रुपमती मन्दारमा मन्द छिन्

    सुस्तै सुस्त गरी होला पवनमा वर्षात बोलाउँछिन्

    स्वीकारी यसरी युवा वय हुँदै वर्षात टिठ्याउँछ

    आहा! क्या भनि हेर्छ लिन्छ मनमा आल्हाद मिठ्याउँछ ।


    पारी शान्ति मिठो अहा! विपिनमा बाँसुरीको धून छ

    वर्षाकै जरुरी धरा वदनमा संसार नै स्वर्ग छ

    वासन्ती झरना शुडोल तरुणी नुहाउँदै पिङ्गला

    श्वैता चर्म कला अहा! कुहिनुरा आश्चर्यका मृङ्दुला ।


    खुल्ला आँङ भरी सजिन्छ सुकिलो थोपा अहो ! चम्कियो

    टल्टल्टल्कनुमा बन्यो नजरमा मोति झरे झैँ झरो

    श्वैता विन्दु खसाल्छ झार्छ र पनि सौन्दर्य माधुर्य छ

    हीरा विन्दु जडाउँछ नजरले यो जिन्दगी सार छ ।

    गाईघाट, उदयपुर


    आमा

    मुक्तिनाथ पोखरेल



    मुक्तिनाथ पोखरेल


    छन्द:शालिनी

    गण:म त त गु गु

    विश्राम:चार अक्षरमा


    गर्भावस्था भित्र लुक्तै म बस्ता

    कुर्कुच्चाका जोडले लात कस्ता

    तिम्रो छाला चर्र चर्केर फुट्ता

    खप्तै हाँस्यौ कष्ट बिर्सेर छुट्ता ।


    पारेँ कस्तो वेदना वा धपेडी

    राख्यौ न्यानो काख भित्रै लपेटी

    तोते बोली बोल्न थालेँ रमाई

    तान्थ्यौ मेरा हात दोटै समाई ।


    माता तिम्रो गोद भर्थेँ रमाई

    चुस्थेँ लाम्टो प्रेमले गद्गदाई

    रम्दै हेथ्र्यौ टाउको सुम्सम्याई

    पोख्थ्यौ माया जे भएको खन्याई ।


    छोराछोरी हुर्कँदै बढ्न थाल्यौँ

    आमा त्यागी आज अन्यत्र लाग्यौँ

    स्वार्थी हामी स्वार्थ भित्रै रमायौँ

    छोड्दै हिँड्दै मार्ग आफ्नो ततायौँ ।


    तिम्रो माया बुझ्न मैले नसक्ता

    सानो सम्झेँ पाउमा माथ राख्ता

    कस्तो प्रज्ञा व्यक्तिवादी भएँ छु

    खाल्डो भित्रै भासिएरै रहेँ छु ।


    आमा देवी शक्तिकी पुञ्ज रूप

    साक्षात् लक्ष्मी शैलपुत्री स्वरूप

    त्यस्ती आमा चिन्न छाडेर आज

    गर्छौँ सेखी मान्न छाडेर लाज ।


    हामीलाई गाँस काटी खुवाई

    हाँसी हाँसी भोक खप्ने रमाई

    यस्ती आमा देख्न पाइन्न फेरि

    यौटा फोटो सम्झनाको चिनारी ।


    छैनन् आमा नेत्र छन् अश्रुधारा

    चोटा कोठा लाग्न थाले अँध्यारा

    राखेँ तिम्रो पाउमा एक फाँकी

    छैनौ आमा सम्झना मात्र बाँकी ।


    क्षुद्रको मालिक

    माधव पोखरेल गोज्याङ्ग्रे


    छन्द: शार्दूलविक्रीडित

    गण:म स ज स त त गुरु

    विश्राम: छ र बार्‍ह अक्षरमा


    माधव पोखरेल गोज्याङ्ग्रे


    खायो धेर भतेर मस्तसितले छाडेर फाल्छ भरे

    खोजी गर्दछ जो भतेर दिनहूँ निःशुल्क खायो अरे

    घाँटीसम्म थिचेर खान्छ उसले हाँस्छन् सबै मस्तले

    छेर्दै भाग्दछ आखिरी बगरमा हेर्दैन है दुष्टले ।


    माग्ने होइन त्यो समाज बिचमा पुग्दैन आफ्नो घर

    खाने काम र गर्छ भाँड भइलो गर्दै नगर्नू भर

    बोली छैन मिठास कर्कस हुने हो क्षुद्रको मालिक

    आफ्नै राग सहन्न आज किन हो?सामन्तको शालिक ।


    मुठ्ठीभित्र कसेर राख्छ उसले खाएर आफू सबै

    मान्छे बाहिर पार्छ जाल रमिता हान्दैछ डाका अझैँ

    सेतो थ्यो र बनाउने रङ फरकै घोकेर सारा कुरा

    रैतीको भरमा कमाउन सके बढ्दै गए माकुरा ।


    सारा देश डुबाउँदै कहरमा आफैँ सफाई दिने

    खोलामा सब राजनीति धमिलो सङ्लो सधैँ तर्सिने

    कालो दाग लगाउँदै नजरमा घुम्दै छ चारैतिर

    हाम्रो आश मरी गयो प्रगतिको नेपालमा आखिर ।


    नेता बन्न सकेन आज घरको बोली र झोलीसँगै

    जोगीको घरमा छ बास सबको सत्ता बिरानो सधैँ

    भोकाको घरमा बलेन कहिले आगो चुलोमा किन ?

    रोगीको उपचार छैन सहजै रैती लिदो भो ऋृण ।


    गाडीभित्र बसेर गर्छ जहिले आदर्शवादी कुरा

    आफू मात्र बनेर भोक अरुको मेटिन्छ राम्रो कुरा

    राम्रो काम गरेर गाउँ घरमा बेमान बन्नेहरू

    कालो छाप लगाउँदै नजरमा सैपाल चढ्नेहरू ।


    हेक्का छैन बुझौँ जनावरसरी साँढे भएका अति

    भालेले कुखुरी लघार्छ जसरी त्यस्तै भएका कति

    रैतीमा न खुसी छ रोस बहुतै टुप्पो पुगेको छ नि

    फेदीमा छ विषालु सर्प गतिलो बाटो छ चिप्लो अनि ।


    विचार

    सृजना सरोवर


    छन्द : उपेन्द्रवज्रा

    गण:ज त ज गु गु

    विश्राम:पाँचौं अक्षरमा



    सृजना सरोवर


    उषा हुँदा झट्पट जाग्नुपर्छ

    प्रभातमा छन् गुण सिक्नुपर्छ

    जसै डुबे भाष्कर साँझ पर्छ

    चरासँगै बास म फिर्नुपर्छ ।


    हँसाइ सारा जग हाँस्नुपर्छ

    स्वतन्त्र मान्छे भइ बाँच्नुपर्छ

    बितेर जाने चिज जिन्दगी हो

    युगीन माया पनि साँच्नुपर्छ ।


    मभित्र जागोस् सुविचार सच्चा

    झुटो कुराले मन हुन्छ कच्चा

    लिएर मोटो किन बुद्धि बाँच्ने

    खराब तृष्णा मनमा नसाँच्ने ।


    लडाइँ अर्को कहिल्यै नहाँसुँ

    चुमेर गन्तव्य सँगै म हाँसुँ

    विचार यस्तो मनमा पलाओस्

    दया र माया करुणा पलाओस् ।


    क्षमा दिने भाव म भित्र जागोस्

    अनीति मेरो मनबाट भागोस्

    मबाट कोही यदि गर्छ चाह

    दिने मिलोस् शक्ति न होस् प्रवाह ।


    झिनामसिना गफमा भूलेर

    न खेर जाओस् बल बैँस खेर

    जहाँ म जाऊँ नित काम नेक

    गरेर आऊँ म नयाँ प्रयोग ।


    हलो कुटाको कविता बनेर

    स्वयं म पोख्यूँ सरिता बनेर

    किसानको पौरखमा म हाँसु

    बनेर ढाकी ढक औ तराजु ।


    पुजेर सच्चा श्रम शक्तिलाई

    इनाममा जीवन यो चढाई

    मरेर जाँदा पनि गीत बन्छु

    म एक नौलो इतिहास रच्छु ।


    म जन्मिएको धरती सिँगारी

    जन्माउनेको दिल धप्प पारी

    सकूँ धराको ऋण गर्न चुक्ता

    खुला बनून् मार्ग सदा प्रसस्त ।


    नदी बनी बग्दछ जिन्दगी यो

    छ खेद सस्ता जड भावनाको

    विचार आई सयलाख बार

    मभित्र खेल्छन् सपना हजार ।

    १०


    उदयपुर, हाल: काठमाडौ



    मान्छे

    विष्णु न्यौपाने


    छन्दः शार्दूलविक्रीडित

    गण: म स ज स त त गुर

    विश्राम:छ र बाह्र अक्षरमा



    विष्णु न्यौपाने


    मान्छे जङ्गलको जनावर भयो टेक्दैन पल्लो घर

    आफ्नो जाति परम्परा र ममता चिन्दैन नाता थर

    ढोका झ्याल थुनेर बस्छ जहिल्यै ग्याजेटमै झुल्दछ

    साथी हुन्न तथापि मेसिन भए संसार नै भुल्दछ ।


    एकै हो घरको तला पनि उही जोडिन्छ कोठा पनि

    यौटा छट्पट गर्छ रून्छ तर त्यो सोध्दैन के भो भनी

    प्याट्टै मर्छ त्यहीँ मरेछ विचरा ! भन्दैन ऐले पनि

    कुत्ता रून्छ बरु पुगेर नजिकै जाँदैन त्यो बैगुनी ।


    एकै लिस्नु छ हिँड्छ, छुन्छ तनले बोल्दैन कस्तै गरे

    आँखा तर्छ घुरेर हेर्छ रिसले सञ्चै छ नानी ? भने

    मौका छोप्छ लुटेर भाग्छ बिचमा कोही परे मार्दछ

    मान्छे काल बनेर डस्छ घरमै खै मृत्यु को चिन्दछ ?


    बच्चाले अब के धडोस् मति नयाँ आफैँ भए जङ्गली

    बन्छन् यन्त्रिक झन् कडा अकबरे भन्दा कडा जङ्गली

    खान्छन् होटल बार क्याविन छिरी बल्दैन आफ्नो चुलो

    तान्छन् माल चुरोटमा छ धतुरो लठ्ठिन्छ चाट्तै धुलो ।


    खोप्छन् ट्याटु नितम्बका तल अझै पाइन्ट झुन्ड्याउँछन्

    दारी केश विरुप फेसन धडी हाहाहिही गर्दछन्

    आफ्ना भेष भुषा र संस्कृति कला आचार संस्कारको

    रत्ती ज्ञान नभै फसी कुलतमा मर्छन् छ धिक्कार यो ।


    यो दुश्चक्र समाजमा किन घुमी आयो कहाँबाट यो ?

    मास्यो मौलिक चेत जे जति थियो कङ्काल भर्दै गयो

    छैनन् नैतिक मूल्य मान ममता आचार क्यै आदर

    मात्रै छन् अपराध दम्भ धनका उन्माद आडम्बर ।


    किसान

    उत्तम विचार


    छन्द:पञ्चचामर

    गण: ज र ज र ज गु

    विश्राम:आठौँ अक्षरमा



    उत्तम विचार


    खनेर खेतका गरा अनाज छर्नु कर्म हो

    किसान ठान्दछन् ठुलो सुकर्म गर्नु धर्म हो

    लिएर काँधमा हलो जुवा भिरेर खेतमा

    किसान धाउँछन् सदा अनन्त कर्म चेतमा ।


    कुटो लिएर हातमा रहन्छ खन्न तत्पर

    किसानको कसीविना हुने छ खेत बन्जर

    मुठी छरेर उब्जने कला किसान जान्दछ

    मिठो हुनेछ कर्मको कमाइ शुद्ध ठान्दछ ।


    मिलेन मूल्य वस्तुको लिएर व्याजमा ऋण

    पुगेन ध्यान खेतमा छ मौन राज्य यो किन ?

    उडाउनै थियो भने सुनेर मात्र के व्यथा

    किसान शान हुन् भनी बखान गर्दछौ वृथा ।


    न मूल्य दुग्धको तिरे न सागपातको कुनै

    रहेछ ठान्दछन् कतै किसान तुच्छ वर्ग मै

    नदी पवित्र तालका भुल्यौ तिनै मुहान हुन्

    बसेर भोकमा स्वयम् खुवाउने किसान हुन् ।


    भनी बढार्न खोज्दछौ किसान हुन् कसिङ्गर

    हुनेछ मूर्खता स्वयम् कुकर्मको नहोस् घर

    ढलेर रात पूर्वमा हुने नयाँ बिहान हुन्

    कसेर पेट पस्किने अनाज ती किसान हुन् ।


    उराठिलो चैत

    रमा खतिवडा


    छन्द: वसन्ततिलका

    गण:त भ ज गु गु

    विश्राम:आठ अक्षरमा



    रमा खतिवडा


    आयो घुमेर जगमा अब चैत मास

    झर्छन् सुकेर भुइँमा रुखबाट पात

    सुक्छन् जलासयहरू बनिँदै उराठ

    गर्ने विनाश जगमा छ हुरी बतास ।


    बढ्दो छ ताप रविको बहुतै प्रचण्ड

    देखिन्न शैल सुकिलो किन लाग्छ रुग्ण

    थुम्का पहाड हरिया वन छन् उजाड

    सौन्दर्य यो प्रकृतिको छ हुँदै सखाप ।


    कालो भयो गगन त्यो छ धुलो र मैलो

    सुख्खा छ मृत्ति भवको वनमा डडेलो

    छैनन् सुरम्य झरना नद छन् सुकेका

    बुट्यान घाँस लहरा सब वैलिएका ।


    आँधी चलेर घरको लगिदिन्छ छानो

    बेहाल पार्छ कतिको खोसिदिन्छ मानो

    यो चैतमा प्रकृति नै किन रुष्ट बन्छिन्

    आफैँ रचेर रचना किन नष्ट गर्छिन् ।


    प्राणी परे सकसमा नभएर पानी

    सल्केर जङ्गल बने छिनमै खरानी

    पञ्छी हराउन पुगे नमिलेर बास

    हेर्दै भयो बिरसिलो किन चैत मास ।


    बारा निजगढ

    हाल: पोखरा


    आयो फिरङ्गी

    अर्जुन शर


    छन्दः उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)

    गणः त त ज गुरु गुरु

    ज त ज गुरु गुरु

    विश्रामः पाँच अक्षरमा



    अर्जुन शर


    चुलो नबल्ने दिन आउँनेछन्

    कुलो नचल्ने दिन आउनेछन्

    गह्रा नफल्ने दिन आउनेछन्

    अकाल मर्ने दिन आउनेछन् ।


    वैशाख फुल्ने वन मासिनेछन्

    मेरो सिमाना सब नासिनेछन्

    हुनेछ हत्या सब निर्मलाको

    सामन्त नाच्ने अब पुग्छ धोको ।


    नेपाल मेरो लुटियो लुटाए

    अखण्ड मेरो धरती फुटाए

    सन्तान निस्के इतिहास मेट्ने

    आयो फिरङ्गी अब स्वाद भेट्ने ।


    नेतृत्व गर्ने कति काइते छन्

    ती सर्वहारा जति घाइते छन्

    यो देश मेरो अब हुन्न मेरो

    आयो फिरङ्गी सब मार्छ फेरो ।


    बाटो र बत्ती म बनाउने हो

    फिरङ्गलाई किन ल्याउने हो

    वीराङ्गनाको दुधको खिसी भो

    पस्यो फिरङ्गी निहुँमा सिसीको ।


    सिसी भयो रे पहरा फुटाल्ने

    छन् है सिसीका मतियार पाल्ने

    म राम बोल्दा निरपेक्ष गर्ने

    आयो फिरङ्गी कुन राम हेर्ने ।


    नेताहरूको मनको पुर्‍यायो

    विकास भन्दै जन चौखुर्‍यायो

    विकास गर्ने निहुँ मात्र हो यो

    पस्यो फिरङ्गी तब देश रोयो ।


    एक्लोपन

    सरू बस्नेत


    छन्द: विधाता

    गण: य र त म य गु



    सरू बस्नेत


    सजाई निस्किएँ स्वप्‍ना बुबाआमा सबै छाेडी

    जिऊँ आफू भनी छाता बनाई दु:खले आ‍ेडी

    सधैँ यी आ‍ेठमा हाँसाे खुसी ल्याऊँ गरी काम

    भनी आएँ विदेशीको धरामा बिर्सिँदेेेै मान ।


    पिता पुत्री भनी रुन्छिन् उमा आफैँ बिरामी छिन्

    न पाएँ गर्न मैँ सेवा बुझाऊँ चित्त ज्ञानी छिन्

    पिऊँ के दु:खकाे पानी बिना तीर्खा सुक्याे आ‍ेठ

    सतायाे सम्झनाले झन् पुरानो गाउँको गाेठ ।


    भनूँ खै आज गाेर्खाली निकाली धार बाटाेकाे

    त्यहीँ जन्मेर हुर्केकी म माया गर्छु माटाेकाे

    बुबाआमा रुँदै सम्झी बन्याे झन् पाेखरी ताल

    गरी के चित्त सम्हालूँ पुरी धब्बाहरू हाल ।


    न भाेक प्यासकाे चिन्ता न शाेक श्‍वासकाे माया

    व्यथा पीडा बढी लाखौँ भयो झन् स्वप्‍नकाे छायाँ

    सिरानी आँसुले भिज्दा सहारा काे दिने हुन्छ

    हुहू चित्कार झन् मेरो बिना स्वार्थ कहाँ सुन्छ ।


    मरूँ बाँचूँ सधैँ जल्दै परेँ दाेधारमा आज

    मरे व्यर्थै हुने नै हाे जिऊँ नेपालमा लाज

    स्वदेशी भूमिकाे माया यहाँ पाऊँ गरी के म

    सधैँ एक्लाेपना पाएँ जुनी बेकार देखेँ म ।


    निजगढ, बारा


    मेरो राजघाट

    नवीन मैनाली


    छन्द: मालिनी

    गण: न न म य य

    विश्राम: आठ र पन्ध्र अक्षरमा



    नवीन मैनाली


    सिरसिरसिर हावा चल्न लाग्यो बतास

    हरिण मजुर साथी खेल्दछन् आसपास

    जगतभरि खुसीको लाग्छ मेला विराट

    नयनभरि रमाओस् नित्य यो राजघाट ।


    मनुज ऋषि सरि भै गर्दछन् नित्य भक्ति

    जप-तप सकिएमा पाउनेछन् कि मुक्ति

    जब चिरबिर गर्दै बोल्न थाले चराले

    तब नव करुणामै हेर्छ मेरो धराले ।


    टहटह जुन लाग्दा मौनतामा रहेर

    सकल पशुहरूको कष्टलाई सहेर

    हृदय सब नियाल्ने गर्न खोज्दैछु आँट

    सुमधुर रस बग्ने ठाउँ हो राजघाट ।


    हल-चल नगरी क्यै योगमा चित्त लाऊ

    नवयुवकहरू हो ! राष्ट्रका निम्ति धाऊ

    प्रतिपल अब आऊ खेतमा प्रेम साट

    अब त जगत बिर्सी बस्छ यो राजघाट ।


    नवरस भरिएको रत्नको पुञ्ज पुञ्ज

    फगत-जगत रित्तो मौनताको छ कुञ्ज

    अब सब पिर जाऊन् दुःख जाओस् मबाट

    जय जय जय मेरो ढुक्ढुकी राजघाट ।


    राजघाट -९, सर्लाही


    अन्तिम रात

    अभिषेक ओझा


    छन्द:शार्दूलविक्रीडित

    गण: म स ज स त त गु

    विश्राम:छ र बाह्र अक्षरमा



    अभिषेक ओझा


    राती चामल खोज्नुपर्छ दिउँसो खाना नपुग्ने भए

    छाडी देश विदेश जान्छु नभए सन्तान मर्ने भए

    बिन्ती रोक्नु नभन्नु है प्रियतमा ! यो देशमा के छ र ?

    तिम्रो सिन्दुरको कमाइ नपुगी फर्किन्न प्यारी! घर।


    बारीमा ऋण फल्छ ब्याज करमा तिर्दा सकेँ राज्यमा

    खेती गर्न सकिन्न बस्नु किन के ? तड्पेर यो राष्ट्रमा

    सावाँ तिर्नुछ साहुको र घरको पूर्जा नि फर्काउँछु

    बाबा! भोलि विदेश जान्छु रुपियाँ धेरै लिई आउँछु।


    आँखा चिम्लिन बिर्सियो मुटु व्यथा किड्नी दुवै बिग्रियो

    हामी मन्दिरबाट फर्किरहँदा खै रोग के सप्रियो ?

    छोरीको उपचार गर्दछु भनी बोकेर यी तस्बिर

    भन्दा हुन् कसरी कठोर दिलले जाँदैछु खाडीतिर।


    खानामा घिउ राख पस्क र छिटो ती हातले ख्वाउनू

    आमा भन्छु म स्वप्नमा हृदयमा छोरा भनी आउनू

    तातो घाम पिएर के अरबमा छोरो उतै मर्छ र ?

    मेरो मृत्यु अगाडि आउँछु चुरा बोकेर आमा घर।


    छोराले स्कुलमा गएर कखरा पढ्ला र होला खुशी

    छोरीको उपचार हस्पिटलमा गर्दा हुनेछिन् सुखी

    जस्ता फेर्छु ढलान गर्छु घरमा पैसा कमाए पछि

    फेरौँला अनि श्वास प्राण सुखको फर्केर आएपछि।


    निजगढ -बारा




    झण्डाले भुलेको मान्छे

    यम रेग्मी


    छन्दःउपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)

    गणः त त ज गुरु गुरु

    ज त ज गुरु गुरु

    विश्रामः पाँच अक्षरमा


    जरा टुटेको हरियो छु साग

    धोत्रो परेको सुकिलो छु साज

    कपास भन्दा हलुको भएछु

    के बढ्न खोज्थेँ ? खिइँदै गएछु ।


    उन्मत्त बन्दै झुपडी थुकेथेँ

    सम्बन्ध मेट्दै नभमा उडेथेँ

    सरी मृतात्मा मन भाग्छ उड्दै

    म लास जस्तै भुइँमा छु गल्दै ।


    बर्खे हिलोको दहमा डुबेछु

    उफ्रिन्छु भन्दा अझ भासिदिन्छु

    खामो ढलेको घर पो भएछु

    चोक्टा समेट्दा रसमा डुबेछु ।


    आमा छुटेको वनको छु बाच्छो

    नौलो बिरानो हुलमा छु एक्लो

    के काम मस्ती दिलमा छ रात

    छन् दृश्य राम्रा गह छन् उराठ ।


    चाहिन्छ झाडी सतिसाल बन्न

    चाहिन्छ जाली लहरा दगुर्छ

    बर्षे छु बाली हिउँदो छ याम

    यो नर्कभित्रै कसरी फुलू म ?


    कुरा हुरीझैँ दिल भित्र चल्छ

    सम्झिन्छु माटो गह यी बहन्छ

    छु लास जस्तै घरको न घात

    छु साँझ जस्तै दिनको न रात ।


    जीवन

    शिव त्रिपाठी


    छन्दःउपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)

    गणः त त ज गुरु गुरु

    ज त ज गुरु गुरु

    विश्रामः पाँच अक्षरमा


    छल्केर बग्दै पछि उर्लिएर

    चट्टानमा ठक्कर खान्छ हेर

    बहन्छ यो शान्तिसँगै लिएर

    जानेँ नदी जीवन हो भनेर


    बोकी कतै आउँछ तीव्र आँधी

    जाडो र गर्मी हिम वृष्टि भारी

    हुनेछ यो दिव्य वसन्त जाने

    यो जिन्दगी मौसम चक्र माने ।


    हिँड्यो उकालो अनि फेरि झर्नु

    जङ्घार खोला पनि पर्छ तर्नु

    नआउने होइन सम्म फाँट

    बाटो बुझेँ जीवन आजबाट ।


    प्रचण्डको धूप छ मध्य भाग

    छ रात ठण्डी अनि अन्धकार

    आल्हादकारी छ बिहान सन्ध्या

    यो छैन अर्कै दिनरात भन्दा ।


    खोला भयो जीवन मार्ग जस्तो

    यो देखियो है दिनरात जस्तो

    बोकेर यो लक्षण मौसमी ती

    सिकाउँदै जीवन-भोग रीति ।

    पोखरा -२५, हेम्जा


    पैसा

    छविलाल आचार्य


    छन्द:वसन्ततिलका

    गण:त भ ज गु गु

    विश्राम:आठ अक्षरमा


    पैसा न हो सुख र वैभवको मुहान

    पैसा न हो मनुजको सब सान मान

    पैसा भनेर पसिना दिन रात झारी

    ठेला उठे कति फुटे छ उदाङ्ग बारी ।


    पुग्छन् विदेशतक आसुँ बगाइ धारा

    छोडेर नै घर छिमेक समाज सारा

    मान्छे भयो धन मुखी धनमै छ सार

    के उठ्न सक्छ भन लौ गतिलो विचर ।


    पैसा भए तन र यो मन बिक्री हुन्छ

    दर्बार हार गतिलो सुन सिक्री मिल्छ

    नेता बने कति जना धनको कमाल

    सिद्धान्त धार बिटुलो किन भो ? समाल ।


    भोको छ पेट कतिको कतिले डकार्छन्

    आफ्नो पराइ छ अझै कतिले हकार्छन्

    पैसा हुँदा र नहुँदा किन भेद हो यो

    पृथ्वी समान हक मिल्छ सबै जनाको ।


    पैसा भनेर दुनियाँ किन गर्जदै छन्

    साटेर इज्जतसँगै किन खर्चदै छन्

    टारेर गर्ज सबले गुजरा चलाउन्

    आनन्दले सब मिलेर चुलो जलाउन् ।

    पोखरा -१६, कास्की


    राष्ट्र र राष्ट्रियता

    कल्पना अधिकारी भट्टराई


    छन्द:मन्दाक्रान्ता

    गण:म भ न त त गु गु

    विश्राम: चौथो र दसौंमा


    मेरो धर्ती मगमग हुने फूलको वाटिका हो

    रङ्गीचङ्गी अनुपम छटा पस्किने नाटिका हो

    चाँदीजस्ता शिरमुकुट छन् शृङ्खला बोट साल

    जम्मै शोभा यस मुलुकमा गर्दछन् अंकमाल।


    झर्ना ,खोला कलकल अहा ! नागबेली छ मेलो

    तिर्खा मेट्ने शिखर झरना, ताल, पानी पँधेरो

    डाँडा,पाखा,चउर,हरिया लेक, बेसी, तराई

    राख्छिन् मेरी प्रकृति गहना कण्ठमाला बनाई।


    भाका,भाषा,लय विविध छन्,जातिका भेष भिन्न

    यौटै माला विविध रङको मेलले छन् अभिन्न

    आआफ्नै साँस्कृतिक गरिमा,सान छन् स्वाभिमानी

    यार्चागुम्बा,यति,जडिबुटी छन् यहाँ रत्न खानी।


    डाँफे नाच्छन्, नवरङ छरी पङ्ख आफ्ना फिजाई

    माया गाँस्छन् मधुर गहिरो प्रेमले मुस्कुराई

    पाखा रातै ढकमक गरी फुल्छ लाली गुराँस

    कस्तूरीको परिमल छरी डुल्छ मीठो बतास ।


    आँखा लाग्छन् पर-मुलुकका दिव्य सौन्दर्य माथि

    सत्ता हाँक्ने मुलुक अगुवा बस्तछन् मौन साँधी

    भाँडोभैलो,कलुषित भयो भ्रष्ट बन्दा चरित्र

    मेटे आफ्नो परिचय चिनो भाइचारा पवित्र।


    तन्नेरीले यस मुलुकमा रोजगारी नपाई

    थाले मुग्लानिन पिर लिँदै चित्त साह्रै दुखाई

    छाती थाप्ला अब कुन युवा ? राष्ट्र झण्डा उचाली

    राष्ट्रप्रेमी जन ! सब जुटौँ बन्न सम्पन्नशाली।

    लमजुङ दुराडाँडा चारघरे

    हाल:टोखा १०


    कविता र कवि

    वसन्त चालिसे


    छन्द:अनुष्टुप

    गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ

    पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ

    दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व

    विश्राम:आठ अक्षरमा


    समुन्नत हुँदैहुन्न लेखेर कविता कुनै

    न दिन्छ राज्यले केही न दिन्छ सुविधा कुनै

    स्वतन्त्र रूपले बाच्ने खोज्दैछौ कि तिमी कसो ?

    यौटा अचम्मको प्राणी बाँचेको छ जसो तसो ।


    चस्स चस्स मनै हुन्छ पढेर ती व्यथाहरू

    मन्त्र मुग्ध यसै हुन्छ सुनेर ती कथाहरू

    झुस्स दाडी कपालै छ नदेखिन्छ चिटिक्क त्यो

    लोभ मोह कुनै छैन न जाली छ फिटिक्क त्यो ।


    रस काव्य खुबौ लेख्छौ पगाल्दै सबको मन

    झुम्म झुम्म यसै हुन्छन् काव्यमा डुबेका जन

    झर्दछ माथको केश खुल्ला छ अतिनै मन

    जे छ सन्तुष्टि नै लिन्छ नहुँदाननी कुनै धन ।


    यौटा चिन्ता सधैं लिन्छ आजको काव्य के भनि

    नाम लक्ष्मी थियो राम्रो भएन किन हो धनी

    भिडमा चेत वा एक्लै अनेकानेक सोच्दछ

    तिखो शर कुनै छैन शब्दले पनि घोच्दछ ।


    दिन्छ शीतलता कैल्यै नौ रस पिएझैँ गरी

    कैल्यै पुग्छ मनैभित्र कैल्यै पुग्छ दिलै भरी

    कैल्यै कालो भिरेलाई जिस्क्याउन हुँदैन है

    कि पार्नू भस्म नै खाक झिल्स्याउन हुँदैन है ।


    कापी कलमको जोहो सबैभन्दा ठुलो धन

    शब्द वाणरूपी लेख्छ नौनीझैँ उसको मन

    रवि नपुगेको ठाउँ कवि पुग्छ अरे त्यहाँ

    कैल्यै भन्ज्याङ चौतारी कहिले कन्दरा महा ।


    डुब्दछ दालमा डाडु फेरि चम्चा चुमे पनि

    पाउँदैन कुनै स्वाद जतिसुकै डुबे पनि

    बुझे पो स्वाद हुन्छ रे काव्यको रसस्वादन

    साहित्यकार सारामा अजस्र शुभकामना ।


    कविको प्रेम क्वै छैन कापी र कलमै छ त्यो

    के लेख्छ होसमा छैन यही आज अचम्म भो

    कविझैँ मूर्ख क्वै छैन लाग्दछ कहिले कतै

    मूर्खको कविता सुन्ने महामूर्खहरू सबै ।

    पोखरा-८, प्रतिभा मार्ग


    विरोध

    रविना कँडेल


    छन्द:अनुष्टुप

    गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ

    पहिलो र तेस्रो पाउ–सातौँ दीर्घ

    दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व

    विश्राम:आठ अक्षरमा



    कहानी एकको हैन सय छन् चोटका कथा

    सरकार बनी हिँड्छन् नोटका भोटका कथा


    हत्यारा पाउँछन् माफी सानले जेल छाेड्दछन्

    मालीले फूलबारीका फूल आँफै निमाेठ्दछन्।


    विद्याकाे घरमा आँफै मर्नुपर्ने सरस्वती

    कंशकाे राज्यझैँ लाग्छ मलाई देशकाे गति।


    छाेरीकाे बाबुले न्याय पाउने कुन मन्त्र हाे ?

    धुन्धुकारीहरू पाल्ने याे कस्ताे गणतन्त्र हाे ?


    कसरी पुज्दछाै देवी ? के माग्छाै देवतासित ?

    सीताकाे देशमा बस्ने चेली छैन सुरक्षित ।


    श्रमकाे माेल नै छैन भाेकाे स्वयम् किसान छ

    उँचाे सगरमाथा छ झन् उँचाे अभिमान छ।


    युवा नै देशमा छैनन् देश भाे वृद्ध आश्रम

    रेमिटेन्स सधै लागाेस् देशकाे अर्थतन्त्रमा।


    विभेद मेटिऊन् सारा सुखकाे बास हाेस् यहाँ

    अपराध नहून् साँच्चै रामराज्य बनाेस् यहाँ।

    काँठेखोला -६,बाग्लुङ


    किताब

    आर्या त्रिपाठी


    छन्दः उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)

    गणः त त ज गुरु गुरु

    ज त ज गुरु गुरु

    विश्रामः पाँच अक्षरमा



    किताबमा छन् कति धेर ज्ञान

    किताब सिङ्गो गुरु नै समान

    म पर्छु मख्खै जब हेर्छु चित्र

    म देख्छु संसार यहीँ विचित्र ।


    किताबमा अक्षरका नदी छन्

    ती शब्दभित्रै पनि जिन्दगी छन्

    म बुझ्छु ती अक्षरका रहस्य

    संसार मीठो छ यहीँ अवश्य ।


    किताबलाई अति प्रेम गर्दै

    सद्ज्ञान राम्रो सब माझ भर्दै

    नयाँ नयाँ ज्ञान र सीप छर्दै

    सकूँ म हिँड्नै नदनाद तर्दै।


    सबै सबैमा गुण लाउँदैछ

    सत्मार्गमा हिँड्न सिकाउँदैछ

    किताबले पार्छ सफा बिहानी

    उज्यालिँदै जान्छ नि जिन्दगानी।


    ज्ञानी बनी पढ्न र लेख्नलाई

    बसौँ सबै पुस्तक नै समाई

    सिँगार्न सारा प्रिय देशलाई

    आऊ पढौँ है मन यो लगाई ।


    किताबका भाव म बुझ्न सक्छु

    यस्मै नयाँ जीवन देख्न सक्छु

    म ज्ञान यो देशभरी छरेर

    सत्कर्ममा लाग्दछु गम्किएर ।

    ज्ञानसागर एकेडेमी

    कक्षा:८

    पाेखरा -२५,हेमजा



    पैसामा छन् निरञ्जन

    रोहिणी रसिक

    छन्द:- अनुष्टुप


    नापिन्छ साख पैसामा तौलिन्छ दाममा दम

    जे गर्छ गर्छ पैसाले पैसामा छन् निरञ्जन

    पैसाकै निम्ति जन्मेका ठान्नेको जालझेलमा

    मोलमोलाइ पैसाकै प्रतिस्पर्धा बजारमा।

    जो गर्नै नहुने गर्छ त्यो चोखिन्छ कुरा उही

    पैसाको बलमा छुट्छ हत्यारा पनि चोखिई

    जवानी पसिना चल्छ चल्दैन उसको सही

    जसले मोल्न जान्दैन पैसाका पासुला गई।

    ठानिन्छन् दुष्ट दैवज्ञ टन्नमन्न हुँदा धन

    पैसा भए सबै मिल्छ पुँजीवादी बजारमा

    जहाँ अफिम ठानिन्छ शिक्षा चेतनका कुरा

    त्यहाँ पैसा हुने गर्छ सत्ता शक्ति अघिल्तिर।

    फुलेका फूल भाँचिन्छन् च्यातिन्छन् कोपिला जहाँ

    त्यहाँ पैसा छ उम्लेको जहाँ हुन्न सचेतना

    जे गरेर पुगोस् माथि हेर्दैन सरकारले

    पैसाले सब छोपिन्छ जे गरोस् अपकारले।

    ममता समता नाता आफन्त रुपियाँसँग

    ल्वाइख्वाइ सबै नाप्ने पैसा हो मुख्य साधन

    आमा बा वेचिने गर्छन् पैसाको निम्ति देशमा

    तिनैलाई ठुला ठान्ने मान्छे छौ परिवेशमा।


    श्रमजीवीहरूलाई बुख्याचा सरि गन्दछन्

    परिश्रमीहरूलाई नाङ्लो लिई निफन्दछन्

    कामभन्दा कुरा धेरै गर्नेकै छ ढलीमली

    पैसाहुनेहरूलाई प्पैसाकै मिल्छ मावली।

    पैसा निम्ति मरीहत्ते गर्नेको पदचापमा

    पग्लिई सकिने गर्छन् हुँदाखानेहरू जहाँ

    त्यो देश देश बन्दैन बढ्ने छ असमानता

    जनता जनता हुन्नन् जहाँ भँडिन्छ एकता।


    आयो नवीन किन वर्ष घुमेर फेरि

    हरिशरण खतिवडा


    छन्द : वसन्ततिलका


    छन् लोकमा कहरका घर जिन्दगानी

    पर्गेल्नु पर्दछ झिँजो कहिले नमानी

    के कामना शुभ भनूँ मजले नहेरी

    आयो नवीन किन वर्ष घुमेर फेरि ।

    निथ्रुक्क भिज्छ पसिना तनमा चुहेर

    सक्दैन खन्न विचरो सजिलै झुकेर

    झुप्रो चुहेर भलले भरियो घडेरी

    आयो नवीन किन वर्ष घुमेर फेरि ।

    खाली भरिन्न कहिले पनि पेट राम्रो

    माटो खिएर कति साँध सरेछ हाम्रो

    नेतृत्व लिन्छ पद बस्छ कतै नहेरी

    आयो नवीन किन वर्ष घुमेर फेरि ।

    ल्यायो र के युवक रोक्न कुनै उपाय

    बढ्दो छ भ्रष्ट जनमा न भयो सजाय

    हिँड्छन् ठुला गरिबका झुपडी नहेरी

    आयो नवीन किन वर्ष घुमेर फेरि ।

    कालो बनेर जब बादल लाग्छ घेरो

    घुम्दै अनन्त पथमा तन मार्छ फेरो

    सीमा लुटिन्छ तर शासक छन् अटेरी

    आयो नवीन किन वर्ष घुमेर फेरि ।


    अघाएन साँढे

    डिल्लीप्रसाद मूलतिहुन


    छन्द :भुजङ्गप्रयात



    अघाएन साँढे चरेको चर्‍यैछ

    अझै त्यो उपद्रो गरेको गर्‍यैछ

    अनेकौँ नखाने कुरासम्म खायो

    अझै घाँस खोज्दै कराएर आयो ।


    अगौटे पछौटे निल्यो अन्न बाली

    अकर्मी उसैको छ हालीमुहाली

    अलौटा मकै जौ पस्यो चर्न धान

    असन्तोष गर्दै अझै खोज्छ खान ।


    अपुङ्गो निलेझैँ सबै निल्न जान्ने

    अटेरी पटक्कै भनेको नमान्ने

    अचम्मै छ छाडा हदैसम्म चाम्रो

    असाध्यै बिगार्‍यो कतै छैन राम्रो ।


    असन्तुष्ट बानी छ साह्रै सतायो

    अहो सर्वनासै गर्‍यो दिक्क लायो

    असारे नदीझैँ बग्यो आँसु हाम्रो

    अँध्यारो छ बस्ती बनायो नराम्रो ।


    अत्याएर हाम्रै लुट्यो गाँसबास

    अगुल्टो उचालौँ दिने हैन घाँस

    अपेक्षा गरेथ्यौँ छ होला सुबानी

    अघोरै रुवायो सुधारेन बानी ।


    मोलुङ -५,प्राप्चा ओखल्ढुङ्गा


    नववर्ष

    विन्दु दहाल मूकदर्शक


    छन्द: वसन्ततिलका


    हेर्दा छपक्क छ धरा तृण कोपिलाले

    डाँफे मुनाल वनमा सब नाच्न थाले

    छे आज दङ्ग धरती मृदु रूप हेरी

    आयो वसन्त ऋतुमा नववर्ष फेरि ।

    छन् मौसमी महकका वनकुञ्ज धार

    देख्छौँ मनोहर छटा भवमा अपार

    धर्ती वधूसरह छे नववस्त्र बेरी

    आयो वसन्त ऋतुमा नववर्ष फेरि ।

    लाली गुराँस वनमा जब मुस्कुरायो

    हेरौँ भनी भुवन दिव्य वसन्त आयो

    छन् पल्लवी तरुलता लतिका अँगेरी

    आयो वसन्त ऋतुमा नववर्ष फेरि ।

    छन् शुभ्र कञ्चन उँभो गिरिशैल ताज

    मुस्कानका शिखर छन् जहिले विराज

    भाग्यो लुकी शिशिर त्यो दुखको मझेरी

    आयो वसन्त ऋतुमा नव वर्ष फेरि ।

    तारा र जून नभका पनि मख्ख पर्छन्

    उद्यानका कुसुमले नवरङ्ग छर्छन्

    भुल्छन् सबै मनुज ती ऋतुराज हेरी

    आयो वसन्त ऋतुमा नववर्ष फेरि ।

    दमक- ८, झापा


    समय चक्र

    सृजना सरोवर


    छन्द: विधान


    नव्य सभ्य भव्य शील्प भावमा भरी

    प्रात साँझ बित्नुपर्छ सिर्जना गरि

    ध्यान ज्ञान योग साध्य बाल्यकाल हो

    खेर फाल्नु हुन्न याम बाल्यकालको ।

    ठाँटबाँट युक्त हुन्छ बैँस जागृत

    आँट हाँक आँकले हुने सुसज्जित

    सर्व कर्मकानिमित्त यौवनावय

    वृद्धकाल रोग शोक मृत्युको भय ।

    जे छ गर्नु बाल्यकाल यौवना हुँदै

    बन्नुपर्छ कर्मशील बाल्यकालमै

    सत्य धर्म पुज्य हुन्छ विश्वमा जतै

    शिष्ट मिष्ठ मानवीय मानिने सधैं ।

    मान्य गन्य हुन्छ व्यक्ति कर्मले सदा

    दिव्य कर्म गर्नुपर्छ योग्यता छँदा

    भोक रोग शोक हुन्न दक्षता हुँदा

    ज्ञान सीप शिल्पले हुने हो दक्षता ।

    त्याग्न योग्य द्वेष रोष क्लेष हो बुझ

    क्षीण हुन्छ बुद्धि शुद्धि चेतना सुझ

    सृष्टि चक्र चल्छ नित्य एकनासले

    घाम हेर रोकिँदैन मेघनादले ।


    उदयपुर


    छटाक अन्नले भरिन्छ पेट के

    कविराज घिमिरे


    छन्द:विभावरी


    युवा बिदेसिए जमात प्रौढको

    न खन्न सक्तछौँ न जोत्छ वृद्ध त्यो

    न खाद भेटियो अनाज फल्छ के

    छटाक अन्नले भरिन्छ पेट के ।

    न रोजगारका भए कुनै कुरा

    न उर्वरा भयो मरेर आँकुरा

    कुलोबिना यहाँ सिँचाइ हुन्छ के

    छटाक अन्नले भरिन्छ पेट के ।

    न पङ्ख हालियो न वस्तु पालियो

    जहान छन् झिना न स्रोत थालियो

    उमेर ढल्कियो रहेन चेत के

    छटाक अन्नले भरिन्छ पेट के ।

    न पढ्न पाइयो भएन जागिर

    न शिल्प जानियो गलेछ जाँगर

    न कोष नै खडा थियो कुनै अरे !

    छटाक अन्नले भरिन्छ पेट के ।

    न चाकरी गरेँ न पाउमा परेँ

    न राष्ट्रको कुनै हिनामिना गरेँ

    विशुद्धमात्रले कमाइ हुन्छ के

    छटाक अन्नले भरिन्छ पेट के ।५


    हाल:चाँगुनारायण -४, भक्तपुर


    नयाँ पुराना एकै खाले

    हिमालय पौडेल


    छन्द:पादाकुलक


    पाण्डोराको बाकसजस्तो

    कुर्सी भेट्ने दौड छ कस्तो

    प्रतियोगी छन् छट्टु र टट्टु

    अघि कुद्नेको तान्छन् कट्टु ।

    रेफ्री राख्छन् आफ्नालाई

    सिट्ठी फुक्छन् स्वार्थ बजाई

    दौडिन थाल्छन् बलिया बाङ्गा

    कट्टु झरेका नाङ्गै नाङ्गा ।

    विधिको बात छ कागजभित्र

    लुटिखाने छन् तिनकै मित्र

    ङ्यार् ङ्यार ङुर् ङुर् बाहिर गर्छन्

    मिलेमतोमै गोजी भर्छन् ।

    अर्को घरको मालिकलाई

    आफ्ना घरको भेद बताई

    भाइ भाइको इज्जत तुर्छन्

    भँडार खन्छन् आँगन पुर्छन् ।

    पाँच वर्षको बाली रोप्छन्

    छ छ महिनाको पालो भोग्छन्

    पाक्ला कहिले टुङ्गो छैन

    फूल नखेल्दै तिनको चैन ।

    राम्रा भन्दा हाम्रा छान्छन्

    सित्तै पाए ढल पनि खान्छन्

    नयाँ पुराना एकै खाले

    काले काले खान्छन् भाले ।

    रेफ्रीलाई प्रभाव पारी

    आफ्नै पल्ला पार्छन् भारी

    जित्दा आफू महान् हुँ ठान्छन्

    हार स्वीकार्न झर्को मान्छन् ।

    पाण्डोराको बाकसलाई

    जनमत जस्तो बज्र बनाई

    ठोकी फ्याट्टै पर्दछ फोर्नु

    पीडित जनता पर्दछ जोड्नु ।

    कुर्सीमा होस् जिम्मेवारी

    गल्ती पाए उखेल्नु दाह्री

    तब पो होला स्वस्थ कुदाई

    पान्डोरेको रामधुलाई ।

    चौदण्डीगढी -१०, उदयपुर



    परतन्त्र

    जीवनहरि शर्मा


    छन्द:तिलका


    मान्छेहरू नरकमा किन जान खोज्छन् रोज्छन् सधैँ रिस र राग घमण्ड गर्छन्

    जिब्रो प्रसन्न रसमा खुस साथ बस्ने फेरिन्छ फेरि तर दाँत अवस्य झर्छन्

    गर्दैछ नक्कल सधैँ परतन्त्र बोकी चिन्दैन जो घर तथा परिवार मोती

    पाइन्न सत्य पर खोज कतै रह्यो की खुल्दैन त्यो हृदय वा मनभित्र ज्योति । १


    संसार चिन्न हिँडियो कति दूर जाने गर्दैछ स्वाद त्यसले कुन खाद्य खाने

    आत्मा छ पत्थर तथा मन त्यो फलामे मान्छे सकिन्छ सजिलै परतन्त्र माने

    बुझ्दैछभित्र गहिरो तलसम्म पुग्ला सोचेर मात्र बसिए व्यवहार डुब्ला

    बोल्दैन जो हृदयमा कस नित्य राख्ला टोक्दैन स्वान तर झन् कसिएर भुक्ला । २


    जो सत्य बुझ्छ रसझैँ अनि स्वाद पायो सन्तुष्ट हुन्छ त्यसले रविझैँ उदायो

    फोहोर बोक्छ मनमा दिल क्रूर पार्यो आफन्त जो छ बिनसित्ति सधैँ बिगार्यो

    सादा बनेर घरको पिर बुझ्न सक्ने गल्ती भए सहजले शिरदेखि झुक्ने

    मान्छे त्यहीँ असल हो गरिमा छ पुज्ने चातुर्यता छ त्यसमा परतन्त्र बुझ्ने । ३


    सम्मान नै सुख ठुलो पहिचान मेरो आफ्नै बुता र महिमा अति नै पियारो

    बिस्र्यो धरातल सबै नभ मात्र हेर्यो बोक्ने छ भार परको थपियो चटारो

    उच्चो छ मानसिकता बल शक्ति हो त्यो सर्वोच्च मानव हुने नर आज को हो ?

    गर्दैछ प्रश्न जनले शुभलाभ जे हो झुक्ने छ यो शिर सधैँ परतन्त्र गाह्रो । ४


    खाएर मस्त बनिए पशुझैँ भयो की भाँडो फुट्यो अमृत त्यो र कतै चुह्यो की ?

    टाढा छ दृष्टि जसको बसुधा थियो की टालेर रोक चुहिने बुझ है खियोकी ?

    आकाशको गरुडझैँ बनिएर बस्ने को बन्छ सर्प ननिको जन माथि डस्ने

    लाचार त्यो मनुज हो र बुझेर चुक्ने निर्लज्ज नग्न कडुवा परतन्त्र खप्ने । ५


    इलाम


    भित्र पसेपछि बन्छ कडा

    हरिप्रसाद रिमाल

    छन्द: मदिरा महिमा



    छन्द मिल्यो तर शब्द सजावट अल्मलियो कि फुरेन भनौँ

    शोच विचार गरी अझ सुन्दर लेख्न जुटौँ कटिलो नभनौँ

    हेर सबैतिर छन् कविता रस कविका चुस्न सिकौँ अनि शिष्ट बनौँ

    ध्यान दिए पछि हुन्छ परिस्कृत लेख्न तयार बनौँ न भनौँ।१


    प्रेम गरौँ सबले मदिरासित गायन योग्य बनुन् कविता

    होस् रस काव्यमिठास बगी श्रुतिसौरभ हुन् दिलदीप सदा

    नन्दनमा जति हर्ष दिलाउँछ भित्र पसेपछि बन्छ कडा

    क्लेश पखाल्दछ ज्ञान पिलाउँछ सेवक झैँ दिनरात खडा।२


    सुन्दर शब्द सजावट कोमल भाव त्यहाँ धुरिए अझ यो

    बन्छ सुधायुक्त काव्य रसात्मक पान गरे पछि हुन्छ दिगो

    उच्च हिमाल समान भए पछि बग्दछ पाठकका मनमा

    घुम्दछ नित्य नसा धमनीतिर पार्दछ पूत नवीनतम।३


    ओैषध हो मदिरा सबको प्रिय होइन यो कुहिने मदिरा

    पुग्दछ है मधुझैँ मुटुमा तब बन्दछ तीर्थ समान धुरा

    बन्दछ मान सरोवर यो अनि बग्छ नसातिर नाद गरी

    बिर्सन सक्दछ को मदिरा दिल शान्त बनाउँछ हुन्छ परी।४


    बाइस अक्षर छन् यसमा सुरुमा गुरु हुन्छ र ह्रस्व दुई

    लौ गन ह्रस्व र दीर्घ थपे बनियो लय छन्द विशिष्ट सुई

    ज्ञेय विधा जगको गहना सम निर्मित शिर्षतिरै छ कुटी

    द्वार खुला छ सदैव सजावट सुन्दर रूप छ लाग्छ बुटी।५


    लेख्न खटौँ रसिलो रस नायक छन्द यहीँ सबको मदिरा

    उत्सुक पार्दछ चिन्तन खार्दछ जाँगरले मनका पिपिरा

    नैतिक सात्विक वीर भयानक अद्भुत शान्त सबै रसमा

    हास्य रुचाउँछ सोच्न सिकाउँछ मादल तालसँगै करुण।६


     


    युवा हुन् धराका महान् कर्णधार

    मुक्ति पोखरेल


    भुजङ्गप्रयात छन्दमा




    युवा चेतना छर्दछन् यो धरामा

    पुगी गाउँका खोँच वा कन्दरामा

    यिनै लाउँछन् दुस्ख सङ्कष्ट पार

    युवा हुन् धराका महान् कर्णधार ।१


    युवाले चिताए सबै बन्छ काम

    कहाँ पर्दथ्यो देश छाडेर जान

    निजाङ्ग्रे युवाको छँदै छैन सार

    युवा हुन् धराका महान् कर्णधार ।२


    परे देशमा कष्ट आपत्ति भारी

    यिनै बन्दछन् लड्नलाई तयारी

    यिनै गर्दछन् शत्रुलाई प्रहार

    युवा हुन् धराका महान् कर्णधार ।३


    कतै रोकिने छैन सच्चा सहास

    परे फोर्न सक्ने अनेकौँ पहाड

    जिती देश वैरी बनाएर हार

    युवा हुन् धराका महान् कर्णधार ।४


    भयो देश रित्तो युवा छैन कोही

    सहारा विना वृद्ध रुन्छन् कराई

    नजाऊन् उता देशमा पर्छ भार

    युवा हुन् धराका महान् कर्णधार ।५


    हटाएर मैलो सफा देश पारी

    अहङ्कार शेखी भएका निखारी

    सबै फाल्न सक्छन् रहेको निखार

    युवा हुन् धराका महान् कर्णधार ।६


     


    अपेक्षा

    दीनानाथ पोख्रेल




    युगमार्ग चिनीकन बढ्नुछ उठ्नुछ ज्ञान खिपी

    हितकर्म तिखार्नुछ भोक बढार्नुछ प्राप्ति टिपी

    सुख हार जमोस् मन नित्य रमोस् घर स्वर्ग बनोस्

    गति तीव्र बढोस् हितमार्ग खनोस् भव दिव्य गनोस् ।


    मन चञ्चलता सब दूर गरूँ कृत योग्य छरूँ

    पद शैल चढू्न् दृढ शक्ति छरून् निज चेत भरूँ

    मन देश चिनोस् बह कष्ट छिनोस् भव भाव भरूँ

    मन चञ्चल भै भय छुल्छुल पार्दछ दूर गरूँ ।


    पथ योग्य खने फल वाञ्छित फल्दछ प्राप्ति निको

    सुख बस्दछ साथ खुलीकन तान्दछ कर्म डिको

    युग ज्ञान टिपेपछि कर्म रमाउँछ जम्छ हरियो

    शुभमार्ग खनेर हिँडाउन गाड्नुछ एक मियो ।


    सबसाथ उठे कृत योग्य टिपे घर रम्छ सधैँ

    सुख हार गुथीकन यो मन उठ्दछ हर्षसँगै

    उठ जाग युवा बह पार्न धुलो सुख मिल्छ अरे

    मन सागरतुल्य बनीकन सौख्य बटुल्छ भरे ।



    मन सौख्य उमार्न र रम्न सधैँ बल गर्छ खटी

    अनि प्राप्ति गुमेपछि हर्ष डरीकन हुन्छ खती

    घर साँझ पसेपछि मार्ग सही गम योग्य कला

    फल फल्छ मिठो सुर खोल्छ डटीकन नित्य गला ।



    बढ मानव मार्ग खनीकन जम्नुछ यो भवमा

    यति चेत रहोस् सुख मिल्छ मिठो मनको सबमा

    फल टिप्न मिठो गर कर्म निको हित हुन्छ जहीँ

    शुभकर्म छुटे सुखसाथ टुटे हित हुन्न कहीँ ।



    मन दर्द हटून् घर हर्ष बढून् सुख मिल्छ मिठो

    फल हात टिपून् घर पूर्ण छिरून् बह हुन्छ पिठो

    घर भोक पसे सुख दूर हटे मन दुख्दछ यो

    उठ कर्म टिपी कृत हार खिपी फल बाँड्दछ यो।

    इलाम


    त्यो जुरेली चरीको

    भवानी खतिवडा

    छन्द:मन्दाक्रान्ता



    डाली डाली चिरबिर गरी भुर्भुराई डुलेको

    खोजी गर्दै जल र कनिका आँगनीमा भुलेको

    क्वैली बोल्दा मृलुलयसँगै तालमा रौसिएको

    देखे मैले अभिनव कला त्यो जुरेली चरीको ।

    छर्दै आए रवि किरणले शीतमा स्वर्ण रङ्ग

    उठ्छन् मेरा पनि हृदयमा कल्पनाका तरङ्ग

    कल्पेँ मीठो सुर मधुरिमा प्रीतिको बाँसुरीको

    नौलो जादू प्रकटित हुँदा त्यो जुरेली चरीको ।

    यो स्वच्छन्दी प्रिय पवनले स्पर्श गर्दा मलाई

    उर्ली आयो प्रणय सरिता चित्तमा छङ्छङाई

    झल्को आयो अझ रहरिलो प्रीत पोख्ने झरीको

    हेर्दा हेर्दै अनुपम कला त्यो जुरेली चरीको ।

    नाँच्छे आफ्ना रहर बटुली स्वच्छ राखेर चाख

    हुन्छे आल्हादित प्रकृतिको टेक्न पाएर काख

    डाँफे मैना ढुकुर र सुगा कोकले गौथलीको

    साँटूमाया हृदयभरिको त्यो जुरेली चरीको ।

    केले डुल्छे नयन वनका फूलमा पालुवामा

    कैले गर्छे रहर मनका खोंचका बालुवामा

    यी आँखा नै झलमल हुने श्रृङ्खला जिन्दगीको

    देंखे यस्तै समय सुखको त्यो जुरेली चरीको ।


     


    महत्वा

    उद्धव घिमिरे

    छन्द:भुजङ्गप्रयात



    यहाँ चेतनाले घुमाएर मुन्टो

    सहारा दिलाओस् उघारेर घुम्टो

    फुलुन् फूल बेली चमेली रमाई

    यिनै फूल चुम्दै बसौकी समाई।

    मलाई छ चिन्ता यिनै लेक बेसी

    झनै लाग्छ माया पहाडी मधेसी

    सहारा विनाका बुढन्ती पुगेका

    दया लाग्छ आफ्ना छिमेकी गुमेका।

    गए देश छोडी भए शुन्य जोडी

    बसे बिर्सिएरै उतै मोज भोगी

    न आमा यहाँ छिन् यहाँ छैन बाउ

    सुसस्कार के भो उतैको छ भाउ।

    यहाँ देश रोए न चिन्ता यहाँको

    यहाँ भेष मर्दा मलामी त्यहाँको

    यहाँ गाउँ रित्तो उताकै बजार

    महत्वा उतैको हजारौं हजार।


    कालो खरानी घसी

    माधव पोखरेल गोज्याङ्ग्रे

    छन्द:शार्दूलविक्रीडित



    भाटो हान्न सिपालु छौँ यदिभने नाँच्छौ तिमी शानले

    आफ्नै हात लुकाउँदै वरिपरी घुम्दै गरे मानले

    ढुङ्गा हान्न सिपालु छौ मुलुकको गर्दै रहें उन्नति

    लामो हात गरेर लम्कन सके त्यस्तै रहोस् संगति ।

    खुट्टा तान्न र पेंच दाउ कसिलो तिम्रो सदा ध्यानमा

    बिर्को लाग्छ सधैँ तमास थरिको बेहाल छौ ज्ञानमा

    गोरो छौ अति नै सुहाउँछ बडो कुर्ता र गम्छा पनि

    आफू मात्र गजक्क शानसितले साथी बिकामे अनि ।

    कालो रत्न सरी भएर जहिले यो देश हाक्छौ कति

    अर्काको भरथेग मात्र जहिले आफू चलाखी अति

    नेपाली इतिहासमा समयको कालो खरानी घसी

    आयौँ आँगनमा तिमी जहरभै रातो पछ्रयौरा कसी ।


    देखायौ सपना अनेक थरिका नाङ्गो सरी भै दियौ

    लोभी दृष्टि छ साथ छैन गतिलो धम्की र लम्की गयौ

    आत्मा रुन्छ उता बसे कहरमा पाल्नु छ नेता जति

    गाह्रो बाँच्न छ साथ हात नहुँदा भागेर बस्नूँ कति ।४

    साझा काम हुँदैन स्वाद कहिले मिष्ठान्न पाक्दैन हो

    एक्लो ज्यान छ खान पान नमिठो घिच्दैन पच्दैन हो

    बानी शासनमा छ आसन सँगै कुर्सी घुमाई दिने

    सत्ता हात लिएर शासक बनी सारा रुवाई दिने



    नेता नीति विहीन देश भरिका खोक्रो छ आत्मा यता

    हावामा उडने कसिङ्गर सरी फालिन्छ दैलो जता

    हाम्रो आँगनमा छ फोहर धुलो मैलो छ भण्डारमा

    दैलोभित्र छ प्वाल टाल्न नहुने कालो छ संघारमा ।

     Reference

    https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/ 
    https://easyayurveds.com/ayurvedic-treatment-of-migraines-and-headache/

    Medicinal Plants for skin Burns

    Medicinal Plants for Hair Health

     Medicinal Plants for Wound Healing

    30 Medicinal Herbs For your Home

     Medicinal Plants for Skin Beauty

    50 Medicinal Plants for Inflammation

    50 Medicinal Plants Used as Spices In Nepal

     50 Medicinal Plants Commonly Used as Herbal Tea

     Medicinal Herbs: 35 Vegetable Foods For Better Sex Drive

     Medicinal Herbs Plants of Far-west Nepal

    Medicinal Plants for Penis Size Enlargement

     Medicinal Plants Found in Terai Region of Nepal

     Medicinal Plants of Your Home: Benefits and Uses

     Medicinal Plants of Koshi Province Nepal

     Medicinal Plants Found in Himalayan Region of Nepal

    Medicinal Plants for Skin diseases

    Medicinal Plants for High Blood Pressure

     Medicinal Plants for Cough

     Medicinal Plants for Piles and hemorrhoids

    Medicinal Plants For Diabetes (High Blood Sugar)

     Medicinal Pants For Itching Skin

     Nepali Medicinal Plants For Teeth Health

     Medicinal Plants Lists Which Enhance Sexual Health

     Six medicinal plants For Erectile Dysfunction

     Best Medicinal Plants for Boosting Sexual Health Worldwide

     Endangered Medicinal Plants Of Nepal

    MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL

    Medicinal Plants Lists For postpartum Periods Sutkeri ko Ausedhi or Masalaa - सुत्केरी को औसधि - सुत्केरी को मसला

     50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

     35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

     Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication


     Nepali Lyrics and Chords of Pramod Kharel’s Top Songs

     Melina Rai's Songs lyrics and Chords

     Famous songs Lyrics and chords of Suzeena Shrestha

     Trishna Gurung”s Top Songs Lyrics and Chords

     Rachana Dahal Song's lyrics and Chords

     VTEN All Famous Songs Lyrics

     Top Songs Lyrics and Chords of Rajesh Payal Rai

    Shashwot Khadka Songs Lyrics and Chords

    Samir Shrestha's Top Songs Lyrics And Chords

     Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

     Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

     Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

     Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

     Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site


    Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु

     Beautiful Poems of Bimala Tumkhewa

     Best Poems of Bhim Birag. भिम बिरागका कबिताहरु

    Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु

     Some Nepali poem Of Chakrapani Chalise चक्रपाणी चालिसेका कबिताहरु

     Famous Nepali Poem Of Ishwar Ballav

    Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु

    Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु

    Famous 10 Poem Of Siddhicharan Shrestha

     Some Nepali Poem of Parijat

    Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु

     Famous Poem of Bijay Malla बिजय मल्लका केही कबिताहरु

     How to Write Chhanda Mukta Kabita (free Verse Poem ) with 20 Poem Example

     100 New Nepali Haiku For Haiku Lover

    100 Nepali Famous Haiku Poem In Nepali

    Arjun Parajuli ka Nepali Kabitaharu

     Nepali Poem Collection Of Tanka Subba Sambahamphe

     History Of Nepali Poem And Some Ultra Modern Nepali Poem 

    Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु 

    Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु 

    Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु 

    25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु 

    Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु

    Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota 

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali 

    11 types of poetry with Beautiful Short Nepali Poem 

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The history of Nepali Poem And famous poets of Nepal