तिहार रक-पप
~समीर मुखिया~
आजभोलि कान्छी तिमी कता छ्यौ कहाँ
शून्य गाउँ छैनन बथान संगिनीका सब ।
भैलिनिले कति खोजि र’छा तिमीलाई यहाँ
राती माटी पोत्ने दलानमा छैनन हेर अब ॥
पोतिएको छ घरगाउँ हिजोआज शहरिया रंगले
मर्म छैन भैलिनिको मौलाउँदै पप-डिस्को खाली ।
उराठ लागी छोडिसक्यो हेर मारुनीको भाकाले
छैन रौनक तिहारको अचेल टुकी दियो बाली ॥
देउसुरेको छैन भाका छैन मादलको ताल
झयाउरे चुट्का छैनन खाली डिस्को हिपहप ।
देउसीभैलो हराइसके किन किन यहाँ आजकल
बस्न थाले बूढापाका चुहाउँदै आँशु तपतप ॥
श्रीमती र रिमोट कन्ट्रोल
~गोबिन्दसिंह रावत
श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए
आफूले चाहेको बेला अन गर्थें
नचाहेको बेलामा अफ गर्थें
मन परेको कुरा गर्दा सुनी दिन्थें
डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थें ।
आधारातमा साथीभाइ र पार्टीबाट फर्किंदा
रिसले मुर्मुरिएर उनी झर्किंदा
मिउट थिची दिन्थें अनि कचकच नसुनी सुती दिन्थें
घरमा पनि कहिलेकाहीँ हुस्की बियरको चुस्की लगाउँदा
उनी रिसाउने कराउने गर्दा
स्टप थिची दिन्थें चुस्कीलाई निरन्तरता दिँदै
बाहिर जान अघि सिँगारिँदा
फास्ट फरवर्ड गरी चाँडै गराई दिन्थें
आफूलाई माया गर्दाको बेला भने
बारम्बार रिवाइन्ड थिच्दै प्ले मात्र गरिबस्थें ।
साँच्चै भन्या श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए
मन लागेको बेलामा प्ले थिची दिन्थें
रिस उठेको बेलामा स्टप थिची दिन्थें
उनले कराउँदा भोलुम घटाइ दिन्थें ।
किनमेलको कुरा गर्दा अफ नै गरी दिन्थें
आहा ! श्रीमती यदि रिमोटबाट चल्ने भए
मन लागेको बेलामा हरी बस्थें पज गरेर
रिसाएको बेला स्टप गरी दिन्थें
अनि उनकै अगाडि
फेसन च्यानल हेरी बस्थें मनोरञ्जन गर्नलाई
श्रीमती यदि रिमोटबाट चल्ने भई दिएको भए ।
तर श्रीमती रिमोटबाट चल्ने हैन
उनी त आफैं रिमोट हुन्
हामी पो उनको रिमोटबाट चल्ने
निरीह पति ।
त्यसैले कल्पनामा रमाएर केही क्षणको स्वतन्त्रता पाए पनि
हामी रिमोटबाट चल्ने रोबर्ट हौं
श्रीमती त रिमोट चलाउने सूत्रधार हुन्
हाम्लाई चलाउने रिमोट हुन् ।
आलुपाँडे–पुराण
~डा बमबहादुर थापा ‘जिताली’
आचार आलु, विचार आलु, सदाचार आलु
विवेक आलु, गतिमति आलु, सहमति आलु ।
जता पनि शान्ति आलु, सुरक्षा नि आलु
नीति आलु, नियम आलु, दण्ड पनि आलु ।
पानी आलु, विजुली र पेट्रोल पनि आलु
ग्याँस आलु, महँगीमा नियन्त्रण आलु ।
विकास आलु, निकास आलु, नैतिकता आलु
अलिकता राष्ट्रियता पनि भयो आलु ।
कर्मचारी, प्रहरीको मनोबल आलु
सेनानी र सिपाहीको आत्मबल आलु ।
जता हे¥यो उतैतिर राम्रो जति आलु
जता पनि मेरै मेरो हाम्रो ठूलो आलु ।
विधि आलु, विधान आलु, संविधान आलु
रोजगारी इमान्दारी, जिम्मेवारी आलु ।
हितकारी आयोजना अग्रगामी आलु
कर्म आलु, सर्म पनि धरोधर्म आलु ।
धन्य आलु । हे आलु तरकारी
जनताको रित्यायौ भकारी ।
ओथारो
~तितेपाती~
नवीन यूग जन्माउन गरेका धेरै यत्न विफल रहे ।
त्यसैले हार नमानि
आकाशका जुन तारा साक्षि राखेर
झलमल्ल घामको उज्यालोमा
आफ्नै मनसड्ड भरपुर सहवास गरेर
उसले अक्षरहरूको गर्भाधान गरेछ यसपल्ट त ।
अनि कष्टपुर्वक कोरलेको शब्दरूपि अन्डाको
ओथारो वसेको छ ।
बाक्य नामको वच्चा जन्माउने धोकोछ ।
वच्चा सबुत जन्मेला ,नजन्मेला
गर्भाधान र ओथारो अवस्य खेप्दैछ ।
खुनी पिपाशुहरूको नजर परेन भने
वा बिचाँजो परेन भने वच्चा अवस्य जन्मिनेछ ।
बुद्ध जस्तै ज्ञानी,भीमजस्तै बलशाली
र विदुरजस्तै नितिज्ञ, भिष्म जस्तै दृढसंकल्पि ।
जसले यो धर्तीको हरियो चौरमा चर्ने
त्यहि जमिनमा दाह्रा धस्ने ती बुर्बक
भ्ोंडाको हुल र ब्वाँसाको झुन्डलाइ
अनि गाउँले झुक्याइ रमाउने मुर्ख गोठालोलाइ
सिल्टिमुर खुवाउने छ । पक्कै हो ।
त्यसैले आउनुस प्रिय भावकहरू ¤
हामीपनि नवीन यूग वोकेर आउने
त्यो समयलाइ
आँधि,हुरि, वतास ,असिना
अनि आइपर्ने अनेकन विघ्न वाधा पन्छाउने
सकारात्मक प्रयत्नमा जुटौं
ब्यस्त जीवनवाट थोरै समय उवारेर ।
जसले हामी सवैको ओठमा मन्द मुस्कान छर्नेछ ।
न्ोपाल आमालाइ हंसाउनेछ ।
कालो
~पिँडालु पण्डित
कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ
कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।।
कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ
कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।।
भात खाँदामा कालो मास घिउ हालेको दाल
कालो मोटर चट्ट चढेर बुन्छौ पासो जाल ।।
टोपी कालो चप्पल कालो मनमा पाल्छौ कालो
कालै चिया थरीथरीका पेट छ तिम्रो कालो ।।२।।
कालो नोट भोट किनेर चुनाव पार्छौ कालो
बजार पस्छौ चन्दा भन्छौ बजार पार्छौ कालो ।।
पानी थुन्छौ धारा छोड्छौ सबतिर पानी कालो
थाहै नपाई विजुली खायौ चोटा कोठा कालो ।।३।।
विचार लाद्छौ मात्रै पर्ने स्वतन्त्रता भो कालो
राजनीति झन् आफ्नै निम्ति बेनाता सब कालो ।।
कैले खुल्ला कैले बन्द व्यवहार तिम्रो कालो
कुरा फेर्छौ छिनछिनमा सत्य भो अब कालो ।।४।।
संस्कृतिमाथि धावा बोल्छौ आफ्नोपन भो कालो
राष्ट्रियता ख्वै ! केमा अड्क्यो गिद्धदृष्टि भो कालो ।।
सबतिर पैmल्यो कालैकालो बाँकी छ अब के कालो
यस्ता कालोपे्रमी तिमीमा अब यो झन्डा कालो ।।५।।
ज्योति मगरको तिघ्रा
~विनोदविक्रम केसी
तिमी फस्यौ ज्योति मगर!
फस्यौ नानी!
यो करनीघाती बजारको
चिल्लो–चम्किलो चक्रव्यूहमा
अभिमन्युले अन्तिम सास लिनुअघि
तिम्रो तिघ्रामाथि
म रचिरहेछु यो पाखण्डी शोकगीत एउटा
मलाई असाध्यै मन पर्छ
अबोध बालिकाको जस्तो तिम्रो निश्छल हाँसो
केही पनि नबुझी यसै हाँसिदिन्छौ तिमी
यही नासमझीले त डुबायो तिमीलाई
कसुरै के छ र तिम्रो?
रसरंगका जल्लादहरूले
फर्याकफुरुक गर्दै फूल–पात टेकी नाचिहिँड्ने
गाउँकी एउटी पुतलीलाई
बनाइदिए कठपुतली
उनीहरू खिच्दछन् धागो
कस्दछन् धागो
तिमी गाइदिन्छौ
नाचिदिन्छौ
‘शो–बिज’ भन्ने
देह–खोतलखातल–उद्योगले
मागेजति देखाइदिन्छौ
यसरी तिमीलाई बनाइएको छ
तमासाको भद्दा राजकुमारी
नासलचोकदेखि
साँघुरो गल्लीको भूपी चोकसम्म
तिम्रो तिघ्रामा झुन्डिने लालसामा
खलासीदेखि विधायकसम्मको
भीड जमजमाइरहेको छ
आँखा खोल ज्योति मगर!
आँखा खोल नानी!
भीडको आँखाले चलाएको चक्कु हेर!
तिमी रगताम्य भइसक्यौ लाटी!
घरभित्र/पर्खालभित्र/पर्दाभित्र
फोहोरको गर्तमा डुबिरहने/झुमिरहने
तर बाहिर निक्लँदा
नैतिकताको सफा कमिज धारण गर्न
कहिल्यै नभुल्ने
भलाद्मी जगत्
गाली गर्दै छ तिमीलाई
चलायौ रे तिमीले व्यभिचारको कुटीर उद्यम
सारा अनैतिकताहरूको जननी बनाइएको छ
तिम्रो तिघ्रालाई
भाषा छ एउटा तिम्रो तिघ्राले बोल्ने
पण्डितहरू मोहर लाइदिन्छन्– अश्लील!
तिम्रो आहटै अश्लील!
तिम्रो तिघ्राको थर्थराहटै अश्लील!
जब गरिनेछ फाँसीको इन्तजाम तिमीलाई
प्रतिवादमा बोल्ने छैनन्
तिम्रो तिघ्राका मुनाफाखोरहरू
बरु तिनैले ल्याउनेछन् डोरी
बनाउनेछन् तख्ता तिनैले
आँखा खोल ज्योति मगर!
आँखा खोल नानी!
हेर,
कसरी खोसिरहेका छन् उनीहरूले
तिमीबाट
जिन्दगीको दिव्य गीत र भव्य नृत्य
कठपुतलीको आफ्नो कुनै सुर–ताल हुँदैन लाटी!
चप्पल
~विमल निभा
धेरै दिनपश्चात् मलाई
स्मरण भयो बाबुराम भट्टराईको
कुन्नि, कहाँ छन् कहिले उनी
र यहाँ म आफ्नो
चुँडिएको चप्पलको फित्ता
सिलाउन खोजिरहेछु यस बखत
यही चप्पल धारण गरेर खुट्टामा
पुग्नु छ मलाई कार्यक्षेत्र
अखबार कार्यालयमा
(आज फेरि बिहीबार हो)
र गर्नु छ थुप्रै–थुप्रै काम
मलाई पूरा गर्नु छ लेख
(जो मेरो ड्रअरमा अधुरै बन्द छ)
खोज्नु छ राजनीतिको जङ्गलबाट
ताजा समाचारहरु
र लेख्नु छ पेट्रोलियम पदार्थको
मूल्यवृद्धि भएकोमा
एउटा सम्पादकीय जोडदार
अन्त्यमा सबै कामहरु सिध्याएर
फर्कनु छ बेलुकीपख घर
जहाँ मेरो प्रतीक्षा भरहेछ अधैर्यपूर्वक
(एउटा पति र पिताको
प्रतीक्षा भइरहेछ त्यहाँ)
आजैको एक–दुई खबरकागत
र चूरचूर थकान झोलामा बोकेर
जब म फर्कनेछु हतार–हतार
पीपलबोटनेर भेट हुनेछन् मेरा कवि मित्रहरु
र सोध्नेछन् मसँग उनीहरु–
के खबर छ सम्पादकजी ?
म भन्नेछु उत्तरमा–
ठीकै छ
देशमा संसद् र लोडसेडिङ
दुवै एकसाथ चालू छ
कांग्रेस सरकार भित्र छ
र बाहिर माले र एमाले उभिएका छन्
सर्वत्र संक्रामक कीटाणुहरु
बढेका छन् वेगले
कराइरहेका छन्, पहेंला भ्यागुताहरु
शीतघरमा थुपारिएको
आलुको भाउ दोब्बर भएको छ
र आजै बिहानै चुँडिएको छ
मेरो चप्पलको फित्ता
मेरो कुरा सुनेर
कवि मित्रहरुले प्रस्ताव राख्नेछन्–
ल त भइजाओस् एक–एक कप चिया !
तर सधैंझैं ‘कवि कर्नर’मा चिया खान
मलाई मन हुनेछैन
अबेर हुनेछ आज मलाई
यो निश्चित प्रायः छ
(सूर्य ढल्नेछ
रात पर्नेछ)
किनभने बीचबाटामा चुँडियो
मेरो चप्पलको फित्ता
(निकै पुरानो भएर थोत्रिइसकेको छ यो)
र मलाई स्मरण भयो हठात्
कमरेड बाबुराम भट्टराईको
जो कतै व्यस्त छन् जनयुद्धमा
र म आफ्नो चुँडिएको चप्पल
लतारेर सोचिरहेको छु–
जस्तो कि अन्य थुप्रै छन्
म एक सामान्य मानिस हुँ
खबर र कविताहरु लेख्ने
र चिया खाएर दगुर्ने
अर्थात् इमानदारीपूर्वक र सश्रम
हाँस्ने र रुने एक कामदार
(असामान्यता केही छैन मसँग)
के म जनयुद्धमा सामेल छैनँ कमरेड ?
साले त्रिभुवन
~त्रिभुवनचन्द्र वाग्ले~
साले त्रिभुवन खुच्चिङखाइस्
चौथो अङ्ग भएको धाक खोक्थिस्
देखेको लेख्ने र लेखेको बोल्ने गर्व बोल्थिस्
हाल के छ ? बेहाल छ, हाल !
खुच्चिङखाइस्
बेलैमा तलाई भनेकै हो–
“भन्सार जाऊ संसार कमाऊ”
होइन, चौथो अङ्ग हुन्छु भनिस्
भइस् चौथो अङ्ग
अरूका बारेमा थुप्प्रै मसी सुकाइस्
खुब लेखिस्, लेखाइस्
आफ्ना बारेमा लेख्न नसक्ने
कलममा खुव गर्व गर्थिस्
वादविवाद पनि जित्या’थिस्
“कलम बलियो” भनेर
पोलियो नपुगेको तेरो कलम
नयाँ सडकको जँड्याहा जस्तै
दरोरी टेक्ने भए पो !
साले त्रिभुवन
जितिस् वादविवाद ‘कलम बलियो हुन्छ’
भित्ता नापिस् साले
अब त आफ्नो उचाइ थाह भयो होला नि !
तेस्रो ध्रुवको मुलुकमा चौथो हुनुको गर्व पाल्थिस्
आज त आँखा खुल्यो होला नि, चुत्थो अङ्गको
बिहान बेलुका विभिन्न नामले
रेडियो र पत्रिकामा खोक्थिस्
तेरो ब्रोन्काइटिस् ब्रोडकास्टले कतिको निद्रा भत्केको थियो
कतिको आहार खोसिएको थियो,
साले त्रिभुवन
महादेवका तीननेत्र भन्ने त सुनेको हो
यो हुँदै नभएको चौथो अङ्गको पगरी गुथिस् कसरी
आज निन्याउरो मुखमा
के भो बा ? भन्ने छोरीलाई
किन उत्तर दिन सक्दैनस्
मुख सिएर अवाक–व्रत साँधेर बस्याछस्
साले त्रिभुवन
उतिबेलै मुटु पोले पनि
फोक्सो कोक्याए पनि नखोक भन्याथेँ नि
चौथो अङ्ग हुनुको भोको स्वाभिमानले मानेन भनिस्
परिणाममा आज “कलम बलियो” वादविवादमा मौनब्रत
पुरस्कार पाछस् ।
मेरो सांसद मित्र
~विमल निभा
मेरो सांसद मित्रलाई
अचेल के भयो ?
ऊ दुवै आँखा चिम्लेर मुस्कुरायो
अहिले पनि यो देशमा केही हुनसक्छ
ताराहरु झरेर आकाश रिक्त भयो
उज्यालो हरायो
कम्युनिष्ट पार्टीहरुलाई
यसको कुनै खबर छैन
सबै महत्वपूर्ण मिटिङमा व्यस्त
हतार–हतार लम्किरहेको
उसलाई रोकेर सोधें
के छ माननीयज्यू ?
आज सदनमा येल्तसिनको भाषण छ
उसले रहस्यमय स्वरमा भन्यो
हाँगाबाट चराहरु उडेर गए
पार्टी हेडक्वार्टरमा
केही चमत्कारिक कमरेडहरुबीच
एकता भयो
धेरैको मेम्बरसिप खोसियो
एकदिन झोछेँको भट्टीबाट निस्केर
ऊ कराउन थाल्यो
राष्ट्र मुक्ति चाहन्छ
क्रान्तिको सम्भावना छ
तर जुलुसमा जान हामीसँग खुट्टा खोइ ?
उसको खुट्टा कामिरहेको थियो
पहाडको मेरुदण्ड भाँचियो
बादलहरु पराइ भए
लाहुर गएको महाकाली फर्केर आएन
यस्तोमा पोलिट्ब्यूरोका सदस्यहरु
अमेरिकातिर उडे
खसीको बडेमानको टाउको झुन्ड्याएर
कुकुरको मासु होइन
हामीहरु मान्छेको मासु बेच्छौं
ऊ सिंहदरबारअघिको सडकमा उभिएर
बेस्सरी हाँस्न थाल्यो
नयाँ पातहरु झरे
राता रंगहरु हावामा विलीन भए
जिल्ला–जिल्लाबाट
राम्रो मौसमको फ्याक्स आयो
महासचिव प्रफुल्ल
हिउँदे अधिवेशनको
अन्तिम बैठकबाट फर्केर
मेरो सांसद मित्रले
अकस्मात् घोषणा ग-यो
मेरा मित्रहरु हो !
तिमीहरु विश्वास गर अथवा नगर
आउँदो चुनावमा म
स्वयम्लाई पनि भोट दिने छैनँ
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ
~विनोदविक्रम केसी~
फुक्काफाल हिँडिरहेछन् चोरहरू
खुलेआम घुमिरहेछन् हत्याराहरू
पुलिसचौकीकै छायामुन्तिर
निष्फिक्री चुरोट फुकिरहेछन् लुटेराहरू
निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरू
हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरू
अलमस्त घूस खाइरहेछन् कर्मचारीहरू
र, यता
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ
तपाईं अस्पतालमा बिरामी कुरिरहनुभएको छ
खाडीबाट नआइपुगेको, सद्गत गर्न बाँकी
आफन्तको लास कुरिरहनुभएको छ
चढ्न नसकेर चारवटा बस छोडेपछि
पाँचौं बस कुरिरहनुभएको छ
बजेट भाषणसँगै महँगी घट्ने असम्भव शुभ खबर कुरिरहनुभएको छ
कहिल्यै नआउने सुदिन कुरिरहनुभएको छ
यत्तिकै कसैलाई कुरिरहनुभएको छ
यति मामुली गतिविधिमा संलग्न हुनुहुन्छ र पनि
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ
मानौं, अदना मानव बस्तीमा
बम खसाल्न ठिक्क परेर बसेको
बाराक ओबामा हो तपाईं
मानौं, बीच बजारमा आत्मघाती विस्फोट गर्नुअघि
अन्तिम मन्त्र जपिरहेको आतंककारी हो तपाईं
यसरी चौबीसै घन्टा नियालिरहनुपर्ने
कसलाई भय छ तपाईंबाट ?
कुन मितिमा कसको पिठ्यूँमा छुरा घोपेर भाग्नुभयो तपाईं ?
कसको गाँस खोस्नुभयो ?
कसको बास उखेल्नुभयो ?
सृष्टिको प्रथम घडीदेखि
आकाशले नियालिरहेकै त छ
तपाईंको निरपराध जिन्दगीलाई
कसले दियो अधिकार यो एकआँखे गोलटिनलाई
जो तपाईंका समस्त निरीहता निगरानी गरिबस्छ ?
किन कोही अभिलेख राखिबस्छ तपाईंका दुःखहरूको ?
किन यसरी गिज्याइन्छ तपाईंलाई सर्वदा ?
सीसी टीभीलाई तपाईंको पर्वाह छैन
तपाईंको सुरक्षा या असुरक्षा उसको सरोकार होइन
ऊ त डराउँछ, एलिटहरूको भोजनमा बाधा पर्ला कि भनेर
चिन्ता गर्छ, ठूला मान्छेहरूको सुबिस्ता बिथोलिएला कि भनेर
र, घोप्टे नजरले ताकिबस्छ तपाईंलाई
प्रधानमन्त्री, मन्त्री, सांसद, नेता… ठूलाठूला अरूहरू
कदम–कदम शंकास्पद गतिविधिमा संलग्न छन्
र, यता तपाईंचाहिँ
सीसी टीभीको निगरानीमा हुनुहुन्छ
मिठाई सजाइएको सिसाको सोकेसजस्तो
बनाइएको छ यो पृथ्वीलाई
र, तपाईं अबोध बालकजसरी फुटपाथमा उभिएर
हेरिरहनुभएको छ यसै
कुनै घातक कर्म गर्नुभएजस्तो
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ ।
हजूरैहजूर
~निर्मोही व्यास~Nirmohi Vyas
आँखा खोल्दा पनि हजूर, चिम्लिराख्ता पनि हजूर !
जैले पनि जता पनि झलझली हजूरैहजूर !
सपनीमा सँगै हजूर, बिपनीमा सधैं हजूर !
सम्झनाको देउरालीमा रातोदिन हजूरैहजूर !
अचम्मै पो हुँदो रैछ पिरतीको टुना हजूर !
औंसीमा नि उदाउने पूर्णिमाको जून हजूर !
भोक-नीद सबै हजुर, उमङ्ग र रहर हजुर !
रोग हजुर, औषधि र बैद्य पनि हजुरैहजुर !
लाग्यो मलाई हजुरको यति मीठो मात हजुर !
तर पनि किन होला नजुरेको साथ हजुर ?
सारा धर्ती-आकाशभरि झकमक्क मेरी हजूर !
कलेजीको पाखैभरि ढकमक्क हजूरैहजूर !
भोट कसलाई?
~गोविन्द नेपाल~
यसपटक
आफ्नो अर्को नहेरौँ
कालो गोरो नहेरौँ
अग्लो होचो नहेरौँ
दुब्लो मोटो नहेरौँ
चुच्चा-थेप्चा नाक नहेरौँ
चिम्सा-बाटुला आँखा नहेरौँ
मंगोल-आर्य अनुहार नहेरौँ
घोषणा नहेरौँ
र्याली नहेरौँ
नारा नहेरौँ
रुखको छहारी नहेरौँ
घामको पहारि नहेरौँ
गाईको कल्चौँडो नहेरौँ
हँसिया हथौडाको चोट नहेरौँ
मशाल वा झमझम इष्टकोट नहेरौँ
पाइन्ट वा पतलुन
माथि सार्न भनौँ र घुँडा हेरौँ
नियालेर हेरौँ घुँडा
र यकिन गरौँ-
कसको घुँडामा
खुइलिएको छैन छाला
कसले टेकेको छ
प्रभुको अगाडि स्वाभिमानी
पाइताला
र उभिएको छ ठिंग
कथित प्रभुसँग आँखा जुधाउँदै ?
यसपटक
घुँडाको छाला नखुइलिएको
स्वाभिमानी उम्मेदवारलाई
मतदान गर्दैछु म
तपाईँहरु नि ??!
छाडा गाली
~केदार शर्मा~
मेरा शिष्ट, सभ्य र शालीन पाठक
तपाईँ जस्तै म पनि कवितालाई आदर गर्छु
अत्यन्त सम्मान गर्छु शब्दशिल्पलाई
कवितालाई अपशब्दहरूले बिटुल्याउनु हुन्न
वाग्देवीको कृडास्थल हो कविता, फोहोर पार्नु हुन्न
तपाईँका सामु मैले मेरो रिस देखाउनु हुन्न
मैले त शिष्ट शब्दहरू खिपेर हिर्काउनु पर्छ रिसै उठ्यो भने पनि
मैले लेखेको कविता त सबैले सबैका सामु पढ्न सक्ने हुनुपर्छ…
तर कविता लेख्न सकिँन भने म के गरौँ?
म अहिले रिसले मर्न लागेको छु
र कविता लेख्नै नसक्ने अवस्थामा पुगेको छु
सास बढेको छ, काम छुटेको छ र पल्याक पुलुक वरिपरि हेर्दै
बक्दैछु छाडा गाली
सानैदेखि सुनेका,
सुन्दै घिनलाग्दा फोहोर गाली
आफ्नै मुख बिटुलिने गरी
म गाली गरिरहेको छु
कृपया, तपाईँ पनि पढदै गरेको कविता हुत्याइदिनुहोस् एकातिर
र गाली गर्नुहोस् म सँगसँगै लागेर
तिनको घाँटी खसखसाओस्
बाडुली लागोस् सासफेर्नै नहुनेगरी
नौनारी गलोस् तिनको
तिनका प्रत्येक अभियानहरू विफल होऊन्
बिसाउनु परोस् हिँडनु अघि नै
र पराजित हुनुपरोस् भिड्नु अघि नै
गाली गरौँ, मनपरी गाली गरौँ,
आफैँलाई लाज लाग्ने गरी गाली गरौँ
किनभने तिनीहरू कविताको कोमलताका हकदार छैनन्
तिनीहरू कलाका पारखी छैनन्
विध्वंश र लूटमा रमाउनेहरू
मात्र गालीका हकदार छन्
तिनले हाम्रो हकको सम्मान नगरे पनि
तिनको हकको सम्मान गरौँ
मरुञ्जेल गाली गरौँ
छाडा गली गरौँ।
एक दर्जन मृत कविहरु
~विमल निभा~Bimal Niva
मेरो साथीका लागि
मलाई खरिद गर्नु थियो एउटा बुसर्ट
एकातिर बाहुला नभएको बुसर्ट
जनआन्दोलनताका
महेन्द्रको सालिकनेर पुलिसको गोलीले
मेरो साथी ढलेको थियो
र उसको एउटा हात काट्नुप¥यो
त्यसबेलादेखि मेरो साथीलाई
अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ
एकातिर बाहुला नभएको
तर कुनै पनि पसलमा
त्यस्तो बुसर्ट पाइएन
जब मैले यो साथीलाई भनें
उसले मुस्कुराएर भन्यो
मलाई दुवै बाहुला भएको बुसर्ट
भए पनि हुन्छ मित्र
लौ हेर, मेरो हात
अहो ! यो कस्तो अचम्म
उसका दुईटै हात यथावत् थिए
केही क्षणपश्चात्
खुसीको आवेगमा
मैले साथीसँग हात मिलाउन खोजें
तर यो के भयो
मेरो एउटा हात छैन
मलाई चुपचाप देखेर
मेरो साथीले भन्यो
मित्र, अचम्म नमान
यो तिम्रै हात हो
काम चलाउनलाई मैले लिएको
एउटै हातले भए पनि
काम गर्न सकिने रहेछ
मेरो साथी र म
दुईतिरै बाहुला भएको बुसर्ट लगाउँछौं
यद्यपि उसको एउटा हात छैन
तर यसले के फरक पर्छ
मेरो त छ
एकदिनको कुरो हो
जनताहरुलाई आह्वान गर्दै
प्रधानमन्त्री हात हल्लाइरहेका थिए
मैले पनि स्वागतमा
हात हल्लाएँ
र जोसमा बेस्सरी
दुवै हात उचाल्न खोजें
तर यो भएन
किनभने मसँग एउटा हात थिएन
सायद मेरो साथीसँग थियो
पछि साथीसँग भेट हुँदा
मैले भनें
खोइ मेरो हात
उसले गम्भीर भएर भन्यो
मसँग तिम्रो हात छैन मित्र
म पनि गम्भीर भएँ
र सोच्न थालें
कुन्नि, यो के भइरहेछ
गायब हुँदैछन् अकस्मात् हातहरु
पञ्चायतको अँध्यारो कालमा
मेरो साथीको एउटा हात गयो
र प्रजातन्त्रमा मेरो एउटा हात
हामी दुवैजना साथीहरुको
एक–एकवटा हात छैन
अब तपाईंहरु नै भन्नोस्
हामीहरुले कसरी
दुवै बाहुला भएको बुसर्ट लगाउने ?
(२०४९)
कम्प्युटर आन्दोलन
~चिज कुमार श्रेष्ठ~
ए, कम्प्युटर हिजो तँलाई INSTALL गर्ने म
आज मै लाई REMOVE गर्न खोज्ने तँ –
म झनक्क रिसाएको बेला तँ फनक्क फन्किन्छ
चलाएको बेला तँ VIRUS को लाठी र बुट वनि वर्षछस्
तँलाई टिलिक्क परेको टेवलमाथि सजाएर राख्दा पनि
तेरो व्यवहारमा अलिकति पनि परिवर्तन नदेख्दा MOTHERBORD धरधरी रुन थालेकी छे
के मान्छे झैं तँलाई पनि विवेकशून्य हुन सुहाउँछ र –
म पनि तेरो चाला देखेर छक्क पर्न थालेको छु
म तेरो साइटहरुमा बसी प्रवासवाट गाउँ वेशी सैर गर्न खोज्छु
तँ चुत्रेको बगरमा अर्धनग्न गाडिएकी किशोरीको प्रतिविम्व देखाउँछस्
म तेरो रोहवरमा प्रवासको पीडा ANALYSIS गर्न खोज्छु
त् HANG भएर उल्टै म प्रति प्रतिवन्ध लगाउँछस्
म मेरो भविष्य CD र DVD हरुसँग साट्ने प्रयत्न गरिरहेको हुन्छु
तँ CD ROOM भित्र बाटै SCRATCH भइ विष्फोट हुने तयारी गरिरहन्छस्
सानो निहँु पाएपनि हड्ताल र जुलुस गरी बाँदरले झै आफ्नै घर भत्काउँछस्
तँलाई मन नपरे SHOUT DOWN को नाम दिइ नेपाल वन्द पनि गर्छस्
म विवश भइ मेरो भुडी LOG OFF गर्छ
अव त 205 सीटको RANDOM ACCESS MEMORY पनि
कमजोर पो हुने हो कि भन्ने त्रासले चिन्तित छिन्,
नेपाल आमा COMPUTER ‘सक्छस् भने शान्तिवार्ता BACK UP गरि दे
रगतको खोला त वगिनै रहेको छ,
परिणाम CURRENT को झट्का जुनकुनैै वेला वढ्न सक्छ,
रात रहे अग्राख पलाउँछ भन्छन्, भोली कसले देखेको छ र –
त्यसैले ए, COMPUTRE’सक्छस् भने शान्तिवार्ता SET UP गरि दे शान्तिवार्ता SET UP गरि दे ।
नीरीह राजनीतिक जमात
Posted on September 5, 2017 by Editor
~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali
मान न सम्मान कस्तो यो जवर्जस्तीको मेहमान ।
शीर नीहुरिन्छ स्वदेशमा विदेशीको झण्डा झुल्दा ।
सम्मान गुम्यो नेपालीको स्वदेशमा बिदेशी बस्दा ।
कुटनीतिक अफिस होईन, होईन त्यो दुतावास ।
१
देशमा छरपष्ट रहेकाछन् बिस्तावादीका जमात ।
कस्को आडभरोशामा तरीआए सिमानारुपी जङ्घार ।
स्वाभिमान्को तिलाञ्जली दिएकै हुन् सत्तासाझेदार ?
हाय हाय हाय हाय राजनीतिक नेतृत्वको कमाल ।
२
अतिवादको शब्दजालले रङ्गीएको नेपाली समाज ।
कोरा राष्ट्रवादको नाराले आक्रान्त छ नेपाल ।
गर्छन् गाली सतहीरुपमा आखिर रहेछ भित्रीसॉठगॉठ ।
दुरुपयोग भईरहेछ भोट नेपालीको जामा बिदेशीको ।
पहीरी नाच्छन् छम्छमीे हु‘दैछ रहस्यको पर्दाफास ।
३
निर्णय अपमान सार्वभौमको ख्वामित गर्छु त्यो काम ।
करजोडी बिन्ति गर्छन् बिर्सी देशको स्वाभिमान ।
हाय हाय हाय हाय कहॉ गयो नेपालीको त्यो ईमान ।
मातृभूमिमा पराई झण्डा झुल्दा नीरीह राजनीतिकजमात ।
४
ए नेताज्यू, एकछिन लजाउनुस् यार !
~योगेन पौडेल~
उता
दक्षिणी छिमेकी मङ्गलमा पानी खोज्दैछ
उत्तरी छिमेकी चन्द्रमामा खानी खोज्दैछ
यता
हजुरलाई टायर बाल्न पुगेकै छैन
रेलिङ्ग भाँच्न पुगेकै छैन
हाम्रालागि हामीलाई
हामीबाटै मुक्ति दिन पुगेकै छैन
ए नेताज्यू, लाठी बिसाउनुस् यार, एकछिन सुस्ताउनुस्
बरु एकछिन लजाउनुस् यार
छिमेकी दाज्यै
उता अमेरिका छिरेर भाषण ठोक्छन्
यता हाम्रो सदन छिरेर अर्ती ठोक्छन्
पानी र जवानी एकै हो भन्छन्
कस्तो राम्रो कुरा गर्छन !!
हजुरलाई पाखुरा सुर्का-सुर्की गर्नबाट फुर्सद भए पो
एक अर्कालाई चिथोरा-चिथोर गर्नबाट फुर्सद भए पो
हजुरलाई उखान-टुक्काबाट
सहकर्मीलाई गद्दार भन्नबाट, दलाल भन्नबाट
हामीले नबुझ्ने केके-केके शब्दले गाली गर्नबाट फुर्सद भए पो
ए महामानवज्यू, ए गालीका भकारीज्यू
कि हामीले नी बुझ्ने सर्वहारा भाषामा गाली गर्नुस्
नत्र हजुरको गाली बन्द गर्नुस् यार, एकछिन चुप्प लाग्नुस्
बरु एकछिन लाजाउनुस् यार
मुर्खहरुले हजुरहरुलाई के के भन्छन् के के !
धार्नी नपुगेका भ्यागुत्ता जस्ता भन्छन्
के हजुर सधै उफ्रेरै बस्ने यसरी ?
आफ्नो गोरुको बाह्रै टक्का गर्ने
तर खासमा आफैं गोरु जस्ता भन्छन
के हजुर सधैं जुधेरै बस्ने यसरी ?
एकले अर्कोलाई बाँदर भन्ने
तर खासमा आफै बाँदर जस्ता भन्छन
के हजुर सधै लडेरै बस्ने यसरी ?
के ङ्यार्र र ङ्युर्र नै गरेर बस्ने यसरी ?
बानेश्वरलाई जाउलाखेल बनाए यार भन्छन्
एक से एक ध्रुवे हात्ती निक्लिए यार भन्छन्
ए हजुर, एकपटक ऐनामा अनुहार हेर्नुस् यार, बरु कपाल मिलाउनुस्
एक पटक लजाउनुस् यार
मेरो घरको धाराबाट मेलम्ची खस्ने कहिले ?
मेची-काली छुक्छुक रेल चल्ने कहिले ?
मेट्रो चढी सहरमा शयर गर्ने कहिले ?
बिजुलीको उज्यालोमा खाना खाने कहिले ?
यो पाराले कहिले सिंगापुर बन्ने हजुर ?
कहिले स्विजरल्याण्ड बन्ने ?
हजुर यी लफडा सबै बिर्सिदिनुस्
एकछिन सुस्तादिनुस्, बरु एकैछिन लजाइदिनुस्
स्कुल जान तुइन चढ्ने नानी हेर्नुस् र लजाउनुस्
ट्युबबाट खोला तर्ने बाबु हेर्नुस् र लजाउनुस्
एयरपोर्ट जानुस् र लजाउनुस्
प्रस्थान कक्षमा खाडी छिर्ने लर्को हेर्नुस् र लजाउनुस्
आगमनमा काठको बाकसमा खसेको चर्को आँसु हेर्नुस् र लजाउनुस्
भावुक नबन्नुस् हजुर, आँसु नबगाउनुस्
नुन बिनाको आफ्नो आँशु त्यहाँ नमिसाउनुस्
हजुरले बस् गिदीमा विवेक मिसाइदिए पुग्छ,
हामीलाई हजुरले बस् लजाइदिए पुग्छ।
किनकि म हेडसर
~असीम अज्ञात~
शिक्षकले पढाउनुपर्छ विद्यार्थीले पढ्नुपर्छ
मैले पढाउने होइन सबैलाई कराउनुपर्छ
किनकि म हेडसर ।
शिक्षक हो वा विद्यार्थी समयमा आउनुपर्छ
म आए पनि हुन्छ नआए पनि हुन्छ
किनकि म हेडसर ।
अरू कोही नआउँदा बिदा लिनुपर्छ
बिदाको दिन पनि मैले हाजिरी गर्नुपर्छ
ससुराली गए पनि काज लेखिदिन्छु
मसँग जोरी खोज्नेको बढुवा रोकिदिन्छु
किनकि म हेडसर ।
टेन टु फोर गर ड्यूटी म त जान्छु खोज्न ब्युटी
तलबमात्रै तिम्रो आधार विद्यालयको आम्दानी मेरो संसार
खर्चै नगरे पनि बिल बनाएर हिसाब मिलाइदिन्छु
किनकि म हेडसर ।
क्क्ष्ए को पैसा ख्क्ष्ए भई खर्चिन्छु
नबाँडेर छात्रवृत्तिले आफ्नै गोजी भर्छु
मन लागे छुट्टी मन लागे क्लास
गरिरहन्छु परीक्षामा फेलहरूलाई पास
तैपनि दुनियाले मैसँग राख्छ आस
किनकि म हेडसर ।
गाली गर, कुटपिट गर मलाई फरक पर्दैन
चाहे दल कालोमोसो मेरो इज्जत घट्दैन
कहाँ जान्छौं उजुरी गर्न सबलाई मिलाइलिन्छु
उस्तै परे हात जोडेर माफी मागिलिन्छु
किनकि म हेडसर ।
शब्दकोश
~विमल निभा~
हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्
उदाहरणका लागि
तपाईं संसद्लाई संसद् भन्नोस्
अथवा सुपरमार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोका
मनीषीलाई मनीषी भन्नोस्
अथवा गँड्यौला
संविधानलाई संविधान भन्नोस्
अथवा चुटकिला
साहूकारलाई साहूकार भन्नोस्
अथवा रक्तजीवी
विचारलाई विचार भन्नोस्
अथवा वीर्यपात
नायकलाई नायक भन्नोस्
अथवा भारदार
न्यायलाई न्याय भन्नोस्
अथवा गाली
भद्रजनलाई भद्रजन भन्नोस्
अथवा दलाल
झन्डालाई झन्डा भन्नोस्
अथवा मखुन्डो
सिंहदरबारलाई सिहंदरबार भन्नोस्
अथवा जुवाघर
व्यवस्थालाई व्यवस्था भन्नोस्
अथवा जङ्गल
रक्षकलाई रक्षक भन्नोस्
अथवा अपराधी
राजनीतिलाई राजनीति भन्नोस्
अथवा ठेकेदारी
देशलाई देश भन्नोस्
अथवा बधस्थल
कुनै फरक पर्नेछैन
चलाखी, महल, सिद्धान्त,
जननायक, साइकल, लामखुट्टे,
बहुमत, घूस, घाँस,
ढुङ्गा, कफ्र्यू, पूmल,
पहलमान, वंशावली, रात,
बारुद, लाइसेन्स, जय नेपाल,
समीकरण, गमला, गीत,
मन, कमरेड, दमकल,
पासपोर्ट, मानिस, हिमाल,
पार्टी, श्रीपेच, खेल,
दलबदल, आलोचना, पैसा,
अभिनय, बल, समाजवाद,
अमेरिका, भकारी, अविश्वास,
इतिहास, कूटनीति, दलदल आदिमा
अब कुनै भेद छैन
म निरन्तर पाना पल्टाएर हेरिरहेछु
लोकतन्त्रको शब्दकोशमा
शब्दहरुले अर्थ हराएका छन्
चक्करपथ को चक्कर
~लक्ष्मण नेवटिया~
जनता करायो
नेताजी भोट लिने बेला
हाम्रो घरको लगाउनु भयो,
चक्कर माथि चक्कर
चक्कर माथी चक्कर
अब फेरि यस्तो के भयो दुष्कर?
तपाईंलाई चुनाव जिताएर पठाएदेखी त
झन लागिराखेको छ
चक्रपथ निर्माणमा शनिश्चर,
नेताले भन्यो अरु केहि होइन
तपाईंहरु कहाँ लगाएको चक्करको
हिसाब किताब लाउन गर्दैछु तरखर
राजनीतिमा नेता र जनताको
यस्तै चलिरहन्छ टक्कर ।
पहिले भोटका लागी मलाई
टंटलापुर घाममा तपाईं कहाँ
लगाउनु पर्यो चक्कर माथी चक्कर
अब तपाईंहरु लगाइ राख्नुस म कहाँ
चक्कर माथी चक्कर बनेर घनचक्कर ।
नाउँ नै चक्करपथ- लगाई राख्नुस् चक्कर।
स्वर्णमहल ” घोषणा
~लक्ष्मण नेवटिया~
छोरा उफ्रिदै खुसियाली मनाउँदै आयो,
सयपत्रीका दुई माला किनेर ल्यायो,
एउटा आफूलाई, अर्को मलाई लगायो,
घरपरिवार सबैका गालामा
रातो अबीर लगाउन भ्यायो।
बुबा अब हामी पनि महलवासी भयौं,
सुन्नुस एउटा खुसीको ताजा समाचार,
सबै गाउँले ले तपाईंको इमान्दारी,
सामाजिक जिम्मेवारी,राष्ट्रप्रतिको वफादारीको
गरेर ठूलो मूल्याँकन ,
गरेका छन् एउटा नौलो पहल
र घोषित गरिदिएकाछन्
हाम्रो महान ऐतिहासिक झुप्रोको नाम
” स्वर्णमहल”
मैंले भने जे भयो राम्रै भयो
म पनि तिमीहरु जस्तै यो निर्णय सुनेर
भएको छु भाव विव्हल, आसु अविरल,
मेरो पनि बधाई छ
तिमीहरुलाई खुसीयाली साटासाट गर्न
भ्याइ नभ्याइ छ।
हो अबीर जति दलनुछ गालाभरी दल,
तर झुप्रो सम्म पुग्ने न बाटो, न ढल
न पानीखाने कल,
न भित्र न बाहिर कुनै चहलपहल,
नत्र झुप्रोको काँचुली नै फेर्ने कुरामा
कतै छ कुनै हलचल,
तब भन्न के घोषित हुँदैमा झुप्रो बन्छ
“स्वर्णमहल”
छोराले भन्यो बुबा
ज्ञानगुणका कुराका पछि नलाग्नुस,
बढी नकराउनुस, मेरो सुझाव मान्नुस,
गाउँकी केही अधबैंसे आइमाइहरुलाई पनि
तरुणी घोषित गर्ने अझै चल्दैछ
गाउँलेहरु बीच छलफल।
अरु कुरा छाडनुस् यही काममा लाग्नुस,
मौका राम्रो छ- चौका लगाउनुस्
आमालाई पनि सोर्स लगाएर
तरुणी घोषित गराउनुस्।
नेपाल र नेपाली सिध्याउने यिनै हुन !
~चटयाङ्ग मास्टर~
चुनाबै नगरे पनि आउने यिनै हुन्
भोटै खसाले पनि पाउने यिनै हुन्
यिनै थिए यिनै छन्, रहने यिनै हुन्
नेपाल र नेपाली सिध्याउने यिनै हुन्
पञ्चायत न ढल्दा जोगाउने यिनै थिए
पजातन्त्र भन्दै ढलाउने यिनै हुन्
अब लोकतत्न्त्र गणतन्त्र भन्दै
नेपाल र नेपाली सिद्ध्याउने यिनै हुन्
कति हेर्नु नाटक देखाउने
यिनै हुन् नयाँ संबिधान रे ? हा हा हा !!! लेखाउने यिनै हुन्
नेपालै बनाउने नयाँ फेरी भन्दै
भएकै जति सब सिद्ध्याउने यिनै हुन्
शान्ति विकास न्याय कराउने यिनै हुन्
क्रान्ति, जुलुस, बन्द गराउने यिनै हुन्
हत्या डकैती लुटी देश जनता
विदेशीलाई देश यो चढाउने यिनै हुन्
अझै आस लाग्छ? – लोभ्याउने यिनै हुन्
तपाई हाम्रो टाउको चपाउने यिनै हुन्
मसानका यी बोक्सी मसानकै यी धामी
सबै जिउँदा लासलाई नचाउने यिनै हुन्
गरिराखौ पूजा विधाता यिनै हुन्
आशिर्वाद मागौं, दाता यिनै हुन्
चितामा ढलेका तपाई हाम्रा लासलाई
अब दागबत्ती चढाउने यिनै हुन्
यिनै थिए यिनै छन्,
रहने यिनै हुन्
नेपाल र नेपाली सिध्याउने यिनै हुन्
जताततै राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ
~अशोक ‘खलानको मान्छे’~
तिश बर्से १६ बर्से १०४ लाई जित्नु पर्छ
जे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छ
जन मन जित्नु भन्दा बुत्ले कुल्चि मार्नु पर्छ
दुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्मा
अझै पनि सुधखोर् को नाममा लुटि खानु पर्छ
बुर्जुवा साम्सद् भैइयो रम्रो किन् हुनुपर्छ
जताततै एउटै लेवल् हाम्रो भर्न डत्नु पर्छ
कठिन् बाटो जङगल को पार गरी सकी हालिउ
सपनले चुल्याएए र हाम्रो पक्ष पारी हालिउ
जतातत्तै हाम्रो हाम्रो हाम्रो राम्रो सपनायो
छलाङ मार्ने भ्याकुतको कुवाभित्र को सपना हो
कस्ले शोध्छ हामीलाई कस्ले शोध्नी हिम्मत छ
तर्क राम्रो हाम्रो´नै छ राष्ट्रिय निती किन बनाउनु पर्छ
हाम्रो कुरा नमान्ने लाई हाम्रो दलाल अजै भन्नु पर्छ
हाम्रो कुरा नमान्ने लाई दलाल अजै भन्नु पर्छ
हामी झुकी चुकेको चै ढाकछोप् गर्नु पर्छ
किन नबाड्ने सपना यो सपनैत सुन्दर् हुन्छ
कर्म का दिन् हो रे भर्न सक्नु पर्छ्
चैते कैतै बैशाके सबै हाम्रो हुनु पर्छ
जे मन् लाग्छ गर बाबु हम्रो लेवेल् टास्नु पर्छ्
हाम्रो हातमा शर्बशत्ता यो मात् मा रङनु छ
कस्ले बिरोद गर्छ हेर कस्को दुस्शाहाश यहा
हाम्रो राम्रो ,राम्रो हाम्रो नभय पनि भन्नु पर्छ
हामी सप्रेको नेता
~वैद्यनाथ ठाकुर~
जनतालाई जे चाहिन्छ लेओस्
हामीतिर चोर औंला नउठाओस्
विकृति विस·ति फुलोस फलोस्
शहीदको सपना सबले भुलोस्
नारा क्रान्तिकारी, काम जनतामारा
देशभन्दा पनि पद, पैसा प्यारा
हामीलाई चाहिन्छ बलिदानको भत्ता
किनभने हामी सप्रेको नेता ।
मेची दुख्छ, महाकाली दुख्छ
दुख्छ महेशपुर सुस्ता
महँगी बेरोजगारले सीमा नाघ्यो
मरिरहेछ जनता
यी सब कुराले हामीलाई छुन्न
हामीलाई चाहिन्छ सत्ता
किनभने हामी सप्रेको नेता ।
कोही भाइ काङ्ग्रेस, कोही भाइ एमाले
कोही छौं मधेसवादी
कुर्सीको खेलमा रमाइरहन्छौं
हामी हौं खाओवादी
साम्प्रदायिक आगो लगाउने
बाड्दैछौं सबलाई फित्ता
किनभने हामी सप्रेको नेता ।
हिजो के थियो, आज के छ ?
भोलि के हुनेछ ?
गुलियो भाषण, चर्को नारा
सधैं दोहोरिरहने छ
जनमुक्तिको होइन
आफ्नै बूढीको गर्नुपर्छ चिन्ता
किनभने हामी सप्रेको नेता ।
नयाँ–नयाँ शब्दावली नयाँ व्याख्या गर्छु
शब्दजालमा फसाएर आफ्नै भूडी भर्छु
क्रान्तिको होइन भ्रष्टहरूको
बन्दैछौं हामी पिता
किनभने हामी सप्रेको नेता ।
नयाँ नेपाल भन्दै गर्छु पुरानो छोड्दिनँ
सामन्तिको दार्हा, नङ्ग्रा अब उखेल्दिनँ
क्रान्ति गर्छौ माक्र्सवाद होइन
पढेर रामायण गीता
किनभने हामी सप्रेको नेता ।
कतै सुसेली-कतै सुस्केरा
~लक्ष्मण नेवटिया~
चुनावी नतिजाको धुवाँधार वर्षामा,
कोहि डुबिरहेका छन्,
कोही पौडीरहेका छन्
हिजोसम्म आश थियो धेरैनै,
यस्तो के भयो खास रातभरीमै,
चुनावी बुद्धिचाल खेलेर ,
जसले भरेको थियो भोटको डोको,
भयो धोखा पूरा भएन मनको धोको,
हिजो सम्म जो संगै थियो रेला- जस्तै मेला,
घरदैलो गर्दा उठेका थिए पाइंताला भरी ठेला,
अब हार्ने कुबेला- कहाँ जित्नु ?-
सबैतिरबाट हेला।
समयको चक्र यस्तो चलेको छ कि
कतै ताली माथि ताली छ
त कतै गाली मात्र गाली छ,
कतै छ सुस्केरा, त कतै सुसेलीको झ्याली छ,
कोही हर्षले नाचिरहेका छन् ,
उफ्रिरहेका छन् ,अबिर दलिरहेकाछन्
खुसियाली रोपिरहेका छन्।
अजम्बरी बुटी हुन्छ जीतको खुसी
प्रफुल्लित भै फुरुंगिएका छन् ।
जुन नेतालाई जनताले नै “छानेको”,
अब ढुक्क छन् उनी , उनलाई ” छुने को”??
तर प्रतिस्पर्धामा पछि धकेलिएकाहरुको
सपनाको गाउँमा डढेलो लागेको छ,
चाहना हुरीले उडाएको छ।
उनीहरू घात प्रतिघातको अनुसन्धानमा तल्लीन छन्
जोड घटाउ को कक्षा लगाइएको छ!
हार्नेहरुको भावना कसले बुझने,
गुलाफ स्वयं काँडा बनेको छ,वैमनस्य गाढा बनेको छ,
कतै विलास त कतै त्रास छ
कतै मधुमास त कतै उठिबास छ,
कठपुतली नचाउनेहरु यसपाली स्वयं
कठपुतली बनेको पीडाबोधमा छन्।
अल्झाइ मा बल्झेकाछन् ।
विश्वासघात भएर टम्म- नसोचेको भै गयो अचम्म ,
जति लागे पनि झर्को, हुने जे थियो भै गयो
कराए जति पनि चर्को।
हजुरको गल्ला भासिएको छ ।
बिर्सेर यी तीतामीठा कुरा, जाउँ घर जाउँ
भाउजूको हातको, कागतीको चिया खाउँ ।।
म्यादीमाइला
~डा. ऋषि बस्ताकोटी~
मधुमाइला
हिजै जस्तो लाग्छ-
जोत्दजोत्दैको हलगोरू फुकाएर,
चराउँदा चराउँदैका गाइबाख्रा गोठमा छाडेर
तिमी म्यादी पुलिस भएको।
हिजैजस्तो लाग्छ–
देशको मुहार फेर्ने
चुनाव गराउन भनेर
तिमी रातो टोपी लगाउँदै
कटबाँसको लाठी टेकेर
सातदोबाटो भञ्ज्याङमा गएको।
मनमा अनेक रंग बोकेर,
मनमा अनेक तरंग बोकेर,
तिमी देशको कायाकल्प गर्ने
संकल्पमा सामेल भयौ,
जनमतले देश बनाउँछ भन्ने अभिमत बोकेर
लाए अह्राएबमोजिम
तिमीले दुनियाँलाई
लामबद्ध गरायौ,
आआफ्नो अभिमत ‘बकस’मा
खसाल्न खटायौ
र, चुनिएकालाई राजधानी पठायौ।
मधुमाइला
जोत्दाजोत्दैको हलगोरु फुकाएर,
चराउँदा चराउँदैका गाईबाख्रा छोडेर
देशका लागि कटबाँसको लाठी बोक्दा
तिमीलाई लागेको थियो–
तिमीले जोगाएको मतपेटिकाले
राजधानीमा सरकार फेर्नेछ,
जनताको सरकारले
अब समयको सरोकार फेर्नेछ
र, तिमीजस्ता जनतालाई बारबार हेर्नेछ।
हो, मधुमाइला समय फेरियो,
सरकार फेरियो,
तिमीले राजधानी पठाएकाहरू फेरिए,
आ–आफ्नो अभिमत जाहेर गर्न मतपत्रसाथ
तिमीले खटाएका पनि अहिले
कोही खोरिया बाँझै छाडेर
कोरिया पस्दै छन्
कोही अरबको तातो घाममा
चराझैँ खसेर खस्दैछन्
तिम्रो गाउँमा
कहिले रूपका कुरा गर्नेहरू आए,
कहिले सारका कुरा गर्नेहरू आए
तर,
व्यवहारका कुरा गर्नेहरू कहिल्यै आएनन्।
समयले दिएको पहिचान
तिमी अब
मधुमाइलाबाट ‘म्यादीमाइला’ भयौ,
अब तिम्रो नाम फेरियो मधुमाइला
म्यादीमाइला भएर तिमी
हिजोजस्तै अझै
साहुका खेतमा गोरु नार्दै छौ,
चारआनेको पाखामा गाई चराउँदै छौ
र, समयको उही उपक्रमलाई छोरानातिसम्म सराउँदै छौ
र, पनि मनमा लागेको भन्न डराउँदै छौ।
म्यादीमाइला
पृथ्वीको अर्को गोलार्द्धमा बसेर सुन्दै छु
र, तिमीलाई नै सम्झेर
दिमाग फनफनी घुमाउँदै गुन्दै छु
फेरि तिम्रो गाउँतिर
तिम्रो ठाउँतिर
समय फेरियो रे,
साल फेरियो रे
४७ अब ७४ भैसक्यो रे!
सारका कुरा गर्नेहरू,
रूपको कुरा गर्नेहरू
सबै एकसे एक
नयाँ भाखा लिएर आउँदैछन् रे
राजतन्त्र प्रजातन्त्र लोकतन्त्र गणतन्त्र
अनेकानेक तन्त्रैतन्त्र!
यसपटक पनि
जनताको अभिमत लिन
सातदोबाटोमा जनमत हुँदै छ रे
यसपटक
तिमी होइन
तिम्रो छोरो
उसैगरी
तिमीले जसैगरी
रातो टोपी लगाएर
कटबाँसको लाठी टेकेर
मतबाकस जोगाउन
म्यादी पुलिस हुँदै छ रे
हेरौँ
यसपटक
सातदोबाटोमा खसालेको मतले
कुन बाटो लान्छ,
तिम्रो अभिमत पनि सुन्छ
या फगत तिम्रो ‘म्यादीमाइला’को चिनारी
तिम्रो छोरासम्म सारेर जान्छ!
पप्पी सेम सेम
~लक्ष्मण गाम्नागे~
हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी
भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी ।
सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन्
केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् ।
अघि अघि ढोके छाते पछि लाउँछन् चम्चा
जन्ताले नै दिनुपर्ने सिँगान पुछ्ने गम्छा ।
काम गर्ने बेलामा चाहिँ जहिल्यै खट पट
हाम गर्ने बेलामा चाहिँ मिल्छन् झट पट ।
तलव, भत्ता, कमिशन र घुस पनि खाए
सम्विधान ल्याउँछु भन्थे अर्की आन्टी ल्याए ।
हाम्रा नेता अङ्कलको प्वाल परेको पेट
गोबर, गिट्टी, अलकत्रा, पचाइदिन्छ जेट ।
भूत हुन् कि भूतपूर्व हुन् छुट्याउनै गाह्रो
नाङ्ग््ै छन् कि लुगा ला’छन्, खुट्याउनै साह्रो ।
लुगा लाएर आउनू अङ्कल खेलौँ फेयर गेम्
नत्र भन्छु सेम् अङ्कल पप्पी पप्पी सेम् ।
सेम् सेम् नेता अङ्कल पप्पी पप्पी सेम्
सेम् सेम् पप्पी अङ्कल पप्पी पप्पी सेम् ।
हाँस्नु कि रूनु
~टंक आचार्य~
औँलो दिँदा
डुँडुलो निल्नु
‘सु’ गर्ने बाहेक
केहीमा मन नमिल्नु ।
कर छल्नु , नतिर्नु
विदेश पुगेछि घर नफिर्नु
ऋण लिनु
तिर्ने कुरै नगर्नु
सभामा सिगरेट पिउनु
सडकमा थुक्नु
दिसा बस्नु
न त हात धुनु न त लाज मान्नु
नसक्ने खालका
काम आँट्नु
अरुलाई नसकेपछि
आर्फैलाई ढाँट्नु ।
इतिहासको गीत साँच्नु
वर्तमानमा उँघेर बाँच्नु
अरुकै ताली र संगीतमा नाच्नु
सिर्जनाका लागि सिन्को नभाँच्नु ।
पर्चा छर्नु
नेपाल बन्द गर्नु
विकासका नाममा
गाउँबाट सहर सर्नु ।
काखी गन्हाउनु
जुम्रा पाल्नु
कानमा सधैँ तेल हाल्नु
उल्टो कदम चाल्नु ।
सधैँ अरुको
इसारामा चल्नु
पुच्छर ठडिनु
शीर ढल्नु ।
काम नसकिँदै
अफिसबाट भाग्नु
सधैँ चाकडीको
दाउमा लाग्नु ।
कृषक बन्नु
अन्न किन्नु
आफ्नै नाभीको
कस्तुरी नचिन्नु ।
नदी बेच्नु
बिजुली किन्नु
नून र पेट्रोललाई
डलर तिर्नु ।
उमेर नपुग्दै
बिहे गर्नु
उमेर पुगेपछि
अर्कोतिर सर्नु ।
अरूलाई सर्धै
धारे हात लाउनु
साँडेका पछाडि
मुख बाउनु ।
अरूकै बारीको
डल्ला फोर्नु
अरूकै मल र
गोबर सोर्नु ।
यतिका धेरै
विशेषता सहित
अरू होइन
नेपाली हुनु
यही भीडमा छु म पनि
हाँस्नु कि रूनु !
रोज् रोज् दर्शन पाउँछू
~भानुभक्त आचार्य~
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।
जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली।
सभासद् कि साढे सात ?
~हिरालाल आचार्य ‘अनारबाजे’~
उज्यालोको आश थियो ल्यायौ कालो रात
सभासद् हौ कि तिमी हौ कि साढे सात ।
जुवाजस्तै राखिदियौ देश आज दाउमा
नदीबीच हेलिदियौ माझी छैन नाउमा ।
कोही बने रावण आज कोही बने कंस
मधेस पहाड फुटाएर लगाउँदैछन् अंश ।
पठाएका थियौ भोट दिइ बजाइ ताली
आफ्नै बोली अशुद्ध भो गर्दा यिनलाई गाली ।
नारायणहिटीबाट हटे बाह्र पुस्ते राजा
छ सय एक बनी जन्मे बानेश्वरमा आज ।
चार वर्ष बित्न लाग्यो संविधान बन्दैन रे
कारण के हो जनतालाई कसैले नि भन्दैन रे ।
खुट्टा-मन संवाद
~हरिवंश आचार्य~
मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ
खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ
मन- त्यहाँ गएर केटी हेरौं न
खुट्टा- बरु घरमै गएर आराम गरौं न
मन- त्यहाँ गएर ‘इस्क’ लडाउन
खुट्टा- मनतातो पानीमा खुट्टा ढड्याउन
मन- घर त अहिले म जाँदै जाँदिनँ
खुट्टा- म तँलाई अन्त कतै लाँदै लाँदिनँ
मन- दुई पेग ह्वीस्की तानौं न
खुट्टा- घर जाने कुरा मानौं न
मन- बिन्ती भन्छु हिँड्न यार
खुट्टा- घरकै बुढीलाई गर्न प्यार
मन- ए खुट्टा के भो तँलाई भन्दे त ?
खुट्टा- हाम्रो उमेर कति भयो गन्दे त
मन- एक र सात सत्र हो ?
खुट्टा- लप्पु खुवाइदिन्छु अहिले
मन- कति भयौं त हामी छब्बीस ?
खुट्टा- पन्ध्र अनि तीन बीस
मन- होइन यो कुरो म कहाँ पत्याउँछु
खुट्टा- हेर्न म यहाँ हिँड्दाखेरि खोच्याउँछु
मन- त्यसो भए लट्ठी टेक्न त
खुट्टा- आँखाले पनि राम्ररी देख्तिनँ
मन- आँखाले राम्रो देख्दैन ?
खुट्टा- हात कामेर पनि लेख्दैन
मन- अनि नाक र कानलाई कस्तो छ ?
खुट्टा- देशको स्थितिजस्तै छ
मन- उसो भए त खत्तम भएछ
खुट्टा- धेरै दाँतले गिजा छोडेर हिँडेछ
मन- भित्रतिर त ठिकै छ ?
खुट्टा- भित्रको कुरा पनि दिक्कै छ
मन- बनायो भने बन्दैन ?
खुट्टा- धेरै कुरा त अब चल्दै चल्दैन
मन- अरू केके भएको छ ?
खुट्टा- रगतमा सुगर गएको छ
मन- ब्लडप्रेसर पनि बढ्या छ ?
खुट्टा- तल १०० माथि १६० चढ्या छ
मन- (जंगिँदै) त्यसो भए तिमी बूढा हात, खुट्टा, आँखा, जोर्नी, नसा, मुटु, कलेजो, फोक्सो, नाक, कान सबैसँग सम्बन्ध तोड्छु । सुख, शान्ति, ऐसआरामसँग नाता जोड्छु । धेरै बाँच्छु, धेरै हाँस्छु, मज्जाले नाच्छु तिमीहरू जाओ मेरो अगाडि आउँदै नआओ । अबदेखि तिमी बूढाहरूले मुखै नदेखाओ ।
खुट्टा- हेर बाबु मन कुरा यस्तो छ, हाम्रो सम्बन्ध पनि सहमति सहकार्यबाट चल्ने राजनीति जस्तै छ ।
हामी शरीर र मन जन्मेको घडीपला एउटै छ, हामी मर्ने घडीपला पनि कहाँबाट दुईटा छ ? हामी शरीर पहिले मर्यौं भने तिमी मन कहाँ रमाउँछौ, हात पहिले मर्यो भने पैसा केले समाउँछौ ? तिमी देश होइनौ क्यारे हामी मरे पनि बाँचिरहने तिमी माया होइनौ क्यारे सधैं अबर रहने मन तिमी नेता हामी शरीर जनता असल ठाउँमा लगे मात्र हामी जान्छौं, राम्रो कुरा भने मात्र हामी मान्छौं ।
देश त बिगि्रयो बिगि्रयो हामी किन बिग्रने ?
मन – तिमीलाई हामी अन्तिम मौका दिन्छौ सप्रने
तिमी सप्रने कि नसप्रने ?
त्यसपछि….
मन ह्वाँह्वाँ रुन थाल्यो
बिस्तारै बिस्तारै संयम
हुन थाल्यो
मन- एक खुट्टा हिँड अब घर जाऊँ
मीठोनमिठो जे छ स्वास्नीले पकाएकै खाऊँ
बिहान उठेर भजन गाऊँ
पशुपति गुहेश्वरी जाऊँ
यिनै हुन् हाम्रा अन्तिम ठाऊँ
यिनै हुन् हाम्रा अन्तिम गाऊँ
मौसम फेरिनेवाला छ
~लक्ष्मण नेवटिया~
मौसम फेरिनेवाला छ।
अब चाहनाका गाग्राहरु छचल्किने गरी भरिने छन्
खुट्टामा काँडा घोचिंदा नआत्तिनुस्
तुरुन्त सय जोडी हात तपाईंतिरै दौडिने छन्
गल्ली गल्लीमा चापाकल
बिजुलीका पोलहरु गाडिनेछन् ,
नअघाएसम्म भोजन ज्युनार गराइनेछ
थाहै नदिइ बन्द कोठामा
कुनै न कुनै फण्डाको भागबण्डामा
तपाईंलाई पुर्याइनेछ।
दुई दिनलाई नै भए पनि घर आंगणमा
चिताएको जे थोक पाइने
साक्षात कल्पवृक्ष उभ्याइने छ
राष्ट्रप्रेमीहरुको हुलमा मिसिएर
केही छद्मभेषि शिकारीहरु
चरा फसाउन चारो हाल्दैछन्
त्यस्तै केही माझीहरु पनि
जाल लुकाएर यतै आउँदैछन्,
अब जदौ गर्दै पुग्नेछन् माथिबाट
झरेका अनुहारहरु तपाईंको प्रांगणमा
अब का केहीदिन ढुक्क हुनुस्
प्रत्येक प्रश्नको ” हुन्छ जनताज्यु हुन्छ”
सकारात्मक उत्तर पाउनु हुनेछ
अन्तिम एक मौका दिनुस् हजुर! गीत गाउनु हुनेछ।
जनताले प्रश्न गर्दा किन बनेन
गाउँ पुग्न खोलामा पूल?
– जवाफ त्यही यसपाली पक्की पूल पक्कै
केटाकेटीका लागि कहाँ छ प्राथमिक स्कुल-
– जवाफ त्यही यसपाली पक्की स्कूल पक्कै
बुद्धि यति नै पुर्याउनुस ,
बुद्धु बनाउन खोजनेलाई
उनकै पुराना आश्वासनको पोथी पढेर सुनाउनुस्
पहिले बांकी बक्यौता काम सिध्याउनुस
यसपाली भोट तपाईँलाई नै पक्कै भनी पठाउनुस्।
सावधान- मौसम फेरिनेवाला छ,
विवेकको छाता संभालेर राख्नुस्।
च प्रेम
~सुरेन्द्र जोशी~
चौबाटो बीच मा उनि चमक्क चम्किदा
चह-चह चम्किएका तारा हरुलाई
एक चन्द्रमाले च्याट्ट बिर्सिन पुग्यो,
चलमल चछु हरु चन्द्रमाजस्तै चहकिलो भइ
चारैतिर चहक चम्काएको थियो,
जतिबेला
मेरी प्रेमिकाको सुन्दरताको सिमा नाप्ने यन्त्र चिन ले पनि आविस्कार गरेको थिएन
तेतिबेला चन्द्रमोहनी आफ्ना
चालहरु, चलिरहेकि हुँदा बिश्व चलायमान छकी छैन भनि चेस्टा गरे
उनीले चटक्क भएर चिल्ला हातहरुलाई चारबाहुमा चम्काई
चार पाटे चीत्रित चित्र चम्चमी चट्काइ चुलेसिले च्याट्ट चिरिएर चट्काएका
नङ देखाई चहक पार्दा
म यो जिबन यात्राको चालकलाई
आफ्नै यात्रामा अचम्मले चिकोरी झैँ चल्मलाई चट्टान पगाल्ने बौलाहा
बन्न मन लाग्थ्यो,
केवल म मात्र होइन
चराहरुपनि उनीलाई चिहार्दै, चिरचिर चिरबिर चिरबिराउँदै चारैतर्फ
चक्कर लगाई चिच्याउथे
सायद चराहरु पनि उनको अगाडी चौकोसका चालहरु चटक्कै बिर्सिंन्थे होला
त्यतिबेला
सपनाको चार्ट, चार्जर ले चार्ज गरेझै मैले आफ्नु मन चंचेले बाटोमा
चिलिम चट परेको थिए
जुन चार्टमा चलक्क चम्किएको थ्यो मेरी चन्द्रमोहनी,
चादु,चन्द्रावती, चन्द्रा, चारु, चित्रा, चित्रकला,
चम्सुरी,चन्द्रिका, चन्द्रा, चमेली, चानु, चारुका
भन्दा चम्किली छिन, चनाखी छिन
कल्पना गर्थे कुनै दिन म मेरी
चंद्र्मोहनी संग चिट- च्याट गरि, चन्द्रपुरको चाट पसलमा च्याट-च्याट चाट खाई
होटल चिरिन्जीबीमा पसी, चाहेको मेनु चुज गर्दै
चना संग चाउमिन र चाउ-चाउ चापिस्टिक ले र मुखले
चुस चुस पार्दै,
उनको अंगालो मा कस्सीई
म उनि संग र उनि म संग चुम्बनको साटा-साट गरी
चिहार्दा
चरमचुलीमा पुगेको उनलाई चाहने दुनियाका हजारौ मान्छे हरुको चक्कु
च्याट्ट टुटी दर्द ले चिच्याउथ्यो
तर दुर्भाग्यपूर्ण त्यो कल्पनाको चार्ट चार महिना नटिक्ने
चाइनिज सामान जस्तै भयो
उनि त मेरो नजिक होइन
चौकोस टाढा
चन्द्रबनका चहलपहल हरुलाई चम चमी चम्काउदै
आफ्नु चन्द्र सरि मुहार संग एक चौबन्दी चोलीमा र चुरामा
आफ्नु चातुर्य देखाई चन्दपलमै चिल पर्थिन
म दुखि आत्मा
उनको नामको च कोर्दै चिसो वातावरणमापनि
चिरिएको मनलाई चक झैँ धुलो पारी
उनीलाई चिहाइरहे,
एक दिन वास्तविक रुपमै म मेरी मन्की प्रेमिका खोज्दै आफ्नु
चासो चन्द्रबनको चौबाटोको चाल तर्फ चिहाइराहेको थिए
साचिकै उनि चुनि चुनि चन्द्रमा जस्तै चन्द्रमुखी भइ
उनि चार चार पलमै मेरा चानचुने मनभित्र चुम्मा गर्दै चटपटाइन
म चपक्क उनलाई आफ्नु दिलमा चिप्काएर
खुसि हुँदै चिच्याए
मेरी प्यारी चन्द्रमोहनी मलाई प्यारो अक्षर च…
आलु, प्याज र सरकार
~एम सि सुमित~
बिहान आलु र प्याज
बेलुका प्याज र आलु
रैथाने भोकको लागि
बहुराष्ट्रिय कम्पनिको स्वाद
जस्तो कि,
नेपाल सरकार ।
खै उनिहरूलाई नै थाहा होला
प्रभु भन्छन्
कुन स्वर्गबाट कस्तो कार्ड आउँछ
त्यसपछी
राष्ट्रको गौरब
जनताको आसा
संघर्षको आवाज
र सहिदको सपना
सबै दाउमा राखेर
हाम्रा सुपर ग्रेटम्यानहरू
आलु
वा प्याजको भाउमा बिक्छ ।
.
लगभग बर्ष नपुगी
तीज आउँछ
दर खान
माइती आए जस्तो
जब सत्तामा आगमन हुन्छ उनको
तब उसलाई
आफ्नो आयुको मात्र सुर्ता हुन्छ
आयु लम्ब्याउन
थप्छ माफियातन्त्रलाई मल
र दिन्छ तस्करतन्त्रलाई तक्मा
कर्ण शाक्यहरूको शोच
वा महाबिर पुनहरूको श्रममा
आफ्नो दिर्घायुको योजना देख्दैनन्
बरु देख्छन्
कथित गूगल ब्यायहरूको
प्रायोजित भ्रममा आफ्नो भविष्य
किनभने
पशुपतीनाथले कल्याण नगर्ने यो देशमा
भट्टरूको कल्याणले सरकार टिक्छ ।
एक, दुई, तीन, चार, र पाँच
विमल निभा
एक, स्पर्श गर्छ
दुई, फुसफुसाउँछ
तीन, बात मार्छ
चार, मुस्कुराउँछ
र पाँच ? पाँच बरबराउँछ
एक, विचार गर्छ
दुई, काम गर्छ
तीन, मद्दत गर्छ
चार, आविष्कार गर्छ
र पाँच ? पाँच षडयन्त्र गर्छ
एक, कविता लेख्छ
दुई, चित्र कोर्छ
तीन, मूर्ति कुँद्छ
चार, बाजा बजाउँछ
र पाँच ? पाँच क्रुद्ध हुन्छ
एक, प्रेम गर्छ
दुई, विश्वास गर्छ
तीन, हर्षित हुन्छ
चार, रोमाञ्चित हुन्छ
र पाँच ? पाँच विक्षिप्त हुन्छ
एक, चिन्दछ
दुई, बुझ्दछ
तीन, हेर्दछ
चार, महसूस गर्दछ
र पाँच ? पाँच केही पनि गर्दैन
एक, दुई, तीन, चार, पाँच
यो पाँचमा पुगेर
हो, पाँचमा पुगेर
किन सबै हिसाब
गोलमाल हुन्छ ?
एउटा बाहुला नभएको बुसर्ट
~विमल निभा~
मेरो साथीका लागि
मलाई खरिद गर्नु थियो एउटा बुसर्ट
एकातिर बाहुला नभएको बुसर्ट
जनआन्दोलनताका
महेन्द्रको सालिकनेर पुलिसको गोलीले
मेरो साथी ढलेको थियो
र उसको एउटा हात काट्नुप-यो
त्यसबेलादेखि मेरो साथीलाई
अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ
एकातिर बाहुला नभएको
तर कुनै पनि पसलमा
त्यस्तो बुसर्ट पाइएन
जब मैले यो साथीलाई भनें
उसले मुस्कुराएर भन्यो
मलाई दुवै बाहुला भएको बुसर्ट
भए पनि हुन्छ मित्र
लौ हेर, मेरो हात
अहो ! यो कस्तो अचम्म
उसका दुईटै हात यथावत् थिए
केही क्षणपश्चात्
खुसीको आवेगमा
मैले साथीसँग हात मिलाउन खोजें
तर यो के भयो
मेरो एउटा हात छैन
मलाई चुपचाप देखेर
मेरो साथीले भन्यो
मित्र, अचम्म नमान
यो तिम्रै हात हो
काम चलाउनलाई मैले लिएको
एउटै हातले भए पनि
काम गर्न सकिने रहेछ
मेरो साथी र म
दुईतिरै बाहुला भएको बुसर्ट लगाउँछौं
यद्यपि उसको एउटा हात छैन
तर यसले के फरक पर्छ
मेरो त छ
एकदिनको कुरो हो
जनताहरुलाई आह्वान गर्दै
प्रधानमन्त्री हात हल्लाइरहेका थिए
मैले पनि स्वागतमा
हात हल्लाएँ
र जोसमा बेस्सरी
दुवै हात उचाल्न खोजें
तर यो भएन
किनभने मसँग एउटा हात थिएन
सायद मेरो साथीसँग थियो
पछि साथीसँग भेट हुँदा
मैले भनें
खोइ मेरो हात
उसले गम्भीर भएर भन्यो
मसँग तिम्रो हात छैन मित्र
म पनि गम्भीर भएँ
र सोच्न थालें
कुन्नि, यो के भइरहेछ
गायब हुँदैछन् अकस्मात् हातहरु
पञ्चायतको अँध्यारो कालमा
मेरो साथीको एउटा हात गयो
र प्रजातन्त्रमा मेरो एउटा हात
हामी दुवैजना साथीहरुको
एक–एकवटा हात छैन
अब तपाईंहरु नै भन्नोस्
हामीहरुले कसरी
दुवै बाहुला भएको बुसर्ट लगाउने ?
प्रभुजी, भेंडो बनाऊ
~लक्ष्मीप्रसाद देवकोटा~
ज्यादै थाकें हे ईश्वर !
भेंडो बनाऊ मलाई ।
यो शिरको धराप- जो हो मेरो घर
यो विचारको शराप-
यो जान्नाको पाप-
यो अन्तःकरणको हृदय ज्वालक नाप
यो खसुंला भन्ने तीन किसिमको ताप
यो चढ्ने रवाफ ।
यो जवाफदेहीको अभिशाप ।
भो ! भो ! म चाहन्न दिव्य रवाफ !
फेरि मरण पछि कुमारीचोक वहीखाता साफ
मीठो मस्त !
जानवरी निरुत्तरदायित्व मलाई
भगवान ।
वेकोदाली-जीवन न कि परिश्रमको शराप
मीठो भन्नु चुरुम चुरुम आफै फल्ने घाँस ।
किन यी चौरासी व्यञ्जन ?
नकली जिभ्रो ?
नकली कान ?
एक सिंगाने नाक निमित्र यत्तिका अन्तर ?
झूटो कल्पना निमित्त वेदव्यास र लाखन, लाखन, शुक वहत्तर ?
अँध्यारो अज्ञानको साह्रो खेती !
शरीर जोती जोती ?
यतिका आँसु यतिका क्रन्दन वेकाम !
यत्ती हाँसो हिलहिल परिवर्तनको !
हर हर चता माथि ।
यत्रो छकावट ? यति तार बनाई ?
सुन, मेरो भनाइ !
बलियोले खाए खाऊन, मलाई ज्ञान नआऊन्
सच्चा साधु भेंडो छ !
सादा स्वाद हरियो हुनाले, परमेश्वरको निन्दा नगरोस् आमा
चाहनाको गुणन गरी लुगा नचुन्नु परोस्
लुगा नबुन्नु परोस्, उम्रोस् आँग भरी
लडूँ म सींगले,
आध्यात्मिक समर नहोस्
काल होस् सजिलो,
नकि नास्तिकको अणुवत् ध्वंस-समष्टि ज्वलन
नतानुँ लहरा नगर्जुन् पहरा, दुःखको प्रदर्शन भित्र
जीवनकाठ बनाउन कृत्रिम झूठो बुद्धि उडाइ विचित्र
भविष्यले नडसोस् ।
भूत विद्या बनी सींग माथि नबसोस,
सभ्यताको धराप नउचालु, नउडूँ यथार्थ छोडी
आदर्शहरुतिर आत्मा नखसोस् :
भ्या भ्या भन्दा मीठो गाना, नकली तारहरुमा नबनोस्
पाठाको प्रेम गरुँ
केवल पितृभाव प्रभुको मिलोस् ।
यति मात्रामा मात्र,
मरे मरिगो परमेश्वरको इच्छा !
सुँघ्दा छैन-जीए दूध नसुकोस् त्यति बेलासम्म
जबतक उसको आँग हुँदैन भरी,
अथवा घाँस कडा नहोस्
आफै खाने नबनोस्—
डाक्टर बोलाउन नपरोस् ।
भयंकर काली बोक्सी कलातिर प्रकृत मेरो आत्मा
कहिले नदुगुरोस्
साधुजस्तो शून्यतिर नहाम्फालूँ
अथवा कृत्रिम कल्पनाले—
जादूहीन सत्यबाट रंगी चंगी
वाङ्गा जादू ननिकालूँ
ब्राह्मण नबनूँ अरुको पाप पखाली खान
मैलो पानी
धर्मात्मा झैं पापहरुको चेत भरिईकन-
रौरवतिर पयर न उचालू-
नसुधारुँ—उवार्न जगत् यो !
पुराना—फाटाहरुले न टालूँ,
अप्रिय फालूँ
प्रकृतिको सादा सुन्दर असुन्दर बत्ती,
जस्तो जीवन बालूँ ।
मर्दा !
मर्दा
साधु भन्दा माथि पुगूँ,
ब्राह्मण भन्दा स्वर्ग,
धर्मात्माहरु भन्दा सुखको वैकुण्ठ,
दाग एउटा ननिकालूँ
दिव्य पशुत्व मलाई प्रभुजी
जनीगर झट्ट समाऊ !
आऊ ! आऊ !
अहिल्यै भेंडो बनाऊ ।
भिखारी
~मनबहकी लाल~
भिखारीहरू आए
नवयुगका मसिहा बनेर
मानिसहरूलाई अज्ञान, अशिक्षा र निर्धनताबाट
मुक्ति दिन
अद्भूत वाककला, लेखनशैली र
साङ्गठनिक क्षमता भएका
स्वस्थ, सुदर्शन, सुसंस्कृति भिखारीहरू आए
हाम्रो गाउँवस्तीमा
जसरी एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका
सम्पूर्ण गरिबहरूबिच
जसरी यान र वाहनमा चढेर पुगेको थिए
त्यसरी नै उनीहरू आइ पुगे हाम्रा बिच
भीख, दया, समर्पण र भयको संस्कृतिका प्रचारक
पुराना लक्ष्यहरूभन्दा यो फरक छ
जसरी यसका दाताहरू पनि
आफ्ना पुर्खाभन्दा भिन्न छन्
फरक थिए ती सर्वोदयी निवेदकहरू
भन्दा पनि
जसको गान्धीवादी कछाडमा रहिरहन्छ
(र, आज पनि रहेको छ)
विदेशी अनुदानको नारा
भिखारीहरू आए
विभिन्न टोलीटोलीमा
कसैले पश्चिमको आफ्नो वैभवशाली दाताको
महिमा गायो
कसैको दावी थियो
“मैले लुटेराहरूलाई मुर्ख बनाएर
पैसा ल्याएको छु—
जनहितका लागि
जनक्रान्तिका लागि र
जनक्रान्तिको तयारीका लागि”
केहीको भनाइ थियो
क्रान्तिको तयारीको बोझ
यो देशका गरिब जनताको थाप्लोमा नपरोस्
त्यसकारण उनीहरूको भीखबाट
संशाधन जुटाउने नवीन तरिका निकालेका छन्
कसैको भनाइ थियो—
क्रान्ति अझै धेरै टाढा छ
त्यसकारण त्यतिञ्जेलसम्मका लागि
केही सुधार गर्नु पर्छ
सहुलियत दिइनु पर्छ
दलित, शोषित र उपेक्षितको जिवनमा एक
सिमासम्म
र, त्यो गरेको शुल्कको सट्टा
नेता, नोकरशाह बन्ने अधर्म नगरी
पुरस्कार स्वरूप
आफ्ना लागि पनि केही जुटाउनु पर्छ
घर, गाडी आदि केही आरामदायी सामानहरू
जनताका लागि यो नर्क जस्तो देशमा
उनी स्वयं यहाँ आएका छन्
के यो अनुचित होला र ?
आफ्ना छोराछोरीलाई अमेरिका पढाउनु
केहीको भनाइ थियो
अशिक्षित हुनु नै हाम्रो दुर्भाग्यको मूल हो
अतः उनीहरू हामीलाई पढाउन आएका छन्
स्वास्थ्य र परिवार नियोजनबारे बताउन आएका छन्
केहीको भनाइ थियो
हामी एउटा सहकारी संस्था बनाएर
उत्पादन गरौँ
त्यसो गरे हाम्रो सम्पूर्ण समस्याहरू समाधान हुनेछन्
कसैले भने
टे«ड युनियनहरूले गर्न नसकेको काम
हामी आफै गरेर देखाउने छौँ
राज्यसत्ता त चन्द्रमा माग्नु जस्तै हो
उनीहरू हामीलाई चार आना, आठ आनाक लागि
नयाँ तरिकाले लड्न सिकाउने अरे ¤
केही भन्दै गए
दोष अदालत, पञ्च भेला, कानुन र सरकारको होइन
दृष्टिकोण, अशिक्षा
हाम्रो गाउँलेपनको हो
अतः उनीहरू हामीलाई जनअधिकार
संविधान र श्रम कानुनबारे पढाउने छन्
अनि हामीले थाहा पाउने छौँ
हामीले सरकारसँग के माग्ने ?
हामी एकै स्वरमा माग्ने छौँ
हाम्रा निवेदन हेरेर
हाम्रो गर्जनबाट ब्युझने छ सरकार डराउनेछ
अनि हामीले पाउने छौँ, जे चाहेका छौँ.
भिखारीहरूले हामीलाई सम्झाए
यदि सरकार आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भने
हामी किन उसको मुख ताक्ने ?
यदि ऊ हामीलाई काम दिन सक्दैन भने
हामीले नै किन कुनै काम नगर्ने ?
यदि उसले सबै कलकारखाना
पुँजीपतिहरूलाई दिन्छ
र, पुँजीपति वर्ग हामीलाई रोजगारी दिँदैन भने
किन स्वयं नै कुनै उद्यम सुरू नगर्ने ?
अब पनि यदि हाम्रो गुजारा चल्दैन भने
हाम्रा आवश्यकताहरू किन कम नगर्ने ?
प्रगतिको कुरा सोच्न किन बन्द नगर्ने ?
चरम पर्यावरणवादी बनेर
किन प्रकृतिको काखमा शरण नलिने ?
भिखारीहरू बेरोजगार युवाहरुलाई भन्छन्–
“तिमीहरु हामीसँग आm
हामी तिमीलाई जनताको सेवा गर्न सिकाउँछौं,
तलब थोरै दिन्छौं
तर बेरोजगार भत्ताभन्दा उत्तम हुन्छ
र त्यो भर्पाईका निम्ति
“जनताको सेवक” को पदवी दिनेछौं ।
स्थायी जागिर त होइन,
तर बिना कुनै कठिनाई
क्रान्तिकारी बनाउनेछौं,
बाध्यताले गर्नु परेको समर्पणको
प्रशस्त मूल्य दिनेछौं
उमेर पुगेका, निराश र थाकेका क्रान्तिकारीहरु आऊ ।
हामी तिमीहरुलाई स्वर्गको बाटो देखाउँछौं ।
आऊ सल्बाटर्नहरु
आऊ सबै उत्तर–माक्र्सवादी, उत्तर नारीवादी आदि–इत्यादि
आऊ आफ्नो ज्ञान र अनुभवबाट
एनजीओ दर्शनका नयाँ नयाँ शस्त्र र शास्त्र प्रतिपादन गरौंं ।
भिखारीहरुले आव्हान गरे ¤
दाता एजेन्सीहरुका लागि तयार भयो
नयाँ प्रतिवेदन लेख्न बसे ।
भिखारीहरुले भिखलाई नयाँ गरिमा दिए ।
भूमन्डलीकरणको युगमा
त्यसलाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिए ।
भिखारीहरुले क्रान्ति र परिवर्तनको
नयाँ परिभाषा रचे
भिखारीहरुले भने–बिर्स, “पैबन्द र कुर्ताको गीत
त्यो पुरानो भइसक्यो
हामी तिम्रा लागि कपडाका टुक्राहरु
मागेर ल्याइरहन्छौं
तिमी त्यसमा फुलबुट्टा भर
सबै जोडेपछि एक दिन तयार हुनेछ ।
एउटा पूर्ण कुर्ता
एकै पटक पूरा रोटी मागे
भोकले तड्पेर मर्नेछौं
हामी तिम्रा लागि रोटीका टुक्राहरु मागेर ल्याइरहन्छौं ।
रोटीका स–साना टुक्रा
तिमी त्यसलाई खाँदै जाऊ
सबै मिलेर एक दिन तिम्रो पेटमा बन्नेछ
एउटा पुरा रोटी
कलकारखाना, कोइला, खनिज र
देशको शासनसत्ता कब्जा गर्ने कुरा नगर,
त्यस्ता प्रयत्नहरु असफल भइसके ।
अधैर्य बनेर हामी प्रश्न गर्छौं–
“होइन, कतिञ्जल चल्छ यसरी ?”
तर्जनी उठाएर हामीलाई रोक्छन् र भन्छन्–
“हामी एउटा निवेदन लेखिरहेका छौं”
अनि उनीहरु एउटा प्रतिवेदन लेख्छन्,
अनि चिन्तन गर्छन्
त्यसपछि हतार, हतार उनीहरु अर्कै दिशातर्फ जान्छन्
हामी थाहा पाउँछौं
उनीहरु त भिखारी होइनन्
अपहरणकर्ताहरु हुन् ।
परिवर्तनकारी विचारका
सपना र आशाहरुका
आत्माको उष्माका विरुद्ध सतत् सक्रिय
शीत लहर हुन् यी भिखारीहरु ।
म वै-स्याल
~अज्ञात~
क्रान्तिकारी भने पनि वाइ स्याल मेरो नाम ।
कालो मोसो, पुत्ला दहन, लुट्पाट, हिम्सा मेरो काम ।।
नक्कली लाश जल्लाउँदै हिड्छु, पागल मेरो बुद्धी,
जनता मार्न न पाकोले हराइ सक्यो सुद्धी ।।
सिबिरमा खेल्यो, बस्यो, खायो, काम केही छैन ।
बन्द, हड्ताल, जुलुस नगरि हुन्न मलाई चैन ।।
शिक्षाक लाई कालो मोसो, हत्यारा लाई तक्मा ।
यही नै हो नयाँ नेपाल हाम्रो बिचारमा ।।
जस्ले गर्छ हाम्रो बिरोध, खान्छ तातो गोली ।
सरकारले नि ठीक छ, ठीक छ भन्छ आज भोली ।।
हाम्रा नेता कस्ता बाठा, कुरा मार्ने, मर्ने ।
देस नै आफ्नै हातमा छ अब भुत्रो कब्जा गर्ने ????
चन्दा बाट पैसा आउँछ, सरकार ले नि दिन्छ ।
२-४ बर्ष पछी त काठमाडौंमा घर नै किनिन्छ ।।
क्रान्तिकारी कुरा गर्न आझै छोड्या छैन ।
बोलदैमा के जान्छ र ???? गर्नु पर्ने होइन ।।
नेता जती बिदेस भर्मण, जाँड, रक्सीमा मस्त ।
आजलाई एती नै भो बिदा माग्छु हवस त ।।
सिंहदरबारसँग
~राहु~
सिंहदरवार ! तिमी कहिले आउँछौ मेरो आँगनमा ?
मेरो छिमेकी मुक्तिप्रसाद चुनावमा आएथ्यो र भनेथ्यो,
म सिंहदरवार पस्नेवित्तिकै तिमीलाई मेरो आँगनमा पठाइदिन्छु
ऊ सिंहदरवार पसेको पनि नौमहिना भैसक्यो
तर तिमी आएनौ
कहिले आउँछौ सिंहदरवार तिमी मेरो आगनीमा ?
छिमेकीहरू भन्दै थिए,
सिंहदरवार आउँछ, हामीलाई पानी ख्वाउँछ
सिंहदरवार आउँछ, बाटो बनाउँछ,
सिंहदरवार आउँछ, विकासको बक्सा ल्याउँछ
अब कसैले विदेश जानु पर्दैन, कोही भोको मर्दैन
तर सिंहदरवार तिमी कहिले आउँछौ ? कि आउँदैनौ ?
कतै तिम्रा ती पुराना भरौटेहरूले
नयाँ भारदारलाई दवाएर राखे कि ?
लड्डुपेडा ख्वाए कि वालुवाटारका विटा भिराए ?
हाम्रा आँखामा मिर्ची पाउडर फ्याँकेर पोको पारिएका विटाहरू
अव धेरै दिन टिक्ने छैनन्
सिंहदरवार, तिमी कहिले आउँछौ ? कि आउँदै आउँदैनौ ?
बाटोको बिजोग
~लक्ष्मण नेवटिया~
जताततै एउटै काम छ,
जोडेकोलाई तोड्ने,
अति नै दुख पाइसक्यौं,
नियत राखौं जोड्ने,
धेरै हामी पर्खिसक्यौं,
अरू नपर्खाउनुस्,
बाटो छिटै बनाउनुस।
धन्यवाद त दिनै पर्यो,
महानगरपालिका बनाइयो,
तर अग्रस्थानमा रहेकालाई,
किन पाँच श्रेणीमा पुर्याइयो?
एकताबद्ध भै लागिपरेर,
गुमेको शान फर्काउनुस्,
बाटो छिटै बनाउनुस्।
कहाँ कसले गल्ती गरे,
अहिले न कोट्याउनुस्
सहरलाई उभो लाउन,
सारा शक्ति लगाउनुस्
सपना जे देखाउनु भयो,
विपना गरि पुर्याउनुस्,
अरू कुरा पछि गरौंला,
बाटो छिट्टै बनाउनुस्।
भाषण गर्ने धेरै देशमा,
गरेर तपाईं देखाउनुस्,
“न” गर नगरलाई गर्ने बनाई,
प्रदेश राजधानी बनाउनुस्,
कतै षडयन्त्र अरू नै नहोस् ,
हौसिएर कदम बढाउनुस्,,
गफै गफ यहाँ धेरै भैसक्यो,
अब बाटो छिट्टै बनाउनुस्।
थुइक्क सभासद् म !
~डा.लक्ष्मणप्रसाद गौतम~
कहिलेकाहीँ त आफैंले आफैंलाई गाली गर्न मन लाग्छ :
थुइक्क सभासद् म !
प्रत्येक महिना ५१ हजार पचाएर
रोस्टम भाँचिनँ कि, माइक फोरिनँ कि
ब्रिफकेस फालिनँ कि, सबै काम गरेकै हुँ
त्यही जाबो संविधान नबनाएको त हुँ नि !
कहिलेकाहीँ त आफैंले आफैंलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !
मलाई किन गाली गर्नु हुन्छ हजुर !
बैठकमै चौथो तलाबाट कुर्सी फालेर देखाइनँ कि
मुक्का बजारेर बहादुरी र पुरुषार्थ देखाइनँ कि
क्यासिनोबाट समातिइनँ कि
मैले के गरिनँ ? सबै थोक त गरेँ, किन पुगेन मेरो योग्यता ?
मैले आँैठाछाप पनि बेसरी लगाएकै हुँ
त्यही जाबो संविधान नबनाएको त हुँ नि !
कहिलेकाहीँ त आफैँले आफैँलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !
मेरो के योग्यता पुगेन ?, तपाईंहरू त्यसै मलाई गाली गर्नु हुन्छ ।
मेरो जिउँदै श्राद्ध गरेनन् कि कैयौं पटक ६ सय १ वटा
पिण्ड खाँदा खाँदा मेरो पेट फुलेर भुक्क भएको छ
त्यसैले उपचार गराउन बेलायत जानु छ ।
मैले त्यही जाबो संविधान नबनाएको त हुँ नि !
अरू त जम्मै गरेकै छु नि, दोहोरो नागरिकता लिएर मन्त्री भइनँ कि !
रातो पासपोर्ट बेचेर करोडौँ कमाइनँ कि
तपाईंहरू त्यसै त्यसै मलाई गाली गर्नुहुन्छ ।
कहिलेकाहीँ त आफैँले आफैँलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !
बिहान बिहानै रक्सी खाएर, बाटामा हल्ला गर्दै हिँडिनँ कि !
दिउँसै र रातभरि पनि यौनकर्मीसँग नाङ्गै होटलमा सुतेर
मस्ती मारिनँ कि ?, के योग्यता पुगेन मेरो ?
गर्नु जति ‘कू’कृत्यहरू त सबै गरेकै छु नि !
के योग्यता पुगेन र तपाईं मलाई गाली गर्नुहुन्छ ?
त्यही एउटा जाबो संविधान नबनाएको त हुँ नि ?
त्यसैले त
कहिलेकाहीँ त आफैँले आफैँलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !
अपराधीको नाइके भइनँ कि, अपराधी छुटाउन प्रयास गरिनँ कि !
एसएलसी पनि पास नभएको, सभासद् भन्लान् भनेर
नक्कली परीक्षार्थी राखी एसएलसी दिइनँ कि !
के गरिनँ मैले ?
त्यही एउटा जाबो संविधान नबनाएको त हुँ नि !
त्यसैले त, कहिलेकाहीँ त आफैँले आफैँलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !
मेरो “सम्मान” कहिले हुन्छ?
~लक्ष्मण नेवटिया~
जब श्रीमान् जहाँपनि हामफालेज्यूले
पाउनु भयो प्रायोजित सम्मान
माथी बाट बधाई दिनेको तांती लम्बेतान
भित्र भित्रै यसले किन पायो
कसरी पायो चल्दै थियो घमासान।
पक्कै यस्तो गर्यो होला उस्तो गर्यो होला
उस उसलाई फुर्क्यायो होला, मिलायो होला
फोहरी मनका अनुमान,
गर्ने के?आफुले कहिल्यै पाउन नसकेको
सम्मान अरुले पाएको देख्दा
मुखले बोलन न पाए पनि मुटु बोल्दो रहेछ
भतभती पोल्दो रहेछ
संधै अरुकालागी मात्र थपडी बजाउंदा
पागल भएर मन डुल्दो रहेछ।
सम्मान पछिको चियापान धत् छियापान
ओकल्नु न निल्नु हुँदो रहेछ।
साहित्यको “सा” पनि “शा” लेख्नेले पनि
प्रसिद्ध चर्चित साहित्यकार
उद्घोष गराउन पाउने यहाँ छुट छ।
एकसे एक उपाधी
असमान्य , अमान्य सम्मानको लूट छ ।
कम्पाउन्डरले डाक्टरको डीग्री निर्धारण गर्ने
कन्डक्टरके ड्राइभरको योग्यता जाँच गर्ने।
जसले जहाँ पायो त्यहीं गरिदिने
जसले जसको पायो गरिदिने
सम्मान को असमान अप्रमाण फरमानले
सम्मान स्वयं सहेर बसेको यहाँ अपमान छ।
तिम्रो हुँदा उ चुप- उसको हुँदा तं चुप,
त हजुर! कहिले झेलौं त कहिले खेलौं
सम्मान को खेल छुपाछुप
कुर्दै आफ्नो पालो
मेरो “सम्मान” कहिले हुन्छ?
रित्याउनु मुलुकको ढुकुटी निखारी
~काशीनाथ मिश्रित~
लय : देवकोटाको ‘प्रश्नोत्तर’ कविता
के हो अहो अमृतकन त्यो ? मदिरा समान
क्यै छैन अन्य तिमीले यति राख ज्ञान
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
खानू लुटेर दिनहुँ अरूको जहाँ छ ।
के भैरहेछ जगमा कति छन् विरोध ?
जान्दिन त्यो बरू बन्दुकलाई सोध ।
भेटिन्छ ईश कुन मन्दिरमा पसेर ?
गाउँतिर झोपडीभित्र पसेर हेर ।
कर्तव्य के छ जनको ? निमुखा निचोरी
मच्चाउन जति सकिन्छ नि घूसखोरी
रित्याउनु मुलुकको ढुकुटी निखारी
खानू बसेर घरमा सबले डकारी ।
के हो ठूलो जगतमा ? रुपियाँ समान
देखिन्न केही अरू चीज महान
ऐले अमीरसँग छन् सब थर्कमान
दौडी रहेछ तिनकै पछि वर्तमान ।
पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?
शस्त्रास्त्रको गतिविधी जब बन्द हुन्छ
शान्ति यहीँ वरिपरि छ लुकिरहेको
हाबी भएर बम पो त नदेखिएको ।
के हुन्छ भाषण गरेर ? छिटो विकास
केको विकास शुरु भो ? सबतर्फ त्रास
के मिल्छ गोष्ठीहरूबाट ? यथेष्ट भत्ता
उद्देश्य के ? लिनु लडीकन एक सत्ता ।
विप्ल्याटो मनस्थितिका ए नेताजीहरु
~चन्द्र मादेन ‘आन्छन्’~
जनताको पसिना र रगत
चुस्न सम्म चुस्यौ
भोका नाङ्गा निरिह आसक्तहरुलाई
डस्नसम्म डस्यौ
बुद्धलाई भारतको मझेरिमा राखिरहेको छ
उसैले देशको सिमानाको कद काटिरहेकोछ
हत्या, हिँसा, महंगी, भष्ट्राचारले
सिङ्गो देश कहालीलाग्दो भैरहेछ
अपहरण अशान्तिले चुर्लुम्म डुवाई रहेछ
कहिँ नभएको जात्रा हाँडीगाउँको
तिमीहरुले बनायौ ६०१ प्रतिनिधि
वर्षौवर्ष धोक्रयायौ जनताको नुन
खोइ सविधान, कहाँ गयो सविधान,
कहिले वनाउने सविधान ?
सविधानको म्याद कतिचोटी थप्ने ?
त्यत्रो ६०१ जनाले कुम्ल्याएको
अरवौ अरव रुपैया खोइ ?
तिमीहरुलाई अलिकति सरम लाग्दैन
तिमीहरुको नैतिक इमान जमान छैन ?
कहिले एउटा अर्कोतिर लहसियो
कहिले एकले अर्कोलाई नंग्यायो
कहिले तादाम्य मन्त्री वन्न कुटिल षडयन्त्र गर्यो
कहिले निरपराधी निराहारलाई फसायो
कहिले कुटनीतिक राहदानीको दुरुप्रयोग गर्यो
तिमीहरुको यो विप्ल्याटो मनोग्रंथिलाई
तिमीहरुको यो कलुषित अकर्मण्यतालाई
तिमीहरुको यो कपटी र निम्छरोपनलाई
भोका, नांगा, निमुखा, निरिह
उत्पीडितले सोध्नैपर्छ !
मुलुकलाई दन्किएको भूम्रामा
कहिलेसम्म हाल्ने नेताजी
मुलुकमा अविरल निर्लज्ज
भ्रस्ट्राचार गरि कहिले तृप्त हुने ?
खोकिलाको खाडोलभित्र परिरहेको
मुलुकलाई कहिले माथि उकाल्ने ?
मुलुकमा फोहरी खेलमा लपेटिरहने
ताण्डव राजनीतिको अनवरत पट्टा
कस्ले दियो तिमीहरुलाई ?
अन्ततगत्वा, वेचैन नेपाली मनहरु
जीवनलाई सजाउने उत्कण्ठाहरु
तरंगीरहेकोछ ……….. तरंगीरहेकोछ
मौन स्तब्ध मुटुका स्पन्दनहरु
तरेलिरहेकोछ ……….. तरेलिरहेकोछ
एक बोकाको अन्तिमपत्र
~लक्ष्मण नेवटिया~
मानवबस्तीहरूमा जब ढोल बजाउने,
बन्दै गएको छ माहोल,
गरेर हाम्रो तोल ,मोल गरिनेवाला छ कबोल,
अब त वेदनाले कुँजिएको हाम्रो उमेरको
एकएक पल सकिन्दैछ।
जीवनदीप निभाउने उल्टो गन्ती गनिन्दैछ।|
बोकालाई हान्न कतै छैन रोका- मात्र चाहियो मौका।
विश्वभरी एउटै ताल, उनको उत्सव हाम्रो काल,
हान्नुस एक चोटमा वा गर्नुस हलाल,
कसैको साथ नपाएर, हाल छ बेहाल।
लेख्दैछु यो जीवनको अन्तिमपत्र धर्माधर्मी,
हरे कोही भेटिएन कतै ” बोका अधिकारकर्मी “।
किन हाम्रो बाँच्ने अधिकार खण्डित छ ?
मनमा यही छट्पटी छ ,
शान्तिको देशमा हाम्रो मनको शान्ति संकुचित छ।
न कुनै समाचार फत्फताइने छ,
न कतै कुनै नारा घनकाइनेछ,
न कतै भाषण भट्भटाइनेछ।
बिना कुनै अपराध मृत्युदण्ड सुनाइनेछ,
एकैछिनमा सिध्याइनेछ।
झन हामीलाई जीवनमुक्त पार्दा ,
ताली बजाइनेछ ,खुसियाली मनाइनेछ।
अधिकारवादीहरूले पनि हामी बोकालाई,
मुटुबाट होइन मासुबाट माया गर्ने भएर,
कतै छैन कसैको बाधा विरोध ,
हाम्रो लागि जताततै छ संवेदनाशून्यताबोध।
ऐ मेरा बाल्यकालका बोका साथी,
यस मानिसहरूको बपौती भएकोबस्तीमा,
आउ अब छुट्टिने बेला,
एउटा फोटो त खिचाऔं- अन्तिमसम्झनाको,
एक अर्काको न्यानो अंगालोमा
आँखा चिम्लेर – नि:शब्द भएर।
मौका यही हो ६०१ सके जति लुट
~इश्वर देवकोटा~
उत्तरमा हिमाल छ सधै हिउ पर्छ
नेपालीको हरेक रात अन्धकारमै टर्छ !!
बोल्न पनि कति सक्या झुट माथि झुट
बाहिर चाही सहमति भित्र कुटाकुट
मौका यही हो ६०१ सके जति लुट !!
१७ पल्ट चुनाब गर्दा प्रधानमन्त्रि छैन
जति बल्ड्यांग लडे पनि पौडेल थाक्या होइन !!
बिना कामको विदेश भ्रमण जे गरेनी छुट
बाहिर चाही सहमति भित्र कुटाकुट
मौका यही हो ६०१ सके जति लुट !!
पालुङटारको बैठक ले नि लगाएन टुङगो
भरीलो चाहीँ आफै खान्छन जनतालाई बुङ्गो !!
तीन नेता तीन तिर भन्छन एउटै मुख
बाहिर चाही सहमति भित्र कुटाकुट
मौका यही हो ६०१ सके जति लुट !!
चाइना गाका खेलाडिले हास्य पदक ल्याए
धन्य रैछन् महर्जनले हाम्रो नाक बचाए !!
जतासुकै अपहरण, हत्या हिंसा लुट
बाहिर चाही सहमति भित्र कुटाकुट
मौका यही हो ६०१ सके जति लुट !!
सोझा भन्थे नपाली लाइ नेता परे बाङ्गो
कसले देख्छ भोको पेट कसले देख्छ नाङ्गो !!
कति दिन गरछौ बाबा देसको ब्रह्मलुट
दिनहुन्न जनताले येसैगरि छुट
खबरदारी गर्न लाई उठ अब उठ !!
म प्रचन्ड !!!
~गोपाल झा~
१२ बर्ष जङ्ल बसे, पन्ध्र हजार मारेँ,
जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।।
१२-१५ देस घुमेँ श्वासनी, छोरा सँग,
चिल्लो गाडी, घ्याम्पे भुँडी, द्ङ पर्छु म त ।।
कहिले भन्छु कब्जा गर्छु,कहिले क्रान्ति गर्छु,
जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु ।।
जनतालाई सपना बाँड्न एक नम्बरको हिरो,
त्यो सुद्ले कस्तो झपlर्यो, भये म त जिरो ।।
भाषाण गर्न जानेकै छु, चर्को चर्को बोली,
खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली ।।
छाउरा-छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन,
अर्का थरी शिक्षाकलाई कालो मोसो धस्छन ।।
७-८ महिना भाई सक्यो सत्तामा गाको पनि,
उम्केकै छु अहिले सम्म गर्छु गर्छु भनी ।।
बिदेशीको अगाडि लुत्रुक्क पर्छु, नेपालीलाई धम्की दिन्छु,
दौरा, सुर्वाल मिल्काइदिए, सुट टाइमा हिड्छु ।।
संबिधान, लोडसेडिङ, आशान्ती, मुल्य ब्रिद्धी मलाई मतलब छैन,
कटुवालको जागिर नखाए सम्म हुन्न मलाई चैन ।।
सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो,
समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो।।
अर्कालाई भन्न त सजिलो भाथ्यो गर्न रेछ गाह्रो,
लौन हजुर कसो गरुँ, पर्यो आपत सारो ।।
बानेश्वरमा मुसो हरायो
~रमेश खकुरेल~
सिस्नेरीमा बाढी आयो
बालाजुमा भैंसी बगायो
डिल्ली बजार म्याउँ बोल्यो
बानेश्वरमा मुसो हरायो ।
चौंरी पाल्ने खर्क छैन जरायोलाई घारी
फड्के बस्यो आफ्नै ठाउँमा खोलो पुग्यो पारि
वारि बगर पारि खेत
यस्तो बिजोग कल्ले गरायो ।
जेठो हली कान्छो रोपार यौटै डाडु पन्यु
यौटा घरमा धानको कुन्यु अर्को घरमा उन्युँ
तँलाई उन्युँ मलाई कुन्युँ
बण्डा गर्ने लण्ठै हरायो ।
द्यौता बस्ने सिंहासनमा छुचुन्द्राको ताँती
जस्तो द्यौता उस्तै पूजा सिस्नो तितेपाती
पानी छैन पँधेरी
कोकाकोला बियर चढायो ।
जीत कस्को – गम्छाको
~लक्ष्मण नेवटिया~
जनतासामु उम्मेदवारलाई बोकी दिने गम्छा,
जातीयताको चुनावी खेती जोती दिने गम्छा,
जोतिएको खेतमा आत्मविश्वास रोपी दिने गम्छा
राजधानियाहरुको विलासिता छोपी दिने गम्छा
कोही जति भट्भट्याउनुस्- फत्फताउनुस्
चुनाव जित्न मान्नै पर्ने सदृश्य शक्ति छ “गम्छा”।
बुझिराख्नुस् यहाँ “आम नागरिक”को
सटीक प्रतीक छ गम्छा।
त्यसैले लगाइ जोर सारा- लाउनुस् नारा
“”जीत कस्को-गम्छाको””
चुनावीयुद्धको हतियार छ गम्छा,
त्यसैले यहाँ जीतको हिस्सेदार छ गम्छा।।
हार्नेको आँसु जित्नेको आँखाको अबीर
पुछ्न मददगार छ गम्छा।
प्रत्येक परिस्थितिमा
दायित्व गर्छ पूरा जिम्मेदार छ गम्छा।
धान खेतमा पगडीको शृंगार छ गम्छा
गरीबका लागि गलहार सदाबहार छ गम्छा।
श्रमिकको स्वरूप साकार
किसानको चम्किलो निधार छ गम्छा
अन्यायका विरुद्ध हुंकार
सादा जीवन भित्रको उच्च विचार छ गम्छा।
पहाड र मधेश बीचको पर्खाल भत्काइदिने
“भाइ फुटे गंवार लुटे”हरुलाई लत्याइदिने छ गम्छा।
तर गुणैगुणको खानी अमानी गम्छाले
जसलाई चुनाव जितायो
उसैका कारण जसले जयजयकार पायो
गर्मी लाग्दा गम्छालेनै हवा खायो
जहिले चाह्यो पगडी बनायो
जहाँ चाह्यो भूँइमा ओछ्यायो
मुहारको मोसो लुकायो
धूवाँ र धूलोबाट आफूलाई जोगायो ।
उसले अब निस्के पछि मतलब
जीतको नशामा लट्ठिएर
बिर्सेर गम्छाले लगाएको गुण
फेरि अर्को चुनावसम्मका लागि
खाट मुनिको बाक्समा मिल्काइदिन यदि खोज्छ?
याद राख्नुस् फेरि अर्को पटक गम्छाले पनि
उसलाई घोक्रेठ्याक दिएरै छोड्छ।
ल जाऊँ -विजयजुलुस आयो- नारा लगाऊँ
“जीत कस्को- गम्छाको” ।
अाेली उवाच
~चिरञ्जीवी ढकाल~
छन्द : उपजाति
अाेली उवाच –
कार्की र सार्कीहरु देशवासी !
बाेटे र भाेटे ! मछुवा र घाँसी !
कामी र धामी ! अनि लिम्बु राई
च्यामे र पाेडे ! चुरेटा, दमाई !!
उपाध्य जैसी “टपरे” कुमाई !
टुप्पी ठडाई सुन दाजुभाइ !!
छेत्री र खत्री ! ठकुरी र घर्ती !
सुन्नू सबैले अब दिव्य अर्ति ।
नेपालकाे हुँ, म प्रधानमन्त्री
कम्निष्टवादी अनि लाेकतन्त्री ।
विकास गर्ने सपना छ मेराे
चढून् यहाँका जनता “पजेराे”
नेपालका “लाेकल” व्यक्तिलाई
मात्रै “छ” घन्टा “जब” ( job) मा लगाई ।।
“तलब्” दिने मासिक पाँच लाख
“सर्कार”काे नीति छ “जेठ”बाट !!
हावा चलाई बिजुली निकाल्छु
पाईप जाेडेर म ग्याँस बाल्छु !!
कि चन्द्र-सुर्जे भुइँमै म झारूँ????
दिवा र रात्री झलमल्ल पारूँ ।।
बुर्लुक्क उफ्रेर हिमाल जाउँ,
टुप्पाे तिखारी धह्ररा(धरहरा) बनाउँ
हाम्रै महासागर हाे प्रशान्त !
नेपालकाे पानिजहाज चल्छ ।।
पहाड जाेतेर म ‘सम्म’ पार्छू
चारै सिमा तार लगाइ बार्छू ।
मधेशमा स्याउ फलाउनेछू
हिमालमा खर्बुज लाउनेछू !!
मेची र कालीबिच रेल हाल्छु,
याे काम अर्काे महिना म थाल्छु,
कुदाउनू पर्छ बुलेट रेल
यस्ताे छ मेराे सपना अचेल ।।
किसान ! तिम्रो सुनकाे मदानी,
हिरा र माेतीहरुकाे सिरानी !!
हुनेछ छिट्टै, सुन बात भाइ!
“फ्री” हुन्छ देशैभर वाईफाई ।।
नेपाल यस्ताे प्रविधी बनाअाेस्,
भैंसी बियाअाेस्, तर बाच्छि पाअाेस्,
जमीनकाे स्टेसन अार्यघाट
स्वर्गै पुगूँ केवलकारबाट ।।
अन्टार्टिकामा अब खेति गर्छु,
काेदाे,मकै,फापर,ताेरि छर्छु ।।
यस्ताे अनाैठाे बिरुवा बनाऊँ,
अलैँचि राेपी अदुवा फलाऊँ
म सूर्यमा गैकन राेटि सेक्छु,
र चन्द्रमा गैकन पाउ टेक्छु,
किन्छू घडेरी म त चन्द्रमामा !!
घुमाउनेछू ससुरा र मामा ।।
उद्योग खाेलेर यहाँ हजार,
युराेपका ल्याउँछु कामदार !!
अमेरिकाका जनता नि अाउन्,
पुग्ने गरेरै रुपियाँ कमाउन् ।।
“पढ्ने भिषा” चैँ सजिलो बनाउँ,
अष्ट्रेलियाबाट युवा मगाउँ !!
नेपालकाे फेर्दछु मान-चित्र !
बन्नेछ यस्ताे दुइ वर्षभित्र !!
हान् हान्, भ्रष्टचारीलाई झटारो हान्
~दीपेन्द्र अधिकारी~
हान् हान्,
भ्रष्टचारीलाई झटारो हान् ।
मैदानमा भेटिए झन्डाले हान्,
दोकानमा भेटिए अन्डाले हान्,
सुनसानमा भेटिए डन्डाले हान्,
देशको ईमान लुटेर बनाउँदै छन्
भ्रष्टचारीले समाजलाई चिहान
हान्न सक्यौं भ्रष्टाचारीलाई भने हुन्छ देशको लागी ठुलो बलिदान हान् हान्,
भ्रष्टचारीलाई झटारो हान् देशको लागी योगदान,
गरौं यो अनुदान,
हान् हान्,
भ्रष्टचारीलाई झटारो हान्,
भ्रष्टाचारी हाम्रो शत्रु हुन्,
किनकि लुट्छन् देशको आत्मसम्मान,
अव मेटाइदिनु पर्छ भ्रष्टहरुको नामनिसान,
गरौं यो योगदान
हान् हान्,
कानको तल्तिर हान्, हान्,
भ्रष्टचारीलाई झटारो हान्,
भ्रष्टाचारीले कुल्चेर हिड्ने धुलो भएर हामी बाँच्ने छैनौं,
भन्ने आत्मसाथ सहित चलाएर गहन दिर्ध अभियान
हान् हान्,
भ्रष्टचारीलाई झटारो हान्,
बेलुकी होस वा बिहान
हान् हान्,
भ्रष्टचारीलाई झटारो हान्,
स्नानमा होस वा बिमानमा होस,
संसानमा होस वा ओछ्यानमा होस्,
चट्टानमा होस वा मृत्युको मुहानमा होस्,
चर्पिमा होस वा चिहानमा होस, हान् हान्,
भ्रष्टचारीलाई झटारो हान्,
बृद्ध जवान किसान सबै मिली भ्रष्टाचारीलाई हान्,
गर्नै पर्छ अव हामीले देशको यो समस्याको समाधान
हान् हान्,
भ्रष्टचारीलाई झटारो हान्,
ओदान भेटे ओदानले हान्,
जे सामान भेटिन्छ तेसैले हान्
हान् हान्,
भ्रष्टचारीलाई झटारो हान्,
सुचना आदानप्रदान गरी चलाउनै पर्यो यो अभियान,
अज्ञानतामा कति दिन बस्ने? गरौं समाजको लागी वलिदान,
देशलाई बनाऊँ शक्तिमान,
भरौं राष्ट्रको उडान,
देशले पाउनेछ बरदान,
सामाजको हुनेछ उत्थान,
यही हो हाम्रो विधान,
यही हो हाम्रो गान,
देशको समस्या समाधान गर्न,
बर्तमानमा हान्
हान् हान्,
भ्रष्टचारीलाई झटारो हान् ।
अप्रिल फूल
~शान्तिराम ढकाल~
अहिले बिहानको कुरा बेलुका फेर्छौ
बेलुका बोलेको कुरा उठेपछि बिर्सन्छौ
घनिभूत छलफल गर्छौ रोडम्याप खोज्छौ
अग्रगामी छलांग दिनैपिच्छे लाउछौ
सत्ता हो चलाउन सजिलो छैन
सजिलो भयो भने अप्ठेरो बनाउँछौ
नाकाबन्दी, बन्द मन्चन गर्छौ
दिनै पिच्छे ‘अप्रिल फूल’ मनाउछौ
हुनै नसक्ने चट्टान फोर्न हलो जोत्छौ
कित्ताकाट गर्दै विभाजनको ब्याड रोप्छौ
नावो रोपेर अब फल्छ नवीन फल भन्दै
सपनाको मझेरीमा ‘अप्रिल फूल’ मनाउँछौं
हाम्रो बारीमा कहिल्यै नफुलेको अप्रिलफुल
आयात गरेर अभाव कहिल्यै नहोस् भन्दै
दिनै पिच्छे फलाउन दिनै पिच्छे फूलाउन
अप्रिल फुल अप्रिल फस्ट हाम्रै ऑगनमा रोपेका छौं ।
हाम्रो राष्ट्रीय चाड भएको छ
हाम्रो भिजन भएको छ
हाम्रो रोडम्याप हाम्रो छलॉग
शहीद बेचेर बारीभरी
अप्रिलफुल उमारेका छौ
हो, हामी दिनैपिच्छे अप्रिल फूल मनाई रहेछौ !
माथि पर्ने तरिका
~केशवराज पिँडाली~
ऊ ठान्छ उसले एउटा चमत्कारी
सिक्का पाएको छ
त्यसलाई उसले जतनका साथ
खोकिलामा लुकाएको छ
बेलामौका आफ्ना हकमा
शुभाशुभ केही जान्न परे
ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ
जुन पाटो माथि पर्छ
ऊ त्यही पाटोको विषय हाट–बजार पुर्याएर
प्रचार गर्ने गर्छ ।
भाषण र वास्तविकता
~योगेन्द्र उपाध्याय “पुष्प”~
भाषण नं. १ दृश्य र अदृश्यमा
नेता- यो गाँउको आमूल परिवर्तन गर्छु (भोकै नाङ्गै बनाएर)
खोलामा पुल बनाउँछु (मेरो घरमा सिमेन्ट आँउछ)
बाटो बनाउँछु (छोराको अमेरिका जाने बाटो खुल्छ)
शान्ति आँउछ देशमा (द्धन्द्ध हुँदा लुट्न सजिलो)
हत्या हिंशा रोक्छु मैले (नयाँ आयोग, आफन्तको रोजगार)
शिक्षित गराउँछु सबै जन्ता (भैगो, आन्दोलन गर्नलाई)
मेरो शासन अति उत्तम (तिमी गोरु म गडुवान)
यो बनाएदिएँ त्यो पनि (दुई दिन हिँड भत्किहाल्छ)
त्यसैले मलाई जिताउनुस् -मासु आफ्नो लुछाउन)
बोक्र नेता गुदी आफूलाई
बोक्रा जनताई
बुद्ध जनता ! हड्डी पाउँदा
मालिकको वाह ! वाह !
थाहा छैन आफ्नो भागको मासु
लुटी खाएको,
भाषण नं. २ दृश्य र अदृश्यमा
पुलीस ( सत्य, सेवा, सुरक्षणम् -गेडी साथमा हुनेको
कार्वाही गर्र्छौ दोषीलाई (घुस नदिने सबै दोषी)
अमन चयन बनाउँछु (मेरो घर परिवारमा)
सभ्य समाज बनाउँछौँ (त्यो मैयाँ कति राम्री)
हामी रक्षक कानुनका (अन्धो कानुन रक्षक भक्षक छुट्टयाउन्न)
कानुन बराबर सबैलाई (किताब भाग लगाओ, कानुनको)
कानुन भन्दा माथि कोहि छैन (बकवास ! यो त सब भन्ने कुरा न हो)
त्यसैले विश्वास गर्नुस् पुलीसमा (घात पाउन)
मुखमा राम राम ! बगलीमा बन्दुक
राम राम पैसेलाई !
बन्दुक हैँसेलाई
विवस जनता बारुदको खेती
आफैलाई जलाउन
भाषण नं. ३ दृश्य र अदृश्मा
मानव अधिकार वादी ( मानव अधिकार रक्षा गर ! -नारा त चाहियो नै)
सबै मानिस समान छन् (औँला हेर हातका)
मानव अधिकार खोस्नेलाई कार्वाही गर -नोकर चाहियाथ्यो घरमा)
ज्यान धनको रक्षा गर ! (मेरो र मेराको)
युद्ध आतँक बन्द गर (अनि हाम्ले काम कहाँ पाउने ?)
मानव अधिकारीलाई आफ्नो समस्या भन्नुस् (म माथि औँला नठडियोस्)
त्यसैले मानव अधिकारी विशाल हृदयका छन् (घर कि अधिकारी ?)
छन् गेडी अधिकार, छैनन् गेडी ज्यानमारो
अधिकार गेडिलाई
गेडी नहुनेको मुखमा ठेडी
लाचार जनता पछि पछि अधिकारीको
भर हुँदैन सरकारीको
भाषण नं. ४ दृश्य र अदृश्यमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ( कार्वाहि भ्रष्टाचारीलाई -हजुरलाई मुद्दा लाग्यो रे नेताजी ! पीर नमान्नु म छु)
विज्ञापन बनाउँ भ्रष्टाचारको विरुद्धमा -छारो पनि हालम, होर्डिङ्ग बोर्डको निउँमा पैसा पनि कमाम्)
भ्रष्टाचारीको देश यो हैन -अमेरिका पठाइदेउ)
भ्रष्टाचारी देशका कलंक हुन् -रश्मीले चन्द्रको दाग दबाइदिन्छ बेसरी)
भ्रष्टाचारीलाई छोड्दैनौँ हामी -तिनको पैसा हामी लिन्छौँ)
त्यसैले अदुअआलाई भ्रष्टाचारीको भन्नुस् नाम -हाम्रो गोजी लाग्यो रित्तिन)
रावणको अगाडि राक्षसको बयान !
निर्धा बाँदर खाने कुम्भकर्णलाई हो रावणकै
लुटिएका जनता परि मुखमा कुम्भकर्ण
रावणलाई बोलाउँछन्
रावणबाट फेरी अग्न्यास्त्र पाँउछन्
भाषण नं. ५ दृश्य र अदृश्यमा
संस्थान ( डुब्यो सँस्थान -हाम्रो डुङ्गा रेडी छ)
टन्न छ घाटा (बोनस घटेर ५००००० मात्र पाइयो)
डुब्नमा सँस्थान फलानाको हात छ (४ औँला आफुतिर)
बचाउ सँस्थान यो सम्पत्ति साझा हो (रित्तिसकेको बचाउँछौ कसरी ?)
सँस्थाको गर्न उद्वार भाउ बढाउ ( इन्कम हाम्रो घट्न थाल्यो )
सँस्थानको लागी ऋण लिग (मेरो घर बनाँउदाको ऋण बाँकि छ तिर्न)
त्यसैले सँस्थानलाई जोगाउँ (नत्र म जोगिन)
जो चोर उसको धेरै मटि्टतेल
जनताको जमीनबाट झीकेको इन्धन
जनतामै खन्याउँछन्
जलाउँछन्
फेरि पानी ल्याएर निभाउँछन्
मटि्टतेलबाट पनि बोनस
पानीबाट पनि बोनस
भाषण नं. ६ दृश्य र अदृश्यमा
लोक सेवा आयोग ( निश्पक्ष हुन्छ -मेरो पक्षमा)
लिखितमा पावर चल्दैन (इन्टरभ्यूमा थाछैन)
जागीरमा सबैको अधिकार छ (तर किन्न त पर्यो नि !)
प्रथम हुनेलाई जागिर पक्का (अन्तिमबाट कि शुरुबाट)
चाहिन्छ कर्मचारी जेहेन्दार र परिश्रमी (लिएको घुस बाँड्न जान्ने)
त्यसैले आयोग विश्वास पात्र हो -पीँधमा प्वाल परेको छ यसको)
जुन आयोगमा सेवा हुन्न त्यसको नाम लोकसेवा
ठेवा जेहेन्दारलाई
सेवा जमिन्दारलाई
बेरोजगार ऋणी विद्यार्थी
र्सर्टिफीकेट जलाउँछ
लोसेआले जाडोमा ताप्छ
भाषण नं. ७ दृश्य र अदृश्यमा
कति कुरा गर्नु सरकारी वालाको
कुरा शुरु गरौँ नुन, तेल, तरकारी वालीको
प्रेमिका ( साथ दिन्छु जनम जनम (पैसा साथ छँदातक)
तिमी मरे मर्छु (भोकभोकै)
तिमी विना जिन्दगी चल्दैन (मसँग गाडी छैन नि त)
तिमी पाए संसार पाउँछु -किनेर देउ है)
तिमी बाहेक अरुको हुनै सक्दिन (अरु मर्ुगा फँस्न न पर्यो)
ओहो ! तिमी कति अबेर आएको ! (भोक लागेर मलाई !)
हामी गरीब छौँ दाइजो दिन सक्दैनौँ (गोहिको आँशु)
मेरो घरमा बिहेको कुरा चल्दैछ (इमोशनल अत्याचार)
अब म त्रि्री हुँ, तिमीसँगै रहन्छु (तिमी सामु छँदातक)
बाउको खल्ती रित्याउने पे्रमी, पाउने प्रेमिका
डेटिङ्ग प्रेमीसँग
वेटिङ्ग गाँठिस्टको
भागिङ्ग……………सँग
मुर्गा केटा पानी बिना छट्पटिने !
झीरमा उनिन्छन्
कराईमा भुटिन्छन्
भोलि पल्ट ट्वाइलेटमा
भिटामिन अरुलाई दिएर फोहोर कहलाँउन्
तै पनि पछि-पछि धाउँछन्, देवदास !
भर केहीको छैन, कसैको छैन, कसैले केही दिन सक्दैन
जे छ खुशी होउ, स्वहं ब्रम्ह, आफूभित्र सन्सार बनाउ सुनौलो ।।।
छक्का सत्ता र अट्ठाको फरक
~चट्याङ मास्टर~
महँगी किन बढेको हो ?
हातमा सत्ता छ भने अन्तर्राष्टिय स्तरमै भाउ बढेर हो
हातमा अट्ठा छ भने नेता र कर्मचारीले घपलाबाजी गरेरै हो ।
देश विकास किन नभएको हो ?
हातमा सत्ता छ भने अट्ठाले काम गर्नै नदिएर हो
हातमा अट्ठा छ भने नेता र कर्मचारी खालि कमाउने दाउमा लागेकाले हो ।
छिमेकी राष्ट्र भारत कस्तो रास्ट्र हो ?
हातमा सत्ता छ भने घनिष्ट मित्र राष्ट्र हो
हातमा अट्ठा छन् भने हाम्रो मुख्य सत्रु नै त्यही हो ।
अब हामी जनताले के गर्नु पर्छ ?
हातमा सत्ता छ भने सरकारसँग मिलेर काम गर्नु पर्छ
हातमा अट्ठा छ भने यो सरकार ढाल्नु पर्छ ।
देशको आर्थिक स्वास्थ्य कस्तो छ ?
हातमा सत्ता छ भने पहिलेको भन्दा धेरै राम्रो छ, झन् राम्रो हुँदै छ
हातमा अटठा छ भने सर्वस्व स्वाहा चौपट खत्तम छ, देश डुब्दै छ ।
नेपालमा जनताको लागि विकास कहिले आउँछ ?
हातमा सत्ता छ भने सरकारसँग जादुको छडी हुँदैन, धैर्य गर्नु पर्छ
हातमा अट्ठा छ भने तुरुन्त हुन्छ तर यो सरकार ढलेर हाम्रो सरकार बन्नु पर्छ ।
ऊ सँग अहिले सत्ता छ कि छैन, थाहा छ ?
तपाईंले नमस्ते गर्दा फर्काएन र देखेको नदेखै गर्यो भने त्योसँग सत्ता छ
देखेर फर्कायो अनि मुसुक्क हाँस्यो पनि भने त्योसँग अट्ठा छ
नजिकै आएर, हात मिलाएर, “सन्चै छ ?” पनि भन्यो भने त्योसँग छक्का मात्रै छ
जङ्गबहादुरसँग पुनर्मिलन
~अर्जुन पराजुली~
पुन्टे, भुन्टे, वसन्ते र सन्ते
तिमीलाई व्यापारमै व्यस्त छ भन्थे
अनि
कोतपर्वको दोस्रो संस्करण निकाल्न
कसरी भ्यायौ ?
जङ्गबहादुर ! तिमी आयौ ?
अनुहार पनि सर्लक्कै फेरिएछ
यता हामीलाई सञ्चै छ
अनि उताको हालखवर के छ ?
किन काटेको ? जुँगा काटेछौं
अनि घडेरी कहाँ कहाँ किन्यौ ?
जङ्गबहादुर ! मलाई चिन्यौ ?
दुब्ला थियौ, मोटाएछौ
उमेर पनि सर्लक्कै घटाएछौ
जङ्गबहादुर मरे
भनेर धेरैले हल्ला पनि गरे
तिमीलाई सग्लै देखेपछि
हल्ला गर्नेहरू डल्ला परेर
घोडाबाट लड्यौ कि क्या हो
मुन्टो पनि बाङ्गो बाङ्गो लाउँछौ ?
जङ्गबहादुर !
अनि मकहाँ कहिले आउँछौ ?
कुकुर पालन व्यवसायमा
नयाँ कदम चालेछौ
नेपाली कुकुर पाल्न छाडेर
विदेशी कुकुर पालेछौ
खुसी लाग्यो
कुकुरै भए पनि चिन्न थालेछौ
त्यस रात अरुका कुकुरहरू भुकिरहे
तिम्रो कुकुरले भाषण दियो
जुन रात सहरमा
कुकुरहरूको ट्यालेन्ट शो थियो
जङ्गबहादुर !
अनि तिम्रो छोराले एसएलसी दियो ?
कुकुरलाई साङ्लोले डोर्याएर
मर्निङ वाकमा जाने शोख
तिम्रो मात्रै होइन
तिम्रा बाको पनि थियो
तिमीले डोर्याएको कुकुर पनि
काटीकुटी तिम्रा बाको जस्तै देखियो
यो कुकुर पनि उही हो कि क्या हो ?
ल्याप्चे परीक्षण गर्यौ ?
जङ्गबहादुर !
अनि तिमीले डिभी भर्यौ ?
६०१ टाउकाहरु
~राजन कोइराला~
संविधान लेख भन्दा पढ्याछैन भन्छन
म्याद थपेनि तलवचाहिँ बढ्याछैन भन्छन
भत्ता पनि खाछ्न, लत्ता पनि पाछन
देशको चिन्ता गरिबस्दा निन्द्रा चढ्याछैन भन्छन
मै खाऊ मै लाऊ, सुखसयलको जीवन जिउछन
विहान-बेलुकी पानी कम, रक्शी बढी पिउछ्न
आफु बन्यो, राष्ट्र भुल्यो
यिनलाई देश चाहिने हैन, देशलाई यिनी चाहिने सोच्छन
मुटुभित्र देशको माया गढ्याछैन भन्छन
कामभन्दा कुरा बढी, एक-अर्कामा मत छैन
अबै चोर सबै डाका, कसैको नि सुलत छैन
भाषणमा कुर्लिएर, गल्लिगल्लि उर्लिएर
उनकै आवाज चर्को हुन्छ, जनताको वचन झर्को हुन्छ
आफुहरुचाहिं सहि छन रे, जनता सबै मुर्ख अरे
देश डुबाउँदा नि, यिनको बुद्धि सढ्याछैन भन्छन!
देश डुबाउँदा नि, यिनको बुद्धि सढ्याछैन भन्छन!!
कुर्सी मोह भाग- २
~ठाकुर मान लामा~
मोह त्यो प्यारो कुर्सी अति नै
राष्ट्रपति खाउँ कि प्रधानमन्त्रीको
एउटा बनुँ बन्छु देशको सर्बोच्च नै
अर्को झन् छैन कम्तीको चानचुनको
प्रथम राष्ट्रपति हुन मलाई पनि मन छ
तर पावर छैन प्रधानमन्त्री नै बनुँ लाग्छ
जनताको आदेश शिरोपर गर्नु त पर्छ नै
दोधारमा पारिदिन्छ र पो कुन चाहिमा बसुँ ख्वै
सपनामा देखेको त राष्ट्रपति नै हो
भित्ताभरी लेखन गराइएको पनि राष्ट्रपति नै हो
साथीहरुले पहिला देखि नै भन्दै आएको राष्ट्रपति नै हो
तर पावरले पो धोखा दियो यो पद भइदियो घरको न घाटको
दुइतिहाइको साटो साधारण बहुमत बनेको छ पासो
त्यसैले त साथी तिमीले कहाँ पाउछौ र मेरो ओठमा हाँसो
पारित गरिदिए ठुलो स्वरले घोक्रो फुट्ने गरी
तर कुर्सी तोड्न मन छैन कसैगरी
नयाँ नेपाल नयाँ नेपाल भनेर आकै हो
जितेर यहाँ आएपछि कुर्सी नै चाहिने भो
साँचेको पो हो नयाँ नेपालको कल्पना सपनामा
थोडै साकार गर्छ भनेको छु र बिपनामा
आफुलाई त पहिला पनि कुर्सी चाहिन्थ्यो
अहिले पनि चाहिन्छ त्यसैलै के पछि हटिन्थ्यो
छाडिदेउ त्यागिदेउ नयाँ नेपाल बनाउँछु भन्ने कुरा
हामीलाई पनि गर्न देउ एक्सरसाइज कहाँ पाउनु र फेरी अर्कौ मौका
सत्र साल भाग दुई
~अर्जुन पराजुली~
पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै खयाल उही
जिब्रो बेग्लै र्याल उही
छाला बेग्लै स्याल उही
सत्र साल भाग दुई
घण्टाघरले घण्टी लाए हुन्थ्यो
धरहरा प्रमुख अतिथि बनेर आए हुन्थ्यो
शहीदगेटले माइक समाए हुन्थ्यो
लोकतन्त्रको भित्तोले स्वागत गीत गाए हुन्थ्यो
सत्र साल भाग दुई
स्वागत गीत गाउनु भन्दा पहिले
तिम्रो नाउँमा एक मिनेट
मौन धारण गर्न पाए हुन्थ्यो
सत्र साल भाग दुई
तिमीले हामीलाई प्रजातन्त्र दिनुपर्दैन
तिम्रा प्रजामा को को पर्छन्
हामीलाई थाहा छ
तिमीले हामीलाई शान्ति पनि दिनु पर्दैन
तिम्रा शान्तिले के के गर्छन्
हामीलाई थाहा छ
हामीलाई त पढ्नका लागि तिमीले केवल
एउटा पत्रिका दिए पुग्छ
हामीलाई त पढ्नका लागि तिमीले केवल
एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस्
हामीलाई त पढ्नका लागि
एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस्
नामैपिच्छे एउटा एउटा समवेदना व्यक्त गरिएको होस्
जनताको लागी
~अर्जुन पराजुली~
मैले हत्केलामा राखेर खैनी माँडेको– जनताको लागि
चुनावमा रक्सी र पैसा बाँडेको– जनताको लागि ।
सालोलाई सल्लाहकार बनाएको– जनताको लागि
पीच गरीनसक्दै सडक फेरि खनाएको– जनताको लागि
०००
मैले छोरो अमेरिका पढ्न पठाएको– जनताको लागि
मैले पशुपतिमा गाँजा चढाएको– जनताको लागि
नेपाल बन्द गरेर टायर डढाएको– जनताको लागि
विकास बजेट पचाएर भुँडी बढाएको– जनताको लागि ।
०००
सार्वजनिक जग्गा मिचेर घर बनाएको– जनताको लागि
मैले मेरो जन्मदिन मनाएको– जनताको लागि ।
०००
मैले बिहेमाथि अर्को बिहे गरेको–जनताको लागि
मेरो अनुहार चुस्स परेको– जनताको लागि
मेरो लागि त के नै गर्नु छ र ?
१२ महिनाको वर्षमा १३ महिना विदेश भ्रमणमा जान्छु
एककप चिया पनि जनताकै पैसाले खान्छु ।
०००
जनताको लागि केही गर्न नसक्नेहरु सहीद भएर गए
म बाँचेको पनि जनताकै लागि हो
सात पुस्तालाई पुग्ने गरी सम्पत्ति साँचेको पनि जनताकै लागि हो ।
अनि मैले दाह्री पालेँ
~अर्जुन पराजुली~
म किसान हुँ
पाल्ने मेरो पेशा हो
राँगो पालेँ
सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो
भैंसी पालेँ
सुन्दरी प्रतियोगितामा भाग लिन गयो
नेता पालेँ
आफूलाई चिरञ्जीवी बनाउँदै ल्यायो
पुलिस पालेँ
भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो
सरकार पालेँ
गर्नुपर्ने काम एउटै गरेन
नगर्नु पर्ने काम सबै गर्यो
सुरक्षाकर्मी पालेँ
सुरक्षा नगरुञ्जेल जिउँदै थियो मान्छे
उसले सुरक्षा गर्न थाल्ने बित्तिकै मर्यो
पाल्ने कुनै जन्तु नपाएपछि
एउटा नयाँ कदम चालेँ
अनि मैले दाह्री पालेँ !
कोही छ घरज्वाँई बस्ने ?
~बिमल लामिछाने~
हाम्रो दिनहुँ झगडा पर्छ
कहिल मुक्का मुक्की हुन्छ
कहिले फास्स फुस्स मै टर्छ
म डल्लो लोहोरो उचाल्छु
बुढी चेप्टो सिलौटो उचाल्छे
म तातो रोटी उचाल्छु
बुढी रातो तावा उचाल्छे
कहिले बुढीले पन्यु खान्छे
कैले मैले कसौडी खान्छु
भुईँभरी भातको सिता हुन्छ
भान्सामा यसरी नै रमिता हुन्छ
एउटी छोरी छे,
पाखुरा तन्काउँदै तन्काउँदै
हामी दुइको हुलमा पस्ने
कोही छ घरज्वाँई बस्ने ?
बुढी नभए मलाई नहुने
म नभए बुढीलाई नहुने
मेरो जीत हुन्छ बुढी रुने
बुढीको जीत हुन्छ म रुने
उसले पनि हार्न नहुने
मैले पनि हार्न नहुने
झगडा गर्न एकदिन पनि बार्न नहुने
एउटी छोरी छे,
चौबिसै घन्टा मुखमा तितौरा पस्ने
कोही छ घरज्वाँई बस्ने ?
म ‘ए बिस्तारै बोल’ भन्छु
बुढी उचालिइ उचालिइ कराउँछे
म कान समाउँछु
बुढी उठबस गराउँछे
म ‘तालुमा तेल ठोकिदे ‘ भन्छु
बुढी झन तालुका रौँ उखेल्छे
म ‘समात बुढी समात’ भन्छु
के को समात्थी, झन झन ठेल्छे
एउटी छोरी छे,
लिपिस्टिक दल्दै दल्दै भातखान भान्सामा पस्ने
कोही छ, घरज्वाँई बस्ने ?
ती अवर्णनीय नेता
~श्रीधर खनाल~
लिने मात्र सधै सोच्छ दिने गर्दैन चिन्तन
भने त्यो पशुको कोही गर्न सक्दैन वर्णन
सेवाको भाव त्यागेर मेवाको मात्र चाहना
गर्दै जो शक्तिको मात्र प्रदर्शन गर्न खोज्दछ
भने त्यो बन्छ नेपाली नेता यो बुझ्नुपर्दछ
नबुझे गाईजात्राको तीतो फल भोग्नुपर्दछ ।
वर्षमा एकदिन मात्र गाईजात्रा मनाउँदै
हाँस्ने नेपाली मुर्खै हुन् नेता हेरी तलै ती छन्
किनभने
जान्दैन रोज ती हाँस्न नेता हाँसेसरी गरी
हँसाउन त तिन्लाई नेताले मात्र सक्दछन्
जनतालाई रोजिन्दा गाईजात्रा देखाउन
मरिमेट्ने ती नेताको सक्छ को गर्न वर्णन ।
जे आउँछ मज्जाले पचाउँछ
~भरत खत्री~
पहिले धेरै दियो खुसि बनायो
पछी सबै लुट्यो दुखी बनायो
समयको खेल हो भन्दै
इतिहासले सदै अन्धो बनायो
पुर्खाहरु लडेकै हुन् देशको निम्ती
हामी लड्यौ आफ्नो निम्ती
युद्ध भूमीमा बीरगति प्राप्त गर्दा
माटो हासेयो, नेपाली आमा हाँसिन
उहिले खुसीले हास्यो देश
अहिले पीडाले रोयो देश
तिमी बस्यौ ढुङ्गो झैँ
नबोली शान्त बस्यौ
बीपीको सरकार ढल्यो
निर्दलीय व्यवस्था लाग्यो
सबै तहसनहस भयो
तिमीले सबै मज्जाले पचायौँ
मदन भण्डारीको हत्या भयो
तिमी कानमा तेल हालेर
दिउसै ओछ्यानमा सुत्यौ
अनि सबै मज्जाले पचायौँ
राजदरबार हत्या काण्ड भयो
देश रोयो दुनियाँ रोयो
तर तिमी पहिले झैँ
सबै मज्जाले पचायौँ
जनान्दोलनमा ऊ मर्यो
फलानो मर्यो ढिसकानो मर्यो
सबै मरे सबै गायब भए
तिमीले फेरी मज्जाले पचायौँ
निर्मलाको बलत्कार भयो
नेपाली चेलिहरुको अशमिता लुटियो
बाहिर हिड्न गार्हो भयो
फेरी तिमीले मज्जाले पचायौँ
देशका सिमा स्तम्भ ढले
कालापानी पराइको भयो
आतंककारीका गतिविधि बढे
फेरी तिमीले मज्जाले पचायौँ
के तिमि पचाउन जन्मिएका हौ
भगवानले तिमीलाई किन रच्नु भएको
तिमीले तिमीलाई कहिले सोध्यौ
अरुलाई मात्र किन सोध्छौँ
तिमीले पहिले बाटो खन
तिम्रो पछी न आउने को हुन्छ
अनि राम्रो कुरा मज्जाले पचाउँ
नराम्रो कुरा वान्ता गर
कत्रो साइज
~अर्जुन पराजुली~
सकारात्मक संकेतले
“…” कहिले गर्ने हो ?
बिन्तिपत्र चढाउने साइत
कहिले पर्ने हो ?
प्रतिगमन सच्चिन सुरु फेरि
कहिले गर्ने हो ?
प्रतिगमन आधा सच्चिउञ्जेल पर्खिने कि
चौथाइ सच्चिने बित्तिकै
दाम चढाउन लाम लागेर अगाडि सर्ने हो ?
हेलिकप्टरमा सवार साँढेबाट
तपाईँको मुखमा नरिवल कहिले झर्ने हो ?
नेताज्यु दौरा सुरुवाल सिलाउनका लागि
अर्डर अहिले गर्ने कि
अलि पछि गर्ने हो ?
यी सबै कुरा थाहा पाउनका लागि
तपाईँहरुका हातहरु शाही ज्योतिषीका घरमा गएर हेराउनु पर्ने हो
शाही ज्योतिषीलाई हात नहेराइ तपाईँलाई कसरी थाहा हुन्छ
आन्दोलन गर्दा कत्रो साइजको गर्नुपर्ने हो ?
दौराको साइजको
सुरुवालको साइजको
कोटको साइजको
कि गर्ने हो आन्दोलन
तक्माको साइजको ?
यो देश यसै चलेको छ
~दयामोहन आचार्य~
कोही हात्ती घोडा चढेको छ
कसैको गोडा गलेको छ
सिमामा जङ्गे पिल्लर सरेको छ
कहिले खैजेडी कहिले डम्फू बजेको छ
चौतारी गफले गलेको छ
बुढो बा गामबेसी गरेको छ
एउटै भोटोले जाडोगर्मी टरेको छ
कोही युके अमेरिका चलेको छ
राम्रो हुन अझै क्रिम दलेको छ
कोही आफ्नै बेडमा ढलेको छ
वर्षा लाग्यो खोला बढेको छ
दिन ढल्यो अनि रात परेको छ
कहिले दमौरो कहिले काफल फलेको छ
यो देश यसै चलेको छ
यो देश यसै चलेको छ
मोर्चै मोर्चाको मुलुक
~मनोज गजुरेल~
माओवादी मोर्चै मोर्चाको भिडमा थप केही मोर्चाहरु प्रस्ताब गरेको छु ।
नेपाल व्राम्हण मुक्तिमोर्चा
अन्तराष्ट्रिय छेकुवा (छेत्री-कुमाईं-वाहुन) मुक्तिमोर्चा
राष्ट्रिय जनै मुक्तिमोर्चा
अखिल नेपाल यौनकर्मी मोर्चा
बिद्रोही सिपाहीं मुक्तिमोर्चा
क्रान्तीकारी आर्मी मोर्चा
जनपक्षिय पाकेटमार मोर्चा
राष्ट्रिय कालोसुची मुक्तिमोर्चा
केन्द्रिय तस्कर मुक्तिमोर्चा
जग्गा दलाल क्रान्तीकारी मोर्चा
अन्तराष्ट्रिय मेनपावर मुक्तिमोर्चा
क्रान्तीकारी मारवाडी मुक्तिमोर्चा
शरणार्थी संयुक्त मोर्चा
प्रेम पीडित मुक्तिमोर्चा
स्वाश्नी पीडित लोग्ने मोर्चा
मोर्चा पीडित मुक्तिमोर्चा
चन्दादाता एकता मोर्चा
चन्दा पीडित मुक्तिमोर्चा
राजावादी विद्रोही मोर्चा
माओवादीका लागि थप मोर्चाका नाम तपाईं प्रस्ताब गर्ने हो कि !!
माग्ने
~चट्याङ मास्टर~
ऋण, दान, अनुदान जे मिल्छ उही माग्ने
माग्दा माग्दा धनी हामी, दिने बन्नेछ माग्ने ।
धनी देशका सामु, गरिब छौँ, भनी माग्ने
गरिबै भेटिए देश, नछोड्ने, डटी माग्ने
छिमेकी देश धनि देखे, छिमेकमै गई माग्ने
टाढाको देश धनि देखे, देशमै बोलाई माग्ने ।
जहाँ चर्कन्छ गृहयुद्ध, बन्दुक बोकेर माग्ने
शान्त भेटे कुनै देश, बुद्ध बोकेर माग्ने
भ्याएसम्म नेताले, झण्डा हल्लाई माग्ने
नभ्याए कार्यकर्ताले, एनजीओ खोली माग्ने ।
विश्वको अग्लो शिखर हाम्रो,
हामी विश्वको माग्ने
चन्द्रसूर्य रहेसम्म,
झण्डा हल्लाई–हल्लाई माग्ने
सभ्यता यही जन्मेथ्यो, हुर्कियो भयो माग्ने
भृकुटी तारा उदाइथिइन्,
अस्ताइन् अब माग्ने ।
काँगडा टिष्टा पुगेकाथ्यौ, फर्कियैँ अब माग्ने
हाम्रो सिमाना मिचियो, फर्काइ देऊ
भनी माग्ने
कृषिप्रधान देश यो मेरो, मल र बीउ माग्ने
मागेको मलबीउमाथि, कमिसन थप माग्ने ।
स्वदेशी धन विदेशमा छन्, विदेशी धन माग्ने
विदेशी यहाँ मालामाल,
स्वदेशमै हामी माग्ने ।
नेपालको धन हरियो वन, काट्ने रोप्न माग्ने
हुर्काउन माग्ने फेरि, जोगाउन पुनः माग्ने ।
समर्थन माग्ने कोही, विरोध गरेर माग्ने
स्वदेशी नदीको पानी, विदेशीसँग माग्ने ।
उद्योग फैलाउने देशमा, दर्तामै घुस माग्ने
टिप्पणी तोकआदेशको, पसल खोलेर माग्ने ।
पर्यटनबाट उँभो लाग्ने, नाक थुनेर माग्ने
सहर, गाउँ र ठाउँको, बिजोग देखाई माग्ने
भत्काई पाटी र पौवा, फोटो खिचेर माग्ने
आयो वीर गोर्खाली, खुकुरी बेची माग्ने ।
संस्कृतिका धनी हामी, वेद बेचेर माग्ने
आरती अनि साङ्गेमा, डिस्को नाचेर माग्ने
कलाकृति र संस्कृति, जीर्णोद्धार गर्न माग्ने
त्यागका दर्शन हाम्रै हो, इज्जत त्यागेर माग्ने ।
उँचा पहाडपर्वतमा, पहरो लडाइँ माग्ने
लालीगुराँसको वनमा, आगो दन्काई माग्ने
तराईको फाँटमा वर्षे, बाढी बगाई माग्ने
सहर–बस्ती दुर्गन्ध, फोहोर बनाइ माग्ने ।
शिक्षाका पुजारी हौं, स्कुल छाउन माग्ने
गैंडा, बाघ आदिका, छाला काढेर माग्ने
भाग्नेसँग लाग्नेसँग माग्ने
दिँदा–दिँदा सब टाट हुन्छन्,
टाट नै सँग माग्ने ।
त्यसै माग्दैन नेपाली, सिद्धान्त छाँटी माग्ने
सिद्धान्तै पनि मागेको, छाँट्ने खर्च माग्ने
विश्व सबैको साझा हो,
आफ्नो हक माग्ने
माग्ने योजना बनाउन,
गुरु योजना माग्ने ।
माथिका चाकडी माग्ने, तलका
सोर्स माग्ने
बीचकाको लुलो इज्जत,
इज्जतका लागि माग्ने
सत्तावाल माग्ने भत्ता,
भत्तावाल सत्ता माग्ने
नेता हाम्रा महान् त्यागी,
त्यागको मोल माग्ने ।
हामी चन्द्रमा किन जाने,
त्यहाँ के मिल्छ र माग्ने ?
चन्द्रमामा बसुन अरू राष्ट्र,
पछि गै हामी माग्ने
हाम्रो मौलिक प्रतिस्पर्धा, कसले बढी माग्ने
विदेशबाट सफा चिल्ला, मोटर
मगाई माग्ने ।
म त झिल्के त्यसै राम्रो, मादल
घन्काई माग्ने
उच्च टोली विदेश जाने, लर्कन लागेर माग्ने
जेट यात्रा भ्रमण भत्ता, लाखौं भ्याएर माग्ने
मागी गर्ने विकास यस्तो, विकसित
भै माग्ने ।
नारा–जुलुस अनि बन्द–हड्ताल गरेर माग्ने
दौरा सुरुवाल कोट टोपीमा चस्मा
ढल्काई माग्ने ।
पशुपति देव झन् हाम्रा, विकास
कोष माग्ने
सुनका छाना, चाँदीका ढोका, नुहाउन पानी माग्ने
ज्योतिलिङ्ग लथालिङ्ग लिङ्गको भर माग्ने
ढोगाई माग्ने देवता, मान्छे ढोगेर माग्ने ।
चेली चेला विदेश लाग्ने,
नजाने यहीँ माग्ने
फर्काउन माग्ने कोही,
बाँकी फर्किई माग्ने
गर्भिणी माग्ने आहार,
बालकलाई दूध माग्ने
किशोरी माग्ने शिक्षा,
युवकले नोकरी माग्ने
वृद्ध माग्ने भत्ता, मरेकालाई पिण्ड माग्ने
गर्भदेखि मसानसम्म, छुट्यो कि
कोही माग्ने ?
एकदिन नारद कान्तिपुर पुगि गया
~ऋतुराज~
एकदिन नारद कान्तिपुर पुगि गया दर्शन म गर्छु भनी
राजा त्याहीं थिया पर्या चरणमा राजन कि जय होस् भनी ।
नारद् विन्ती गर्या जसै निकट गै विँणा विर्साईकन
गाथ्मा मंगल छैन कि किन हजूर वेचैन देख्नु तन ।
नारद्का यी कुरा सुन्या जसै नृपजीले बोल्या विचारीकन
हे नारद् के कहूँ परेँ सकसमा थिर् छैन मेरो मन ।
देश्भरका सब जन् थिया चरणमा रैतीसरीका थिया
ऐले ती सबजन् बन्या रिपुसरी राज् छाड्न नारा दिया ।
मेरा सैन्य फूली पनि हरी लिया खोस्या हतियार् पनि
कर तोक्न्या अझ भन्दछन् जमीनमा त्यस्तै तलव्मा पनि ।
गाउँथ्या गीत सब् उठेर लहरै श्री पाँच की जय भनी
झुक्थ्यो शिर् सबको समस्त जगमा ख्वामित भन्थ्या उनी ।
ऐले सब् कसरी भया रिपुसरी चिन्तित यसैमा म छुँ
भोक् निन्द्रा पनि छैन कत्ति तनमा साह्रै पीडामा म छु ।
ख्वामित्का यी कुरा सुनेर मुनीले आँशु बगाया जसै
मन्मा सब् गुनी ली सकेर उनले जुक्ती फिराया तसै ।
हे राजन् प्रभूका थिया अघि-पछि ती सब् विभिषण भया
त्यस्ताका भरमा कहाँ हजुरले राज्पाठ गर्नुभया ।
छन् बैरी प्रभूका सबै धरतीमा क्वै छैन आफ्नो जन ।
वात् लागि सही बस्नु हुन्न नृपले इज्जत् विगारीकन ।
स्वर्गैमा पनि भन्दछन् हजूरमा वंशै विनासी भनी
ह्याँ छन् झन् सब देखन्या नजरले सकिन्न संख्या गनी ।
त्यस् कारन म त भन्छु हे नृप हजूर् स्वर्गै सवारी हुनोस्
वागी भै रिपुका वरी-परी बसी गाली कसोरी सुनोस् ?
स्वर्गैमा पनि मिलन्या कति कति रंभा अनि उर्वसी
पारस्का पनि वितन्या छन घडी कालो पदार्थै चुसी ।
त्यसकारन् नगरौं विलम्व अहिले यो हो सुनौलो घडी
ख्वामित्का सबजन् सवार हुनुहोस् पुष्पक विमानै चढी ।
यति जुक्ती दिया र नारदजीले पुष्पक मगाया जसै
त्यैबेला हिटीमा अचम्म हुन गो सब् जन्ले घेर्या तसै ।
ती थिया कति ता अनन्तपुरका नर्तक गणिकाहरू
थिया कोर्इ् भरजन्म दाससरीका भान्से धुपौरेहरू ।
कोइ थिया हलिया कति त घँसिया कोही पूजारी थिया
हुल् का हुल् जब घेरियो हिटीभरी नारद् अचम्मै पर्या ।
भन्छन् कोही मलाई ख्वामित लिनुस् जान्छु विमानै चढी
रून्छन् कोही बनी शिशुसरी टेक्दै निगाले छडी ।
राजाका संगमा वस्याँ जुनीभरी कोही ता भन्छन् यसै
विगार्न्या गिरी हुन् कमल्-रमेश हुन् भन्दा रहेछन् तसै ।
यस्ता बात् ऋषीले सुनेर मनमा गुन्दा भया क्वै छिन
गर्न्याहुन्न विलम्ब यस नरकमा मन्मा उठी गो घिन ।
यै कुरा मनमा लिएर मुनीले फेरी म आउँला भनी
विदा ली कन फुत्त पुष्पक चढी एक्लै गए ती मुनी ।
यै रित्ले बुझनु समस्त जनले यो ग्रन्थ राजायण
लेख्न्या म ऋतुराज् पनि लिई विदा जाँदो छु आफ्नो गण ।
बोका हरायो – ४
~रामकुमार पाँडे~
बोका हरायो, बोका हरायो
मेरो पार्टीको बोका हरायो ।
कतै बोकालाई बन्चरो प-यो कि (?)
कतै बोका मातृसंस्था झ-यो कि (?)
भरखरै मन्त्री झैँ कराउँदै थियो
खोरको सिंहसँग डराउँदै थियो ।
कतै बोका ठुलै कम्पाउण्डमा पस्यो कि ?
कतै बोका घरकै खोरमा बस्यो कि ?
कतै बोका मालिक खोज्दै गयो कि ?
कतै बोका मालको हाकिम भयो कि ?
अथवा बोका सात समुद्र पार त पुगेन ?
अथवा बोका हवाइ भरिया त बनेन ?
अथवा कुनै पार्टीले खसी पा-यो कि ?
अथवा कसैले बन मास्ने बंगारा झा-यो कि ?
भरखर यतै थियो बगैँचामा बोका हरायो
कतै आफै हराउने डरले बाबुसाहेब करायो ।
बोका हरायो, बोका हरायो
मेरो पार्टीको बोका हरायो ।
गर तयारी अलमल्ल नपरी
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
लडाइँ जब छ ब्वाँसा, फ्याउरा, स्यालहरुको
के अर्थ परेवाहरु यता वा उता लाग्नुको ।
मदारी अरु नै कोही छ,
प्रभु अर्कै छ उनीहरुको,
नचाउँदैछ कोही अरुले नै उनीहरुलाई;
तब के अर्थ पक्ष र विपक्षमा अल्मलिनुको ।
हेर, चिन, बुझ, चिन्तन गर –
के छ जटिलता चक्रव्यूहको;
गर तयारी अलमल्ल नपरी-
नेतृत्व गर्न प्रतिमान परिवर्तनको ।
जागिर
~गोपाल विरही~
१.
जागिरेहरू कागतीजस्ता–
जति टुक्रा हुञ्जेल काटे पनि हुने
जसरी निचोरे पनि हुने
जसरी चुसे पनि हुने
पानीमा हालेर सर्बत बनाउन सकिने
चियामा हालेर ‘लेमन टी’ पनि बन्ने
भातमा मुछेर पनि खान सकिने
बारीमै फलाउन पनि सकिने
बजारबाट किन्न पनि सकिने
चुसेर निचोरेर खोक्रो भएपछि
जता फाले पनि हुने
जे गरे पनि हुने !
२.
जागिरेहरू चुइङ्गमजस्ता–
सस्तोमा किन्न सकिने
मुखमा हालेर खेलाउन सकिने
फाल्न मन नलागे चपाइरहन सकिने
फुकेर फुल्याएर प्याट्ट फुटाउन सकिने
मुखभित्रै राखेर बाजा बजाउन सकिने
जसरी चपाए पनि हुने
जसरी खेलाए पनि हुने
खेलाउन र चपाउन मन नलागे
जसरी हुत्याए पनि हुने
जता हुयाउन पनि हुने
जे गरे पनि हुने !
३.
जागिरेहरू रोटी पकाउने पिठोजस्ता–
पानी हालेर मुछ्न सकिने
मुछेर डल्लो पार्न सकिने
डल्लोमाथि मुक्का हिर्काउन सकिने
गोल्याउन सकिने, चेप्ट्याउन सकिने
बेल्न सकिने, पेल्न सकिने
तातेको ताबामाथि हाल्न सकिने
परौठा, तन्दुरी जे बनाए पनि हुने
चटनी, तर्कारी जेसँग खाए पनि हुने
जे गरे पनि हुने !
४.
जागिरेहरू फूटबलजस्ता–
बजारबाट ल्याएपछि
लात्ताले मनपरी हान्न सकिने
जसले जता हाने पनि हुने
जसले जसरी खेले पनि हुने
बेकह्याम र म्याराडोनाले खेले पनि हुने
पेले र रोनाल्डोले खेले पनि हुने
यताबाट उता र उताबाट यता ल्याउन सकिने
हावामा उडाए पनि हुने, भुइमा गुडाए पनि हुने
फुटेर काम नलाग्ने भएपछि
जुनसुकै डम्पिङ्–साइटमा हाले पनि हुने
जे गरे पनि हुने !
५.
जागिरेहरू सार्वजनिक शौचालयजस्ता–
जतिबेला गएर बसे पनि हुने
जतिबेला गएर उभिए पनि हुने
जसरी प्रयोग गरे पनि हुने
प्रयोजन सिद्धिएपछि नाक थुन्दै
बाहिर निस्कन सकिने
सफा भए पनि हुने, फोहरै रहे पनि हुने
जे गरे पनि हुने !
६.
जागिरेहरू कस्ता–कस्ता
कुमालेको हातको माटोजस्ता
डिलरको सस्तो मट्टितेलजस्ता
तर,
किन हुँदैनन् आगोजस्ता ?
किन हुँदैनन् भुङ्ग्रोजस्ता ?
भूत बनेर तर्साऊ ।
काल बनेर लखेट ।
नत्र रहन्छौ सधै यस्ता ?
कागती, पिठो आदिजस्ता !?
आउँदिन भाषण सुन्न
~प्रकाश सापकोटा~
झण्डा बोकिएन कि
नारा घोकिएन कि
जस-जसलाई देखाइदिनुभो
उसैलाई गएर ठोकिएन कि
के गरिएन ?
ब्यानर कसिएन कि
धर्ना बसिएन कि
हजुरलाई जोगाउँदा ढाल बनेर
पटक पटक आफू फसिएन कि
के गरिएन ?
टायर बालिएन कि
खम्बा ढालिएन कि
जुन तघारा र बार भत्काउन भन्नुभो
ती सबै उखलेर फालिएन कि
के गरिएन ?
सभा जुटाइयो
परिवार फुटाइयो
हजुरकै जीउ धन र इज्जत बचाउन
जटिल जटिल जोखिम उठाइयो
ए हजुर !
आखिर के पाइयो ?
राणाले देशै खाए
पन्चेले लुछे, चपाए
अलिअलि बँचेको पनि
राजाले सप्पै सिध्याए
हजुरले जे जे भन्नुभो
हामीले ‘हो’मा हो मिलायौँ
देश र जनताको भविष्य बचाउन
सत्ता खोसेर हजुरलाई दिलायौँ
ए हजुर !
खै त आखिर के पायौँ ?
पुग्यो, अब पुग्यो
उफ्रन, चिच्याउन, कराउन
सिट्ठी फुकेर, ताली बजाएर
हौस्याउँदै हजुरलाई उत्तेजित गराउन
पटक पटक मौका माग्नु भो
दिएकै हो
दुखी जिन्दगी दुखैले जिउँला
जिएकै हो
भोट कति हालियो हालियो
सकिएन सद्दे चुन्नलाई
भो हजुर, पुग्यो !
आउँदिन अब भाषण सुन्नलाई
नाठी स्वास्नी
~जीर्ण भागेदार~
लाज, घिन, इज्जत फाली अरुतिरै सल्केकी छे
हुँदोखाँदो लोग्ने छाडी अरुतिरै पल्केकी छे
लिपिस्टिक, क्रिम, पाउडर लगाई–लगाई ढल्केकी छे
नाठो पोईका अगाडि टिलिक्कै टल्केकी छे ।
एकमिटरको कपडाले शरीर बेर्न पुगेकै छ
सधैँभरि मीठो–राम्रो खान लाउन पुगेकै छ
घरको काम किन गर्थी ? मस्ती गर्दै भुलेकै छ
दिनैपिच्छे नाठो फेर्दै शहरतिर डुलेकै छ ।
राती–राती फोन गर्छे दिउँसो कुरा मिलाउँछे
आफूसँग भा’को कुरा अरुलाई नै पिलाउँछे
अहिले घर छे भने अहिले कता बिलाउँछे
रोकठोक हुन खोज्यो भने मरीमरी रिसाउँछे ।
दुःख गर्ने लोग्ने हुन्छ मस्ती गर्ने स्वास्नी हुन्छे
नाठो पोईलाई भेट्न जान अनेक तानाबाना बुन्छे
सोझो लोग्ने नजा भन्छ उसका पनि कुरा सुन्छे
एकदिन भेट्न नपाएमा नाठी स्वास्नी किन रुन्छे ?
हाम्री होलीलाई स्वागत
~रिजाल किरण “अन्जान”~
घर दैलोमा नाच्दै होली आएकिछिन्
यिनलाई हामीले राम्ररी स्वागत गर्नु पर्छ
राम्रो सगँ मेजमानी गर्नु पर्छ
सके रानी बनाएर भित्र्याउनु पर्छ
नसके ठररा बोतलका बोतल नुहाएर स्वागत गर्नु पर्छ
त्यतिले पनि नपुगे गनाउने नाला माथि
लमतन्न बनेर शवाशनमा सुत्नु पर्छ
यसरी नै उनलाई (होली) स्वागत गर्नु पर्छ ।
यिनलाई त धतुरो भाङ्ग्ले स्वागत गर्नु पर्छ
बेस्सरी मातेर तथानाम बडबडाउनु पर्छ
छिमेकिका झयालका सिसा फोर्नु पर्छ
बाटामा हिडेका महिला केटिलाई
डडाल्नो मनतिर बेस्सरी लोला नहान्नुन् जेल
यिनलाई मज्जाले स्वागत हुदैन
यतिले पनि स्वागत नभएको महसुस भएमा
साथी हो गोबरले एकाआपसमा छ्याप्नु पर्छ
अझै पनि खल्लो खल्लो झै लागे
आफै कनिकनी निकालेर एकार्काको मुखभरी
लेप्नु पर्छ
यति पनि नगरेमा हाम्रो होली
संस्कारको अवहेलना ठहर्छ
हामी जंगली अशिक्षित ठहरिन्छौ
पुर्खालाई चिनाउने बाटो हुदैन
हाम्रो छिमेकीले पनि गर्न नसकेको
होलीलाई दुई चोक्टा बनायौ ।
यसरी छिमेकी खुसी बनाउनु पर्छ
चाहे हाम्रो पार्मपारिक होली
भाडमा नै जाओस् ।
देश बन्नु किन पर्यो!
~अर्जुन पराजुली~
आँगनमा बसेर छिमेकीले सुन्ने गरी
धारामा पानी आएन किन भन्नु पर्यो?!
रिनको ब्याज कति लाग्यो भन्दै
दिनका दिन औँला भाँचेर गन्नु किन पर्यो?!
बिरामी हुँदा सिटामोल पाइएन
पाइएन त पाइएन, पाइएन भन्नु किन पर्यो?!
खेती लाउने बेलामा मल पाईंदैन
सबैलाई थाहा छ, बढी जान्ने बन्न् किन पर्यो?!
नेताले आफन्तलाई बनायो त बनायो
आफैँले बनाएको नेता होइन? बनायो भन्नु किन पर्यो?!
देशभन्दा अग्लो भ्युटावर नै बनिसकेपछि
देश बन्नु किन पर्यो?!
कान चिरेका जोगीहरु
कुबेर काका~
१
यो व्यासको जन्म भूमि
जन्मना साथ सालनाल सहित
आत्मनिर्भर बन्न हिडने
नवजात शिशुहरुको हो यो माटो
यो सिध्दार्थको ज्ञान भूमि
बृद्ध भएर मृत्यु बरण गर्नु भन्दा
मृत्यु टार्न अग्रसर हुने
नवयुवकहरुको हो यो माटो
यो बाल्मिकीको तपोभूमि
कुण्ठा र परहिंसा त्यागेर
सत्मार्गमा लाग्ने रत्नाकर जस्ता
बयस्कहरुको हो यो माटो
यो विदेहको कर्मभूमि
काम क्रोध लोभ तृष्णा माथि विजय गर्ने
सदभाव र सदाचार अनुशरण गर्दै
प्रजापालक शिरध्वज जस्ता
पिताहरुको हो यो माटो
यो वीर वीराङ्गनाहरुको रणभूमि
पराधिन हुन नचाहनेहरुले
आत्मरक्षा गर्न भोको पेट र प्यास मेटाउन
तोपको अगाडि उभिने
भक्तिहरुको हो यो माटो ।
२
रसायनिक तत्वहरुको समिश्रणले
माटो प्राकृतिक गुण ह्रास भएर होला
बैदिक सनातन धर्मालम्बीहरु
विभिन्न मार्ग अपनाएर स्वर्ग सुरक्षित गर्न
कान चिरेर
गरुवा पहिरेर
टीकाको पहिचान बोकेर
सडकमा माग्न निक्लिएका जोगीहरु हुन वा
दल दर्ता गराएर ठगी गर्न नैतृत्व लिदै
मादलको पृथक पृथक ताल निकालेर
मनोरञ्जन गराउदै आस देखाउने
रुप र भेष परिवत्र्तन गरेर आउने
अलग अलग संगीतालयमा वाद्यबादन सिकेका
सबै कान चिरेका जोगीहरु न हुन
३
जुन जोगी आए पनि कान चिरे कै छन
सबैको लक्ष्य माग्ने नै हो
स्वाभिमान विक्री गर्ने नै हो
आत्मनिर्भर बन्न नचाहने नै हो
परनिर्भर हुनका प्रलोभन देखाउनका लागि नै हो
आत्मरतिमा रमाएर माग्न पनि नसक्ने
मागेको पनि देख्न नसक्ने बाँदरहरुले
खोक्रो मादल ठटाएर स्वर मिलाउदै
भिड जम्मा गराएर जीवन निर्वाह गर्ने
कुचक्र त हो ।
४
विपा भित्र्याउनेका मतियारहरु पनि माग्ने जोगी नै हुन
एमसिसी लागु गराउनेका समर्थकहरु पनि माग्ने भोगी नै हुन
विपिआर माग्ने मनोरोगीहरुको अनुशरण गर्ने पनि रोगी नै हुन
जोगी भोगी मनोरोगी जो भए पनि
माग्न पल्किएकाहरुले यो माटोको बदनाम गरे
तर पनि माग्न आउनेलाई फिर्ता नगर्ने
हाम्रो बैदिक परम्परामा
हामीले आस्वस्त गराएर पठाए कै छौ
सक्नेले हाम्रो अस्मिता र स्वाभिमान विक्री गर्नेलाई
आफ्नो मत विक्री गरेर पनि दिएकै छौं
नसक्नेले सित्तैमा भए पनि गरेर खाओ भनेर
मत दिएर पठाएका छौ
दस्तखत दिएर पठाएका छौ
हामीले हाम्रो अभिमत दिएर पठाएका छौं ।
५
व्यासहरुको जन्मभूमि हरण हुदा पनि
कोही चुइक्क बोल्न सक्तैनन
सिद्धार्थहरुको ज्ञानभूमिको भुभाग
कोतरिदा टुलु टुलु हेरेर बस्ने न हुन
बाल्मिकीहरुको तपोभूमिमा
अराजकताको डडेला फैलिदा पनि
हाम्रो सेवा गर्न हामीबाटै असुल गरेको कर खाएर
उग्राएर बसेका छन राष्ट्र सेवकहरु
बरु तोकिएको तलबमान भन्दा महगा विद्यालयमा
सन्तानको अध्यापन गराउन नपुगेर
विकास बजेटको दुरुपयोग गरेकै छन
जनकहरुको निस्वार्थ भेदभाव रहित कर्मथलोमा
हाम्रो अभिमत खरिद गरेर स्वार्थ पूर्ति गर्न
पालो पर्खेर बसे कुरेकै छन
पालो नपाउने भनक पाए गठ बन्धन गरेर भए पनि
ब्रह्मलुट गरेकै छन
भक्तिहरुले स्वाधिनता र स्वाभिमानका लागि
प्राण उत्सर्ग गरेको यो रण भूमिमा
आज स्वाधिनता र स्वाभिमान बिक्री गरेको
यश लिन हानाथाप भई रहेको छ
हामी तरवारको धारमा असुरक्षित भएर
बसी रहनु परेको छ ।
कान चिरेका जोगीहरुको भेष फेरिए पनि
बोल्ने भाखा फेरिए पनि
उद्देश्य र लक्ष्य फेरिएको छैन ।