छाँयाका सपनाहरु, आकाश मौन छ |, म चेसको गोट्टी होइन ,

छाँयाका सपनाहरु


छाँयाका सपनाहरु,
 रात परे पछि,
 धुमिलिदै जान्छन,
 क्यानभाषबाट,
 चित्र हराए जस्तै हुन्छ,
 तर मन छाँयाका सपना जस्तै छ,
 छाँयाका सपना जस्तै हुन खोज्छ |

कम्प्युटरको सट डाउन बटनसंगै,
 रयामहरु आफ्नो मस्तिष्कका पानाहरु,
 मेट्न व्यस्त हुन्छन,
 रात परेपछिको,
 छाँयाका सपनाहरु जस्तै हुन खोज्छन,
 केही मक्किएका रहरहरु,
 डायरीका च्यातिएका पानाहरु,
 बन्द कम्प्युटरका रयाम जस्तै हुन्छन |

छाँयाका सपनाहरु
 बिहान जोसमा जग्मगाउछन्
 दिनभरी टुइटरमा बादबिवाद गर्छन
 साँझ ढल्दै जाँदा,
 रक्सिको नशामा लठ्ठीदै जान्छन,
 तिनका उद्देश्य,
 उद्देश्य बिहिन हुन्छन,
 तिनका जोस,
 जोस हिन हुन्छन,
 विचारहरु अनियन्त्रित हुन्छन,
 फगत एउटा दिन रित्तिसकेको हुन्छ,
 छाँयाका सपनाहरु,
 आफैमा सक्किसकेका हुन्छन,
 चित्र उडेका क्यानभाष जस्तै,
 बन्द कम्प्युटरका रयाम जस्तै,
 अर्को महान दिनको प्रतिक्षामा,
 घोर निन्द्राको रमाईरहेका हुन्छन |

अजय ढुंगाना
 27/09/2012

आकाश मौन छ |


आज
 हिजो जस्तै,
 अनि अस्ती जस्तै,
 अनि सदियौ जस्तै,
 आकाश मौन छ |

आजको चुपचाप,
 कुनै घेराबन्दिको परिणाम होइन,
 कुनै आन्दोलनको भाषा होइन,
 यो आकाशको बिश्वास हो,
 मान्छेहरु प्रति,
 मान्छेहरु माथि |

मुटु हल्लिरहेछ,
 रगत सिन्चिरहेछ,
 श्वास निरन्तर,
 ओहोर दोहर गरिरहेछ,
 खुट्टा हिडीरहेछ,
 आँखा दृश्यलाई
 कैद गरिरहेछ,
 हात हल्लिरहेछ
 तैपनि मान्छे मरिरहेछन |

परिवर्तनको साक्षी,
 सबैभन्दा बलियो साक्षी,
 आकाश हो,
 जो समयको कालखण्डमा,
 कहिल्यै निदाएन,
 चीनको कागज हेर्यो,
 बारुद हेर्यो,
 मिश्र, ग्रिसको सभ्यता हुदै,
 युरोपको औधोगिक क्रान्ति हेर्यो,
 फ्रेन्च रिभोलुसन देखि,
 अमेरिकन प्रगति हेर्यो,
 अगस्ट र,
 अक्टोबर क्रान्ति देखि,
 चिन र इजिप्टका,
 परिवर्तन हेर्यो,
 मौन बसेर,
 सदियौ देखि आकाशले |

आज आकाश
 परिवर्तन नचाहने
 मान्छेहरुलाई हेरिरहेछ
 जो परिवर्तन स्वीकार्न डराउछन्
 जो परिवर्तन सोच्न डराउछन्,
 जो परिवर्तन कल्पन डराउछन,
 हो तिनैलाई हेरिरहेछ,
 जो सबै अंग,
 चलेर पनि,
 भकाभक मरिरहेछन
 हो तिनैलाई हेरिरहेछ,
 मौन, चुपचाप आकाश |



अजय ढुंगाना

लण्डन
म चेसको गोट्टी होइन


मेरा हर पाइला
 तिम्रो एक कदम पछि
 चाल्नुपर्ने होइन,
 किनकी, म चेसको गोट्टी होइन |

तिम्रो नियोजित षड्यन्त्रको
 एउटा पात्र, म होइन,
 जो बिद्रोह र सत्ता कब्जा मन पराउछ,
 जो अरुलाई निबस्त्र पार्नुमा,
 आफ्नो विजय सम्झन्छ,
 घोडाको सवार,
 हात्तीका लावा लस्कर,
 आफ्नो सपनामा सजाएर बस्छ,
 म इतिहासले नमागेको,
 रक्त क्रान्तिको नायक होइन
 म तिमीले खेल्ने चेसको उट होइन |

देश आफ्नो अस्तित्वलाई,
 आर्यघाटमा जलाएर,
 फर्कदै गर्दा,
 म फेरी देशको अस्मिता माथि
 प्रहार गर्न सक्दिन,
 छिमेकीसंग आफैलाई लुटाउने
 सौदाबाजीमा सही ठोक्न सक्दिन,
 ढोडको लौरीले नै टेकेर भए पनि,
 किंग चेक दिएर,
 दुनिया हसाउन सक्दिन,
 देशका बफादार सैनिकलाई,
 स्वांग मच्चाउदै जीवनदान मागेर,
 मन्त्रिको कुर्ची हत्याउन सक्दिन,
 धुपौरेहरु वरिपरि आफैलाइ राखेर,
 आफैले ड्राफ्ट गरेका शुभकामनाका शब्दहरुले
 आफै प्रफुल्लित हुन सक्दिन म
 त्यसैले तिमीले दिएको फरिया लगाएर
 कुनै हालतमा तिम्रो चेसको गोट्टी हुन सक्दिन म |

म इतिहासको अलिखित पात्र,
 आजका दिनसम्म कलंक रहित पात्र,
 तिम्रो भण्डारखालको इतिहास तिमीसंगै राख,
 तिम्रो कोतपर्वको इतिहास तिमीसंगै राख,
 म रगतका छिटाले नलत्पतिएको पात्र,
 म तिम्रो हरेक मुस्कानमा झुट र,
 हरेक क्रोधमा शान्ति देख्ने पात्र,
 हरेक अन्धकारमा उज्यालो र,
 तिमीले उज्याला ठानेका दिनमा,
 काला बादल मडारिएको देख्ने पात्र,
 तर दासत्व नस्वीकार्ने पात्र,
 स्वाभिमानको शिर कहिल्यै नझुकाउने पात्र,
 त्यसैले अहँ तिम्रो चेसको गोट्टी कदापी होइन |


अजय ढुंगाना
 लण्डन