गजल
यात्री शेखर
झ्याप्प झ्याप्प हिजो आज लोडसेडिङ्को मार कत्ति ।
सरकार बढाउँछ राजस्वको भार कत्ति ।
जताबाट भए पनि पिल्सने त जनता न हो ,
आन्दोलन नै चर्काए’नी बन्छ सधैं हार कत्ति ।
सबैलाई गुनासो छ सरकारको चालासंग,
सकेन नी समस्यालाई लगाउन पार कत्ति ।
हिजो आज देश हाक्ने सरकार हैन दल भा’छन्,
दलविचै हुन्छ किन पानी बाराबार कत्ति ।
yatrishekhar@gmail.com
बसाई सर्न के भोर?
बचनकै के त कुरा
भुले सम्झाई के भोर?
मन नपरे ति सब कुरा
होइन भन्न के भोर?
खाएका कसमका के कुरा
छिनभरमै तोडे के भोर?
उन्मादमा गरेका ति कुरा
बेसुर भने के भोर?
आंसुमा डुब्नुको के कुरा
आफू मुस्काए के भोर?
गल्ती भएको के कुरा
सज्जन देखिए के भोर?
साथ मरे त के कुरा
आफूं नमरे के भोर?
अरुको दु:खको के कुरा
सुखलाइ अंगाले के भोर?
प्याराका प्यासको के कुरा्
तिर्खा मेटिए के भोर?
सिमानाको त के कुरा
बास्तै नगरे के भोर?
पोतेमा अल्झनु के कुरा
धागोलाई दोष दिन के भोर?
संबन्ध टुट्नुको के कुरा
सबैलाइ ढांटे के भोर?
भेटेर छुट्नुको के कुरा
भुलेर गए के भोर?
भत्केको घरको के कुरा
बसाई सर्न के भोर?
एक मान्छेको खोजीमा
कहिले मन्दिरको ढोकाबाट हेर्छु
कहिले टुँडालबाट नियाल्छु
कहिले निष्पट्ट अँध्यारोमा भौंतारिन्छु
कहिले जुनेली रातमा टहलिन्छु
कहिले फाँटफाँटै दौडिन्छु
कहिले अनकन्टार जंगलको बिचमा कुरिरहन्छु
कहिले ढोका ढक्ढक्याउँदै हिंडछु
कहिले अखवारका पाना सर्सर्ती पल्टाउँछु
कहिले भीडमा एकटंकार हेर्छु
कहिले दोबाटोमा पागलसरि एक्लै भुत्भुताई रहन्छु
केबल
एक मान्छेको खोजीमा ।
-दिनेश चन्द्र पन्थी “दीप”
यस्तो लाग्छ किन!?
सारंगीको धुन भै बजिरहने यो मन भित्र
मिर्मिरेको चिर्बिर झै झन्कार दिने तनभित्र
गुन्जी रहने आवाज मिठो पहरामै हरायो कि!
झ्याउकिरीको स्वर पनि चोरु चोरु लाग्छ किन?
पर्खाइ यो निमेषको पुरै युग बनाउ कि त
दोबाटोमा लुकेर आँखा भरी बिछ्याउ कि त
मनभित्रका खुलदुली पोको पारी पछ्यौरीमा
छटपटीका मीठापल रोजु रोजु लाग्छ किन?
तरंगमा झुम्दै बसे झनै झुमिरहु लाग्ने
भावनाको रंग कस्तो अझै रंगु जस्तो लाग्ने
रहर साँच्ने अधर, तृषित् ति नयन भित्र
रमाउदै जुनीभरी लुकु लुकु लाग्छ किन ?
कति पो याद गरिबसिन्छ र ?
कुरा पुराना कति पो याद गरिबसिन्छ र
मेट्ने ठेगाना कति पो याद गरिबसिन्छ र ?
दिनेले महान् इतिहासको संज्ञा दिए पनि,
गुप्त खजाना कति पो याद गरिबसिन्छ र ?
उस्ताउस्तै मुखुण्डो लिएर आउने र जाने,
क्या-क्या जमाना कति पो याद गरिबसिन्छ र ?
उमेरमा त के-के गरियो कतिलाई रिझाउन,
नाना बहाना कति पो याद गरिबसिन्छ र ?
मुस्कानको पनि मिति पुग्दोरैछ, बग्दोरैछ,
ती मोतीदाना कति पो याद गरिबसिन्छ र ?
याद
आयुष चौधरी
रझेना ५ कृष्णनग् बाँके
हाल : रेडियो जन आवाज नेपालगंज
यादले तिम्रो सानु हर रातले सताउछ
रत्ति भरको चैन छैन बातले सताउछ ।
सम्झनामा रोई रहन्छु आशु सुक्यो आखाँमा
किन कुन्नि आजभोली मातले सताउछ ।
इश्वरको दुनियामा जो कोही नि मान्छे मात्र
कुरितीले जन्माएको जातपातले सताउछ ।
सजिएको सिन्दुरमा चुरापोते सहित
माया गर्ने कोमल ति हातले सताउछ ।
तड्पिएका दुइ आत्माको खेति गर्नेहरु
मुटु भित्र रोपिएको घातले सताउछ ।
पेट कतै साटिन्न
हामीसँगै छ घाउ पैँचो चाहिन्न हजुर
खोटो यो भोको पेट कतै साटिन्न हजुर ।
सपना त सुर्कानो गाँठो रै'छ हाम्रा लागि,
पिर्छ तर यही हो साथी अभिन्न हजुर ।
छैन आदत राशिफलमा भविष्य खोज्ने,
थाहा छ गरिबको खुसी छापिन्न हजुर ।
बालापनमा हुने हाँसो बैँसको यो तातो,
आउँछ र जान्छ खोइ त भोगिन्न हजुर ।
हिँड्न त मुटु खियाउँदै हिँडिएको हो,
धन्न पैँताला चिरिन्छ मुटु चिरिन्न हजुर ।
आज मैले रक्सी पिएको छु
दु:ख पीर को त के कुरा
संसारकै पीडा लिएको छु
आशुं नाप्दै नपाऔं
पूरा का पूरा निलेको छु
र पनि रक्सीले गर्दा
म खुशी भएको छु
हो कुरा बूझ्नु भयो हजुर
आज मैले रक्सी पिएको छु
सादा जिबनमा त सधै
डर र त्रास लिएको छु
सत्य तथ्य बोल्दा पनि
भय लिएको छु
भलो गर्दा गर्दै
धोका खाएको छु
भेउ पाउनु भयोहोला हजुर
आज मैले रक्सी पिएको छु
कस्ले बनायो यो रष
रात दिन खोज्या खोज्यै छु
नाम नै किन चाहियो र
आखिर यस्लै दु:ख बिर्सया छु
पिडा जस्तो गार्है होस
हल्कै रुपमा लिएको छु
शंका ठिक गर्नुभयो हजुर
आज मैले रक्सी पिएको छु
दिमगाको के कुरा भयो र
खुट्टा सहि नै टेक्या छु
जिब्रोको पदचाप ननापौं
ठिक कुरा औकलेको छु
हाउ भाउ बेग्लै भयोहोला
तर सत्य तथ्य बोलेको छु
आखिर सबैले थाहा पाउनु भयो हजुर
आज मैले रक्सी पिएको छु
मेरी प्यारी वाग्मती
अहो ! आज एकाबिहानै
तिम्रो अट्टहास देख्दा,
तिम्रो अस्वभाविक उन्मुक्तता देख्दा,
फोहोर र दुर्गन्धित नै भएपनि तिम्रो पुष्ट वदन देख्दा,
पारि क्षितिजको रक्ताम्मे लालिकिरण सँगै
सकिनसकि तिमी नवयौवना हुन खोजेको देख्दा
तिमी प्रतिको मेरो पुरानो सम्बन्ध
कता कता आज टुसाउन लागेको भान भईरहेछ
तिम्रो मेरो सम्बन्ध टुटाउन
ति भुस्याहाहरुले के मात्रै गरेनन्
तिम्रो अधरमा गन्हाउने थुप्राहरु राखे,
तिम्रो वदनमा अनेक प्रेमलिलाहरु रचि उफ्रिए,
तिम्रो भावभङ्गीलाई रोक्न अनेक संगीनहरु उठाए,
तिमीलाई बलात्कार गरि समाजमा तिम्रो छवि
फोहोरी,
छाडा,
गन्हाउने,
ब्यभिचारिणी
आदि इत्यादि उपमा सहितको बनाए
तिमीलाई तिम्रो मुहार देखाउन लाजमर्दो बनाए
तर
विशाल हृदयकी तिमी
समाजबाट विक्षिप्त हुन खोज्दा पनि सकेकी छैनौ
अनेक नराम्रा उपमाहरु लिएर पनि
सुध्रने चाहनामा छौ
सायद,
तिमीलाई तिम्रो त्यो पुरानो यौवनको याद आए जस्तो छ
आखिर,
म पनि त त्येसैमा लठ्ठिएको थिएँ
तिम्रो मन्द मुस्कान,
तिम्रो शान्त स्वभाव,
तिम्रो चौडा वक्षस्थल,
तिम्रो विशाल उदारता,
तिम्रो मनोहर आकृति,
तिमी वरिपरि झुल्ने
पुष्पवाटिकाहरु,
वासन्ती बगैचाहरु
तिमीसँगै लहडिने मौसमी लताहरु,
तिमीलाई साथ दिने गुलावी असारे फुलहरु,
तिम्रो छातिमा सुगन्ध भर्ने श्वेत कमलहरु
मेरो लागी पनि त औधि आकर्षणका विषयहरु नै थिए
यो मेरो पर्खाई
आज तिम्रो वर्षे अट्टहास सँगै
आनन्दित भईरहेको छ
आखिर
यो दुनियाँको लागी तिमी
ढलमति,
मलमति,
भलमति,
रोगमति,
भोगमति,
शोकमति,
हिनमति,
घिनमति
जे भएपनि
मेरो लागी
तिमी
मेरी प्यारी वाग्मती ।।
-दिनेश चन्द्र पन्थी “दीप”