नवयुग ! - दीपेन्द्र के. सी.,मेरो किल्लामा - केशर थुलुङ ,दुई टुक्रा - योगेन्द्र राज शर्मा ,नेपाल आमाको अर्ती - टोप बहादुर रार्इ ,संवाद

नवयुग ! -
 दीपेन्द्र के. सी.
 
ए फतुरो !

तँ फगत घोषणा गर्छस्

खोक्रो नवयुगको !

हेर त एकचोटी

तैले घोषणा सुनाउन

जम्मा पारेको भीडलाई

कुपोषित नाँगा देहहरु !

एकचोटी तिनका फाटेका पैताला

फर्काएर हेर त

त्यहाँ भेटछस तेरो नवयुग !

तेरो भाषा उ त्यो

अल्लारे बुझदैन

उसको स्कूल

तेरो वमले उडाउँदा

उ स्कूलसँगै लाटो वहिरो भएको छ ,

उ नसुनेर, नवुझेर टाउको चलाउँदा

तँ स्वागत ठान्छस नवयुगको !

दिन्छु धेरै भनेको थिइस्

तँ सँग छैन केही

त्यही भएर अहिले

कुरा घुमाउदैछस्

कपडा फेरेर, झण्डा फेरेर

आउँदैन नवयुग !

फेरि कपडा पनि कति फेर्छस्

तँसँग कपडा बनाउने कपास पनि छैन

उहिले तैले

कुन्नि केको अवशेष भनेर जलाइसकिस;

सीधै भन्दा–

तैले गास, वास, कपास

दिन्छु भनेको होस्

तर हैसियत छैन तेरो

तैले सकेनस्

वास्तवमा तँ सक्दैनस पनि

सके त नगरौं थिएन होला वरा !

पहिलेका झैं ।

तैपनि तँ कुरो घुमाउन सिपालु छस्

त्यसैले भकाभक घोषण गर्दैछस् नवयुुगको !

वाचामात्रै जीवित राख्न ।

तेरो फतुरो नपत्याएपछि

अहिले तँ कसमै खाएर भन्दैछस्

आइसक्नै लागेको छ नवयुग !

अर्काले बनाएको घर

धुन्धुकारीहरु लगाएर

भत्काएरै दिन्छु भन्दैछस्

१०८ जातका भाईहरुलाई

प्लटिङको चिरा लगाएर,

मुख थुन्दैछस् तिनीहरुको

अनि भन्दैछस्

गर खाउ !

तर पटमूर्खहरु !

बनाउने भए किन भत्काउथे र !

गर्ने भए किन खोस्थे र !

लड्छन सकेसम्म

मिच्न, लुटन, मान खान

अनि नसक्नेहरु

वेचिदिन्छन सस्तो मूल्यमा

उत्तर–दक्षिणका छिमेकीहरुलाई

परेर शरणमा

त्यतिवेला वल्ल आउनेछ

तेरो नवयुग !

 
तर अभागी तँ

त्यसको स्वागतमा तँ हुने छैनस्

किनकी तँ

चेपिइसकेको हुनेछस्

इतिहासको कालो पानामा !

अनि पश्चतापका आँशु

भेटी पठाउनेछस् टुक्रिएको नवयुगलाई !

बागलुङ - हाल ओस्टेण्डे बेल्जियम
 
मेरो किल्लामा -
 केशर थुलुङ

हुन त
मेरो किल्लामा
तिमीलाई स्वागत गर्ने
मेरो ध्येय थिएन
आइहाल्यौ महाशयः
स्वागत छ
 
तर कदमकदाचित नसोच्नु
मेरो किल्ला
तिमीले सोचेकोजस्तो एकरत्ति छैन
जहाँ अधिनायक बन्न पाइन्छ
जहाँ साम्राज्यवादी बन्न पाइन्छ
 

हो मात्र म थिएँ हिजोसम्म
आजदेखि तिमी पनि आएका छौ
र यो किल्ला
तिम्रो, मेरो भएको छ
 

गर्न खोज्दा-खोज्दा
विफल भएका थिए
थुप्र्र्रै मेरो प्रयासहरु
जुट्दा-जुट्दा
कैयौँ पटक हारेका थिए
थुप्रै मेरो आकांक्षाहरु
 

फेरि अलिकति भए पनि
तिम्रो आगमनले
ममा छुट्टै साहस बढेको छ
त्यसैले अब
तिमी र म मिलेर
यो किल्लामा
एउटा छुट्टै
सुगम अध्यायको निर्माण गर्नुपर्छ
तिम्रो, मेरो लागि नभए पनि
भावी हाम्रा सन्ततिका निम्ति ।
 
 
दुई टुक्रा -
योगेन्द्र राज शर्मा
दिनभर
रातभर
एकनास
घुमिरहन्छ
लाग्छ,
आफ्नै पुच्छर टोक्ने
ध्याउन्नाले घुमिरहेको
कुकुर हो रिङरोड ।
एउटा चढ्छ
उत्रन्छ
अर्को चढ्छ
उत्रन्छ
फेरी अर्को चढ्छ
....
लाग्छ,
बाली हुन नसकेको
भैंसी हो काठमाण्डौ ।
 
नेपाल आमाको अर्ती -
टोप बहादुर रार्इ
गाएर मात्र हुदैन देशको गीत

माटोमा पसिना बगाउन सक्नु पर्छ

धाएर मात्र हुदैन खहरे झै ओरालीमा

कहिले उकालीमा पनि बग्नु पर्छ ।
 
खोजेर मात्र हुदैन अधिकार सधै

आफ्नो कर्तव्य के हो पुरा गर्नु पर्छ

रोजेर मात्र हुदैन हिमाल, पहाड र तरार्इ

देशका लागी परे मर्नु पर्छ ।

गनेर मात्र हुदैन आकाशको हजार तारा

जुनको मुल्य हुनु पर्छ

भनेर मात्र हुदैन वीर शहिद मर्नेहरुलाई

खुनको मुल्य तिर्नु पर्छ ।

धसेर मात्र हुदैन खरानी निधारमा

सत्य साधु हुनु पर्छ

बसेर मात्र हुदैन मर्यादित कुर्सीमा

जनतालाई सेवा दिनु पर्छ ।
 
 
संवाद
मुकेश राई -

- सुन थुप्रै ल्याउनु भो होला ? मलाई पनि दिनुहोस ल !
अहं मैले ल्याईन सुन !
-अनि परदेशमा थुप्रै फल्छ भन्छन त !

म पनि यस्तै सोच्थें तर होईन रहेछ,बरु म त तिमीलाई एउटा विरह गीत दिन सक्छु
त्यहाँ तिमीले
आफ्नै गाउँघर र पाखापर्वतका सुगन्ध मिश्रित भावहरुमा
परदेशीहरुका पीडायुक्त कोरस र व्यथाका शोक धून पाउने छौ
मेची र कालीका सुसाईका लयहरुसंग
गुन्जिरहेका वियोगी चित्कारका मुर्छनाहरु सुन्नेछौ !

- उसो भए पैसा र नया लुगाफाटाहरु नि ?
सक्तिन मेरो भाइ त्यो पनि,
बरु म तिमीलाई एउटा कविता दिन सक्छु
त्यहाँ तिमीले परदेशीहरुले पच्छ्याईरहेका आत्माहीन सपनाहरु
अनि बेरंग रहरहरु पाउनेछौ
बाँच्नुको सार्थकता खोज्दै
ईच्छाका पहाड चढन उक्लिरहेका पाईलाहरु भेट्नेछौ
जीर्ण मुस्काउन खोजेका फूलहरुका उदास कहानी जस्तै
बिरानो भूमिमा छातीभित्र सल्किरहेको
बाध्यताका बिम्ब, प्रतिबिम्बहरु देख्नेछौ
हो, म तिमीलाई यहि कविता दिन सक्छु !
 
- उसो भए स्वादिलो खानेकुरा नि ?
खै तिमीलाई मन पर्ला नपर्ला
त्यसमा मैले बिरानो माटो सिंच्ने पसिनाको गन्ध
वेदनाले रसाएका आँशु हुनेछ !
यसैमा तिमीले, प्रवासीका खुशी छेक्ने काँडेतारहरु
जटिल र विषमताको हातीबारहरु देख्नेछौ
यसैले म उसै भन्न सक्दिन यसको मोहकतामा
झ्यागिएका अमरबेली झैँ दु;खका गाँस मन पर्ला नपर्ला !

बरु म तिमीलाई एउटा कापी र कलम दिन सक्छु
तिमीले त्यहाँ मुग्लानले निलेका दाजुको सम्झना लेख्न सक्छौ,
नियास्रो मन र सन्त्रास बोकेर रुँदै
सिमाना काटेकी चेलीको विलौना कोर्न सक्छौ
निराधार बोक्सी आरोपित अबलाहरुको चित्कार बयान गर्न सक्छौ
अनि वादी र छाउपडी कुप्रथाले ग्रसित समाजको चित्रण उजागर
गर्दै युगान्तकारी आव्हान गर्न सक्छौ !

म तिमीलाई कुची र रंगहरु दिन सक्छु
जसले तिमीले तिम्रो स्वच्छ मनको क्यानभासमा
स्वदेशको सिंगो तस्विर उतारेर
आफ्नै नदीनाला, झरना र छहरा पहरा कोर्न सक्छौ
त्यहाँ आफैले चाहे जस्तो रहर र देखे जस्तो सपनाको रंग भरेर
सुन्दर जीवनको मूर्त, अमूर्त तस्विरमा
माया, प्रेम र सदभावको सजीव उज्यालो छर्न सक्छौ !

तिम्रा ति आव्हान र अमुर्त तस्विरहरुले
नव पिड़ीमा ज्यूँदो अग्नि ज्वाला छर्न सकोस
ति युगिन दस्तावेज बनेर जागृतिको संदेश बोकी
नेपाली आकाशमा नयाँ रंग छर्न सकोस !
म यहि शुभकामना मात्रै दिन सक्छु !
 

ईलाम हाल बेलायत