‘उडिरहेका छन् यो मेरो मन’ के भयो मलाई,आज यो मन बसमा छैन मेरो पंख त छैन तरै पनि उडिरहेका छन् मन मेरो। उसले मायाका दुई शब्द के राखेथ्यो, यो मन आकाशैमा उड्न थाल्यो। शब्दका प्रभाव यति धेरै रह्यो त्यसैमा यो मन डुब्दै गयो। उसको भनाइले मनभित्र छोयो, आँखामा सपना निरन्तर बड्यो, उसको भनाइले यो मन छोयो। केहिछणको मिठो बोली कानमा आइपर्यो, मनलाई खुशी पारी दङ्ग बनाई गयो। यो मेरो मन आज उडेर गयो। बादलवारी- बादलपारी गरी उडिरहेका छन् यो मन आज चरिसरी। एक ठाउँ पछि अर्को गरी उडिरहेका छन् यो मन आज चरिसरी। मिठा- मिठा भावनालाई प्रस्फुतित गर्न शब्दले पनि दिइरहेका छन् साथ बयान गर्न। हृदयको कुनाबाट आईरहेका छन् मिठो धुन त्यस धुनमा मिसिएका छन् मायाका अविग्न गुण। नाच्न चाहन्छ आफ्नै गीत को धुनमा मग्न बनि, बग्न खोज्दैछन् कसैको हाथमा नअडिने गरी। यो मेरो मन आज उडिरहेका छन् अविरल गतिमा बगिरहेका छन् आफ्नै बसमा छैन आज पंख छैनन् तरै पनि उडिरहेका छन्। Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
दामोदर पुडासैनी किशोर – मसाडा भग्नावशेषमा जीवनको सुगन्ध मन बलियो बनेको बेला नचाउँन सकिन्छ सँसारलाई आफ्नै मुठ्ठिमा निष्फिक्री चाल्न सकिन्छ पाइला घनघोर साँपमार्ग र अग्नीनदीहरूमा र ,खडा गर्न सकिन्छ दरबार शुष्क मरूभूमिका डाँडाहरूमा हजारौ मान्छेका पाइलाहरू सँगै हिँडदैमा सुरक्षित नठान कहिलेकहि जीवनभन्दा मृत्यु प्यारो लाग्ने क्षणपनि आउँनसक्छ सामुहिक यात्रा त्यागेर सामुहिक आत्महत्या सवल र मीठो लाग्नसक्छ बिउ च्याप्न नसक्ने माटोमाथि कसैले ठड्याइदिनसक्छ आलिसान महल उभ्याइदिनसक्छ जतासुकै किल्लाहरू परेड खेल्छन् सिपाहीहरू घामको ओजदार छातिमा समय ढलेपछि भने खण्डहरमा परिणत हुनु बाहेक के गर्न सक्तछ र जीवनले पनि ? बाँच्ने क्रममा कुन अनकन्टारकोलागि खनियो बाटो कहाँ कहाँ खनिए आशाका कुवाहरू कत्ति गरिए अहमका घोषणा जीवनका खण्डहर र भग्नाबशेषहरूसँग सोधिरहेछु घरका केही अवशेषहरू भेटिए केही भेटिँए पुराना लत्ता कपडा भेटिए केही पुराना चित्र,गीत र सँबादका हरफ यिनै साक्षीहरूका माझमा बसेर जीवनको मीठो जूनको रोशनी चाखिरहेछु जीवनका खण्डहरहरू छामेपछि मृत सागरमा पनि एउटा बिरूवा उमार्ने साहस बढेकोछ खण्डहरनै होस् कसैको उपस्थितीले मात्र ब्युँझनेरहेछ जीवन म एक्लै छु र ,सधैं तिमी आउँने बाटोमा आँखाहरू उमारिरहेछु Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
श्याम दाहाल – मेरो रामपुर (मधुपर्क जेठ, २०६८) नागी नाघेर लेकाली कुद्छ कुइरो उँभैतिर चुइँयाँ स्थान पुगी फक्र्यो, पानी बोकेर बादल गज्र्यो धुम्धाम आकाश चम्की बिजुली झिलमिल पानी वर्षेर माटाको, सुगन्धमय रामपुर उच्च पर्वत मालाले, घेरेको छ उपत्यका छाँगा सुन्दर झर्नाले, चारैतिर सुशोभित हिमका कण बोकेर वायु घुम्छ सबैतिर यिनकै काखमा जन्म्यो सुरम्य टार रामपुर लेक-बेँसी घुमी पन्छी यसैभित्र रमाउँछन् प्रकृतिका नयाँ भाका, घर-घरै पुर्याउँछन् यहीँको पञ्चतत्त्वमा, बिउँत्यो सकल जीवन शिवदूती बगिरहन्छिन् जीवन-मरण-साथमा कोसौँ पाउ पसारेर, सुतेझैँ लाग्छ रामपुर सबैका साथमा आशीष दिन्छन् उनका दुवै कर बाहुन, क्षत्री, दमैं, सार्की, घर्ती, कामी, सबैतिर जन्म-मरणका घाट, सबै हिन्दू बराबर दिन-रात खियाएर, पौरखी कर्म-पाखुरा पसिना फल्दछन् मोती भाग्य-रेखा बनी पूरा दायाँ-बायाँ कर्म-नदी, सुसाई बग्दछन् जब लाखौं तरङ्ग फालेर, जगाई दिने रामपुर मनका भाव बिउँझेर, देखिन्छ दिव्य-सुन्दर जेसे, पातले सोलाखर्क, थुम्की ककनीका वन चिसापानी कटुँजेकै, थाप्ला छन् हिमका घर ओर्लिन्छन्, दूधका छाँगा, मनमोहक सुन्दर वन-पात सँगै हिंड्ने काम आफ्नो भए पनि मन बोकेर अर्काको, आफैँभित्र लुकाउने कहाँ-कहाँ ? पुगेका छन् ? गाउँ थियो एकै घर सम्झनाका तरेलीमा उर्लिंदै आउँछ रामपुर Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
राकेश कार्की – गाउँलेहरु रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरु जति जोताए पनि मुस्काउने गाउँलेहरु भोकभोकै बगेका पसिना सुकाउनेहरु मन भरीको दुःख आफैभित्र लुकाउनेहरु तर पनि भोलीको मिठो आशमा रमाएकाहरु एक्कैछीन आनन्दले हातगोडा फिंजाएकाहरु आज अलपत्र यत्र तत्र छरिएका छन् कति त माटो मुनी त्यसै पुरिका छन् ।। मास्न सक्नेले शुरुमै जड्गल मासे पशु पंक्षी अनि वन्य जन्तु नाशे अहिले हेर गाउँलेहरु मासिदै छन् गाउँ गाउँ निसास्सिदै छन् ।। अन्तरिक्षमा घुम्दै मार्ग खोज्नेहरु मङ्गल ग्रहमा पनि पुग्न खोज्नेहरु यहाँ मङ्गल ग्रह पुग्नुभन्दा कति गाह्रो छ नवैवटा ग्रह चढनुभन्दा कति साह्रो छ आफू जन्मेको गाउँ पुग्नलाई आफू हुर्केको आँगन टेक्नलाई भोकै भए पनि हातगोडा फिजाउनलाई निष्फिक्री पसिनाले शरीर भिजाउनलाई ।। निराशा छ गाउँलेसँग अब आशा छैन मेलापातमा रमाउने पिरतीको भाषा छैन पसिना छ गाउँलेसँग गाउँको खेत बाँझो छ विस्तारित परिवार अब सास धान्न गाह्रो छ तरुल भ्याकुर खोतलुँ भने आफ्नो गाउँ छैन अलपत्र शहरको पेटीमा, भीख मागेको हैन बोल्दै बोल्दैन गाउँले खाली मनभित्र रुन्छ गाउँलेले बोले पनि अब कसले पो सुन्छ ।। Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
दामोदर पुडासैनी किशोर – दुनै डाँडाका छालहरूमा कुहिरोको टोपि पहिरेर जूनेली चित्रमा अनुबाद हुन खोज्दैछन् पहाडहरू नदीका महान मूर्च्छनाहरू सुँघेर खोजिरहेछु मैले कसैको पहाडभन्दा अग्लो बिश्वास साँझहरू सर्बस्व सुम्पेर सपना देख्न लालायित छन् जीवन भित्रका पिलपिले ताराहरूको हरेक साँझ पिउँदा पिउँदै थकित बनेको शरीर र, यारचा गुन्भुको जोड घटाउ ठूली भेरीको बहाब जस्तै अनन्त बनेको छ जसरी गुमनाम भागेको पतिको संझनालाई इख्याउँदै पालैपालो जिल्लाका ठूला हाकिमहरूलाई स्कचका बोतलबाट झिँगिन टि सर्ब गरेर ईच्छा आकाँक्षाका सूचिहरू सूचिकृत गराउँन सफल हुन्छिन् सधैं सहरकै सर्बोत्कृष्ठ मैतालु मैसाब शहरका घरका छानामाथि ठड्याइएका लिँगाहरूमा मायाका नेजा फेर्ने हतारो छ हरेक नीला शरदहरूमा लुकिचोरी लाएको मायाको मोल नौ लाख चुक्ता गरेको छ भर्खरै भियाग्राको पारखी यारचा ब्यापारीले हरेक क्षण चुकुलको चाँजोपाँजोमा तम्सिरहेका सरकारी कर्मचारीहरूबाट तल्लो दुनैदेखि उपल्लो दुनैसम्मका होटलहरूमा कटुवाल घोषणामा हुँदैछ पाएको,लाएको र खाएको अमिलो पारदर्शन जागिरमा भर्खर छिरेका लोक सेवाका प्रियपात्रहरू ‘यसमा के छ ?’ र ‘ यो के कुरा हो ? ‘ को जबाफ खोज्दै भौतारिरहेछन् भेरीका किनारहरूमा उता भर्खरैको निर्वाचनमा जोड घटाउ बिगार्न सफल जनप्रतिनिधि दफा उपदफा लेखेको पुस्तक नभेटेर र, कर्मचारीको अपब्याख्यामा धर्मराएर कुर्लेर भाषण गर्छ – तालाकुचि बोक्न्याहरूलेनै यहाँ ध्वस्त पारिरह्याछन् राष्ट्रको ढुकुटी जुफाल ,मोतिपुर र कार्कीबाडाबाट पाचघण्टा पैदल हिंडेर दश रूपैयाँ दाना स्याउ बेचेका रानीसाहेब र मैसाबहरूले झिसमिसेमै सुरूप सुरूप पिएका छन् सिन्के चाउचाउको पिरो झोल र किनेका छन् साँझलाई एक बोतल खोयाबिर्के फर्कदा भेरीको झोलुँगे पुल तरेर माग्दैछन् डाक्टर श्रीकान्त अग्रवालसंग रातमा पसिना आउँने र दिनमा पेट फूल्ने रोगको औषधि भित्रभित्रै उगुच पल्टेका कयौ घाउहरूले टनटनि दुखाइरहन्छ रात र दिनलाई त्यो सबै डाक्टरलाई देखाउन लाज लागिरहेछ उनीहरूलाई जिल्लाको ब्यथा टुँगियोस् जिल्लामै नआओस् राजधानीमा एउटा गहन चिन्तनमा छ सिँहदरबार उता छार्का ताँगसोँग,भिजेर,तिन्जे र सालदाँगमा राज्य पुग्नै नसक्ने निर्णयमा पुग्यो जिल्लाका भद्र भलाद्मी र कर्मचारीको बैठक लावन,शहरतारा र धो तिरबाट झरेका एकहूल घोडचढीहरू भर्खर ओर्लेका छन् पहेला घोडाहरूबाट ठूलीभेरीलाई कहाँनेर थिचेर बिच्छ्याउन सकिन्छ एउटा आरामदायी ओछ्यान कर्के नजरले हेर्दैछन् कुना कुनाका मान्छेहरू हतारमा गाँसिएको एउटा दूनो फनफनी घुमिरहेछ भेरीको अलल्ले छालहरूमा सुनको सिरानीमा मस्त निदाइरहेको राजकुमार सपना देखिरहेछ ब्यूँझेपछि धामी पतुर्ने Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
बि. जे. बान्तवा राई – बुबा! बुबा! कतै तिम्रा सन्तानहरुको मायाबाट ओझेलिएका त छैनौ, तिमी? सबैले आमा सम्झिदा आमासँगै लहरिने बुबालाई बिर्सिंदा, तिमीलाई पिंडाले भतभती पोलेको त छैन? लाग्दो हो तिमीलाई, मैले कहिल्यै माया मेरो सन्तानलाई दिन सकेनछु ताकी आज म मेरै सन्तानको माया बाट, सम्झना बाट क्षितिज भित्र थुनिएको छु। लाग्दोहोला कहिलेकाहीं तिमीले गरेका सबै दुख तिम्रा सन्तानहरुले देखेनन। लाग्दो होला तिमीले एकान्तमा रुएका आँशुहरु कसैले देखेनन अनी तिम्रा ति फोका उठेका हातका निशानीहरु तिम्रा सन्तानले देखेनन, लाग्दो होला कतै तिमी एक्लै त छुईन यहाँ भनेर, सुम्सुम्याउदो होलाउ तिम्रो पिल्सिएको पिठ्युँ, अनी तिम्रा तालुहरु जहाँ सन्तानको भारले किचिएका, अनी पटक पटक कर्तब्य बोक्नुको पिंडा, त्यसै त्यसै छटपटी हुँदोहोला, डाको छोडी रोऊँ भने हुतीहारा भन्ने डर, नरोऊँ भने आज बैंशले डाँडा काट्दा सन्तानहरुले आमा च्यापी बिर्सिंदाको पलहरु तिमीलाई धेरै दुख्दो हो, तिम्रा ति पाईतलाहरुमा अझै ति तिखा काँढाको डोबहरु होलान, हिंजो सन्ताहरुको लागी त्यो उकालो ओरालो अनि भञ्ज्याङ चौतारी गर्दै बिताएका क्षणहरु कतै तिम्रा ति मस्तिष्कमा कालोबादल झैं मडारिएका त छैनन? तर,,,, तर,,,, यदी तिमी यी सोंचहरु सँग निस्सासिएका छौ भने, अनी यी कालामन सँग आत्तिएका छौ भने, आजै त्यागी देऊ सबै ति तिम्रा शंकाहरु, तिम्रा सन्तानहरु तिम्रा लागी मात्र मौन छन, तर तिम्रो महत्व त्यहाँ छ, स्वास र जिबन झैं तिम्रा सन्तानहरु तिमी बिना अनी तिमी तिम्रा सन्तान बिना कहिल्यै कहिल्यै पुरा हुन सक्दैनौ। तिमीलाई मौनतामा छोडेर कहिल्यै भाग्न सक्दैनन तिम्रा सन्तानहरु, उनीहरुलाई थाहा छ, तिमीले दिएको ओतहरु तिमीले पिएका चोटहरु, अनी तिमीले मेटाएका दुखका खोटहरु, तिमी त्यो अँध्यारो जलिरहने एउटा दीप हौ, मोतीको उज्यालो केवल अँध्यारोमा देखिन्छ रे, तिमी त्यो मोती हौ, जुन युगौंयुग असल पिता बनेर उभिएका छौ नि-सन्देह, नि-संकोच अटल सगरमाथा झैं अटल हिमालय झैं Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
हांगयुग अज्ञात – म हङकङ भइसकेछु सातिन र हेप्पीभ्यालीमा दौडिने बाजीको घोडाजस्तै अथवा जमिनमुनि दौडिने रसआवरको रेलजस्तै यो एसियाको विश्वसहरमा श्रम बेच्न दौडेको पनि थाहै नपाई एक दशक भएछ र हिजो बेलुकी जब माया सेलुनमा ऐना अगाडि उभिएँ तब देखेँ फुल्न थालेका रहेछन् कनसिरीमा कपालफूलहरू ओहो ! देश फर्किन्छु भन्दाभन्दै म त हङकङ भइसकेछु, ताइमोशान र मंकीहिलको जङ्गलमा चासोक, साकेवा र ल्होसार मान्दामान्दै बिबिक्यूमा पोलिपठाइएछ उमेरको पखेटा इन्डियाक्लव र कङ्गनको बफेमा पुलाउ र पर्ककरी पस्किादापस्किदै कतिबेला रित्तो पारिएछ मस्तिष्कको प्लेट कतिबेला रेड वाइनले कुल्ला गरिएछ आदर्शको फट्फटाइरहने जिब्रो कतिबेला बियरले पखालिएछ देशको तस्बीरलाई मनको कुनाबाट र कतिबेला टोस्ट गरिपठाइएछ कायाकल्पको नाममा आफ्नो सर्वहारा पृष्ठभूमिको गरूङ्गो मुट्ठी ! ओ, मेरा साथीहरू हो, युनलङ थियटर र चुनवान टाउनहलमा होस् अथवा कम्युनिटी हल यायातेइमा होस् थाहै नपाई मैले बिर्सेछु मेरो रगत, पसिना र आँसु ! अथवा, नाचघरमा कम्मर मर्काउँदामर्काउँदै कतिबेला भुाडीले आकास ताक्न थालेछ र आँखाका चेपबाट रेखाहरू तन्किन थालेछन् मार्कसिक्सको सपनाबाट ब्यूँझेर हिजो बेलुकी जब उभिएँ माया सेलुनमा तब देखेँ घामले डढेको आफ्नो दिक्कलाग्दो अनुहार ओहो ! देश फर्किन्छु भन्दाभन्दै म त हङकङ भइसकेछु, ओ, मेरो देश म हङकङ भइसकेछु तेसैले मेरो काखीमा हिजोआज डुङ्डुङ्ती समुद्र गन्हाउन थालेको छ मेरो नङमा गन्हाउन थालेको छ लापसाप मेरो हातमा गन्हाउन थालेको छ इनामेल मेरो ढाडमा गन्हाउन थालेको छ बासीभात मेरो खुट्टामा गन्हाउन थालेको छ बाह्रघण्टा मेरो मुखमा गन्हाउन थालेको छ तिउलेलम्बू मेरो छातीमा गन्हाउन थालेको छ नेपोइः हो, म हङकङ भइसकेछु ! मेरो सिङ्गो शरीरमा गन्हाउन थालेको छ आइडी, तेसैले ओ मेरो देश अब इमेल नगर तिमी नपठाऊ तिम्रा दुःखहरू यहाँ तिम्रो गोर्खा छोरा यहाँ तिम्रो कवि छोरा हङकङ भइसकेको छ र तिमीले लाहुरेको गफमा सुनेजस्तो यो हङकङ साँच्चैमा सुन्दर र सुखी छैन, यहाँका अग्ला भवनहरूमा धेरै होंचा विचारहरू बस्तछन् यहाँका सफा सडकहरूमा धेरै फोहरी नियतहरू हिँड्दछन् तेसैले ओ मेरो देश तिम्रो इमेलको जवाफमा म सुखहरू पठाउन सक्दिनँ म शान्तिहरू पठाउन सक्दिनँ मात्र पठाउन सक्छु अहङ्कार, इर्ष्या र जलनहरू ! हो, कति चाँडै म हङकङ भइसकेछु देश फर्किन्छु भन्दाभन्दै देशको नामै बिर्सिसकेछु म त हङकङ भइसकेछु म त हङकङ भइसकेछु । TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
मनु लोहोरुंग – उपासना खण्डवृष्टिको सुगन्धित अत्तरको मोहमा लट्ठिएर निशाले नछोडेका बादशाहहरुको भीड कुल्चेरै यो पवित्र-भूमिमा अनुरागको तोरण टाँग्न आउँनु पर्छ जसरी पनि तिमी आउँनु, प्रिय ! अभ्यर्थी भएर तिमी मार्फत अमरलोकमा यो हृदयउद्गार चढाउँछु सबै अनुयायीहरुको आलिंगनमा हरदम बस्नु युग-युग, अश्मिभूत भएर प्रिय ! म यही चाहन्छु एक बराबर हजारौं सपनाहरु टुटेर के भो र ? जीवन्त मानव-मनोहर हाँस्न प्रतिबोधी लोकलाई अलौकिक अप्सानी चढाउँन चाहन्छु। प्रिय ! म यही अर्जी गर्छु युगान्त पछिको युग फेरि मधुमास बोकेर निहारिका उदाँउदो छ l इज्जतका निशानीहरु उत्खनन गर्न, उराठ खडेरीमा सागर उरालेर गोधुलिको असिम प्रेम लिएरै आउँनु प्रिय ! त्यसैले असमिपक युगिन सहगामी हुन तिम्रै समीभूतमा राख्न दर्शन कुँद्ने हतियार बोकेर तिमी एकलव्य, जगको अभिमुख रहन, तिमी आउँनु पर्छ जसरी पनि आउँनु ! प्रिय ! म यही उपासना गर्दछु !!! Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
शशीकला तिवारी – आकाशको खोजीमा निस्किएँ स्यानो छँदा म सपनामा उड्ने गर्थेँ एउटा रूखबाट अर्को रूख एउटा पहाडबाट अर्को पहाड बादलसितै माथिमाथि उडिरहन्थेँ तर… तर पछि एकाएक मेरो उडान रोकियो मैले उडेको सपना देख्न छोडेँ तर मैले आफ्ना पखेटाहरूलाई कुँजिन दिइन जतनसाथ राखिरहेँ, ती आफ्ना पखेटाहरूलाई एक दिन अनौठो भयो… घाममा सुकाएका पखेटाहरू हेर्दाहेर्दै आफैँ उड्न थाले माथिमाथि आकाशमा फन्को लगाउन थालेँ कावा ?… रगन थालेँ आश्चर्यचकित भएर उडिरहेका आफ्ना पखेटाहरूलाई मैले हेरिरहेँ आँखा झिमिक्कै नगरी एक टक हेरिरहेँ हेर्दाहेर्दै तर केही वेरमै केही समयमै पखेटाहरू एकाएक अचानक काटिएको चङ्गाजस्तै मेरो अगाडि आएर फ्यात्त खसे काँपिरहेका भयभित ती पखेटाहरूलाई मैले विस्तारै उठाएँ अनि सुम्सुमाएँ … ढाढस दिएँ.. आतङ्कित पखेटाहरूलाई विस्तारै विस्तारै सुम्सुमाएँ र सोधेँ… किन डराएको ? किन फर्किएको आज यति छिट्टै किन फर्किएको ? चिरबिर चिरबिरको आवाज निकाल्दै पखेटाहरूले कम्पित स्वरमा भने अब हामी यो आकाशमा उड्दैनौ यो विषाक्त भयावह आकाशमा अब कहिलै कहिलै उड्दैनौ हामीलाई एउटा अर्कै आकाश दिनोस् एउटा यस्तो आकाश जहाँ मृत्युको जाल थापिएको नहोस् जहाँ गुलेली र बन्दुकको गोलीको त्रास नहोस् भयमुक्त भएर उड्न सकियोस् हामीलाई स्यानै भए पनि आफ्नै एउटा स्वतन्त्र आकाश खोजिदिनोस् जहाँ स्वतन्त्र भएर निश्चितताका साथ उड्न सकियोस् यो सुनेपछि म स्तब्ध भएँ मेरो उड्ने रहर पनि एकाएक पग्लिएर आँखाबाट खस्यो मैले आफ्ना ती पखेटाहरूलाई चुपचाप ब्यागभित्र राखे र नयाँ आकाशको खोजीमा निस्किएँ । Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
कबिन बस्नेत ‘सिउँडी’ – कालो गुलाब मेरो कोठाभित्र एउटा अँध्यारो कुनामा जहाँ पुग्दैन घामको जीवनदायिनी किरण हुर्किएको छ – एउटा कालो गुलाब । मध्यरातमा, यस कालो गुलाबबाट प्रवाहित हुन्छ – बारूदको गन्ध ! र, उत्निखेरै अपहरित भईसक्छ मेरो मिठो निद्रा र सपना पनि । यस कालो गुलाबको काला पत्रदलभित्र सलबलाइरहेछन् – युद्धका किराहरू, निशाचरका भ्रुणहरु, षड्यन्त्रका जालो बुन्दैछन् यसभित्र अँध्यारो पिउँदै प्रत्येक रात, ढाडिरहेछन् – मानवताका भ्याम्पायरहरू ! प्रत्येक बिहान यस कालो गुलाबमाथि जब शीत बनेर छचल्किएको देख्छु – बलात्कृत किशोरीहरुको आशुँ म तर्सिएर भाग्छु कोठाबाट र, दिनभर हराउँदै जान्छु फुटपाथमा असङ्ख्य पैतालाहरूबीच । सोच्दै छु , यो कालो गुलाब कोसेली दिऊँ कि ! कुनै वेश्यालाई , जो आफैं यो कालो गुलाब जस्ती होस् , जो साँच्चिकै जन्मेकी होस् कालरात्रीको गर्तबाट, जो प्रतीक होस् जूनको कालो दागको र, जसमा गाभिउन् मेरो अखण्डित प्रेम अनि, स्खलित भईदेउन् तृष्णाको कालो रूप र जुगुप्साबोध ! यतिखेर , मेरो हात अग्रसर भइरहेछ , त्यो कालो गुलाब टिप्न तर, डर लाग्छ – कतै सङ्क्रमित नभइदेओस् मभित्र – एउटा कालो अस्तित्व ! Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
दियेश रत्न शाक्य – जाजरकोट सुन्दैछु जाजरकोट भोकैभोकले गल्दैछ रोगैरोगले ढल्दैछ र पनि चिन्तामग्न छैनन् शोकमग्न छैनन् सिंहदरबारका कोटधारीहरू के उनीहरू म्याद गुज्रेका जनता हुन् खाद्य संस्थानको डिपोमा सडेका चामल जस्तै एक झोला यही चामल पाउने आशामा उनीहरू आफ्नो तागत बिकासे नारा खोप्न चट्टानसंग जुद्धै सकाउँछन् र बचेका केही तागत कोशौ पर यार्चाको खोजीमा पहरासंग लडीबुडी गर्दै सकाउँछन् र यतिखेर महामारी बस्तीबस्ती पसिसक्दा पनि प्रत्येक छिमेकबाट दिनहुुँ लास उठाइ सक्दा पनि एक चक्की सिटामोल एक पुरिया जीवनजल प्राप्तिको अधिकारको लागि उनीहरूको बुलन्द आवाज घन्किएको छैन आग्रहको चिच्याहट सुनिएको छैन यस्तो लाग्छ दिनदिनै ढलेका आफन्तजनको शोकमा रुँदारुँदै तिनका आवाज सुकेका छन् अथवा समबेदनाको बजारमा सान्वना पिएर जिउने उपाय उनीहरूले जानेका छन् यो पनि हुनसक्छ उनीहरूलाई थाहा छ जाजरकोट सुदुर पश्चिम हो जहाँ हरेक दिन यो देशको केवल अस्ताउने घाममात्र झुल्किन्छ यही नै धमिलो घाम ओढेर भएपनि प्वालैप्वाल परेका छतबाट चुहिरहेको रातको चिसो छलाउने जोहोमा आफूलाई अलमलमा राखेर हरेक दिन पीडा भुल्न बाध्य छ जाजरकोट Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
वैद्यनाथ उपाध्याय – समयले लेख्ने छ इतिहास तिमी आफैंलाई विशिष्ट भाषासेवी भन्न रूचाउँछौ नेपाली भाषाको विशिष्ट लेखक कहलाउँछौ आफैंलाई समाज सेवक भनि ठान्छौ। तिम्रो भाषा सेवा केवल तिम्रो बोलिमा मात्रै सीमित छ तिम्रा लेखहरूमा कुनै दर्शन भेटिदैंन समाज सेवा त तिम्रो भाषणबाजी मै संकुचित छ। भाषालाई त तिमीले आफ्नो घरबाट निष्कासित नै गरिदियौ तिमीले आफ्नो घरमा न त पत्र पत्रिकाहरूलाई नै कुनै स्थान दियौ न त संतान संततिहरूलाई भाषा पढन नै लगायौ साहित्यको नाउँमा तिमीले जथाभावी कोरेका काला अक्षरहरू मात्रै भेटिन्छन न साहित्य पढने, चर्चा गर्ने तिम्रो कुनै आदत नै छ छ त केवल अरूको कुत्सा रटने चिराचरित तिम्रो बानी। तै पनि तिमी समाजमा अति विशिष्ट कहलिन्छौ भाषा प्रतिको तिम्रो प्रेम अब चौकी र पदमा मात्रै देखिदैंछ। समयले लेख्ने छ त्यस्को पनि इतिहास बदल्नेछ तिम्रो विशिष्टताको परिभाषा। Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
कति शुन्य हुदैछ यो भुगोल रुमल्लिदैछु एकान्तमा पुरा खाली…खाली छ मन ॥ देख्दैछु अवशेषका रुपमा केही चुरोटका ठुटाहरु कंकिटका तिखा टुक्राहरु भाँचिएका सानाठूला सिन्काहरु फ्याकिएका कुल्चिएका धुलाका कणहरु सदियौदेखी घोषित निर्जिव ॥ अँ केही पर अस्तित्वको लडाइमा संघर्षरत केही जिवांशहरु घिसारिइरहेको एउटा गड्यौला एकहुल कमिलाका ताँतिहरु मस्त निद्रामा अलमस्त झुसिलकिराका छायाहरु ॥ फेरी नजिकै नियाले आफैभित्र बढ्दै गएको चकमन्नता छोप्दै गइरहेको अँध्यारोपना रित्तिदै गइरहेका आशाहरु अनी सल्किदै गएका खिन्न मनहरु ॥ अचम्म ! स्पष्टित हुदैछ एकहुल आकृती पुर्ण भएर पनि अपुर्ण शक्ति छ साधन छैन आशा छ सपना छैन प्राण छ अस्तित्व छैन शब्दहरु छन् सम्मान छैन मजबुत काँध छन् आधार छैन आशाविहिन एक जमात ॥ कमिलाको एकता झुसिल्कराको पुतली रुपान्तरण आशाका धुमिल बिम्बहरु तर कहाँ छ हामीमा त्यतीपनी कती निरिह बन्दैछौ/ बनाइदैछौ हामी युवा भविष्य निर्माणका महान शिल्पकार पालिरहेका छौ शक्तिसम्पन्न कायरता सधै सघर्षरत छौ निश्वास कै लागि खै त अरु आशा सपना र उदेश्य मैलै एकान्तमै भोगे अघोषित पराजयता हामी सवका सब अघोषित निर्जिव तनहरु ति कंकिट, सिन्का र धुलोभन्दा फरक स्वघोषित लाचार मुर्तिहरु ॥ Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
डा. मोहनप्रसाद जोशी — बिम्ब बनाई बसाउन तिमी आकाशबाट ओर्लियौ बर्सात भई | मैले तिमीलाई छतबाट झरेको पानीको रूपमा हेरेँ, तप-तप खसेका थोपाका रूपमा सुनेँ र माटोलाई भिजाएर मीठो गन्ध नाकमा पु र् याउने प्रथम वृष्टिको रूपमा सुंघें | तिमी पर्वत शिखरमा बस्यौ हिमानी भई | मैले तिमीलाई चन्द्रकिरणमा चम्किने पहाडको पोसाकको रूपमा हेरेँ, पहिलो घामको झुल्का पर्दा माछापुच्छ्रेलाई हेम दृश्यमा परिणत गरी अविस्मरणीय बनाउने शृङ्गारको रूपमा देखेँ | तिमी पृथ्वीमा फैलियौ रसिक भई | मैले तिमीलाई निरन्तर बगिरहने नदीको रूपमा देखेँ र तिम्रो किनारमा हिँडेर आनन्दका क्षणहरु लुटें, अन्नपूर्णालाई आफूभित्र उल्ट्याई बसाउने बेगनास तालको रूपमा हेरेँ, र सबै सरिता समेट्ने सागरको रूपमा भेटें | तिमी मनभित्र बसिसकेका छौ सञ्चित भई | मलाई थाहा छ प्रिय, तिमी अहिले फेरि सागरबाट उडी बर्सातको बादल बनिरहेछौ र मेरो घरतिर आइरहेछौ | म प्रतीक्षारत छु, तिमीलाई छतको बलेंसीबाट झरेको हेर्न, थोपा बनी तपतप खसेको सुन्न, माटोसित मिलेको गन्धको रूपमा सुँघ्न, पुलकित हुँदै जीउमाथि बर्साउन र बिम्ब बनाई मनमा बसाउन | Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
कुन्ता शर्मा – सपनाहरू भयावह हुन्छन् किन ? भयभीत–भयभीत भएर विषम बिपनासित थाकेर फत्रक्क गलेर पल्टिएपछि निद्रादेवीको काखमा बिर्सिएर विसङ्गतियुक्त बिपनालाई सुन्दर शीतल स्वप्नलोक भेटिए हुने बिपनालोकका झञ्झावातहरू मेटिए हुने । हत्या, हिंसा र त्रासदीयुक्त वर्तमानहरू भोगेर युद्ध, रक्तपात र आर्तनादहरू खेपेर थाकेको आतङ्कित विश्वप्राङ्गणमा आजित भएर अत्यासलाग्दो बिपनासित सपनामा राहतको परिवेश भेटिए हुने बिपनालोकको निराशा मेटिए हुने । जँघारजस्तो जाग्रत् अवस्था छाडेर आक्रान्त भएर लथालिङ्ग बिपनासित प्रवेश गरेपछि स्वप्नलोकमा दुखेर मरणान्त भएको चेतना पुगेपछि विश्रान्तिको स्वप्नमन्दिरमा मन कष्टका पहाडहरूले नथिचिए हुने हृदयकुञ्जमा चिन्ताको तिर नरोपिए हुने । बलात्कृत विखण्डित बिपनासँग थाकेपछि सन्त्रासको डढेलोले नराम्ररी पाकेपछि अप्रिय अत्यासलाग्दा चित्रहरूले बिपनालाई नपछ्याए हुने प्रस्तर स्वप्नलोकमा काँडा नओछ्याए हुने । दिनदिनै अनुहार फेरेर आउने समस्याका तिरहरूले हरेक घुम्ती र दोबाटामा भेटिने चिन्ता र पीरहरूले कतै चिमोटिएर कतै लुछिएर भुतुक्क दुखेको मन भतभती पोलेको छाती फत्रक्क गलेको शरीर जब पस्रन्छ गहिरो नीँदको दुनियाँमा त्यतिखेर त्यो सपनाको स्पर्शहीन लोक सुन्दर शीतल भए हुने बिपनाको व्याकुलताले नछोए हुने । बारूदको धुवाँभित्र हराएका गाउँ र सहरहरू दन्किएका डढेलाहरू अनि भताभुङ्ग भएका रहरहरू बर्बरताका हृदयविदारक दृश्यहरू मूच्र्छित–मूच्र्छित हुन पुग्दै समस्याका पहाडहरूले ङ्याकिएर बिपनामा निद्रापछि शान्त प्राङ्गण भेटिए हुने निराशाको कालो छाया मेटिए हुने । आजित भएर लथालिङ्ग बिपनासित सिरानी हालेर अस्तव्यस्ततालाई बल्लतल्ल आएको एकझप्को निद्रा आँखाहरूसँगै बाँधिएपछि चेतना अवचेतनामा फेरिएपछि प्रवेश गरेपछि स्वप्नलोकमा शरीर निचेष्ट भएपछि पनि रातको पर्दामा सपनाको पोखिँदै जान्छन् अनिष्टतम दृश्यहरू घेरिँदै जान्छन् भयावह ध्वनिहरू अनिच्छित युद्ध र सन्त्रासहरूले पछ्याउन छाड्दैनन् किन ? सपनाहरू भयावह हुन्छन् किन ? सपना त आखिर सपना न हो के जान्छ कसैको त्यो त छहारीमुनिको चौतारीझैँ भए हुने त्यो त वसन्तको सुन्दर फूलबारीझैँ भए हुने डढेलोजस्तो परिवेशले पोलेको मनमा उमङ्गका तरङ्गहरू डुलिदिए हुने प्रसन्नताको इन्द्रधनुष झरिदिए हुने तर सबै–सबै कल्पना हुँदै छ विकृतिले बिपनाको सपनालाई छुँदै छ सबै कुरा उस्तै–उस्तै छ सपना पनि बिपनाझैँ दुरूस्तै छ चाहना तनावमुक्तिको, चाहना आत्मसन्तुष्टिको बलात्कृत, तिरस्कृत हुन्छन् किन ? सपनाहरू भयावह हुन्छन् किन ? रातहरू अझ प्रपातयुक्त बन्दै छन् कोमल स्पर्शहरू अझ आवेगयुक्त बन्दै छन् मगनमस्त छन् सबै आफ्नै धुनमा ग्रहण लागेको छ सद्भावनाको जूनमा छाडिदिऊँ बिपना त जे छ जस्तो छ पुगेपछि विश्रान्तिको स्वप्नमन्दिरमा दुखेको चेतनालाई, घाइते भएको मनलाई शीतल लेप गरिदिन पाए हुने तर उपेक्षित गर्दै सुख–शान्तिका तिर्सनाहरू अवसादका छायाहरू निरन्तर पछ्याइरहन्छन् किन ? सपनाहरू भयावह हुन्छन् किन ? TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
कुन्ता शर्मा – आमा कवि ! सजिलो हुन्छ आमाको प्रशंसामा कविता लेख्न उत्कृष्ट शब्द संयोजन गर्न भावविह्वलताको प्रदर्शन गर्न हो साँच्चै नै सजिलो हुन्छ आमाको महानताको कविता लेख्न । आमाका चाउरी परेका गालाहरू आमाका धूमिल हुँदै गएका आँखाहरू आमाका श्रवणशक्ति हराउँदै गएका कानहरू आमाको सन्तुलन गुमाउँदै गएको शरीर अनि स्मरणशक्ति हराउँदै गएको मस्तिष्क त्यतिबेला साँच्चै नै गाह्रो हुन्छ अति नै असहज हुन्छ कवि ! स्नेहपूर्वक छेउमा राख्न आमालाई । आमाको गर्भावस्थाको सकस आमाको कठिन प्रसववेदना आमाले आँखा चिम्म गर्न नपाएको रात आमाले थकाइ मार्न नपाएको दिन अहिले कल्पनामा पनि नआउन सक्छ तिमीलाई अनि टाढै राख्न खोज्छौ तिमी जर्जर भएकी असक्त आमालाई । चाउरीले पुरिएका आमाका गालाहरू अस्थिपञ्जर भएको शरीर यौवनका मधुर आकाङ्क्षाहरू सबैसबै नै पोखिए तिमीमाथि नियास्रो, फुस्रो अनि एक्लो जीवनका कष्टकर क्षणहरू बिर्सँदै छोराको कोमल र मृदु मुस्कानमा कसरी जीवन उत्सर्ग गरिन् आमाले आफ्नो लावण्ययुक्त यौवन कसैको न्यानो अँगालोमा रमाउने चाहना हजारौँ इन्द्रधनुषी सपनाहरू कसरी तिलाञ्जली दिइन् आमाले । फर्केर आउँदैन बितेको समय नदीमा बग्दै गएको छालजस्तो आमाले आफ्नै बारेमा सोचेको भए आफ्नै सुखमा मात्र रमाएको भए के हुने थियौ होला आज तिमी ? लुटाहा, फटाहा या हत्यारा हली, गोठालो या चाकर आफ्नो जीवन उजाडेर सारीको सप्कोभित्र तिमीलाई नअटाएको भए छोराछेउ बग्दै आउने आँधीबेहरीहरूबाट पहाडजस्तो उभिएर नजोगाएको भए के हुने थियौ आज तिमी ? त्यसैले कवि ! सुन्दर शब्दहरूको संयोजन गर वाक्यवाक्यमा भावुकता भर रसाऊन् पाठक र श्रोताका आँखाहरू बढून् मुटुका स्पन्दनहरू सजिलो बाटो चुन कवि ! साँच्चै नै गाह्रो हुन्छ वृद्धा आमालाई स्नेहको छहारी दिन बरु एकदमै सजिलो हुन्छ आमाको महानतामा लच्छेदार कविता लेख्न । कवि ! मृत्यु भएपछि आमाको सजिलो हुन्छ मूर्ति बनाउन बिहानैपिच्छे फूल चढाउन, धूप बाल्न आमाको नाममा सानो–सानो पुरस्कार स्थापना गर्न श्राद्ध गर्न अनि गतिला–गतिला पिण्ड बटार्न काजक्रियामा खर्च गर्न दान गर्न, भागवत पढाउन सजिलो हुन्छ सबै कुरा गर्न तर निकै गाह्रो हुन्छ असक्त आमालाई आफ्नो सामीप्य दिन आमाका सुखदुखका दुईचार कुरा सुन्न आमाको जर्जर शरीरलाई सुम्सुम्याउन आमाका गालाहरूमा स्नेहको चुम्बन गर्न आमाका थोते गिजाहरूमा हाँसो छर्न कवि ! बरु साँच्चै सजिलो हुन्छ आमाको महानता बखानेर कविता लेख्न । Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |