पञ्च विस्मृत -यो शहरमा, दिव्य गिरी - छेपाराको घर,कृष्णकला वनेम - गीतवैद्यनाथ उपाध्याय - दृश्य

  यो शहरमा
पञ्च विस्मृत -
 
यो ठूलो शहर
 
जहाँ, घर जस्ता कुनै घर छैनन्
 
मान्छे जस्ता मान्छे छैनन्
 
सडक जस्ता सडक पनि छैनन्
 
विजुलीबत्ती केही छैनन् ।

 
यो ठूलो शहर
 
जहाँ, परिवारको एक मुट्ठी माया छैन
 
एक दूर्लभ रातको लागि
 
सखिको आकारहीन छायाँसम्म छैन
 
हतारको एक पल बिताउँने
 
सिकुवा र पिंढी केही छैनन्
 
 
 

यो ठूलो शहर
 
त्यसै मात्तिएको मैमत्ता शहर
 
जहाँ, म बर्षौंदेखि
 
सिर्फ एक जुनीलार्इ बस्ने घर खोजिहेछु
 
यो मन छुने मान्छे खोजिरहेछु
 
एक जिन्दगी हिंड्ने सडक खोजिरहेछु
 
हो, आफ्ना भोलि ऒझ्याउँने ल्याम्पपोस्ट खोजिरहेछु
 
यो शहरमा ।
 
दम्माम साउदी अरेबिया सेप्टेम्वर १० २०११, भदौ २४ २०६८ शनिवार
 
 
छेपाराको घर
दिव्य गिरी -
 
छेपारो दिनभर आहाराको खोजिमा भौंतारिन्छ
 
जब थकाईले लखतरान हुन्छ
 
तब साँझपख आराम गर्न बास खोज्छ
 
अनि मात्र उसलाई घरको सम्झना आउँछ
 
 

तर उसको घर नहुँदा दुखित हुन्छ
 
चकमन्न साँझ परेपछि कराउन थालेका
 
झयाउँकिरीको विरत्त लाग्दो स्वर
 
भ्यागुताहरूको टर्र..टर्र..टर्र आवाज
 
र श्यालहरूको एकोहोरो क्रन्दन
 
सुनेर छेपारो आहत हुन्छ
 
अनि ऊ आफैसँग प्रण गर्छ
 
भोलि त घर बनाउँछु बनाउँछु
 
अनि आफैलाई ढाढस दिन्छ
 
मेरो पनि भोलि त घर हुन्छ ।
 
 
 

छेपारो घर बनाउने कल्पना गर्दागर्दै
 
दिनभरको थकाईले भुसुक्क निदाउँछ
 
र रातभर घर बनाएको सपना देख्छ ।
 
 
 

जब झलमल्ल उज्यालो हुन्छ
 
छेपारो फेरि आहाराको खोजीमा दौडिन्छ
 
र अघिल्लो साँझ गरेको प्रण भुसुक्क भुल्छ
 
घर बनाउने कुरा उसको मनबाट
 
साँझपख हराएको रुखको छायाजस्तै हुन्छ ।
 
 
 

हिजोआज म गाउँ-घर र शहर बजारमा
 
अनगिन्ति छेपाराहरू देख्छु
 
जो सधैं घर बनाउने कसम खान्छन् ।
 
 
 

छेपाराहरूको जुलुस
 
सधैंजसो झण्डा ठडाएर
 
सधैंजसो ठूलाठूला तुल बोकेर
 
नारा लगाउँदै
 
सडक, गल्ली र चोकचोकमा हिँडिरहेका हुन्छन् ।
 
 
 

छेपाराहरू कालो मोटरमा
 
कालै शिसाले छेकिएर
 
सिहँदरवार भित्र-वाहिर आवत-जावत गरेको भेटिन्छ
 
खुलामञ्चमा भाषण गरेको पनि देखिन्छ
 
यस प्रकार हिजोआज म
 
जहिँतहिँ छेपाराहरू मात्र देख्छु
 
कहिलेकाहीँ म स्वयम् तिनीहरूको भीडमा
 
च्यापिएर हिँडिरहेको हुन्छु
 
र तिनीहरूको भीडभित्र हराइरहेको हुन्छु ।
 
 
 

सत्य भन्नुपर्दा यथार्थमा
 
छेपारो पीडित छु म ।
 
 
 

हिजो साँझ हो
 
मैले छेपाराहरूको यौटा ठूलै झुण्डलाई
 
विशाल भवनको मूल ढोका अगाडि
 
घर बनाउने मुद्धामा झगडा गरिरहेको देखें
 
तर महाशय,
 
यो कुरा पक्का छ
 
छेपारोले कहिले घर बनाउँदैन
 
ऊ प्रत्येक साँझ
 
भोलि घर बनाउने किरिया मात्र खान्छ ।
 
टीकाथली-५, ललितपुर
 
भाद्र ७, २०६८
 
 - गीत
कृष्णकला वनेम
अधुरो भो अपुरो भो ,जिन्दगी यो किन?
 
आज आफ्नै जिन्दगानी ,भार बन्यो किन?
 
भाग्य खोजी हिड्दा हिड्दै ,थाकी सके अब ,
 
सन्सार छोडी जाउ लाग्छ ,अन्त कतै पर,,
 
जहा हिड्छु बाटो मेरो ,भत्कि दिन्छ किन?
 
आज आफ्नै जिन्दगानी ,भार बन्यो किन?
 
अधुरो भो……………………………
 
अरु जस्तै सङ्घर्ष त ,गरेकैछु मैले पनि,
 
असफल हुन्छु किन ,जिन्दगीमा जैले पनि?
 
जहा रोप्छु सपना मेरो ,ओईली झर्छ किन?
 
आज आफ्नै जिन्दगानी ,भार बन्यो किन?
 
अधुरो भो……………………………
 
 
 दृश्य
वैद्यनाथ उपाध्याय -
अचानक

नाटकको दृश्य बदलिए जस्तै

बदलिन्छन घटनाक्रमहरू

मैले सोचेको
 
चाहेका धेरै सपनाहरू

आकार लिन नपाउँदै

फेरिए जम्मै उर्वर प्रदेशहरू

ठूल्ठूला आशाका

पहाडहरूले थिचिएर

विशृंखलताको पैह्रो लागेको

यो समय

जताततै अराजक शंखनाद!

रचनात्मकताको

एक मुट्ठी बिउ छरेर

सुनौलो फसलको

अपेक्षामा रित्तिएको समय

कस्तो दृश्य यो

आशंकाहरूले नजर धमिलिएको बेलामा।
 
 
आँधी बेरीमा

संक्रमणको आँधीबाट

गुज्रदैं छ समय!

ढोका खुल्दैछ

नयाँ नयाँ विश्व बजारको

अब त हामी आँफैं

किनिने र बेचिने पनि

भै सकेछौं।

तिम्रो शिप र खुबी को भाउ

तिम्रो दिमागको पनि

भाउ तोक्ने छ बजारले

सहानुभूति,दया,ममताको

उठिबास नै भै सकेछ

खै अब यो जीवन

निर्जीव यन्त्र सरह

घिस्रिंदैछ

कसैले थिच्दछ बुटाम कहीं

अनि खुल्नेछौं, दगुर्नेछौं

फेरि बन्द हुनेछौं

यो कस्को समय हो?

खै, अब त हैकिंग भै सके जस्तो छ

यो दिमाग पनि

मेरो आफ्नो भन्ने रह्यो नै

के र अब यो

आँधी बेरीमा!
 
 
रित्तो जीवन

जीवनका भोगाइहरू पनि

थुक्क-

कति दिक्क लाग्दा हुन्छन

कोई बेला त आफैंलाई

धिक्कार लागेर आँउछ

एकछिन अघिका खुसीका क्षणहरू

लगत्तै विरक्तिका भावहरूले

घेरिएका हुन्छन।

अनि हाम्रो खुसी

बिजुलीको झिल्का जस्तो

मात्रै हो त ?

सधैंभरी न पुग भएको भान

कसरी भरिएला

यो मनको घैंटो !

मैले चाहेको यो पनि हैन

त्यो पनि हैन

सूर्योदय देखि सूर्यास्त सम्मको

दौडमा भिडिएर

आज व्यर्थैमा रित्तिएजस्तो

लागेको छ

आफ्नै जीवन!
 
 
विडम्बना

दिन रात खुल्ने यी दृश्यपटहरूमा

आफ्नोपनको कहीं

केही आभाष सम्म पनि छैन।
 
 
च्वास्स च्वास्स दुखीरहेछ

कहीं भित्र भित्रै

उखेलिंदैं गरेका

आफ्ना जराहरू।
 
 
आकांक्षाका उर्लंदो

विकराल भेलहरूमाझ

मेरा थोपा थोपा इच्छाहरू

मिसएर कता बगे कता!
 
 
खै अब यो बासनाको

उर्लंदो भेललाई

अँजुलीभरी थापेर

यो मेरै चाहना हो भनेर

म कसरी भनुँ ?
 
 
मेरै जीवनका उकाली- ओरालीहरूलाई

एकाकार गरेर

भेल बगिरहेछ छताछुल्ल चारैतिर

मैले बाँचेको यो कस्को समय हो?

अगाडी खुल्दैछ भयानक दृश्यहरू

आफूसंग आफ्नै परिचयको

कुनै निसान सम्म पनि छैन

छातीका धडकनहरूलाई साक्षी राखेर

म अझै बाँचेको छु भनेर

कसरी भनुँ?