धागो
स्यानु पाईजा -
एक त्यान्द्रो धागो
कति महत्व बोक्थ्यो कुनै बेला
यहि धागो नबन्दै सम्म मान्छे नाङ्गै धुम्थे
बिस्तारै धागो कपडा बन्यो
मान्छे पहिरिएर ठाटिन थाले
धेरै धागो हुने ले घाँटी देखि छडके धुमाएर जनै भन्न थाले
थोरै हुने ले कम्मर मै भए पनि बाधेर कन्दानी भन्न थाले
हात मा फनफनी बेरेर रक्षा बन्धन भन्न थालियो
साँच्चै कति महत्व बोक्थ्यो धागो
धागो नबाधिएका सन्तानहरु बाउँ नखुलेको ठहरिन्थे
धागो नै नभएको मान्छेहरु सानो जात ठहरिन्थे
समायन्तर सँगै धागो को प्रयोग हरेक ठाउँ मा हुन्छ
हामी लासलाई पनि कात्रो उपहार दिने भैसक्यौ उ जमना मै
अचेल हामी यो रँग र त्यो रँगमा कपडा बनाएर
जातिय पोशाक बनाउदैछौ ति धागो का अबोध त्यान्द्रो हरुलाई
धागो तिमीलाई लाग्दैन तिम्रो कति गलत प्रयोग हुदैछ ?
आबेगमा या गरिबिमा हिजो आज कति जना
त्यहि धागो को डोरिमा झुन्डिएर आत्महत्या गर्छन
कति को हत्या आत्महत्यामा दर्ता हुन्छन
एउटा चङ्गा एकसरो धागो ले नै आकास मा नाचिरहेको हुन्छ
त्यहि केहि सरो धागो को बिस्वासमा कति सम्बन्ध बाँचिहरेको हुन्छ
यहाँ तिमीलाई धागो ले न्याय गरेको छ कि अन्याय
तिमी बाउ बन्नको लागी तिम्रो सन्तानलाई केहि सरो धागो बाध्नै पर्छ
सायद यो धागो न बन्दो हो त सन्सार अझै पनि आदिम युगमा हुदो हो।
पात्लेखेत-७, म्याग्दी
युद्ध र नयाँ नेपाल
टोप बहादुर रार्इ -
गरिबीले पोरिरहेका भुप्राहरुमा
मलम बनेर हिजो एउटा यूद्ध भित्रिएछ
भोकमरीले तडि्परहेका आत्माहरु
कयौं आशा र सपनाका तरङ्गले
फेरि एक पटक जागे होलान् ।
तर, तर फेरि मर्दैरहे आज ति निरीह आत्माहरु
धेरै भाछैन जंगलबाट शहर पसेको
यूद्ध सकिए जस्तो छ यूद्ध गर्नेहरुलाई,
फेरि, फेरि आज अर्को यूद्ध छेडिए जस्तो छ
तर्राईमा, लिम्बुवानमा, तमुवानमा.....
यूद्ध फेरि गरिबकै झुप्रोमा सल्किए जस्तो छ
लाठा, भाला, खुकुरी र बन्दुकहरु
उहि गरिब हातहरुमा
मोर्चा अनेक छन्
सिद्धान्त फरक ढंगका
तर, तर श्वार्थ एउटै जस्तो देखिन्छ
परेड खेल्दैछन् ति योद्धाहरु
गाउँका आँगनहरुमा
लेक, बेसी र तर्राईका फाँटहरुमा ।
कखरा र एबीसीडीका भर्याङ्गहरु उक्लिन नपाएर
कठै आजको एकाईसौं शताब्दीमा पनि
बुढी औंठाको ल्याप्चे ठोक्न बाध्य हर्केहरु
आज कलम समाउन नपाएको झोकमा
कमरेड हिमाल बनेर
बन्दुक समाउँदै छन्
जीउने स्वतन्त्रताबाट बन्धक
चुलो र चौकोमा थेचिएकी गौंथलीहरु
कयौं सपनाहरु पाल्दै
आज कमरेड गंगा बनेर
घोक्दैछन् युद्धका पाठहरु
हिमाल, पहाड र तर्राईका फेराहरुमा
बगाउँदैछन् रगत र पसिना
देशका लागी भनेर ।
मुल्यहिन छन् कमरेड हिमाल
ति तिम्रा रगत र पसिनाहरु यहाँ
बेकार हुनेछन् कमरेड गंगा
ति तिम्रा बलिदान यहाँ
तिम्रो रगतमा पौडिएर तिम्रै बिचार मार्नेहरुले
कोर्ने छैनन् अब नयाँ संविधान
तिम्रो लासलाई कुल्चिएर आफ्नो श्वार्थ भर्नेहरुले
बनाउँने छैनन् अब नयाँ नेपाल ।