गीत/ गजल/ कविता दौंतरी डट कम, भाग १६


महान जँड्या !

यता जनता,
चुरोट तानेरै भए पनि राजश्व बढाउँदै छन ।
उता नेता, 
राजश्व  हानेरै भए पनि घर ठडाउँदै छन ।
गाँउको कालु,
अन्त: शुल्क तिरेको मदिरा तान्छ ।
सहरमा ठालु,
कर छलेर विदेशी खान्छ  ।
एउटा जँड्याहा आफ्नै खर्चमा
भट्टीमा जान्छ ।
अर्को सभासद
संसद रोकेर भत्ता चाहि खान्छ ।
म त भन्छु,
मेरा यी नेता भन्दा त्यै जँड्या महान छ ।
कमसेकम रक्सी पनि
ट्याक्स तिरेर त खान्छ ।



देश अवशेष बन्न लागेको बेला
-एकलव्य



देश अवशेष बन्न लागेको बेला
जनताको मन रुनु पर्ने हो
आँसुको भल बग्नु पर्ने हो , तर
हर्ष र खुशीले लुकामारी खेलेर होला
मातम पनि यहाँ पर्व बनेर छाएको छ
स्वबिनाशमा पनि उमंग पलाएको छ
सायदै , जनता यहाँ को बाँकि छ
निरन्तर केवल तमाशा र झाँकी छ
राजनीतिका गरा र फोक्टामा विभक्त
केवल, आफ्ना अभिष्टाहरूमा आशक्त
शठ , पाखण्डी अनि स्वार्थमा अनुरक्त
आरोपित विचारको नशामा अनुभुक्त
यहाँ मात्र राजनीतिका ठेकेदारहरू छन्
नाफा र नोक्सानका भागिदारहरू छन्
आन्दोलनका मेला भर्ने व्यापारीहरू छन्
आफ्नैहरूको भेलामा रम्ने लाचारीहरू छन्
बिनाशमा रमाउने धुन्धकारीहरू छन्
स्व-आल्हाद रम्ने अघोरीहरू छन्
मातृभूमिलाई चिथोर्ने फोहरीहरू छन्
देश अवशेष हुन लागेको बेला
जनताको मन रूनुपर्ने
तर, यहाँ सदैव उमंग नै छाएको छ
त्यसैले मातमलाई उसले पर्व मनाएको छ ।


गजल

आखिर त्यही भयो पित्तलमा सुन दल्नु भो
टलक थियो थेन जलपको भरमा छल्नु भो
उज्यालो छर्न नि पिधँमा पुगी सक्यो तेल
धिपधिप गरेर फेरि किन आँफै बल्नु भो
हुकुमको एक्का हपिए चल्ने आँट कसको
खेलाडी मसुर हजुर कत्रो चाल चल्नु भो
बर्तमान थर्कमान हुन्छ जो सित भने
पत्ताउ कसरी,हल्लै रछ हजुर गल्नु भो
रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न हो
छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो

अभिलाषामा


- आयुष चौधरी सम्मोहन
- रझेना ५ बाँके
- हाल रेडियो जन आवाज एफ। एम। ९७।३ नेपालगाज बाँके
सेताम्य हिँउ बोकेका पहाडहरु
देख्ने अभिलाषमा
रमाईरहेका मेरा सपनाहरु
रातको अन्त्यसँगै
बिलाएकाछन् उज्यालोहरुमा
तर म किंचित पनि डगमगाएको छैन
सपना देख्नकालागी हुन्छन्
उज्यालो सपना तोड्नकालागी हुन्छन्
सपना चिस्सिएर चरचरती फुटेपिन
फेरी रातको प्रतिक्षामा
जोडिने अभिलाषामा
थालेकोछु लामो अथक यात्रा हिमयुगतिरको ।
यात्रा लामो छ कठिन पिन
पर्न सक्छन् मुसलधारे वर्षा अबरोध बिना
चिरा फाट्न सक्छन् बाटाहरुमा
बिस्फोट हुन सक्छन् ज्वालामुखी लाभाहरुमा
चिन्न नसकी आफ्नै अस्मिता
बेराउन सक्छन् बेडी र जन्जिर शरिरमा
आँशु भेलको यो सामुन्द्रीक यात्रा
तर पनि म तय गर्दैछु
ति सेताम्य हिँउ बोकेका पहाडहरु देख्ने अभिलाषामा ॥

फोहोरी खेल !

जहाँ नैतीकताको अभाव र
बेइमानीको भेल हुन्छ ।
विश्वकै अनुपम व्यबस्था पनि
त्यस ठाउँमा फोहोरी खेल हुन्छ ।
न नियम तोडनेलाई सजाँय
न आपसी मर्यादा र मेल हुन्छ ।
स्वच्छतालाई पनि फोहोर बनाएर
फोहोर माथि फोहोरी खेल हुन्छ ।
विपक्षीलाई हराउन
यो खेलमा सधैं झेल हुन्छ ।
कहिले एउटै टोलीमा फुट त
कहिले कुकुर बिरालोको मेल हुन्छ ।
कहिले आफ्नै खेलाडीले धोका दिएर
आफ्नै पक्षसंग तोल-मोल गर्छन ।
कहिले विपक्षीले पनि ‘पोका’ लिएर
जानी जानी आत्मघाती गोल गर्छन ।
जित्ने टोलीका खेलाडीहरु
खेललाई जतीसक्यो लम्बाउन खोज्छन ।
हार्ने पक्ष भने ढुङ्गा मुडाले
अर्काको शिल्ड पनि हत्याउन खोज्छन ।
कहिले जर्सी पनि साटासाट हुन्छ
कहिले मुक्का र लाता-लात हुन्छ ।
न नीति न तर्कको बात हुन्छ
केवल तथानाम र काटाकाट हुन्छ ।
साम, दाम, दण्ड अनि
जहाँ पाईला पाईलामा झेल हुन्छ ।
फोहोरमाथी फोहोरीहरुको
पुरानै फोहोरी खेल हुन्छ ।
विश्वकै उत्कृष्ट व्यबस्था पनि
त्यस ठाउँमा फोहोरी खेल हुन्छ


जरुर म पागल भएँ

हस्त गौतम मृदुल
जरुर म पागल भएँ मेरी मायालुकै मायामा
म ती स्मृतिलाइ समाउन खोज्छु उन्कै छायामा
होस मै छु म हरेक शब्दमा उनैलाइ नै देख्दछु
मन परीदृश्यहरुमा भेटी उनैका गित लेख्दछु
फुलको बास्नाको स्वाद लिन्छु गहिराइमा डुब्छु
मृत्युलाइ पनि छलेर म उन्कै परेलीमा नै लुक्छु
जरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा

स्वर्ग कही कतै छैन नी चोखो माया नै हो स्वर्ग
जाहाँ जस्ले आत्माहरु रुवाउछन बरु त्यही हो नर्ग
म बोल्दछु सपनामा अनी चाँदनी त्यो हर रातमा
उनी आत्मा हुन मेरी म मरे पनि हुन्छिन साथमा
जरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा

नदेउ,र नलाउ

शिब प्रकास
दुइ मुक्तक
एक
नदेउ
दोष तिमी मेरो नजरप्यालालाई
सम्हाल त्यो झर्झर यौवनज्वालालाई
रोक्न सक्दैन फूलले आफ्नै वासना -
कसरी छल्छौ तिमी हजार आँखालाई ।
दूई
नलाउँ
फेरी माया फाटेपछि सिउन गाह्रो हुन्छ ।
फूटेको प्यालामा मधुरस पनि पिउन गाह्रो हुन्छ
साँचेर फाटेको माया, बाँचेको छु पिएर -
नपाए'नि माया, पिउन नपाए जिउन गाह्रो हुन्छ ।










चुनौती बुझ्ने छाता

हेर्दाहेर्दै हतार-हतार दुनियाँ
सायद कहीँ-कतै नजिकै
ओत खोज्न दौडिरहेछ ।
छड्के पर्छ त्यो बतासे पानी
सानो छाता, दुई आकृति
तैपनि अट्न खोजिरहेछ।
गडगड गड्कन्छ आकाश
हावाको वेग बढ्दै जान्छ
अझै चुनौती थपिरहेछ ।
छाता उढ़छ बेवास्ताले, सायदै
पानीको थोपै छिर्न सक्दैन
दुई बीचको दूरी खुम्चिसकेछ ।
बुझेन चुनौती मैले, दुनियाँले
तर चुनौती बुझ्ने त्यो छाता
महत्वहीन भई उत्तानो लडिरहेछ ।
* मुकुन्द
K.U.



जीवनको खुसी

अन्जान बिबश एक्लो
तुल्सिपुर, दाङ्
जीवनको खुसी चहार्दै हिडेँ
भीडभाडको माहौलमा झपार्दै हिडेँ
जीन्दगी के हो परिभाषित नहुँदा
धर्तिमा आफैलाई लतार्दै हिडेँ
कर्मको बोझ थुप्रियो काँधमा
अशक्त पाउहरु बटार्दै हिडेँ
जीउनलाई साँच्चिकै नमज्जा लाग्यो
गलहत्याई पचक्क मार्दै हिडेँ
भूमिमा निष्फिक्री ढलेको ज्यान
यमराजको समिपमा टकार्दै हिडेँ ।



दिब्य ज्योती

वक्तृता बनि दिब्य ज्योती सबैमा छरे
मातृत्व अनुनय टेवा ब्यग्रताले धरे
सहिष्नुता प्राचुर्य थियो विद्यमानमा
जिवनको दृढ संङ्कल्प बनेछ खहरे
अविचाल को उत्साह कसैमा नहुदा
चैतन्य रहित सबै बुद्दि भ्रष्टमा झरे
आत्मघाती अभिप्राय जिबनको प्रत्ययमा
उत्ताउलो स्वैच्छाचारी रिपु सँग डरे
तृप्त गर्ने आशा नै लछ्य हिन हुदा
आफ्नो जिवनको अन्त्येष्टि आफैले गरे
अन्जान बिबश
एक्लो लापत्ता
दाङ् तुल्सिपुर



नेपाल एकदिन फर्कन्छु

बिदेशिनु कतै आकांक्षा त कतै बाध्यतामा समेटीने गर्छ। बिदेशिने पनि कता? कती
बिदेशिनेहरु त आफन्त र आफ्नो देशको लागी सधैको लागी पराय बन्न पुग्छन।
ठाउं,ब्यक्ती,समस्या,अबस्था आदी आदी कारण धेरै हुनसक्छन, बिदेशिनुको पिडा भने एउटै
हुन्छ बिर्खेमाइलाको जस्तै।
बिदेशिनुको यथार्थ, संघर्षको उतार-चढाव र सल्बलाउँदा मनका तर्कनाहरुले कहिलेकाहिँ
तितो यथार्थ पोख्न बाध्य बनाइदिँदो रहेछ। कुरा २००६ तिरको हो, अमेरिका बसाईँका केहि
वर्ष बित्दै जाँदा एकजना भारतियले लेखेको एक लेखमा मेरो आँखा परेको थियो। त्यस
लेखमा लेखकले आफूले अमेरिकामा बिताएका चार दशक, र ती चार दशक उनले पल् पल् घर
फर्कने प्रयत्नमा बिताएको कुरा उल्लेख गरेका थिए। अन्त्यमा उनि घर फर्कन्छन् तर
उनले चाहेको घर र देश उनले भेट्दैनन्। बिदेशिनुपूर्वको देश र घरको एउटा तस्विर मनमा
गाडिएको हुने रहेछ, र बिदेशिएकाहरुको लागि समय थामिँदो रहेछ। कयौँ वर्षपछि फर्कँदा
पनि आफूले छोडेको समय, परिवेष र नाप-नक्शा जहिँको तहिँ होला भन्ने लाग्दोरहेछ तर
समयसंगै प्रत्येककुरा परीवर्तन हुने रहेछ। त्यस लेखमा लेखकले यस्तै कुरा गरेका थिए।
उनकै कुराले घच्घच्याउँदा र आफूले आफ्नो स्थिती नियाल्दा यो कविता बनेको हो। कविता
धेरैलाई चित्त बुझेछ र म जस्तै बिदेशिने साथिहरुले आ-आफ्नो देशको नाम राख्दै कविता
बाँडेको देखेर धेरै नै खुसि लागेको छ। मेरा छरिएका कविताहरु र अरु लेखहरुलाई यो
ब्लगमा एकै ठाउँमा राख्ने प्रयत्नमा यहि कविता--
नेपाल एकदिन फर्कन्छु (?!)
नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!
नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!
नेपाल एकदिन साँच्चै फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!
नेपाल एकदिन फर्कन्छु!
अमेरिकामा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!
नेपाल एकदिन फर्कन्थेँ
अमेरिकामा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!
( बिर्खेमाइला)
केही पहिला दौंतरीमा प्रकाशीत बिर्खेकै जस्तो अकरमानसको काहानी "आफ्नै कुरा - बसाइ
सराईं" पनि उत्तिकै मार्मिक छ ।




तिमीलाई मनका कुरा भन्न मन लग्यो

तिमीलाई मनका कुरा, भन्न मन लग्यो
आऊ प्रिये समिपैमा ,बस्न मन लग्यो
चुलबुले जोबन तिम्रो, कैले सम्म साच्छौ
इसाराले बोलाउछौ ,आउन मन लग्यो
लजाएर रंग चढाई,नसालु भै हेर्छौ
त्येहीबेला तिम्रो रुप,चोर्न मन लग्यो
फर्की फर्की हेर्छौ आफै,नजर झुकाउछौ
त्येसैले त दोबाटोमा, कुर्न मन लग्यो
बतासले केस उडे,ओठ टोकी हिड्छौ
अंगालोमा बाधिएर,चुम्न मन लग्यो
यसरीनै कैलेसम्म,लुकिछिपी गर्छौ
आऊ प्रिये आज प्रिती,साट्न मन लग्यो

शान्तिगीत

व्यक्ति मात्र हैन यहाँ समाज र देश रोयो
युग बित्यो तर सदा दूर्भाग्यको राज भयो
समृद्दिको फल टिपी, बाँकि संसार पर पुग्दा
हालत हाम्रो निरिहता दु:ख पीडा भोग्दा भोग्दा।

सतहमा बग्दै जाँदा, चिप्लेँटीको धरापमा
अल्झिएर झर्दै जाँदा, निरन्तरको सरापमा
कैद बन्यो देश कस्तो, हारेको यो जीवन जस्तो
थितिबिति खोसिएको, कठै हाम्रो भाग्य कस्तो !

विनाशको एकलासे ध्येय बन्यो हाम्रो बाटो
बिग्रह र चित्कार नै व्यक्तित्वको अर्को पाटो
आक्रोशको आगो बाली दन्काउँदै आफ्नो मन
घृणा अनि हूंकारको झोला बन्यो हाम्रो तन ।

सलहको बथान बनी, सभ्यताको खेतबारी
जरैदेखि ठुट्याएर, खाइरा’छौँ कठैबरि
सन्त्रासको कोलाहल, दश दिशा तलमाथि
लखेट्दैछन् आँफ्नैहरू , संगै खेल्ने संगीसाथी ।

कर्म बन्यो हिंसा हाम्रो, आह्रिस आफ्नो पहिचान
मुक्ति खोज्यौँ , तर रोज्यौँ निरन्तरको घमासान
मान्छे हुन्न दुष्ट कोही , प्रवृत्तिलाई चिन्ने गरौँ
विचार अनि भावनामा समष्टिको जलप भरौँ।

स्वार्थ अनि बेइमानीको रोग व्याधी हटाएर
झूट, लूट, फूट, दम्भ बर्खे भेलमा बगाएर
सौम्यपन र स्निग्धता रोप्नुपर्छ वागभरि
ढिलो हुन्छ , समयले पर्खिँदैन केही गरी।

आँफै शत्रू जन्माएर आफ्नै बीचमा लड्नुहुन्न
मान्छे भर्‍याङ् बनाएर , स्वार्थनिम्ति चढ्नुहुन्न
सदावहार हुण्डरीको कति लड्ने मल्लयुद्ध ?
आऊ खोजौँ शान्ति अनि समृद्धिको एउटा बुद्ध।