25 Nepali Poets, 25 Nepalio Poems पच्चिस कबि, पच्चिसै कबिता

 

25 Nepali Poets, 25 Nepalio Poems पच्चिस कबि, पच्चिसै कबिता



    फेरि पनि प्रकाश तामाङकै माटोबाट -विष्णु ढकाल

    भूगोलको
    यो सन्तप्त आकाश मुन्तिर
    धेरै वर्षहरू हराएका छन्
    हराउनेहरूका अनन्त कथा
    प्रथम विश्व युद्धले लेख्यो
    द्वितीय विश्व युद्धले लेख्यो
    मेक्सिकोका जंगलले लेख्यो
    कंगारुको आँगनले लेखी रहेछ
    मस्को र क्रेमलिनले लेख्यो
    जेरुसेलमले लेख्यो
    मध्यपूर्वले लेखी रहेछ वर्षौंदेखि मरुभूमिमा
    अफ्रिकी डान्स बारहरूले लेखी रहेछन्
    श्री श्री श्री महलहरूले लेखे
    ठमेल र जिबी रोडहरूले लेखी रहे
    यही आँगनका अक्षरहरूले लेखी रहेछन्
    प्रकाश तामाङहरुको कथा

    उता
    यही सन्तप्त आकाशको तल्तिर
    कोही अन्तरिक्ष यात्राबाट फर्किएका छन्
    ती खोज्दै छन्
    कुन कुन ग्रहहरूका
    कति लामा वर्षहरू छन् ?
    कति छोटा दिनहरू छन् ?
    समय
    ऊ कहाँ कति लम्बिन सक्छ ?
    कति छोटिन्छ ?
    खगोलका हरेकका वर्षहरूमा

    यता
    द्वापरका कृष्ण पनि अलमलमा छन् ?
    कृष्ण कथामा हराउनेहरूका
    कति वर्षहरू हराए होलान् ?
    हो, म पनि खोज्दै छु
    वर्तमानको अर्को कृष्ण
    उन्का कति वर्षहरू हराए ?
    ती चाँडै भेटिऊन्

    तर
    प्रकाश तिमी भेटियौ
    तिमीलाई
    यही माटोमा
    मेरो पनि स्वागत छ ।

    कस्तो होला मेरो चरो ? - उद्धव ठाकुर

    यो जीवन
    कहिले उकालो, कहिले ओरालो
    तर सपना भने ठूला ठूला
    राम्रो कर्म गर बाबु, राम्रो फल पाउँछौ भन्छन्
    तर मन भित्रबाटै सोध्छ –
    “ए भाग्य !
    के छौ तिमी मेरो साथमा ?”

    करोडौँ मान्छे जस्तै मैले पनि देखेको छु
    एक सपना
    सपना एउटा सफल जीवनको
    जहाँ पाइलैपिच्छे संघर्ष छ
    जहाँ मेरा हरेक कदममा
    मेरो मिहिनेतको पसिना बग्दै जान्छ, चुहिँदै जान्छ
    कहिले कोशीको उन्मत्त बाढीसरि
    त कहिले
    छानोबाट खस्ने टिप टिप पानीका थोपासरि
    अनि आउँछन् सफलताका चराहरू
    पखेटा फिजाउँदै
    मेरो सपना साकार गर्न

    तर हाय ! मलाई थाहा नै छैन
    यहाँ त सपना देखेर मात्रै नहुने रहेछ !
    यहाँ त सपना साकार गर्न
    कडा परिश्रमले मात्रै पुग्दैन रहेछ !

    यहाँ त रहेछ अर्कै चिज
    जो हर्दम हरहमेशा
    हा हा गर्दै मन्डारिरहन्छ
    जे मन लाग्यो त्यही गर्छ त्यो
    रिमोट कन्ट्रोल कार चलाए जसरी
    हाम्रा सपनासँग खेलवाड गर्छ त्यो

    कहिले
    तिनै सफलताका चराहरूलाई बन्दी बनाउँछ
    कहिले फेरि
    दया भाव जागरुक हुन्छ अनि
    “जा, तँ आज स्वतन्त्र भइस्” भन्दै
    खोल्दिन्छ त्यो पिँजडा

    जब गुटर्गु गर्दै माथि माथि उड्छ त्यो चरो
    अनि आउँछ सोच्दै नसोचेको गोली
    हान्छ छातीमा
    हराउँछन् ती सब सपना, सब आश
    अनि बग्छन् हार खाएका आँशुहरू

    र पो भरिन्छन्
    मन्दिर, मस्जिद अनि चर्चहरू
    अनि राम्रो हुन्छ रे
    हाम्रो भाग्य !

    एक दिन यस्तो भयो - प्रमोद सारंग

    एक दिन यस्तो भयो, सुन साथी सुन
    घाम लाग्दै झरी पर्‍यो, रुन थाल्यो जून

    कागले आफैँ गीत गायो, छेपाराले नाच्यो
    पेट मिची नदी छेउ भ्यागुताले हाँस्यो

    पाटे बाघ घुर्न थाल्यो, हात्ती लम्की आयो
    दुलोभित्र सर्प पस्यो, ठूलो मुख बायो

    आकाशमा घुम्न थाले, चमेरो र बाज
    दौड भयो- कछुवा र खरायोको आज

    स्याल कुद्‍यो खोलापारि के हुने हो फेरि ?
    सिंह सुत्यो घाँसमाथि रमिता पो हेरी !

    लगा - शिव सुनुवार किराँती

    बाँसको चोयाबाट च्यादा बुनेर
    रङ्गिचङ्गी बनाएर सजाई
    झिलिमिली टोटला फूल उनेर
    हरियो बाँसको ठेकी बनाई
    दुईतिर बाँधेर राखिकन
    चोखो पानी भरी, तीतेपाती लगाई
    एउटा पुर्खाको नाममा याब्रे लगा
    एउटा बच्चा रख्वाल आमा कल्पी लगा
    अनि कुलको नाममा तारा लगा
    जो काठको फल्याकबाट बनाई
    घर भित्रको कुना कुनामा सजाई
    तारा,याब्रे लगा सेतो कपडाले ढाकी
    कल्पी लगा कालो कपडाले ढाकी
    बाँसको चोयाको ठाक्रो बनाई
    चार चुच्चे बनाई अम्लिसोले सजाई
    अर्घेली, पले र धागोले क्यता झारी
    मृत्युको ४५औँ दिन मृतआत्मा लिने गरी
    वर्षको दुई पटक उँधौलि उँभौलि गरी
    पैँब, नाआसो राखी छेगू पिदार गरी
    बनाइएको पवित्र लगा पर्गा
    हाम्रो पवित्र मन्दिर याब्रेको घर मुक्दुमि चिनारी ।


    तिम्री छोरीलाई बचाऊ आमा! - सुनिल बुढा

    मलाई अर्को ६ जुनी जन्म नदेऊ है,
    -क्या भन्दिछै यसो चेली?
    आमा, मलाई अर्को ६ जुनि जन्म नदेऊ है
    तिम्री चेली कतै सुरक्षित छैन आमा!
    तिम्रो गर्भमा सुरक्षित नभएर मलाई धर्ती
    देखायौ,
    आमा, गर्भभन्दा भयङ्कर छ यो दुनियाँ!

    जन्मायौ,
    छोरी जन्मियो भनेर घरकाले फाल्दिन्छन् कि भन्ने डर,
    अल्लि ठूली भएँ
    आफ्नै घरका मान्छेबाट जोगिन्नँ कि भन्ने डर,
    घरबाट बाहिर निस्कूँ
    कसैले लगेर बेचिदिन्छ कि भन्ने डर,
    स्कूल जाउँ
    त्यता पनि डर,
    हाइस्कूल, विश्वविद्यालय जाउँ
    त्यता पनि त्यस्तै डर,
    कुनै विषय पढेर
    विशेषज्ञ बनुँ
    बलात्कृत हुन्छु कि भन्ने डर,
    अँधेरा गल्लीमा हिँडूँ
    कसैले अन्जान जग्गामा गाडी दिन्छ कि भन्ने डर,
    मेलापात जाउँ
    उखुबारीमा फाल्छन् कि भन्ने डर,
    मलाई डर लाग्छ आमा
    यो समाज देखेर,
    यहाँ रुख ढाले जसरी
    मान्छे ढाल्छन् आमा,
    रुखका जरा रेटे सरी
    मान्छेका गला रेटिन्छन्,
    जुकाले रगत चुसे सरी
    नाबालिकाका स्तन चुसिन्छन्,
    साहुजीले गाता च्याते जसरी
    नारीका सुरुवाल च्यातिन्छन्,
    अब त म जताततै पुरुष मात्रै देख्छु,
    त्यो सूर्जे पनि पुरुष लाग्छ
    मलाई दिनभरि चर्काइरहन्छ,
    त्यो चाँद पुरुष हो
    मलाई अन्धकारमा पर्खी रहन्छ,
    छायाँ पुरुष हो
    मलाई हरबखत पछ्याइरहन्छ,
    त्यो सडक पुरुष हो
    म जता हिँड्यो उतै पुग्छ,
    त्यो बादलु,
    फूल,
    रूख,
    नदी,
    पहाड,
    हिमाल,
    तराई,
    माटो,
    हिलो,
    गरा,
    बगर,
    मलाई सब पुरुष लाग्छन्!

    आमा, मलाई अर्को ६ जुनीमा जन्म नदिनु है!

    बुबा - उद्धव देवकोटा

    सिसाका बोतलहरू
    एकमाथि अर्को खप्ट्याएर
    बनाउन खोजेको थिएँ बडेमानको पहाड
    तर गर्ल्याम्म ढलेर चकनाचुर भएका थिए
    सबै सपनाहरू
    र म,
    डरले गुजुल्टिएर एकै ठाउँ गाँठो परेको थिएँ
    जब हजुरका खस्रा हातले
    मेरो टाउको सुम्सुमाएर
    उठाउँदै भन्नुभएको थियो
    कान्छा !
    ढल्न सक्छन्, सपनाका यस्ता थुप्रै धरहराहरू
    तर सम्हालिएर उठाउन सक्नुपर्छ जीवन
    तब
    सिरेटोले कलेँटी परेका पहाडका गालामा
    गुराँस, धँगेरा र लालुपातेहरू
    जसरी एकाएक रङ पोतिदिन्छन्
    ठीक त्यसरी नै
    मेरो अनुहारमा
    खुसीका रङहरू एकाएक पोतिएका थिए

    मेरा कलिला हातलाई
    हजुरका बलिया हातले
    बलियो सँगै समाउँदा
    म निडर हुन्थेँ
    म निर्भीक हुन्थेँ
    र लाग्थ्यो
    अब जस्तोसुकै युद्ध पनि जित्न सक्छु
    किनकि
    ग्रिक मिथक हर्कुलसझैँ
    संसारकै सबैभन्दा बलवान् मान्छेले
    मेरा हात समाएका छन्

    एउटा हातले लौरो र
    अर्को हातले मेरा हात समाएर
    जब मंगलबारे हाट लैजानुहुन्थ्यो
    अनि खुवाउनु हुन्थ्यो जुलेबी, खोवा, बतासा र खुर्मा
    अनि
    तात्तातो समोसा
    त्यही दिनबाटै मस्तिष्कलाई लाग्यो
    संसार जलेबी र बतासाझैं मिठासपूर्ण मात्र छ
    खोवाझैं सुगन्धमय मात्र छ
    समोसा भित्रका बेस्वाद र खुर्सानीका टुक्राहरू आफैँ निल्नुहुन्थ्यो
    र बनाइदिनुहुन्थ्यो
    मेरालागि निर्भिकता साथ खान मिल्ने मीठो परिकार
    तब त लाग्थ्यो
    समय सधैँ यस्तै रहिरहोस्
    यही पलमा नै अडिइरहोस् जीवन
    जहाँ हरेक पाइलामा अफ्ट्याराहरू निलिदिने बुबा हुन्
    र जिन्दगी मखमलीझैँ बनिरहोस्

    हजुरसँग बिताएका
    करीव एक सय छ महिनाको समयरेखा
    मेरो लागि संसार बुझ्न सक्ने
    पूरै एउटा स्वर्णिम शताब्दीझैँ थियो
    र त लाग्दथ्यो
    मेरालागि हजुर
    पूर्णभाव युक्त
    पूर्णात् पूर्णमिदम् ….. सम्पूर्ण संसार हुनुहुन्थ्यो

    तपाईंका छातिमा म खेल्न सिकेँ
    औंला समाएर हिँड्न सिकेँ
    ओठको आवृत्ति पछ्याउँदै बोल्न सिकेँ
    काँधमा चढेर अग्लिन सिकेँ
    तपाईंले खाने गरेको चरेसको थाल मलाई औधी मन पर्थ्यो
    त्यसैले त हजुरले अलिकति खाना मेरालागि सधैँ छोड्नुहुन्थ्यो
    आमाले मलाई गर्भमा बोक्नु पहिले
    मलाई हजुरले मथिङ्गलको खोचमा गर्भाधान गर्नु भएको थियो रे
    र त म अझ प्रिय थिएँ
    र मेरालागि हजुर
    आज सबै स्मृतिमा मात्र छन्
    र म सधैँ रमाउन चाहन्छु
    फ्ल्यासब्याकमा नै एउटा मधुर बालजिन्दगी

    जब म बाबु बनेँ, तब बुझ्दैछु
    नसकिँदो रहेछ तिर्नलाई त्यो भार
    कठिन हुँदोरहेछ ममतामा कसी लगाउन
    र अनमोल हुँदोरहेछ अपनत्वको मूल्य
    तसर्थ
    के टक्राउन सकूँला र शब्दका हार बाहेक
    यो पावन तिथिमा !

    गुनासोको कारोबार- कविता

    गुनासाहरूलाई मुद्दति खातामा नगद जम्मा गरेझैँ गुम्स्याई राख्नेहरू
    चल्ती खातामा जुनसुकै बेला मनोमानी
    कारोबार गरेझैँ गुनासो गर्दागर्दै नथाक्नेहरू
    यी दुवै थरीका मानिसहरू मलाई अचम्म लाग्छ
    किन गरिन्छ गुनासो ? किन गुम्स्याउँछन्
    जो आफ्नो वशमा छैन
    मरिहत्ते गर्ने किन ?

    मेरो बुबाको हत्केलामा ठेला उठाउने हलोको
    अनौ र कोदालोको बिँडसँग
    मैले कहिल्यै गुनासो गरिनँ
    घाँस काट्दा घाँसको मुठासँगै मेरी आमाको हात काटी रगत बगाइदिने हँसियासँग
    मैले कहिल्यै पौँठेजोरी खेलिनँ
    पुर्खाहरूले सदियौँदेखि पसिना बगाई खेतीपाती गर्ने जमिनलाई कहिल्यै बदख्वाइँ गरिनँ
    कुटो, कोदालो, हँसिया, डोको, नाम्लो बरियोलाई
    मैले कहिल्यै तिरस्कार गरिनँ
    थकाउने उकली र पिँडौलामा कैँडा लगाउने
    ओरालीसँग मैले कहिल्यै हिम्मत हारिनँ
    किनकि तिनैले मेरो सपनाको वेगलाई द्रूत गतिमा उचाईमा पुर्याएको छ
    त्यही उचाईले मेरो सपनालाई विपनामा परिणत गरिदिएको छ

    अरुको सफलतामा खुशी हुन नसक्नेहरू
    अरुको दुःखमा उत्सव मनाउनेहरू
    जीवनमा सुखानुभूति कसरी लिने भन्ने जान्न नसक्नेहरू
    गुनासोलाई चल्ती खाताझैँ जुनसुकै बेला
    कारोबार गरेरै, डाहाको भाँडो भरेरै
    कहिल्यै नथाक्नेहरू
    मेहनत गर्नुपर्छ, मानवतालाई केन्द्रमा राख्नु पर्छ
    पटक पटक प्रयास गर्नु पर्छ
    सत्यमा विश्वास गर्न सिक्नु पर्छ
    असफल हुँदा आत्तिने अनि सफलतामा मातेर
    भूँईमा न भाँडामा हुने बानीलाई त्याग्नु पर्छ
    गुनासोको कारोबारलाई सन्तुलनमा राख्नु पर्छ ।

    खर्पनको दाहसंस्कार - गोपालकुमार मैनाली

    प्रशस्तै धान फल्थ्यो
    मकै भटमास किन्नु पर्दैनथ्यो
    बारीको सागपातले
    शहर हरियो हुन्थ्यो
    मिर्मिरेले उठाउँथ्यो
    तारामण्डलले घर भित्र्याउँथ्यो
    आनन्दको जीवन चलेको थियो
    एक्लो छोराले रहर गर्यो
    सबै खेतबारी बेचेर
    विदेश जाने भन्यो
    आँखैअगाडि मेरो खेतबारी –
    ईंटाका टुक्राजस्ता
    खण्ड-खण्ड भयो ।
    अन्तिम बिदाईका लागि
    त्यही प्लटिङका छेउमा उभिएको छु
    मेरो खर्पनको आज
    दाहसंस्कार गरिने भएको छ
    छिमेकी सबैलाई
    भोजखान निम्तो दिएको छु
    विदेशको सपना मैले पनि
    आँखामा सजाएको छु ।

    घाँघर - शौभाग्य शोभा

    नयाँ नाना घाँघर
    घुमी नाच्ने जाँगर
    फरफर घुमाई
    नाच्छु म त रमाई
    गाउँघर डुलेर
    रमाहटमा भुलेर
    कम्मरको लचक
    बस्दै नाच्छु थचक्क
    नयाँ नाना घाँघर
    घुमी नाच्ने जाँगर
    सेतो नीलो बुट्टामा
    तहतह मिलेको
    तलतिर घुँडामा
    मोतीमाला जडेको
    फुर्के धागो काँधमा
    झिलीमिली गरेको
    नयाँ नाना घाँघर
    घुमी नाच्ने जाँगर
    पढी बढी ठूली भै
    सीप सिक्छु सिलाई
    बुट्टाबुट्टी भर्नेछु
    प्रकृति नै मिलाई
    सप्तरङ्गी इन्द्रेणी
    रङ्गीचङ्गी धागोको
    नयाँ नाना घाँघर
    घुमी नाच्ने जाँगर ।

    गन्ध-   श्यामल

    एकाबिहानै जब ओर्लन्छ सूर्य
    दुर्गन्ध बोकेर
    वाफ आउन थाल्छ
    म के उठेको हुन्छु ओछ्यानबाट
    मलाई
    यो वासी सूर्य गन्हाउन थाल्छ ।

    यहाँ फगत सडिरहेका छन् लासहरू
    र, बतास मलामी झैं
    काँधमा बोकेर ल्याउँछ जब मेरो नाकनिर
    यी असंख्य पुस्तकका लासहरू
    यी असंख्य विचारक
    र तिनका विचारका लासहरू
    असंख्य भावना
    र असंख्य सिद्धान्तका लासहरू
    सडेर
    थुप्रा
    थुप्रै -थुप्रा
    र चाङै-चाङ पारेर
    बचत भएको महादुर्गन्ध
    जहाँ जान्छु आइरहन्छ
    जब सुतिरहन्छु रात ठानेर यस समयलाई
    सपना भएर आइरहन्छ
    सास थुनिएला झैं हुन्छ
    छाती निचोरिएला झैं हुन्छ
    ऎंठन भएर सधैं यसरी आइरहन्छ
    यी वलिदानहरू सडेर
    यी जोश र होशहरू सडेर
    एकनासले गन्ध आइरहन्छ
    अचेल भर्खर फक्रँदा कोपिलाहरूबाट
    भर्खर उम्रेका बीउहरूबाट
    भयानक गन्ध आइरहन्छ ।

    आइरहन्छ गन्ध
    र, त्यसको नागपाशभित्र छटपटिन्छु म
    बाक्लो कुहिरोभन्दा बाक्लो गन्धमा
    काग झैं करोडौं नाकहरू
    फगत उडिरहेछन् दिशाबोधविना
    यसबेला आ-आफ्नो नाक बचाउनु छ
    र म मेरो नाक थुन्छु
    कतिञ्जेल थुन्न सक्छु ?

    आमाशयहरू सडे
    बीर्यहरू सडे
    चेतनाहरू सडे
    र अचेल जन्मेका छन्
    दुर्गन्धका अति अग्लो शिखरहरू
    तिनै शिखरको च्यापबाट निस्किने
    बासी सूर्य
    जब पर्छ सुत्केरी आमाको नाङ्गो ढाडमा
    मलाई घिन लाग्न थाल्छ
    एकाबिहानै
    म के ब्यूँझेको हुन्छु नींदबाट
    केही सुँगुरहरूले
    उधिन्दै गरेको देख्छु यी चाङहरू
    वाफ बनेर सडेको आवाज
    मसँग विवाद गर्न थाल्छ
    मलाई यो वासी सूर्य
    अचाक्ली गन्हाउन थाल्छ ।

    यसरी म घेराउमा छु
    घेराउमा छ स्वस्थ मानिसहरूको सानो जमात,
    आकाशबाट आतंक झैं ओर्लेको
    भूँइमा सुँगुरसँग व्यस्त सूर्य
    धेरै दिनको वासी भातको ग्यास उठाउन थाल्छ
    यो सूर्य मलाई धेरै गन्हाउन थाल्छ ।

    स्वघोषित महामहिम - सुवास राई

    जिन्दगीको बाटो सिधै थियो
    घुमाउरो बाटो आफैँले रोजेको हो
    गुन्द्रीमा पनि हर रात मीठो निद्रा पर्थ्यो
    जिन्दगीमा ऐँठन पर्न थालेको त
    औकातभन्दा ठूलो सपना देखेपछि मात्र हो

    खुसीको मैदानमा खेल्नु भनेको
    बाउआमाको काखमा खेल्नु नै हो
    न त्यहाँ कसैलाई जित्नु नै पर्थ्यो
    अरुलाई लडाएर भए पनि जित्नु परेको त
    स्वार्थी संसारमा खेल्न निस्किएपछि मात्र हो

    जन्मदा रुवाई र मर्दा घाट एकै थियो
    पछाडि हेर्न मात्र अगाडि जानु परेको हो
    छोटो जिन्दगीमा दाजुभाइ किन लड्नु पर्थ्यो
    आफ्नो बिर्सी पराइसँग अँगालो हाल्नु परेको त
    सुख-दुःखमा दाजुभाइ देखादेख नभएपछि मात्र हो

    आत्मसम्मान बाजेकै पालामा धेरै थियो
    किनकि बाजेले आफूभित्र खुसी भेटेर न हो
    बाउ-बाजे र देशलाई दोस्दै किन हिँड्नु पर्थ्यो
    अरुको वीरतामा मपाईं भन्दै हिँड्नु परेको त
    नाति स्वघोषित महामहिम बनेपछि मात्र हो ।

    नखिचिएको तस्विर सुन्दर - विश्वेश्वरप्रसाद कोइराला

    गर्छु नसकिने कार्य म
    नभएको कोखमा जन्मिन्छु म
    अर्पण प्रणय म कामिनी अज्ञानकन
    लिन्छु चुम्बन लोपिएको रस अधरलाई
    नजन्मेको छोरालाई माया गर्छु म
    मेरो रगतमा बन्दी भएकी
    दुहिता अजातकन

    नसुनेको सङ्गीत लाग्छ मधुर
    नखिचिएको तस्वीर सुन्दर
    नभएको मित्र अँगाली हिँड्छु
    नभएको शत्रुकन जुझ्छु म

    म नभएको गाउँ रमाइलो हुन्छ
    र भोलिको उषा सबभन्दा गुलाफी
    नदेखेको सपना सुन्दरतम्
    पर्सिको पूर्णिमा चहकिलो
    नदेखेको स्वर्ग झिलिमिली
    उठाउँछु बाहु कातर म
    नभएको स्वर्गमा,
    नभएको देउताकन
    अन्धो नयनबाट
    नचुहुने आँशु
    चुहाउँछु म
    नभएको खाडलमा गाडिन्छु म
    नभएको मृत्युमा सेलाउँछु म
    नगर्ने काम गरिहिँड्छु म ।

    खोला  - श्याम रिमाल

    कुद्दै, दौडँदै, बेतोड मार्दै
    हिँडिरहेछ, बगिरहेछ–
    वर्षौँदेखि, युगौँदेखि कहाँ, कसलाई भेट्न

    भ्याउरे, सामरी वा धोबीखोला
    होला, त्रिशूली वा वाग्मतीमा समाहित हुन
    आफ्नै अस्तित्व मेट्न, पहिचान गुमाउन

    आफ्नो परिचय हराएर
    किन मन लागेको होला
    नदीमा हेलिन
    मनोहरा, हनुमन्ते, कर्मनशालाई

    लुगा धोइरहेकाहरू, नुहाइरहेकाहरू
    नाङ्गै, भुतुङ्गै पौडी खेलिरहेका किशोर–किशोरीहरू
    वा यात्रुहरू, पथिकहरू, पर्यटकहरूमाझ
    अमिट परिचय बोकेको सजीव जस्तो प्राणी भई
    आत्मीयता साटिरहेको छ टुकुचै पनि
    र बात मारिरहेछ, गीत सुसेलिरहेछ

    अनि बगिरहेछन्, बगिरहेछन्
    परिचय हराउन आतुर भएर
    पहिचान त्याग गर्न
    हतार हतार लिखु र तादी पनि

    कठै, बिलाउन खोजिरहेछन्
    कोल्पु, महेश खोला,
    या सलाँखु, फलाँखु,
    वा गमगाड र खत्याड खोला–
    हाम्रो खोला, आत्मीय खोला

    साँच्चै खोला झैँ त्यागी
    संसारमै कोही होला, नहोला ?


     म मेरो स्वयं मालिक - शोभाकर बुढाथोकी

    जन्मजात शौभाग्यशाली
    कसैको दास हुन नसकेको
    आत्मरतिमा रमाउने
    एक स्वाभिमानी नागरिक
    म मेरो स्वयं मालिक

    न चिन्ता छ भोकको
    न रोगको
    न शोकको
    चाहना केवल मोजमस्तीको
    र, आदर्श एउटा अनुपम दुनियाँको

    सपना थियो,
    अनि अझैं छ, मेरो
    सबलाई हरपल रम्न सिकाउने
    सुखानुभूतिको मोक्षमा पुर्याउने
    र, स्वनामधन्य मालिक बनाउने

    आशा छ, मेरो
    सबलाई मनमौजी बनाउने
    करोडपति बन्न उक्साउने
    सुरासुन्दरीमा चुर्लुम्म डुबेको हेर्ने
    र, अलौकिक संसार सृजना गर्ने

    हो, सपना त कति देखियो कति
    कल्पनाको पहाड कति चढियो कति
    सम्पन्नताको, खुसियालीको
    आफ्नै एकलौटी सम्राज्य खडा गर्ने
    र, निर्विकल्प शासन गर्ने

    तर, अनर्थ नलागोस्
    दोष नदेखाइयोस्
    ईर्ष्या नगरियोस्
    सपनामा आखिर मौलिकता हुँदो रहेनछ
    र, विपनाको मालिक बनिदो रहेनछ

    हो, मन लोभी हुँदो रहेछ
    कहिलेकाही पापी बनिदिँदो रहेछ
    मनलाग्दी पनि गर्दो रहेछ
    र, सत्य-असत्यको गुमराहमा
    दुस्शासन बन्ने प्रयत्न गर्दो रहेछ

    त्यसैले सोची-विचारी जुर्मुराउनुपर्छ
    कराउनुपर्छ, जाग्नुपर्छ
    कथंकदाचित उच्श्रृंखल हुनुपर्छ
    र, सबजनको हितमा स्वार्थी बन्नुपर्छ
    मनको मालिक बन्ने दुस्शाहस गर्नुपर्छ

    थाहा छ, मलाई
    विपनाको सपनामा रमाउन खोजेको
    ऐँठनको आक्रमणबाट तर्सिएको म
    र, आफ्नो स्वधान्य मन बरालिएर
    नक्कली मालिकिपन हराउँदो रहेछ

    त्यसैले मनहरू बेलामौकामा
    बेमौसमी वहावमा
    भावनामा तरंगित हुँदा रहेछन्
    र, अस्तित्वको खोजीमा
    मालिक बन्ने बदख्वाईं गर्दा रहेछन्

    तर, हुँदो रहेनछ
    सोचेजस्तो
    भोगेजस्तो
    मान्छेको जिन्दगी
    र, मालिकको दिनचर्या

    यथार्थमा भोक र रोग
    अभाव र विपन्नता
    गरिबी र पछौटेपन
    अन्याय र शोषणबाट गुज्रनु पर्दो रहेछ
    र, मालिकीपन सबले गुमाउँदा रहेछन्

    त्यसैले अलमलमा बित्दोरहेछ जिन्दगी
    आशैआशमा मर्दोरहेछ मन
    र, सपनाको मालिक
    विपनामा दास बन्नु पर्दोरहेछ
    अस्तित्व जोगाउन छट्पटाउनु पर्दोरहेछ

    तसर्थ, आजकाल मेरा मनहरू
    उत्ताउलो बन्न छाडेका छन्
    सपनाको साम्राज्य बिस्तारमा नभई
    विपनाको दास बन्नमा खुसी छन्
    र, मालिकीपन त्याग गर्ने ध्याउन्नमा हुन्छन् ।

    अकाट्य सत्य - राजु प्रधान “हिमांशु”

    तिम्रो नाममा जे छ नि
    मेरो नाममा त्यो नहुँदा
    म सानो कसरी हुन्छु हँ?
    तिमीमा सप्पै तर मेरोमा केही हुँदा
    म गरीव कसरी हुन्छु हँ?
    रगत त रातै बग्छ नि हामी दुवैमा
    मन दुख्ने पारा पनि एउटै एउटै हो नि
    आँखाबाट झर्ने आँसु पनि एउटै एउटै हो नि
    ओठभरि झुल्किने मुस्कान पनि एउटै एउटै हो नि
    तर सधैँ
    तिमीचाहिँ खीरमा
    मचाहिँ पीरमा
    किन हँ?
    तिमी त खुशीहरूले डम्म अघाउँछौ
    म त पसिना बगाउँदै
    जिन्दगीलाई नै ख्वाम्मै काट्ने गर्छु
    अहो!
    बाँचुञ्जेलको भिन्नता
    तिमी र म दुवै लाश बनेपछि
    शङ्ख फुकाइमा कसरी हराउँछ हँ?
    मलामीको हिँड़ाइमा कसरी बिलाउँछ हँ?
    खदा र फूलहरूको भीड़मा
    त्यो भिन्नता कहाँ लुक्छ हँ
    तिमी र म दुवै मुर्दा भएको बेला ?
    जिउँदो छँदा
    तिमी र म निदाउने निद्रा पनि
    कति अलग !
    कति फरक !
    चिरकालका लागि निदाउँदा मात्र
    तिमी र म
    एकै हुँदा रहेछौँ
    एकै देखिँदा रहेछौँ
    त्यस बेला
    पीड़ा पनि एउटै
    दुखाइ पनि एउटै
    अनुभूति पनि एउटै
    पानीमा बगाइ एउटै
    आगोमा पोलाइ एउटै
    बाँसको घोचाइ एउटै
    खरानी पनि एउटै एउटै
    फरक रहेछ त भीड़हरूमा
    भीड़भित्रको तौलाइहरूमा
    भीड़भित्रको जोखाइहरूमा
    हाम्रा भोगाइहरूमा
    हामी माझको
    त्यो भिन्नता
    अथवा
    तिमी ठूलो र म सानो हुनुको
    त्यो भिन्नता
    जिउँदा आँखाहरूले हरदम देखे पनि
    तिमी र मलाई एउटै देख्ने त
    आगो मात्र रहेछ
    माटो मात्र रहेछ
    पानी मात्र रहेछ
    अकाट्य सत्यता पनि यसैमा रहेछ
    अरू त सबै नै
    ढाँटहरू रहेछन्
    छलहरू रहेछ्न्
    देखावटी मात्र
    बनावटी मात्र ।

    भुइँकुहिरो  - ध्रुवराज राई

    खोलै खोलाको बाटो हुँदै
    नदी नदीको राजमार्ग हुँदै
    नागबेली भएर
    यी भुइँकुहिरोहरू
    एक तमास
    हुलका हुल आइरहन्छ

    उर्लिएको अरुण र तमोरको
    वर्षे बैंस हेर्ने
    मेरो जिजीविषालाई
    एकाएक छेकिदिन्छ
    माथि माथि पहाडमा गएर
    एक्कासि ठोक्किन्छ
    अनि लिन्छ समानान्तर आकार
    कहिले पहाडलाई शीरमा
    सेतो फेटा कसिदिन्छ
    कहिले तल गढतीरलाई
    फरिया लगाइदिन्छ

    घण्टौंदेखि म
    डाँडापारिको देउरालीबाट
    नियालिरहेको छु
    चिहाइरहेको छु
    यी भुँइकुहिरोहरू
    कति चंचल
    कति अस्थिर

    ए… भुइँकुहिरो
    बिन्ति छ
    एकैछिन हटिदेऊ न
    आँखाभरि हेर्नु छ
    मेरो मायालुको गाउँलाई।

    सत्यको पूजन - मनिराम मञ्जिल


    उज्यालोमा देखिँदैनन्
    अक्सर सत्यहरू
    अँध्यारो कोठी भित्रका सत्य
    अँध्यारो गल्ली भित्रका सत्य
    अँध्यारो युगका अनाम सत्यहरू
    सबै सधैँ गुमनाम छन् यहाँ
    उज्यालोमा टल्कने झूटलाई नै
    अक्सर सत्य ठानिन्छ

    झूटहरू अक्सर झलमल
    उज्यालोमा नै बोलिन्छन्
    उज्यालो दिनमै नेताले भाषण गर्छ
    उज्यालो दिनमै खान्छन् प्रेमी प्रेमिकाले कसम
    उज्यालोमै बसेर लेख्छ कविले कविता
    उज्यालोमै चाहिन्छ यथार्थ छुपाउन
    श्रृङ्गारको सहारा
    सबका सब उज्याला रङ्गीन झूटहरू
    उज्यालोको भ्रामक आवरणले ढाकिएर सधैँ सधैँ विक्षिप्त छन्
    उज्याला कुनामा यथार्थहरू

    अँध्यारोमा एकदमै निष्पट्ट अँध्यारोमा
    झनै उज्यालो भई चम्कन्छ सत्य
    अँध्यारोमा न लेखिन्छ कविता
    न नेताले भाषण गर्छ
    न कसम खाने भोक लाग्छ अँध्यारोमा
    न चाहिन्छ श्रृङ्गारको सहारा
    न आइलाग्छ दुनियाँका लागि
    राम्रो देखिनु पर्ने बाध्यता
    अन्धकारमा केवल सत्य मात्र घटित हुन्छ
    अँध्यारो कुनाबाटै निस्कन्छ
    पानीको अजस्र मूल
    अँध्यारोबाटै प्रारम्भ हुन्छ
    जीवनको यो विराट अस्तित्व पनि
    उज्यालोमा सञ्चित तिर्सना
    अक्सर अँध्यारोमै मेटिने गर्छन्
    अँध्यारो अन्धकारमै प्रस्फुटित हुन्छ सत्य
    किनकि अँध्यारो एकान्तमा
    एक्लै एक्लै टहलिरहँदा मान्छे
    महसूस गर्छ
    आफूले दिएको अर्थहीन आश्वासन
    आफूले बनाएको खोक्रो आदर्शको पहिचान
    दमित तिर्खा मेट्नुअघि अभिशप्त वासनाले
    जबर्जस्ती खुवाएका कसमहरू
    शब्दको थुप्रो भित्रको कवित्व
    बलिष्ठ तन भित्रको मुर्छित मन र मनोदशा
    आफ्नै जीवनको खोक्रो अट्टाहास
    तस्वीरमा आफ्नै कोमल मुस्कानभित्र
    छुपेको उदास हृदय
    तमाम उपलब्धिबीच
    निरर्थक प्रतीत हुने जीवनको क्षणभङ्गुरता
    प्राप्तिको अविराम शृङ्खलामा
    पाउँदा पाउँदै छुटेजस्तो लाग्ने
    हराएजस्तो लाग्ने, नपाएझैँ लाग्ने
    यो मनको विचित्र मनोदशा
    अँध्यारोमै महसूस गर्छ मान्छे

    उज्यालोमा त मान्छे केवल !
    आँखा अगाडि रहेका इस्पात र हतियारमा
    आफ्नो अहङ्कारको रङ लगाएर
    आफैँलाई बहादुर सम्झन्छ
    बुद्धिमा बिर्को लगाएको भिडले
    ताली बजाउँदा आफूलाई प्रतिभावान् सम्झन्छ
    अपरिचित मुस्कानमा अल्झन्छ
    अविदित तर्कनामै रमाउँछ
    आत्मरतिको उत्साहमै सकाउँछ ऊर्जा
    जत्ति धेरै झूट उत्ति नै ज्यादा
    आफूलाई सफल ठान्छ, सफल मान्छ
    अस्तु बगाउँदै हिँडेको
    वाग्मतीको कालो पानीमा छुट्टिदैन
    सफलता असफलताको रङ
    यथार्थमा बस् सत्य कालो हुन्छ
    अन्धकार परम् सत्य हो किनकि
    यसको आफ्नै अस्तित्व छ तर
    प्रकाश त केवल सूर्यको उपस्थिति मात्र हो
    प्रकाश आफैँमा एक भ्रम मात्र हो
    विशाल ब्राह्मण्डको विराट अन्धकारबीच
    चम्किने क्षीण ताराहरू सकिने छन् कुनै दिन
    तर कहिल्यै सकिँदैन अँध्यारो
    र कहिल्यै हार्दैन सत्य

    खोई यहाँ सत्यका पुजारी ?
    त्यो पत्थर जति नै कुँदे पनि
    जति नै श्रृङ्गारे पनि
    जति नै भरे पनि फूल र बुट्टाहरू
    बडो मेहनतका साथ भरे पनि
    सजीव लाग्ने अङ्गहरू मूर्तिमा
    जति नै पहिर्याए पनि आभूषण र रङ्गहरू
    त्यो पत्थर नै हो
    विकृत पत्थर अशुद्ध ढुङ्गो
    आफ्नो स्वरुप गुमाएको
    आफ्नो स्वभाव गुमाएको पत्थर
    असत्य पत्थर!

    आऊ अब हामी शुद्ध पत्थरको पूजा गरौँ
    नकुँदिएको कसैको हातले
    छिनोको सयौँ प्रहारले विकृत नभएको
    आफ्नै स्वरुपको आफ्नै स्वभावको
    प्रकृतिले आफैँ कला भरेको
    गोला, चेप्टा, थेप्चा जस्ता छन्
    त्यस्तै पुजौँ
    आऊ अब सत्यको पूजा गरौँ।

    मेरी हजुरआमा - भोजराज अर्याल

    अँध्यारो रातमा पनि
    भिर,पाखा र काल्ना छिचोल्दै
    नाति भेट्न घरमा आउँदा
    पूर्णिमाको जूनजस्तै उज्याली
    मेरी हजुरआमा

    झरी, बादल र ओसिलो दिनमा पनि
    रूज्दै, भिज्दै र हिलाम्मे हुँदै
    नाति भेट्न घरमा आउँदा
    दोपहरको घामजस्तै चम्किली
    मेरी हजुर आमा

    थर्थराउने ती हातहरूले
    दिएको एक अम्खोरा पानी
    रित्त्याउँथे
    म प्यासी बनेर
    तर
    माया कहिल्यै रित्तिएन
    सदा भरिएको तलाउजस्तै
    मेरी हजुर आमा

    एउटै थांग्रोमा परी सँगै
    लुटुपुटु भएर सुत्दा
    न्यानो त्यो मायाले हो कि खै
    हात खुट्टा चिस्सै भए पनि
    त्यो मन कहिल्यै चिस्सिएन
    राप र ताप दिन्थिन् सधैँ
    मेरी हजुर आमा

    चिसा दाउरा बालेको त्यो
    धुस्मी पोलेको धुँवाले
    आँखा पिरो भए पनि
    त्यो मन, पिरो
    कहिल्यै भएन
    नौनीजस्तै शितल थिइन्
    मेरी हजुर आमा

    छेवैमा बसेका हजुर बा अनि
    गफिएका मामा हुन्थे
    तम्बाखु तान्दै,
    एक कचौरा तातो चिया
    थमाउँथिन्
    मेरी हजुर आमा

    बाक्लो कोदोको रोटी अनि
    रायोको साग
    मकैको भात, अनि ढिँडो
    हौसेर खाइदिँदा मैले
    खुबै रमाउँथिन्
    मेरी हजुर आमा

    ऊकाली ओराली र गल्छेडा काट्दा सधैँ
    अल्झिएर लड्ला भन्ने पीरले
    तातेताते गर्दै
    मेरा,
    हात पाखुरा समाउँथिन्
    मेरी हजुर आमा

    भोक तिर्खा, दुःख र सुखमा सधैँ
    मलम बनी, शितलता दिंदै
    आफ्नादेखि पराइसम्म
    सम्झिहाल्ने उनै थिइन्
    मेरी हजुर आमा

    वर्षौं बितिगए पनि अझै
    सम्झनामा हरहमेशा
    आइरहन्छिन्
    मेरी हजुर आमा

    सन्चो विसन्चो के कसो छ भन्दै
    धाइरहन्थिन्
    मेरी हजुर आमा

    चाड पर्व र राम रमाइलोमा
    ढलक ढलक ढल्किएर
    सधैँजसो
    नाचिरहन्थिन्
    गाइरहन्थिन्
    मेरी हजुर आमा

    भेट्न भन्दै उनकै सन्तान
    मिठो चोखो मुठीभित्र
    च्याप्दै च्याप्दै मजेत्रोमा
    आइरहन्थिन्
    मेरी हजुर आमा

    धाइरहन्थिन्
    मेरी हजुर आमा ।

    अकिञ्चन ढुङ्गो - घनश्याम कोइराला

    गोडातिनेक फुट अग्लो
    ढसमस्म परेर ठडिएको ढुङ्गो
    नजिकै ढकमक्क फुलेका फूलहरू
    न घ्राण, न प्राण, न स्पर्शबोध, अकिञ्चन
    धेरै ससाना आफन्तहरूबीच ठिङ्ग उभिएको छ
    यो परोपकारी ढुङ्गो
    एकतमास उभिइरहेको छ
    एउटा सज्जनले नजिकैको फूल टिपेर उसको टाउकोमा राखिदिए
    नजिकै शिर निहुराएर ढोगे
    त्यति बेला देवता बनेर मख्ख ढुङ्गो
    केही बटुवाले डोको बोकेरै परिक्रमा गरे
    स्थान देवता बनेर दङ्ग ढुङ्गो
    जोडा तन्नेरी टाँस्सिएर प्रेमालाप गर्दा
    सम्वेदनशील र जिम्मेवार रक्षक ढुङ्गो
    घाँसे दाउरेहरू आँसी उद्याउँछन्
    यन्त्रशाला बनेको ढुङ्गो
    हल न चल
    उभिइरहन्छ यो परोपकारी ढुङ्गो
    घरबाट लखेटिएका
    तिहारमा खोजिने र पूजिने डाँगे
    स्याँ स्याँ गर्दै आयो
    यही परोपकारी ढुङ्गाको एकछेउमा
    एउटा खुट्टा उचालेर तुरुक्क पार्‍यो
    सबै सहिरहन्छ यो ढुङ्गो
    नजिकै बस्तीबाट एउटा मान्छे
    टपरीमा केही फूल, अक्षता र अनेक रङका धजा लिएर आए
    तेलको धुप बालेर गए
    भूत, प्रेत, डाइनी, पन्छाउने शक्ति बन्यो यो ढुङ्गो
    इमान्दार, अटल यो बहुपयोगी ढुङ्गो
    बलशाली भएर पनि अकिञ्चन
    पूजित, अपहेलित, परोपकारी ढुङ्गो !

    पश्चाताप - डिल्ली अम्माई

    पश्चातापले पिल्सिएका मनभित्रका पीडाहरू
    एक हातले दबाएर संसारसँग हाँसिरहेछु
    विश्वासले कसिएका निर्विकल्प आशाहरू
    आवेगको निल्न खोज्दा सुर्केनीले कसिरहेछु

    दर्शनको कोलाहलले हुर्काएका गीतहरू
    व्यवहारका बगैँचामा हराई रहेको देखेँ
    विचारका झोलाभित्र आस्थाका घण्टीहरू
    षडयन्त्रको हथौडीले ठोकी रहेको देखेँ

    देशकै बेहालभित्र
    मेरो मकाएको विश्वासभित्र
    हृदयको शिवलिङ्ग
    धर्मराइरहेछ जीर्णोद्वारविहीन
    ओइलाई रहेछन् चेतनाका कोपिलाहरू
    अस्ताई रहेछ सूर्य मेरो गाउँतिर
    अनि हिमाल निदाई रहेछ
    गद्गद् हाँसी रहेछ अन्धकारमा ।

    पहिचान- मणिकुमार श्रेष्ठ सिजन

    स्वभिमानको भ-याङ लगाएर
    देशलाई छिया छिया
    पारिरहेछन् यहाँ
    धमिरा खोज्न
    पराई घर पस्नु पर्दैन
    श्वास भएका निर्जीव लाशहरूले
    लुछिरहेका छन् मेरो देश

    कहिले कानुनको नाममा
    कहिले अधिकारको नाममा
    कहिले गुट, उपगुट
    राजनीतिको नाममा मौलाएका
    स्वाभिमानी तस्वीरहरूले
    कहिले उत्तरबाट
    कहिले दक्षिणबाट
    तलदेखि माथिसम्मै
    मोटाउने संस्कृतिको नाउँमा

    राजा बलिया भया
    प्रजा बलिया हुन्छ हुन्थे
    शासकहरूले
    न त शासक नै बलिया
    मेरो देशमा
    न त जनता नै
    उपमा फेरियो राजाबाट शासक
    प्रजाबाट जनता
    तर फेरिएन
    जनतालाई रैतिको रुपमा
    हेर्ने नजर

    राजनेताले नै
    शरणार्थी बनाए जनता
    आखिर ?
    नेताले जनता किन्ने नै त रहेछन्
    कहिले दाम दिएर किन्छन्
    कहिले दाम लिएर किन्छन्
    बेचिनु त बेचिएकै त हौँ हामी
    कहिले भोट दिन्छौ
    कहिले उनैलाई पैसा दिएर
    आफैँलाई बेचिदिन्छौँ
    फरक यही न हो
    जनता राष्ट्रप्रति वफादार हुन्छ
    नेता पैसाप्रति

    जसले आली देखेको छैन
    उनै हुन्छन्
    मेरो देशको कृषि मन्त्री
    छानी छानी पठाएका
    जनताले चुनेर
    सांसद अनि मन्त्री बनाउन
    नजरै बेग्लै भयो कि
    उद्देश्य बेग्लै
    विज्ञताको कुनै परिभाषा छैन
    लाग्छ
    हामी दुध बेचेर
    घ्यु खान खोजिरहेका छौँ ।

    हरुवा - डा. पदमराज कलौनी 

    अव्यवस्थित
    दोष समयलाई
    दिई हराएको छु
    घरायसी पराइ काम
    कहिले औषधीमूलो
    कहिले समाज भन्दै
    अस्तव्यस्त भएको छु
    समय मिलाउनै गाह्रो
    समयले कहाँ मिलाउनु
    जान्दा जान्दै
    व्यवहार मिलाउँदा मिलाउँदै
    बटुवाझैँ चौतारो खोज्दै
    नित्यकर्म बिथोल्दै
    कता हराएँ कता !
    अड्कल काट्दा काट्दै
    जिउने कला नजान्दा
    सुख दुःख निर्क्योल नहुँदा
    कोही किन ढिला हुन्छ
    प्रश्न उठिरहन्छ
    सुनसान समय न देखिने
    न स्पर्श हुने न बोल्ने
    आँगनमा कुकुर मौन छ
    आँपहाङ्गामा भँगेरा स्थिर छ
    आकाश थामिएको छ
    तुलसी मठ जमानादेखि मौन छ
    आमाले पानी सेचन गरेकै छ
    दैनिकी खजमजिएको छ
    आवाजविहीन प्रतिध्वनि सुनेर
    समय छैन भन्दैछु
    कसैको रोदन र विलापमा
    मौन छु अचेत गरी
    समय मौन छ, दगुर्दै छ
    समय कसरी कब्जा गरुँ
    म मेरो समय खोज्दै छु
    बहाना फुर्सदको छ
    समय लेख्न सक्षम छैन
    घर छेउमा
    दैनिकी ज्यालादारी गर्नेहरू
    घर जान हतारो गर्दैछन्‌
    समय नपाएको म
    असरल्ल छु
    समय खोज्दै छु
    आशालाई निमोठ्दै
    रद्दी टोकरीमा फाल्दै छु
    अड्डी ऐँठन गर्दै
    झूटो मुस्कान छर्दै
    फुर्तिलो बकवास गर्दै
    तुहेको सपना बाँड्दै छु
    एक हुल मान्छे
    जय जयकार गर्दैछन्‌
    रनभुल्ल छु ।

    म ठूलो मान्छे बन्न सकिनँ- मुक्ति नेपाली

    सानो छँदा हजुरआमाले आशीर्वाद दिनुहुन्थ्यो
    धेरै पढेस्, ठूलो मान्छे बनेस्
    मैले पढेँ तालुका रौँसँगै केही वर्षहरू गुमाएँ
    किताबका ठेलीसँगै ठूलोको परिभाषा खोजेँ
    साँच्चै ठूलो हुनु भनेको कत्रो हुनु हो ?
    पृथ्वी जत्रो ? सूर्य जत्रो ? तारा जत्रो ?
    ठूलो हुनु भनेको धेरै माथि पुग्नु हो ?
    वा
    ठूलो हुनु भनेको धेरै टाढा हुनु हो ?
    धेरैमाथि पुग्न मन लागेन
    मलाई धेरै टाढा हुन मन लागेन
    यो जमिनदेखि,
    यो समाजदेखि,
    त्यसैले त म ठूलो मान्छे बन्न सकिनँ
    के ठूलो हुनु भनेको धन सम्पत्ति धेरै हुनु हो ?
    मैले थुप्रै धनी मान्छे देखेको छु
    मोटाघाटा चिल्लाचाप्ला
    अरुले समय मिलाइदिनुपर्ने अरुले बाटो दिनुपर्ने अरुकै सहारामा हिँड्नुपर्ने
    खाने, पिउने, उठ्ने, बस्ने सब,
    लाग्यो
    अरुको भरमा बाँच्ने प्राणी त परजीवी हुन्
    के जुम्रा जुका किर्ना ?
    ठूलो मान्छे हुनु भनेको त जुका हुनु रहेछ
    जुम्रा हुनु रहेछ
    अनि अरुको रगत चुस्दा चुस्दा ढाडिएर पेट फुट मर्ने किर्ना हुनु रहेछ
    त्यसैले त म ठूलो मान्छे बन्न सकिनँ
    ठूलो मान्छे बन्नु भनेको धेरै कुरा हजम गर्नु रहेछ
    जस्तै
    टेबलमा मासुका चोक्टा,
    विदेशी मदिरा,
    अनि टेबल मुनिबाट कमिसन, ढुङ्गामाटो,
    सरकारी जग्गा, ठूला ठूला कम्पनी,
    हवाईजहाज आदि
    अन्त्यमा अख्तियार, अनि पुलिसको हिरासत, समाजको तिरस्कार
    यसरी ठूलो मान्छे बन्न मुख्य कुरा त लाज पचाउनु रहेछ
    सामाजिक बन्न खोज्ने,
    अरुलाई तुच्छ र आफूलाई उच्च देखाउन नखोज्ने
    आफ्नो काम आफैँ गर्ने
    समानताको वकालत गर्ने
    कानूनलाई धर्म मान्ने त साना मान्छे हुँदा रहेछन्
    मैले आफ्नो धरातल छाड्न सकिनँ
    त्यसैले त म ठूलो मान्छे बन्न सकिनँ ।

    कस्ती हुन्थिन् ती छोरी ? - पवित्रा घिमिरे 

    ती छोरी, जो अन्जानमै प्रेमको गहिरो सागरमा डुबिन्,
    उनको निर्दोष बालापनले बुनेका सपनाहरू,
    प्रेमको प्रज्वलित आगोमा भष्म भए
    कसैसँग नजिकिएर मातृत्वको भारी थामिन्,
    तर समाजले कहिल्यै दिएन तिनलाई त्यो पवित्र परिचय,
    जसलाई समाजले सम्मानको नाम दिन्थ्यो

    आमाको आँचलमा आफ्नो सन्तानलाई बाँधिन्,
    तर समाजले तिनलाई तिरस्कार र अस्वीकार को कठोर नामले सम्बोधन गर्‍यो
    जसलाई माया गरिन्, उसले छोडिदियो हात,
    घरपरिवारले बोक्न नसकेको इज्जतको भारी तिनैमाथि थुपारिदिए
    “यो त चोथाले आइमाई,” “समाजको आँखामा यो एउटा दाग मात्र हो”

    ती छोरी, जसको हृदय प्रत्येक भित्तामा घोचिएको थियो,
    तर लाज र समाजको डरले अश्रुलाई दबाएर बगाउन बाध्य भइन्
    बेसहारा थिइन्, हिरासतमा परेको आत्मा,
    संसारभर खोजिन् कुनै सहारा,
    तर जीवनको हिलोमा न भेटियो कोही,
    न त परैको हात
    विवाह नगरीकनै, चुपचाप थामिन्
    त्यो बालक, बाउको नामबिना टुहुरो परिचय,
    तर समाजले तिनलाई मात्र तिरस्कारको छायाँ दिइरह्यो।
    कतिपटक उनले गरिन आत्महत्याको प्रयास,
    तर जिन्दगीले तिनका आँशुहरूको नदी बगाइरह्यो
    एकदिन
    बाबुआमासँग पुगेर, अश्रुधाराले पखाली सफा गरिन् हृदय, बिन्ती गरिन्
    “माफ गरिदिनुहोस्, गल्ती भयो, म तिम्रै छोरी हुँ, मलाई स्वीकार गर्नुहोस्,
    तिमीहरूको छायाँमा, म आफ्नो भविष्यको निर्माण गर्छु”
    तर बाबुआमाले थुपारिदिए तिनलाई घात,
    “समाज के भन्छ?
    तैँले त हाम्रो इज्जतमा कालो पोतेर, बचाइस् आफैलाई,
    तर डुबाइस् हाम्रो जीवन”

    अब ती छोरीसँग बाँकी थिएन कुनै सहारा,
    आशाका तारा अस्ताए,
    जीवनको निराशामा बग्न थालिन्,
    तर नपाइन् कतै आश्रयको थलो
    अन्ततः उनले अँगालिन् आफ्नो अटल निर्णय, त्यागिन्
    जीवनको यो दुखान्त यात्रा, र प्रसारिन् आफैँलाई अनन्त आकाशमा।
    भइन चिर निद्रामा विलिन।
    जब उनले आफ्नो भौतिक शरीरलाई यही छोडेर संसारबाट बिदा भइन्,
    त्यसपछि तिनलाई संवेदना र सम्झनाको भावनाहरू व्यक्त हुन थाले।
    रंङिए सामाजिक सन्जालका भित्ताहरु
    कतिपयले त उनलाई गाली पनि गरे,
    सबैलाई डुबाएर गई इज्जत फाली भनेर।

    तर सोचौं, कस्ती हुन्थिन् ती छोरी,
    यदि समाजले तिनलाई दिएको भए ‌विश्वासको दियो,
    बाबुआमाले अँगालेर स्वीकारेका भए
    आफ्नो छोरी, समाजको भन्दामाथि राखेका भए उनीहरूको माया, सन्तान लाइ
    कस्ती हुन्थिन् ती छोरी, यदि पाएको भए आत्मबल,
    गर्न सक्थिन् आफ्नो भविष्यको निर्माण,
    र समाजलाई सिकाउँथिन् माया र करुणाको पाठ

    कस्ती हुन्थिन् ती छोरी,
    यदि समाजले खोलेको भए आफ्ना बाँधिएका हृदय,
    दिएर तिनलाई उडानको आकाश, समाजलाई चिनाउँथिन् साँचो सम्मान र मानवता
    तर आज पनि प्रश्न रहिरहन्छ— के गल्ती केवल ती छोरीकै थियो ?
    वा समाजकै कठोरताले बनायो उनलाई असहाय ?
    कस्ती हुन्थिन् ती छोरी,
    यदि समाज र घरपरिवारले प्रेम र सहानुभूतिले आँखा खोलेको भए,
    सन्जाल रंगाउने र न्यायको नारा लगाउनेहरूले ज्यूँदो छँदा दिएको भए न्याय ।


    Reference

    Hindi To Nepali Dictionary Words Starting From बो

    100 Common Nepali Slang Words with Hindi Translation: A Fun Guide to Understanding Nepali Conversations

    Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning

    Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide

    Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use

    Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations

    Daily Use Hindi Sentences for Students with Nepali Meaning

    Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa

    find word you want

    https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cough/

    https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/

    50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

    35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

    Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication

    Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

    Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

    Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

    Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

    Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali

    11 Types of Poetry with Beautiful Short Nepali Poem

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The History of Nepali Poem And Famous Poets of Nepal