यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु, सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ , घाम उदाई सके पनि अँधेरो छ देशमा, जसै परिन्छ प्रेममा, झुकाव बढ्छ सुस्तरी,


यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु



यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु ।
सम्झेर साथ तिम्रो हिम्मत बढाउँदैछु ।
आकाशमाथि हेर्दा ताराहरू नियाल्दा
बुझ्नू तिमी इशारा माया पठाउँदैछु ।
गन्तव्यसम्म पुग्ने बाटो सफा गरेर
तिम्रा अगाडि पर्ने काँडा हटाउँदैछु ।
पाएँ सप्रेम निम्तो स्वागत गरेर बस्नू
छिट्टै हुनेछ संगम दूरी घटाउँदैछु ।
मेरो निमण्त्रणामा आयौ विभोर बन्दै
सौगात के चढाऊँ आत्मा चढाउँदैछु
सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ
जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ
धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो
हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ
ठूलाबडा भनाउँदाले यति ठूलो धर्ती छोडी
गरिबकै शिरमाथि टेक्ता पो त दिक्क लाग्छ
यहीं सधैं हुनुपर्ने प्यारो प्रजातन्त्रलाई
दिल्ली अनि वासिङ्टनमा भेट्ता पो त दिक्क लाग्छ
BY कृष्णहरि बराल

जसै परिन्छ प्रेममा, झुकाव बढ्छ सुस्तरी


जसै परिन्छ प्रेममा, झुकाव बढ्छ सुस्तरी
उनी नजिक पुर्याउने बहाव बढ्छ सुस्तरी

सप्रेम भेट्न आउँदा विभोर बन्छु हर्षले
सदैव भेटघाटको लगाव बढ्छ सुस्तरी

घडा भरेर यादले चिरेर बस्छु शून्यता
र यादमा नआउँदा दबाव बढ्छ सुस्तरी

भुलिन्छ कार्यतालिका रमाइलो हुँदाहुँदै
तमाम कार्यमा उतारचढाव बढ्छ सुस्तरी

गुलाफ बन्छ जिन्दगी उनी मुसुक्क हाँस्दिए
र मौनता छचल्किए तनाव बढ्छ सुस्तरी

घाम उदाई सके पनि अँधेरो छ देशमा


जनतालाई लडाई खाने चमेरो छ देशमा

घरघरमा पुगीसके होलान् धारा अन्ततिर
पुग्नै दुई घण्टा लाग्ने पँधेरो देशमा

छिमेकमा भने विकास उड्न थाल्यो हुर्किएर
तर भर्खर जन्मिएको वचेरो छ देशमा

कसैले त थोत्रो बस पनि देख्न पा'का छैनन्
मन्त्रीसँग एक करोडको पँजेरो छ देशमा
Bibash Sapkota


झुकेको झण्डा उठाउनलाई के गर्‍यौ तिमीले
झुकेको झण्डा उठाउनलाई के गर्‍यौ तिमीले?
सुतेकालाई बिउझाउनलाई के गर्‍यौ तिमीले?

अशिक्षा अनि अज्ञानताले जल्दैछ देश यहाँ
यो आगलागी निभाउनलार्ई के गर्‍यौ तिमीले?

'फेसबुक' र 'म्यासेन्जर'मा भुल्लिनुबाहेक
जनतालाई जुटाउनलाई के गर्‍यौ तिमीले?

केटीको चक्करमा त भयौ होला 'मजनु' पनि
माता पितालाई रिझाउनलाई के गर्‍यौ तिमीले?

बुद्ध नेपालमा जन्मेको भन्दै कराउदै हिँड्छौ रे
शान्तीको सन्देश फैलाउनलाई के गर्‍यौ तिमीले?

भाई भाईलाई लडाउन त जो पनि सक्षम छ
अँगालो मारी हिँडाउनलाई के गर्‍यौ तिमीले?

Bibash Sapkot