गीत/ गजल/ कविता बुङ्कोट अनलाइन कबिता भाग १४


मुख बुझो लाउनु कस्को

मुख बुझो लाउनु कस्को भन्नेले के के भन्छन
काम नहुनेको के कुरा दिउसै तारा गन्छन
बुद्धी कहाँ चर्न जान्छ गोठालो लागेर भएन
नत्र किन भडार पूर्न आफ्नै आगन खन्छन
हाँसी हाँसी नासी दिने अबोध चेहरा पनि
अचेल माकुरैलाई माथ दिने जाल बन्छन
बिपना धितो राखी सपना उधारोमा टाँगेर
नथेगिने ऋनको भारी बोकी ठसठस कन्छन
निशब्द भई निर्दोष हेराइ बटुली बिचरा
निमुखा मन थिचोमिचो प्रसाद सरी सन्छन


हिजो आफ्नै सोच्ने मन

प्रबिण थापा
हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ
जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ
खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ
केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ
वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ

गीत --मर्नु पार्यौ --

शेखर ढुँगेल्
०२-२४-२००९
मर्नु पार्यौ कान्छी तिमी ले
माया गरेर
दिन भरी कुरायौ
आएर सपना मा कुतकुती लगायौ
उज्यालो नहुँदै कता हरायौ
मर्नु पार्यौ कान्छी तिमीले --
दिन भरी कुद्छ्यौ एता र उती
आँखा झिम्काउदै
जब पर्छ्यौ एक्लै साझ मा
एस एम गरेर हैरान बनायौ
भोक र निन्द्रा भगाई मेरो
दुनियाँ हसायौ
मर्नु पार्यौ कान्छी ----
चुल बुले तिम्रो बानी
कोइली जस्तो बोली
हरिण जस्तो जिउ डाल तिम्रो
सब लाई लोभ्याउदै हिंड्ने बानी
तिम्रै याद मा बिहानै
भट्टि पुग्ने मलाई बनायौ
मर्नु पार्यौ कान्छी तिमी ले ---


मेरो पहिलो परिचयः नेपाली

शिव प्रकाश
म को हूँ? मेरो नाउँ के हो? मेरो थर के हो? मेरो जात के हो?
मेरो नाउँ शिव, राम, श्याम, हरि, कृष्ण, बहादुर, प्रसाद, नाथ, लाल, कुमार जे होस्!
मेरो नाउँ पछि आउने मेरो जात ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र तथा मेरो थर
पौड्याल, पोख्रेल, कटुवाल, दराई, राई, लिम्बु, मगर महर्जन, नापित, माली, कामी,
दमाई, श्रेष्ठ, सार्की, चमार, मुसहर, बाँतर, सतार, धिमाल, थारु, चौधरी, तेली,
बनिया, मण्डल, महतो, हजाम, पण्डित आदि इत्यादि जे होस्!
म कसको छोरो हुँ? कसको दाजु, कसको भाइ, कसको बाबु, कसको भतिजो, कसको काका, कसको
मामा, कसको ज्वाइ, कसको सालो, कसको भिनाजु अथवा कसको लोग्ने वा कसको प्रेमी? आदि
इत्यादि जे होस्!
म जेसुकै नाम-नामेसी, जात-जाति अथवा भाषा-भाषी, थर-थरान र सम्प्रदायको मान्छे किन
नहुँ? कसैसँग कुनै साइनो बाँधिएर संसारको कुनै स्थानमा किन नरहुँ? तर मैले सधैं
मेरो परिचय खोजिरहेको, चहारिरहेको हुन्छु, चाहिरहेको हुन्छु। चाहँदै, खोज्दै,
चाहर्दै, पच्छ्याउँदै जाँदा मैले मेरो परिचयको परिचय एउटामात्र पाउँछु!
यावत् प्रश्नको एउटामात्र उत्तर अर्थात यावत् एवं विविध खोजीको एउटैमात्र प्राप्ति!
सम्पूर्ण प्रश्नको एउटै उत्तर! तर पूर्ण अर्थात सम्पूर्ण उत्तर!
र, त्यो एउटा अर्थात एक्लो तर पूर्ण र सम्पूर्ण उत्तर हो - नेपाली! म नेपाली! मेरो
परिचय नेपाली अर्थात् मेरो पहिलो परिचय नेपाली!
हो, सबैभन्दा पहिला म नेपाली हूँ र मेरो पहिलो परिचय नेपाली हो।
यो एउटा र एक्लो उत्तर नै मेरो परिचयको सामूहिक र सम्पूर्ण उत्तर हो। मेरो सम्पूर्ण
परिचयको पूर्ण परिचय हो - नेपाली! मभित्रका अनेकताभित्रको एकता हो - नेपाली!
मभित्रका अथाह अन्तर्भिन्नताभित्रको एकरूपता र आस्था हो - नेपाली! मेरा वरिपरिका
अपूर्णताभित्रको पूर्णता हो - नेपाली! कहिल्यै मरेर नजाने कसैले हरेर लान नसक्ने
मेरो परिचय हो - नेपाली! मेरो मन - नेपाली! मेरो तन - नेपाली! मेरो पन - नेपाली!
मेरो अस्मिता हो - नेपाली, मेरो अस्तित्व हो - नेपाली! नेपाली, नेपाली र नेपाली!
म नेपाली! नेपालको छोरो नेपाली अथवा नेपालको छोरी नेपाली! अर्थात मेरो पहिलो परिचय
नेपाली, नेपाली र नेपाली! मात्र नेपाली!
नेपाली हुँ, त्यसैले म भन्छु -
नेपाली हूँ म नेपालको माटो यो छातीमा सजाउँछु
पूर्खाले पूजेको माटोको टीका निधारमा लगाउँछु।
म स्वदेशमा हुँ वा दशदेश दूर परदेशमा हुँ सधैं म भन्छु -
म नेपाली हुँ।
मेरो नाउँ नेपाली हो।
मेरो जात नेपाली हो।
मेरो थर नेपाली हो।
मेरो भाषा नेपाली हो।
मेरो भावना नेपाली हो।
मेरो आस्था नेपाली हो।
मेरो विश्वास नेपाली हो र मेरो बिचार नेपाली हो।
मात्र नाउँका लागि मलाई दिइएको मेरो नाउँ शिवप्रकाश भएता पनि जन्मले पाएको मेरो
जन्मसिद्ध नाउँ नेपाली हो। जुन अकाट्य छ। अमेट्य छ। हृदयको शिलापाटीमा लेखिएको छ।
मलाई यो नाउँ मेरो जन्मपछि कसैले दिएको हैन, कसैबाट उपहार, उपाधि र उपमाका रुपमा
पएको हैन। कसैले गुताइदिएको पगरी हैन। मैले जन्मदै लिएर आएको नाउँ हो - नेपाली!
अर्थात नेपाली शिवप्रकाश र शिवप्रकाश नेपाली!
नेपाल आमाको कोखबाट जन्मिए। नेपाली भएरै नेपाल आमाको काखमा हुर्किएँ। अहिले म जहाँ
रहे पनि सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र कथित नामले, जातले, भाषाले,
सम्प्रदायले, धर्मले चिनिने फलानो चिलानो अरु कोही हुन सक्छु!
मेरा बाबुको जात र थरभन्दा अघि म त्यो नेपाली माटोको जात हूँ। त्यो नेपाली धरतीको
थर हूँ। जुन मेरा बाबु बराजेले पूजेको माटो र धरतीको जात र थर हो - नेपाली! त्यसैले
मेरो जात नेपाली हो, मेरो थर नेपाली हो अर्थात मेरो पहिलो परिचय नेपाली हो। र, मेरो
जन्मसिद्ध परिचय नेपाली हो।
म जसको छोरो भए पनि नेपालीको छोरो हुँ। म जसको बाबु भए पनि नेपालीको बाबु हुँ। नाम
नामेसीमा म सबैभन्दा पहिला नेपाली हूँ। जातपातमा म सबैभन्दा पहिला नेपाली हुँ।
छत्तीस वर्णमा मेरो सबैभन्दा पहिलो वर्ण नेपाली हो! सयौं जातजातीमा मेरो पहिलो जात
पनि नेपाली हो। नातासम्बन्धमा सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र म कसैको
दाजु, भाइ, काका, भतिजो, मामा, ज्वाइँ, सालो, भिनाजु, लोग्ने वा प्रेमी हुँ वा
हुनसक्छु। तर यी सबैभन्दा पहिला म नेपाली हुँ!
तराइदेखि हिमालसम्म, मेचीको वल्लो किनारदेखि महाकालीको पल्लो किनारसम्म अनि
देशदेशावरमा छरिएर रहेका नेपाल आमाका सन्तान दरसन्तानसँग मेरो एउटै साइनो छ, एउटै
नाता छ - ती सबै मेरा नेपाली बन्धुबान्धव हुन्। त्यसपछि मात्र नाता वा साइनो जोडेर
चिनिने अरुको म कोही हुँ वा मेरा अरु कोही हुन्। यी सबैका म सबैभन्दा पहिला नेपाली
हुँ र सबैका लागि मेरो पहिलो परिचय पनि नेपाली हो।
त्यसैले म भन्छु -
तराइमा धोतीकुर्ता लगाए पनि म सबैभन्दा पहिला नेपाली हुँ
पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिला नेपाली हुँ
हिमालमा चौरी चराएर हिँडे पनि म सबैभन्दा पहिला नेपाली हुँ
चारजात छत्तीस वर्णमा मेरो सबैभन्दा पहिला वर्ण नेपाली हो।
त्यसैले म गर्वकासाथ भन्छु -
म नेपाली हुँ
म ईश्वरसँग प्रार्थना गर्छु -
आफूलाई सधैं नेपाली भनिरहूँ,
सधैं मेरो पहिलो परिचय नेपाली बनाइरहूँ।
शिरमा सगरमाथा बोकीरहूँ
मुटुमा मेची र महाकाली बगाइरहूँ।
नेपाली हुनुको अर्थ आफूलाई यसरी नै सधैं म नेपाली बनाइरहूँ, नेपाली भनाइरहूँ।
नेपाली देखाइरहूँ। म जस्तै सबै नेपाली "म" हरू, मनहरू, मस्तिष्कहरू, मतहरू, मननहरू,
मनपेटहरू, मनसाहरू, मनोभावहरू, मन्थनहरू सबैभन्दा पहिला नेपाली "म" हुन् र सधैं
नेपाली "म" नै भइरहुन्। सबै नेपाली "म" हरूले सधैं आफ्नो परिचय नेपाली बनाइरहुन्!
हाल - बोष्टन, अमेरिका।


कर गरी मलाई नपिलाऊ साथी

राकेश कार्की
लस् एन्जेलस्
कर गरी मलाई नपिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी
सल्लाह लिन पो आएको आफ्नो ठानी
बिर्सन सकिन दिमागलाई नसाले हानी
प्यालामा प्याला नमिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी
बाधासंग लड्दै अझै कोशिश गर्नुछ
शक्ती बटुल्दै मलाई पक्कै जित्नुछ
बुँद बुँद थप्दै नडुबाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

यो शहरमा मेरो काम छैन


मधु माधुर्य
(मास्‍को ,रसिया)
हिँड्‌दा हिँड्‍दै
यो शहरको सबै सडक सिध्‍याइसकेको छु
हेर्दा हेर्दा
यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु
अब यो शहरमा सायद मेरो कुनै काम छैन
बुढा-बुढी घाम-जून यहाँ
आङ तन्‍काउँदै पालैपालो उठृछन्‌ र सुत्‍छन्‌
'अँधेरो'लाई नै स्‍वतन्‍त्रताको पराकाष्‍ठा भन्‍ने वस्‍तीमा
उज्‍यालो उत्‍सवको कुनै अर्थ छैन
सायद यस्‍तो शहरमा मेरो कुनै काम छैन
ईमान समेत बिक्रि हुने हाट-बजारमा
सबै कुरा मैले किनिसकेको छु
सँगत गर्दा गर्दा
दुईखुट्‍टे 'जन्‍तु'लाई
'मान्‍छे' भनी चिनिसकेको छु
सायद यो शहरमा मेरो काम छैन
मेरो अस्‍तत्व यहाँ -
एउटा औपचारिकता मात्र भइदिएकोछ
देशको निधार छोप्‍ने
लोकतन्‍त्रको तुल जस्‍तो !
पानी रहित
खोल्‍सोमाथिको पूल जस्‍तो !!
* * *

तिमी थियौ म थिए

प्रबिण थापा
तिमी थियौ म थिए , कती सुन्दर संसार थियो
साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो
तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो
यूगौ युग नरित्तिने, मायाको भन्डार थियो
कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो
निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो
सम्झना ताजै छ , अझैपनी यो मनभरी
सगै खेली बिताएको पलहरु हजार थियो
सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी
मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो


तिमी हिड्‌ने वाटो भरी


नरेश माङपाहाङ राई
फोक्‍स्‍टन वेलायत
हाल :हेल्‍मन्‍ड अफगानिस्‍तान

तिमी हिड्‌ने वाटो भरी फूलै फूलको वोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो
एउटै विचार मन लिई हिडिरहन्‍थ्‍यौ हामी
त्‍यही बाटो छुटिट्‍एर उता गयौ तिमी
तिमी हिड्‌ने गोरेटोमा वर पीपल को बोट भयो
विझाउने काडा मलाई निको नहुने चो ट भयो
हाते मालो गरी गरी खोला खोल्‍छी तर्‍यौ
सम्‍झना भई त्‍यही माया आसुँ बनि झर्‍यो
तिम्रो दिलको बगैचामा फूलै फूलको बोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो


जवानिले काउकति लगायो कि महारानी

वसन्त "विवश" आचार्य
जवानिले काउकति लगायो कि महारानी
डोलि चढ्ने रहर मनमा जगायो कि महारानी
अङ्ग अङ्ग पोखिनलाइ अटेस मटेस भा'छ
वैमानिले यौवनको रङ्ग उडायो कि महारानी
एकोहोरो मनसंग वातमारी लजाउनृहृन्छ
पिरतिको धुन मनले जगायो कि महारानी
देखेपनि नदेखे झै तर्की हिड्नृ हृन्छ
नयनले कसैको तस्वीर सजायो कि महारानी
उर्वसी र मेनका मिसिएर तिमी वन्यौ
नभन्नु है वसन्तूले फकायो कि महारानी
तुलसीपुर दागं


भोक, भोग र सम्भोग

शिव प्रकाश
भोक नियम हो
भोग नियत हो
सम्भोग निदान हो
र, सम्भोग वरदान पनि हो ।
भोका छन् सबै प्राणी
तर मान्छे –
सबैभ‌दा भोको छ
त्यसैले मान्छे –
मासु पनि खा‌न्छ आँशु पनि खा‌न्छ
मन पनि खा‌न्छ
माटो पनि खा‌न्छ
र, मा‌न्छे –
मा‌न्छे पनि खा‌न्छ
त्यसैले मा‌न्छे –
माछो पनि हो
बाछो पनि हो
र, मान्छे माकुरो पनि हो ।
भोगको भोको मा‌न्छे
भोग्नका लागि ईश्वर पनि भाक्छ
सबैभ‌दा बढी भोक मा‌न्छेलाई नै लाग्छ
सबैभ‌दा बढी भोग मा‌न्छेले नै गर्छ
सबैभ‌दा बढी सम्भोग मान्छेले नै गर्छ ।
निश्चित याम र मौसम हु‌न्छ
हरेक प्राणीको भोक, भोग र सम्भोगको
तर मा‌न्छे –
हरेक समय भोको छ
हरेक समय भोगी छ
हरेक समय सम्भोगी छ ईश्वरको वरदानको सधैं लोभी छ ।
अनिश्चित विचार अस्वाभाविक व्यवहार
सृष्टिको अनुपम् उपहार मा‌न्छे –
भोक, भोग र स्भोगका लागि सधैं भोको छ
ईश्वरको त्यो वरदानको उसलाई सधैं धोको छ ।
जनवरी १५, २००८ बोस्टन, अमेरिका ।

बोतल महात्म्य ।


न मानमा न शानमा, न नाच, न त गानमा
मिल्यो आनन्द त मिल्यो, केवल सुराको पानमा ।
थपी थपी पिए पनि, पिउने, पिएरै शान्त छन
शीशी बोतल नछोए' नि, नपिउने नै अक्रान्त छन   ।
न धाक छ, न रबाफ नै, न उँच निचको अभिमान छ
एकै साथ बसि पिउँदा, ठुलो सानो समान छ ।
नपिउनेको मुहारमा, न खुशी, न मोज छ
हेर धपक्क लाली त्यो, पिउनेको कस्तो ओज छ । 
नपिउनेको जमातमा, वर्ण, जाति थरी थरी
पिएरै बढ्छ भाईचारा, हुन्नन भेद कसैगरी ।
भलै भुलुँ गृह-मार्ग, शीशी बोतल लिएपछि
तर पुग्छु म स्वर्गमा, केहि घुँट पिएपछि ।
कति गरुँ बयान म, मेरो बोतल महान छ
आफैं रित्ती जिवन दिने, यो औषधि समान छ ।


गजल

हात सेक्नु तिमी कतै म बलिछु भने
मुढा भनी टेक्नु कतै म ढलिछु भने
रातमा निद छैन बातमा तुक छैन
आश्चर्य नमान्नु बेहोसिमा चलिछु भने
काँडाका झिँजा सफा भएकै जाती होला
न नीभाउनु भैगो कतै जलिछु भने
नजर झुकाएर हिडन नपर्ला म सित
ठीक्क भो भन्नु थलिएर गलीछु भने
मानसिक सन्तुलनको के भर भो र
कठै!नभन्नु भो रुखमा फलिछु भने

नया नेपालमा

शेखर ढुङेल्
-०२-१०-२००९
उहिले उहिले
मेरो राजा तिमी कती जाती
तिमी कती ज्ञानी
तिमी कती हायन्डसम भन्थिन,
तिमी बिना म मरी हाल्छु नि भन्थिन
मौका मिल्दा गालामा सुकोमल हातले
सुमसुमाउ थिन
खोइ आज भोली केभो उन्लाई
तँ त रैछस् सामन्ती भन्छिन
तेरो संगत नगर्नु नै जाती
तलाई माया गर्नु भन्दा
साँप लाई दुध पिलाउनु जाती भन्छिन
कस्ले छड्के लायो कि
उन्को बुद्धी भुट्यो
घरमा को चुल्हो बल्न छाड्यो
बेला कुबेला कता हो
खबर नै नगरि खुर्मुरिन्छिन
जब म सपना मा लिन हुन्छु
रात छिप्पे पछी डुङ डुङ
गन्हाउने मुख लिएर
घर मा आउ छीन्

फूलको मौनता

शिव प्रकाश
मौन छ फूल
फूलको मौनताभित्र
सुन्दरता छ
सुन्दरताभित्र
मादकता छ
तर फूल कागजको पनि हुन्छ ।
निश्छल छ फूल
फूलको निश्छलताभित्र
प्रतीक छ प्रेमको
उपमा छ आत्मीयताको
वैभव छ विश्वासको
तर फूलभित्र काँडा पनि हुन्छ ।
फूलको विषेशता –सुन्दरता र मादकता
प्रेम र आत्मीयता
निश्छलता र कोमलता
तर फूलको धारले पनि
मन रेटिएको हुन्छ ।
सृष्टिको सुन्दर उपहार हो, फूल !त्यसैले फूल, फूल हो
तर फूल, फूलमात्र हैन
सृष्टिको अथवा दृष्टिको
एउटा भूल पनि हो, फूल ...!
मौन छ मादक फूल… !
बोस्टन, अमेरिका 02-15-09
साथै उंहाको माटो,मान्छे र देश को बेव कबिता प्रतियोगिताको निम्ती साहित्य घरमा
राखिएको छ। दौंतरीमा यो भिडियो उहांकै प्रशंसकको लागी राखिएको छ । भोटिगं गर्न
साहित्य घर मा जानुहोला।

भन्ने ठान ( प्रणय दवस बिशेष)

प्रबिण थापा
भन्ने ठान छैटौउमा, यस्तै लेख्या रहिछ
खुशी पाउने दोबाटोलाई,काँडेतारले छेक्या रहिछ
जे जे पर्छ आफ्नो भागमा, भोग्दै जानु पर्ने
दु:खै दु:ख पाउन भनी, हामीलाई हेप्या रहिछ
खुशी कहिल्यै आएन, चोटै चोटले सताइरह्यो
हाम्रो माया प्रितीलाई नै, संकटले चेप्या रहिछ
भलो चाहन्थ्यौ संसारकै, राम्रो होओस भनी
पबित्र यि आत्माभित्र, कस्तो खोट देख्या रहिछ
ईश्र्या गरे भगवानले , कहाँ जानु शरण लिन
ममताको धरातलमा, कठोरताले टेक्या रहिछ

अरुलाई भुल्न थाले

बिजय कुमार श्रेष्ठ
-हाल ईराक
विधाकी खानी तिमी सबैलाई सुबुध्दिको ज्ञान दिने
सुबुध्दि दिएका थियौ तिमीले कहाँ गए विधा लिने ।
गुरुलाई मान्न छाडे विधा बिना नै गुरु बन्न थाले
आफनो औकात हेर्नु छैन विश्व हाक्छु भन्न थाले ।
पुर्खाले जगाएको सास्कृतिलाई मान्दिन भन्न थाले
संसारको रित फेरी दिन्छु भनि कदम चाल्न थाले ।
देशका निम्ती वलिदान दिने शहिदलाई भुल्न थाले
बलिदानलाई बिसर्ि कुसर्िको आन्नदमा रम्न थाले ।
हिटलरलाई माथ गराई दिन्छु भनी बिगुल फुक्न थाले
फोस्रो आश्वासन दिदै कमजोरीको सफाई लिन थाले ।
साहास नभएर आफुलाई अनुभब नभएको भन्न थालॆ
आश्वासनमात्र दिएर आफु चाखो बन्ने रोगपाल्न थाले ।

निल्नु न ओकल्नुको

प्रबिण थापा
निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी
कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी
दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी
सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी
ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा
छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी
अबुझ ईश्यालु, म थिए रे त्यतिबेला
दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी
आपत बिपत परिराछ, तिमी टाढा भएदेखी
हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी


देश रोएको शोक गीत

मर्नेहरू शहीद बने , मार्नेहरू राजा
बेहाल बयो जनताको मुलुक नर्क साझा
अचम्मको रित बस्यो लट्ठिवालको भैँसी
लूटेराको राज चल्यो शासक पर्‍यो दादा ।।
जनताको तन्त्र भन्छन् कानून कतै छैन
जसको शक्ति उसको भक्ति बन्दूकैको राज
जुन बोक्सी उही धामी कता उजूर गर्ने
देश दन्क्यो डढेलोमा, हामी पिल्सिएर मर्ने।।
भत्काएर संरचना विकासका सबै
छिनाएर टाउकाहररू जनताका उनै
छाएका छन् सलह झैँ,कहालीको राज भो
खै कसरी बाँच्ने हजूर, जीवन धान्न धौ भो।।
बल्दैन है बत्ति पनि , पानी बीना धारा
नया नेपाल व्यंग बन्यो, तड्पाउँदै सारा
राज्य बन्यो गूण्डा नाइके राक्षसी छन् दाह्रा
डासीहाल्ने , निलिहाल्ने मांशाहारी पारा ।।
कब्जा गर्छु सत्ता भन्छ,सत्तामै छ आँफू
सत्ता हो वा बिद्रोही कि चम्बलको डाँकू
राज्यको जो ढिकुटी छ पोस्छ आफ्नै गणलाई
राहतको कुरा गर्दै आहत पार्छ जनलाई ।।
सर्वहारा गणतन्त्र जहानिया राज भो
लोग्ने स्वास्नी भाइ बुहारी प्रचण्डको ताज भो
एउटा राजा फाल्यौँ भन्थे झन जब्बर पो आयो
चौटा रोज्दा झोल्मा डुब्ने विडम्बना भयो ।।

टिमुर्केको भन्यौ रे

टिमुर्केको भन्यौ रे मलाई,चिप्लो घस्न जानेको थिन
पछारिदा दोष थोपरिछ्यौ, छिर्की मैले हानेको थिन
मन भरी श्रदा मुटु भरी माया कसरी पोखाउनु
भिरबाट गुल्टाउँदा नि अझै पराइ ठानेको थिन
उडान उची थियो कता पुग्यौ मलाई थाहा भएन
बज्रीयौ रे नराम्री आखिर डोरो मैले तानेको थिन
अनुभुतीमा सुन्दरता तिमी अलौकिक थियौ मेरा लागि
मनले सुन्थे मुटुले छाम्थे आँखाले छानेको थिन
चर्कायौ मुटु थर्कायौ छाती फुटेर भेल कती बगे
जिबन हारी सक्दा पनि झूट भनी मानेको थिन

बैरी भै धावा बोले नि ,साथी भै फेरी खाता खोले नि
आगमन स्वागतार्थ मुटुको किल्ला बानेको थिन


ईन्द्र, तिमी अचानक कता हरायौ ?

- हिमाल_पारी
प्रश्नइ प्रश्न हरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्ती मा
घर घरमा टेलिभिजनमा आयौ
मानीस हरुको मन मनमा छायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
*********************
तिमी पूर्वको झापा बाट उदायौ
पश्चिमको रोल्पा र,
बैतडी अनी कंचनपुर सम्म धायौ ।
मेचीको आँशु लाई काठमाडौं पुर्यायौ
कालीको रोदनले सिंहदरबार हल्लायौ
जनताको बोली बनी प्रतिगामी थर्कायौ
शहिद्को गोली बनी राष्ट्रघाती तर्सायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
**********************
तिमी यती छिट्टै नहराउनु पर्थ्यो ।
जनताको पिर र ब्यथा हरु लाई
देश बनाउछु भनी खाका कोर्ने हरुको
कान सम्म पुर्याइ रहनु पर्थ्यो ।
झुपडीका सुस्केरा र क्रन्दन हरुले ,
जनताको कर र भोट् ले ठडीएका
बाद्शाहहरुका महलहरु थर्काइ रहनु पर्थ्यो।
र गरिरहनु पर्थ्यो खबर्दारी,
घुस्खोरी र भ्रस्टाचारी हरुलाई ।
र चलाई रहनु पर्थ्यो डण्डा,
देश लुट्ने र झन्डा च्यात्ने हरुलाई।
**********************
अनेक अबरोधहरु आए यात्रामा
तिमी कहिल्यै बिचलित देखिएनौ
कैयो बाधाहरु आए बाटोमा
तिमी कहिल्यै थकित देखिएनौ
द्रिध रह्यौ तिम्रो बिचारमा
र खोजी रह्योउ जवाफ तिम्रा जटील प्रश्नहरुको ।
चढिरह्यौ उन्नती को सगरमाथा
र फहराइ रह्यौ झन्डा आत्मबिश्वास र स्वाभिमानको ।
***********************
तिम्रो कलम कुल्चन खोज्नेहरु,
आँफै पछारिये पाताल्मा
तिम्रो मुख थुन्न खोज्नेहरु
फ्याकिये ईतिहासको रछ्यानमा
बटुली रह्यौ आवाज कुनाकप्चाहरुको
र बुलन्द गर्‍योउ जनताको गाली
आमाको छातीमा कुल्चनेहरुलाई।
बजाइ रह्यौ स्वतन्त्रताको ताली,
र रोपिरह्योउ प्रश्नका भालाहरुले
जनताको मालिक हुँ भन्नेहरुलाई।
***********************
प्रश्नइ प्रश्नहरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्तीमा
घर घरमा टेलिभिजनमा आयौ
मानीसहरुको ढुक्ढुकीमा छायौ
देखेथेँ तिमीलाई अस्ती
नाची रहेथियौ तिम्रै आगनमा
खेलीरहेथेयौ तिम्रै दुई कोपिलाहरुसँग
देख्दिन तिमीलाई आज
टेलिभिजनका ति पर्दाहरुमा,
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
************************
(ईन्द्र लोहनी मा समर्पित)