Nepali Kabita collection Part 36


  Peshal Acharya – Dristikon
पेशल आचार्य – दृष्टिकोण

संसारमा
बुझ्नु भन्दा सजिलो र
नबुझ्नु भन्दा गाह्रो
अरू केही हुँदैन,

अनुकूल वस्तुहरू
अप्रतिम खुसीका
उच्छवास छर्छन्
क्रियात्मक प्रतिक्रियामा
प्रतिकूलका पहेलीहरू
अगम्य पीडाका
पर्वत ठड्याउँछन्,

सृष्टि
रोटेपिङ्झैँ
घुमिरहेको छ
अनवरत
हामी चढ्छौं
उत्रन्छौं
पालो पर्खन्छौं
एकर्कामा
रिस
आरिस
रस
विरस
सबै हुन्छौं
जीवन चलायमान
नदीझैँ
डुङ्गा
सललललअ
चिप्लिरहेको छ
गतिवान् पानीमा
क्रमशः उत्ताल ताल
बजाउँदै
नाच्दै गाउँदै
पानीमा पो जीवन छ ।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
         अन्जु सुबेदी – बिहानीमा भाले बास्दा (गीत)

बिहानीमा भाले बास्दा
मेरै देशको गाउँ सम्झें
वर पर हरीयो बन
मेरै मनको ठाउँ सम्झें ।

मिचिगनका तलाउ यी
आफ्नै रारा हुन् कि सम्झे
रात भर आकाशमा
मेरै तारा हुन् कि सम्झें ।

मिर्मिरेको उषा संगै
आफ्नै गाईबस्तु सम्झें
बाडुलीले सताउँदा
मेरी आमा धेरै सम्झें ।

सम्झनाका मझेरीमा
बाँच्दछ यो जीबन मेरो
कैले होला हास्दै चुम्ने
मेरै गाउँको सेरो फेरो ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


     जीवराज घिमिरे – पहाड अब पहाडजस्तो छैन


पहाडले आफ्नो छातीमा खोपेर
मोटर गुडाएछ
पहराले आफ्नो कोखामा कपेर
गाडी चलाएछ
ठूलाठूला गिद्धे पहराहरू अब
निरर्थक छैनन् पहाडमा
तारेभीर पनि आफ्नो काखमा
मिनीबस कुदाउने भएछ,

धेरै वर्षपछि यसपटक पहाड पुगेँ म
पहाडले मेरो सञ्चो-विसञ्चो खोजयो
उन्नति/अवनति सोध्यो,

छकक परेँ म,
प्रतयेक घरले आफूलाई बिजुलीको
उज्यालोमा नुहाएको देखिन्छ पहाडमा
मिलमा धान कुटेर फर्किएकी कान्छी
ढिकी कुट्न नपरेकामा खुसी त पक्कै छिन
तर, गाडी पल्टिएर
स्वजनहरूको मृत्युको खबर दिनदिनै सुन्नुपर्दा
झन पिरलो थपिएको छ पहाडमा,

डाँडामा बसेर दिउँसै बिजुलीपानी चढाएर
छोराको रेमिट्यानसमा खुट्टा बटार्दै
हिँडेका आफन्तहरू देख्दा
मन त्यति खुसी हुन सकेन पहाडमा,

पहाडको दुःख पहाडसँगै छ
एउटा भएको छोरो साउदी गएको छ
ज्वाइँले छोडेकी छोरी इजरायल गएकी छे
सनतानले छोडेका नाति-नातिनाहरूको भरमा
वृद्ध शरीरले कतिञ्जेल धान्ने हो पहाडमा ?
सबै झुपडीहरूले कहिले पाउने हो उज्यालो ?

खोई झट्ट हेर्दा त पहाड अब पहाडजस्तो रहेन
तर, गहिरिएर बुझ्दा
झन दुःख पो थपिएछ पहाडमा ।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  माझघरे माहिलो – तिम्रो सम्झना

तिमीले बार्दलीमा लगाएकी मनीप्लाण्ट
आँगनीमा फूलेका ढकमक्क चमेली र गोदावरी फूल
करेसाबारीको बोडी र तिमीलाई औधी मनपर्ने तीतेकरेली
नीलो र वैजनी रङ्गले रङ्गाएको हाम्रो घरको कम्पाउण्ड ।

मूलद्धारमा तिम्रै हस्तलिखित “सुमन ंसुम्नीमा”

भान्सामा हमेसा बजिरहने सेन्टीमेन्टल ट्रयाक्
झुण्डयाइएका फ्राइपेन, स्पोन, फक, कफीकप, प्लेट तथा मोमो उसिन्ने भाँडो
अनि तिमी र मैले पालैपालो पहिरिने किचेन एप्रोन ।

बैठक कोठामा सजाएकी जरायोको सिङ
सट्डाउन गर्न बिर्सिएको कम्प्यूटर अनि लत्रिएको माउस ।

ड्रेसिङ टेबलको ऐनामा तिमीले पुछेकी गाजल, लिपिस्टिकका दागहरु
कपाल कोर्ने थाँक्रो जुन माइतीबाट दाइजो ल्याएकी थियौ,
केही इलास्टीकहरु
चिम्टी र नरिवलको तेल
अनि तिमीले नियमित दल्ने गरेकी अत्तरको बट्टा
उफ् ! अझ तिमी मग्मगाइरहेछ्यौ ।

तकीयामुनिको अनवाण्टेडका चक्कीहरु अनि केही बेलुनहरु
सुत्नु एक्कैछिन् अघि तिमीले ओछ्याउने सेतो सुतीको टालो
गलैँचामाथि छरिएका सुन्तला र अनारका बोक्राहरु
स्टील आलमारीभित्रको तिम्रो कलेजी रङ्गको स्वीटर
जज्ञमा पहिरिएकी लगनको साडी–ब्लाउज
सिँदूरको बट्टा र पोते अनि मेरो दुबोको माला र सूट टाई
तिमी नै भन ओ प्रियशी
यी यावत् वस्तुहरु जसले मलाई हमेशा तिम्रै मात्र झ–झल्को दिने गर्दछ
अब म के गरुँ ?

एकान्तमा एउटा सानो बगैँचा र करेसाबारी सहितको चिटिक्क एकतले घर
भनेजस्तो जागिर
एउटा छोरो या छोरी
भन्ने गथ्र्यो बारम्बार
यी तिम्रा जायज मागहरु
क्रमशः पूरा गरीदिएकै त थिएँ नि
छोरो बाहेक
ओ सखी
मेरी प्राणप्यारी
भो अब बक्न सक्तिनँ यहाँ भन्दा

यद्यपि
आज तिमीलाई श्रद्धाञ्जलि
मेरो एकर्लौटी समवेदना पेस्नुछ
स्वीकार मेरो लाखौँ हिक्क–हिक्क आवाजहरु
चार दिवालभित्रको छटपटि
छातीमा बजारिएका कैयौँ मुड्कीहरु
स्वीकार मेरो चिथोरिएको शरीर अनि अनुहार
लुछिएका जगल्टाहरु
स्वीकार मेरो छाती चिरेर निकालेका रगतका फाल्साहरु
मलाई जीवित बनाई राख्ने यै फोक्सोभित्रको मुट्ठीदुएक श्वासप्रश्वास
अब स्वीकार मेरो पार्थिव शरीर
जो डङरङ लडेको छ, त्यै स्यानो चिटिक्क घरको आँगनीमा
बस् यत्ति टक्र्याएको छु समवेदना भनेर
तिम्रो असामयिक निधनमा ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                    दिवाकर अधिकारी – हामी सबै उस्तै

अस्ती उस्तै,हिजो उस्तै, उस्तै आज भोली पनि
शुन्यतामा हरौँदैछौँ कुहिरोको काग बनी
सँधै उस्तै पुरानै छन ज्ञान गुनका वचन पनि
अस्तित्वमै हराउँछन बगरको ढुँगो बनी

कहाँ केले छेकेको छ सिर्जनाको मूल पनि
कुन चिजले छोपेको छ बुद्दिलाई बिर्को बनी
चुरोटको धुँवा सँगै मदिरा र माँस पनि
हामीलाई डोर्याउँछन उस्तै बनिराख भनी

मिठा मिठा बातहरु सुन्दरी र सुरा अनी
मगजमा बस बस्छन एकान्तका साथी बनी
छिटोछोटो सबै खोज्छन समयको माग भनी
बुद्दी बिनै गुमाउँछन अगाडिको भाग पनि

नेताहरु भाषाण गर्छन् बिदुरका मित्र बनी
नाम लिन्छन विर पुर्खा भ्रिकुटी र सीता भनी
सुधालाई पाउ पार्छन चरणका दास अनी
आफ्नो काल बिताउँछन फरियाका आश बनी

आद्र्शका कुरा गर्छन् लाटो देशको गाँडा बनी
चर्को आवाज घन्काउँछन रित्तिएका भाँडा पनि
कोही भन्छन ढिलो भयो लौन केही गरौँ भनी
कोही बस्छन जवानीमा बिताएका रात गनी

सँधै त्यसइ कराउँछन सन्ध्याबासी सारौँ बनी
आँफैँ पाउ समाउँछन आफ्नैलाई झारौँ भनी
आफ्नै आफ्ना दाउ हेर्छन आफ्नैलाई मारौँ भनी
मिलिजुली रातारात बाँडिचुँडी खाउँला भनी

किन किन हिजोआज सुस्ताउँछु उदास बनी
विश्वमान चित्रबाटै हराइनेपो हो कि भनी
आफ्नालाई आफ्नो भन्न लजाइने पो हो कि भनी
आफ्नो छोडि अर्काको मन पराइने पो हो कि भनी।।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  निभा शाह – मनसरा

पसिना बगेर मात्र
दुनियाँ बदलिने भए
भरियाको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा
रगत बगेर मात्र
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा
जबकि रगत-पसिनाले नै त
बदलिने हो दुनियाँ
तर किन बदलिएन मनसरा ?
कहिल्यै आगो भर्भराएको सुन्यौ मनसरा ?
आफूले चिरेका दाउरा
अरुले बालेपछि
आगो आफ्नो हुँदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुँदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
आगोको आवाज सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा-
आफूले खोरिया खनेको खेत
अरुकै नाममा दर्ता भएपछि
माटो आफ्नो हुँदैन मनसरा
माटो आफ्नो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
आगो भर्भराएको सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा-
आफूले बोकेको बन्दुक
अरुले नै कासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
आगो बोलिरहेछ मनसरा

आगो भर्भराएको सुन्यौ मनसरा  


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


       कृष्ण सेन ‘इच्छुक’ – प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि-याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ- हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।
ओ शासक-प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुस र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध सङ्र्घर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुट्ठीहरू
ओ, अत्याचारका पहरेदारहरू ! अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


          कोमल श्रेष्ठ मल्ल – म देश लेख्छु

रहनु
सहनु
बहनु
भोगि रहेछु ?
परदेशमा देश बोकेर मैले ??
सयौ फिट मुनीको
दैिनक वहर दोहर
मात्र पेट पुजाका लािग
उक्सेको मन ?
स्वप्न महल बोकेर
कल्पनै कल्पनामा
आस्वासन उनेर
पसिना छर्दैछु म
एेतिहासिक देश बेलायत लण्डनमा
म संपादक
आफ््नै समाचार
प्रकाशित गरि रहेछु
मन काटेर यथार्थताको …
म देश बोकेर
फर फर गर्छु
म देश भएर
देश लेख्छु
परदेशमा िपडा सहेर
देश बोल्छु देश बोल्छु
म उनकै हु जहा रहे बसे पनी
उनको माया ममता वात्सल्यतामा
उनको माधुर्यता सौन्दर्यतामा
म हुर्कदै छु
सुख दुख भोगेर यो परदेशमा
त्यसैले
म कलम चल्छु र देश लेख्छु
म धर्म हिडछु र देश लेख्छु
म देश पढछु र देश लेख्छु
आफ््नै
भाषा संंस्कृतीमा यो परदेशमा
देश लेख्छु देश लेख्छु देश लेख्छु


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


     किशोर कुँवर – त्यान्द्रोले पनि अल्झिनु हुन्न

बस्ती-बस्ती शहर-शहर
आक्रोशले रक्तिम भएका छन्
तीसौँ वर्षसकुनी हुँदैरहेकाहरु
यत्रो विशाल जनतालाई
मुठ्ठी बराबर देखिरहेछन्
मातेर आफ्नैजातिको रगतले
मैमत्त छन् यी रक्त पिपासु बाघहरु ।

सक्तैन स्वयं ब्रम्हाण्ड सृष्टिकर्ताले पनि
समयको प्रबल बेगलाई रोक्न
उठ्नै नसक्ने गरी ढल्दैछन्
मातेका षडयन्त्रकारीहरु
तर
होशियार बन्ने बेला छ यो
त्यान्द्रोले पनि अल्झिनु हुन्न
सुर्यको लाली छचल्किसक्यो
अलमलिएर बस्नु हुन्न ।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
     Thakur Man Lama –
 Rana Maidan Ko Jhalak
उफ !
बम र बारुदको धुवामा
नजरहरु दुस्मनलाई
हेर्न थाक्दै गइरहेछन्
कारुणिक दारुणिक चिच्यावटहरुमा
आफ्नै कमाण्डरको आदेश
सुन्न छाड्दै गइरहेछन्

चोइटा चोइटा टुक्रिएका लाशहरु
छातीमा गहिरो घात पुर्‍याउदैछन्
किन गर्दैछौ अरुको संहार
ह्दयमा यस्ता अनेकन
बात हुर्क्याउदैछन्

नजिकै एक घाइते दुस्मन
पानी पानी भन्दै माग्दै गरेको
उफ ! मनमा
राष्ट्रियताको भावना पुग्दा
मित्रबाट मानवतालाई कुल्चिन पुगेछन

सम्झाउन सक्दिन मित्रहरुलाई
कारण दुस्मनी गोली धमाधम बर्सिरहेछन
मानवतालाई बिर्सी देश स्वाभिमान
आँखासामु नाचिरहेका छन्
त्यसैले होला
हर कोही खुखार हिस्रक बन्दै गइरहेछन्

रणमैदान रगतको समुद्र
यत्र तत्र बन्दै गईरहेका छन्
उता भित्र भित्रै ह्दयमा तप्किरहेको
ज्वालाले शान्ति शान्ति
चाहियो भन्दै गइरहेका छन्
कतैबाट शान्तिको सन्देश
आउँछ कि कान तेर्सिदैछन
तर
बम बारुद र धुवामा
ती कानहरु सुनिन छाडिदैछन
ती कानहरु थुनिन पुग्दैछन


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


        टंक सुब्बा – कृत्रिम ब्रह्माजीहरु

सृष्टिका महान् स्रष्टा
ब्रम्हाजी
उसका असंख्य पुजक मनुष्यहरु
कालो मोहले ब्युझदा
आफैंलाई ब्रह्मावतार सम्झी
जंगबहादुरले अपनाएको कोतपर्व जस्तै
हिंसा अपनाएर
तमाम मान्छेहरुमाथि
रगतको फाल्सा फाल्सामा
मनाइरहेछन् खुशीयालीहरु
मनोमानी श्रेष्ठताको पगरी गुथेर
ओहोर दोहोर गर्ने बाटाहरुमा
विछ्याइरहेछन् कुनियत
र आफैंलाई सर्वेसर्वा ठानेर
लेखिरहेछन् बठ्याईको इतिहास
तर कलियुगिन ब्रह्माजीहरु
मौकामा चौका हान्नलाई
आशिर्वाद थापेर
औकात भुलेकाछन्
र ब्युझाउन पुगेका छन्
दन्त्यकथाका मृत पात्र महिषासुर
बदलिंदो समयको धारिलो खुकुरी उचालेर
बजार्न पुगेका छन् निर्दोष मान्छेहरुको गर्धनमा
जसलाई उपलब्धी मानेका छन्
रुम्जाटारका माहुतेहरु
अनि चिथोर्न खोज्छन् विश्व मानचित्रलाई
हत्केलाले छेक्न खोज्छन् घामलाई
बलात्कार गर्न खोज्छन् समयलाई
र अवतार बदल्न खोज्छन् जीवनलाई
सृष्टिका महान् स्रष्टा बन्नलाई
तर मान्छे कहिल्यै भगवान् बन्न सक्दैन
भगवान न त मान्छे जस्तै
तैपनि युगको मजेत्रो ओढेर
कहलिएका युग पुरुषहरु
जति नै अजर बन्न चाहे पनि
कालो पाटीमा लेखेर अक्षर मेटिए झैं
मेटिएका छन्
र मेटिनेछन् समयको डष्टरले तिनीहरु
त्यसैले यहा देखिसकेका छन् सबैले
हिरोशीमा र नागाशाकीको विभत्स
यहा भोगिसकेका छन् सबैले
हिटलरको क्रुरता
अब भोग्न बाकी केही छैन
अब देख्न बाकी केही छैन
थाहा भैसकेको छ सबैलाई आफ्नो भविष्यको स्वरुप
जति नै कुशल खेल प्रदर्शन गरे पनि
वञ्चित हुनेछन् कृत्रिम ब्रह्माजीहरु
अस्वीकृत हुनेछन् सृष्टिका कृत्रिम स्रष्टाहरु 


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
    कोमल श्रेष्ठ मल्ल – एउटा कैदी

एउटा कैदी
सैयौँ कैदको भोगाईमा
निरन्तर छु म
कारण
वा
अकारण ?
बाध्यताका रोजईमा छु म ??
सपना
कस्तो हुन्छ र कैदमा ?
निभेको आँखा
बल्झेका कल्पनाहरु
बेसुर मनको प्रदेशमा
जीवन भोगी रहेछु म ??
सायद
चिहान पुरीन
चिता जल्न
गन्ध फैलाउन
वा
अस्तू खरानी उडेर
पानी पानी बहेर
अदृष्य कण कणमा मिल्न
कैद भोगी रहेछु म !!!!


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


    होमनाथ पाठक – बादल

कहिले बन्ने हात्ती घोडा, कहिले बन्ने रूख
लहराउँछौ जताततै कति ठुलो मुख

गर्जिन्छौ मेघ बनी, बनी दिन्छौ वर्षा
उफ्रिन्छौं बालकहरू, हामी हुन्छौ हर्ष

जताजता हावा चल्छ, त्यतै बहि दिन्छौ
चम्किदिन्छौ बिजुली भै हाम्रो सातो लिन्छौ

कहिले बन्छौ सेतो हात्ती, कहिले बन्छौ कालो
लुकमारी खेल खेल्ने, अब हाम्रो पालो

गर्मीमा शीतल दिन्छौ, छेकी घामलाई
अन्नवाली स्वाहा पार्छौ असिना पो भई


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


    विष्णु न्यौपाने – छिमेकी

मेरो करेंसो नजिकै छ साथी
आत्मा छ घाती अपराध माथि ।
आचार छाडी अतिचार जोड्छ
गाली नमीठो अविराम छोड्छ ।।
(१)
उठ्तै बिहानी पख मुर्मुरिन्छ
सर्किन्छ आफैं अनि जुर्मुरिन्छ ।
चाहिन्न ठूलो कसुरादि केही
पोखिन्छ ठाडै अपराध देही ।।
(२)
बच्चा कुदोस् त्यो निहुँ नै बनिन्छ
हे¥यो खडा भै अब झन् खनिन्छ ।
बोल्दै नबोलौं पनि क्रोध भर्छ
बोल्दैन कस्तो भनि रोष छर्छ ।।
(३)
कालो मसी के अझ त्यै छ कालो
राँगो सरीको भयको भँगालो ।
तर्साउने भैकन हिँड्छ जैले
रोएर बाँच्ने म छु एक ऐले ।।
(४)
देखेर रुन्छन् सब बाल मेरा
झम्टन्छ रोए पनि चाल हेर ।
ए भाइ ! यस्तो नगरौं न भन्दा
खाइन्छ आफैं दस–पन्ध्र डण्डा ।।
(५)

कस्तो दिनैमा घर यो किनेंछु
आफ्नो जवानी, पसिना छिनेछु ।
जुन् आँसु मेरा परिवार झार्छन्
आगो उकेली अझ राप ताप्छन् ।।
(६)

यौटा दरिद्री मन हाँस्न सक्छ
रोएर आफैं पनि बाँच्न सक्छ ।
हाँसो म कल्पौ, कुन आस भित्र ?
ज्वाला छुटेको हर श्वास भित्र ।।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


    दामोदर पुडासैनी ‘किशोर’ –
 झरीको सिमाना

झरीमा रुझेर
गीत लेखिरहेछु
धूलो र जिन्दगीको

घाम ताप्दा ताप्दै चिसिएर
शीतको तातोमा
घाइते जिन्दगी सुमसुम्याइरहेछु

झरीमा रुझिरहेको बेला
बिर्सेको छु सबैकुरा
सबैकुरा बिर्सेको बेला
सम्झेको छु केबल तिमीलाई

हावामा फैलिँदै झरिरहेछ
गुनगुनाउँदै एउटा प्रेमिल नदी
सारेगमका स्थायी र अन्तराहरु
ब्युँतदैछन् बेलगाम
तिम्रो लामो सुस्केरा
मीठोे मुच्र्छनामा गुञ्जिरहेछ

जीवनभरी तिमीले गाएका
झ्याउरे, असारे, ज्याज र रकहरु
रिमिक्स बनेर बजिरहेछन्

रुप्से झरना फालहालेझैँ
बलेसी झरेका बूँद बूँदबाट
सुनिँदैछ चराहरुको मीठो सल्लाह
रुख रुखबाट झरेका तप्क्यानहरुले
निर्माण गर्न खोज्दैछन् माटोमा
समयको अधीर पोल्टाहरु
ठीक यसैबेला
कोर्दैछु मैले मुटुको कुनै कुनामा
मन बसेको मान्छेको मुहार

कालो पर्दा च्यात्छ्यौ आकाशबाट
सेतो चौबन्दीले ढाक्न खोज्दैछ्यौ
पहाडका सुन्दर अनुहारहरुलाई
लर्को लाग्दैछ सेता फूलहरुको
आकाशका नीला बक्षहरुमा

प्रत्येक, फूलहरुमा
फरक अनुहार खोज्दैछ एउटा प्रेमी
खोज्दैछिन् रोगी आमा मुगलानी छोराको थकित अनुहार
टोलाएर खोज्दैछ मान्छे
बदलिएको उसको स्वप्निल स्वरुप

यता हेर्छु उता देखिन्छ्यौ
उता हेर्छु यता देखिन्छ्यौ
गीत गाउँदै लुकामारी गरिरहने
तिम्रो बैसालु बानी
मेटिने भएन कहिल्यै

ब्युँझेर एउटा नदी
झरिरहेछ आकाशबाट
जन्मन खोजिरहेछ
छाना, सडक र टारहरुमा

तिमी नै नाचेको देख्दैछु
झरीका नयाँ थोपामा

बूँदमा बल्झिरहेछ पुरानो घाउ
अथवा ब्युँझिरहेछ बिस्तारै
सप्तरंगी सपनाको चित्र

ध्यानीलाई ध्यान लागेको छ
जवानलाई जवानी लागेको छ
हिँडु कि बसँुको बिचल्लीमा छन् बटुवाहरु
सम्झनेलाई भने कहानी लागेको छ

यो मीठो गीत
यो सुरिलो संगीत
बेला बेलामा ब्युँझाउने
त्यो मेघ र बिजुली
हरेक लहरमा लेखिएको
हाम्रो मीठो कहानी
सबै सबै उदाउँदैछन्
र, अस्ताउँदैछन् क्षण क्षणमा

एउटा जिन्दगी त हो रहेछ झरी
बिस्तारै ब्युँझियो
गुनगुनायो, फर्कियो, फैलियो
बिलायो बिस्तारै, कता कता

झरीको आराधनामा जुट्नेहरुले
निभ्न दिनुहुँदैन कदापि
निरन्तर बर्सिरहने
अमीट र अशान्त मनको ज्योति

झरी झरिरहेको बेला
अतृप्त छ मान्छे
बिरह गाउँदैछन् चराहरु
पानी मन छताछुल्ल पोखिएको बेला
त्यो भन्दा चर्को भेलमा उर्लिँदैछन्
प्यासका सागर महासागरहरु


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


  बिबश बिप्र – सपना,घडीफूल अनि चाँदनी

ब्युँझिएर,
आफ्नै आँखाले
वयस्क सपनाहरुको अतिक्रमण गर्दा
दिमागभरि उम्रिएका घडीफुलको छटपटी
लाग्छ- क्रोध पिइरहेछ l

कच्चा नक्षेत्रको संयोजनमा
पन्ध्रौ सताब्दीतिरकी एउटी सुत्केरी
मुखको जुठो नपुछिकन
उल्लिखित सपनाहरु उपर
जुलुमी वेतनको
किस्ताबन्दी खाम थोपर्दैछिन l

अनुमतिपत्रको शिलबन्दि आह्वानसंगै
टल्किएकी चाँदनी-
घडीफुलको बैंश फक्रिएको हेरिदिन्छिन-
-एकटकले,
अण्डाकार वगैंचाभित्रका
ए/एक बोटहरुलाई मुकदर्शक बनाउँदै l

सदियौसम्म नतँग्रिएकी उनि-को हातका सिताहरु
दृष्टिका तापले सुक्न सक्छन l

हात जोडिएका पाखुराहरुमा
श्रीजित रोमकूपले पनि
चाँदको पराबैजनी आवर्तनमा
दृष्टिबिहिनता सहनुपर्ला……l

प्रिय चाँदनी,
तिम्रो दर्शनसंयन्त्रको ज्योति
भोलि माटोका कण-कणलाइ पनि छेड्नसक्छ ..l

ए चाँदनी,
के गड्यौलालाइ पनि यो नियम लागु हुन्छ ??
हुन
तिमीले भरखर सपनाहरुको बैंश हेरेकीछ्यौ l
प्रस्ताबनाका तिम्रा देखाईहरु
मेरा सोचाइ नहुन सक्छन l

तैपनि
एकपटक मेरा सोचाइ हेर्नु
दुइपटक मेरा सोचाइ सोच्नु
बरु,
मलाइ पनि बिर्सनु
तर-
-नबिर्सनु है मेरो प्रश्न..
प्रिय चाँदनी,
के गड्यौलालाइ पनि यो नियम लागु हुन्छ ??

उत्तर
प्रतीक्षा
उही तिम्रो घडीफुल 


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita