मेरा सपनाहरु, आज अचानक, मिठो जिन्दगी, अजय ढुंगाना

मेरा सपनाहरु


जब एक सपना,
 उद्रिएर,
 मनलाई छुन्छ,
 मन हावामा तैरिएका,
 प्वाँखहरुलाई,
 टोलाएर हेर्छ,
 तब लाग्छ,
 तिमी कुनै एकछेउबाट,
 मलाई जिस्काइरहेछेउ |

जब मन,
 आगोको फिलिंगो भएर,
 हावामा हराउदै,
 शान्त, निश्चल,
 कल्पनाको महासागरमा,
 झ्वाम्म पौडन्छ,
 तब लाग्छ,
 तिमी फेरी कुनै एकछेउबाट,
 मेरा सपनाहरुमा,
 जिउन खोजिरहेछौ |

जब जिन्दगी,
 आँखा चिम्लिएर,
 ओछ्यानमा पल्टिएर,
 निदाएर,
 सपनाहरु देख्न छोड्छ,
 तब लाग्छ,
 सपनाहरु जीवित बनेका छन्,
 सपनाहरुमा प्राण भरिएका छन्,
 सपनाहरुले ओछ्यानमा ढल्किएर,
 निदाउन दिदैनन,
 अनि तिमी,
 हत्केलाका रेखाहरु मेटेर,
 नयाँ रेखा खोज्छौ,
 जब तिमी,
 कुनै एक्चुको कुनाबाट,
 बाहिर निस्कदै,
 मेरा अगाडि आएर,
 सुन्दर भबिष्यको,
 मार्ग चित्र प्रस्तुत गर्छौ,
 मलाई लाग्छ,
 मेरा उद्रिएक सपनाहरु,
 जोडिदै छन्,
 सपनाहरु सजिब हुदै छन्,
 सपनाहरु जीवित हुदै छन् ||

अजय ढुंगाना
 २०६९/०९/०३
 लण्डन

मिठो जिन्दगी

म, पाहिला चल्न खोज्छु,
 तिमी हिड्ने बाटो
 भत्काउन तत्पर हुन्छौ,
 म बैकल्पिक मार्ग खोज्छु,
 तिमी मेरो गन्तव बदल्न खोज्छौ,
 साँघुरा बाटाहरुको,
 घुमाउर गल्छेडामा,
 तिमी,एम्बुस थापेर,
 मलाई तर्साउन खोज्छौ,
 मलाई भगाउन खोज्छौ |

म तिमीबाट
 जिन्दगीको एउटा पाठ सिक्छु,
 सिक्ने कुरा कहिल्यै नसिद्धिने,
 फेरी अर्को पाठ सिक्छु,
 तिमी मेरो मौनता माथि
 पट्यारलाग्दो राजनीति
 थोपर्न खोज्छौ,
 मेरो मौनतालाई,
 तिमी समर्थन मान्छौ,
 म हार्दीन,
 तर तिमी,
 आफुले मलाई जितेको मान्छौ |

म जिन्दगी जिउने कोशिस गर्छु,
 एउटा सामान्य मान्छे बन्ने,
 प्रयास गर्छु,
 तिमी महामानव बन्ने,
 हतारोमा दौड़न्छौ,
 फगत इज्जत र प्रतिष्ठाको,
 स्वार्थ झोलामा बोकेर,
 कुदिरहन्छौ मात्रै,
 तर बुझ्दैनौ,
 एक सामान्य जिन्दगी,
 भिड भाड भन्दा पर,
 कुनै स्वार्थ बिहिन,
 कुनै खोलाको किनारमा
 झिरमा उनेर,
 घाममा सुकाएर बेच्न राखेको
 माछा जस्तो,
 जति खारियो,
 उति मिठो लाग्ने,
 जति दु:ख पायो,
 उति प्रिय लाग्ने,
 पुरै पृथिवीलाई
 उस्तै आँखाले देख्ने
 तिमीले सोचे भन्दा सामान्य,
 तिमीले बुझे भन्दा सामान्य,
 तिमीले जाने भन्दा सामान्य,
 पनि जिन्दगी हो,
 मिठो जिन्दगी हो |


अजय ढुंगाना
 लण्डन
 ११/११/२०१२
आज अचानक


आज अचानक,
 गाउँ सम्झिए,
 घर छेउको नयाँ बाटो,
 हिलोमा लत्रिएर भासिएको थियो,
 छेउमा एउटा पारिजातको रुख,
 चर्को घाममा उघिरहेको थियो,
 अघिल्लो रात नै बोटबाट झरेका,
 पारिजातका फूलहरु,
 निधारमा हिलोका टिका लगाएका थिए,
 छेउमा एउटा साइकल कुदेर गएको,
 टायरको डोब बसेको थियो |

मनमा दृश्यहरु सजिब हुदै आए,
 दृश्यहरु मनमा सास फेर्दै
 दृश्यहरु मनमा एक सिक्बेन्समा थपिदै आए,
 दृश्यहरु प्रष्ट प्रष्ट हुदै आए,
 एच डी क्यामराको भिडियो जस्तै,
 निराकार चिजहरु आकार लिदै आए |

आज मन गाउँ भन्दा धेरै पर छ,
 आज मन एम्बुसको धरापमा छ,
 सुस्ताएर बिगतको स्मृति सम्झने,
 सुस्ताएर बिगतको पाना पल्टाउने,
 खैर फुर्सद छैन मनलाई हिजो आज,
 स्टक एक्संचेंजको इन्डिकेटरमा,
 मन अल्झिरहन्छ,
 रिसेसन, बबल, युरो क्राइसिस,
 मनका अरु चिन्ताका बिषय हुन्
 र यस्ता चिन्ताका बिषय कैयन छन्,
 एकै शब्दमा भन्दा,
 मन बेफुर्सदिलो छ |

हिजो आज मन,
 सेडुएल भन्दा बाहिर जाने कोशिस गर्दैन,
 तमाम काम झामका बक्र रेखामा,
 मन प्लानिंग अनुरुप नै हिड्छ,
 उ अचानकको अस्थित्वलाई,
 वरिपरी पर्न दिदैन,
 रक्सि खाएर लागि सकेको,
 मान्छे जस्तो मन छैन
 तैपनि मनको एक कुनाबाट,
 अचानक
 बिगतका स्मृतिहरु
 बाँगटे हान्दै आउछन,
 प्लानिंगहरु तोड्दै आउँछन्,
 अनि मन र मष्तिस्कलाई,
 झुक्याउदै,
 धुलाम्मे डायरीका पाना पल्टाउछन् |

अजय ढुंगाना
 १८/१०/२०१२
 लण्डन